‘एक घण्टा हिउँ पर्दा अस्थायी टहरो पुरियो,’ उनले भनिन्, ‘पहिले जस्तो अझै २/४ दिन हिउँ परे मरिन्छ ।’ ३/४ वटा सिरक खापेर सुत्दा पनि जाडो नथेगेको उनले बताइन् ।
विस्थापित परिवारमा रुघाखोकी, हाडजोर्नी दुख्ने, चिसोले पखाला लाग्ने समस्या देखिएको डा. विन्दु पाण्डे केसीले जानकारी दिइन् । चिसोका कारण शरीरभरि घाउखटिरा आएकी ३० महिने बालिका गंगा गुरुङलाई सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइएको छ । हिउँले ढाकेको बस्तीमा पालमुनि बस्नु परेकाले बिरामी हुनेको संख्या बढेको हो ।
लाप्राकको गुप्सीपाखामा मंगलबार नेपाली सेनाको टोलीले दुई सय बिरामीको उपचार गरेको छ । हिमपातग्रस्त बस्तीमा न्यानो कपडासहित राहत सामग्री आउन थालेको गुप्सीपाखाका गणेश गुरुङले जानकारी दिए । लाप्राकमा राहत सामग्री कम पुगेको छ । मौसम खराबीका कारण राहत र उद्धार प्रभावकारी बन्न सकेको छैन ।
सेनाको टोलीले बारपाक र लाप्राकका पीडितलाई पाँच सय थान स्लिपिङ ब्याग, आठ सय थान कम्बल, एक सय १५ थान त्रिपाल, ३५ प्याकेट खानेकुरा र पानी भर्ने जर्किन वितरण गरेको भैरवी दल गणका प्रमुख शिवराज पन्तले जानकारी दिए ।
स्वास्थ्यकर्मी र राहत लिएर मंगलबार बिहान हेलिकप्टर गुप्सीपाखा ओर्लेको थियो । थप दुई पटक राहत लिएर सदरमुकामबाट उडेको हेलिकप्टर खराब मौसमका कारण बस्न नसकेर गुप्सीपाखामै अलपत्र पर्नु परेको पिन नामक संस्थाका प्रतिनिधि सुदीप जोशीले बताए ।
सेनाको टोली भने हिँडेर बारपाक आएपछि हेलिकप्टरले त्यहाँबाट सदरमुकाम ल्याएको थियो ।
हिमपातपछि पानीको समस्या भएको स्थानीय डम्बर गुरुङले बताए ।
‘मुहानमा हिउँ जमेपछि धारामा पानी झरेन,’ उनले भने, ‘हिउँ पगालेर पानी पिउने गरेका छौं ।’ पानी तताउन पनि घण्टौं लाग्ने गरेको विषमाया गुरुङले बताइन् । ‘दाउरा पनि हिउँले भिजेर बल्दै बल्दैन,’ उनले भनिन् । अस्थायी शिविरको शौचालयमा समेत हिउँ जमेर ट्यांकी भरिन थालेको छ ।
हिउँ पग्लिन थालेपछि अवरुद्ध बारपाक–लाप्राक–गुम्दा सडक भने सुचारु भएको छ । राहत बोकेर गएका सवारी आउजाउ गरिरहेका छन् । हिमपातले अवरुद्ध टेलिफोन सेवा मंगलबार दिउँसोदेखि सुचारु भएको छ ।
त्रिपाल र टेन्टको साटो स्थायी प्रकृतिको घर वा अस्थायी टहरो तत्काल बनाउनु पर्ने मार्सिङ गुरुङले बताए । ‘लत्ताकपडा र खाद्यान्न दिएर मात्र हुँदैन,’ उनले भने, ‘घर बनाइदिए चार हातखुट्टा खियाएर खान्छौं ।’
अस्थायी टहरो बनाउन सरकारले दिएको १५ हजार रुपैयाँले जस्तापाता किन्न पनि नपुगेको स्थानीय तुलबहादुर गुरुङले गुनासो गरे । ‘हिउँ र हावाहुरीलाई त्रिपालको टहरोले धान्दैन,’ उनले भने ।
पाँच दिनदेखि हिमपात क्षेत्रमा खटिएका असई कुलबहादुर गुरुङले स्थानीयवासीलाई मजबुत टहरो आवश्यक रहेको बताए । ‘हिउँ थपियो भने पाल च्यातिन्छ,’ उनले भने । पैसा अभावले स्थायी घर बनाउन नसकेको कुम्नी गुरुङले गुनासो गरिन् ।
लाप्राकमा चिसोका कारण हिमपात क्षेत्रका विद्यालय खुल्न सकेका छैनन् । सरकारको आशमा टहरो र त्रिपालमा बस्नु पर्दा हिमपात सहनु परेको गुम्दा सिङलाका कुमार गुरुङको गुनासो छ ।
चालक धनराज गुरुङका अनुसार गुम्दासम्म पुग्ने सडक सुचारु भए पनि सवारी साधन चिप्लिने र फस्ने समस्या छ । हिमपात भइरहेका क्षेत्रमा न्यानो कपडा र राहत सामग्री पुर्याउन गैरसरकारी संघसंस्था परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले बताए ।
पीडितहरूले भने सरकारले समयमा समस्या बुझ्न नसकेको बताए । ‘कात्तिकदेखि जाडो सुरु भयो, हिमपात भएपछि मात्रै न्यानो कपडा पाउन थालियो,’ ७० वर्षीया चिमाया गुरुङले भनिन् ।
आगो तापेर रात काटदै
धादिङको उत्तरी भेगका पाँच गाविसका ६ हजार भूकम्पपीडित परिवार हिमपातले अत्यधिक चिसो भएकाले रातभर आगो तापेरै बिताउँछन् ।
गत साता दुई दिनसम्म परेको हिउँ बिस्तारै पग्लिन थाले पनि चिसो अत्यधिक छ । भूकम्पपीडितलाई न्यानो कपडा किन्ने रकम हेलिकप्टरबाट पुर्याइएको छ । तर, खरिद गर्न जान नपाइएको सेर्तुङ–६ खर्चगाउँका धनवीर लामाले बताए ।
तिप्लिङ, झार्लाङ, सेर्तुङ रिगाउँका पाँच हजार तीन सय ७४ घरधुरीलाई न्यानो कपडाका लागि पाँच करोड ३७ लाख ४० हजार रुपैयाँ रकम वितरण गरिसकिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
जिल्लाका उत्तरी बस्ती रिगाउँ र लापाबाट खाद्यान्न, लत्ताकपडा खरिद गर्न दुई दिन हिंडेर गुम्दीको सातदोबाटो र अन्य तीन गाविसबाट दार्खाको फेदीसम्म पुग्नु पर्छ । सडक सञ्जालले नछोएका ती बस्तीमा खाद्यान्न अभाव भने छैन ।
विश्व खाद्य संगठनको कामका लागि खाद्यान्न कार्यक्रमले पाँच गाविसलाई सात सय मेट्रिक टनमध्ये करिब पाँच सय मेट्रिक टन दाल, चामल बस्तीमै पुर्याएको छ । ‘दाल–चामल भए पनि नुन–तेलको समस्या रहेछ,’ सेर्तुङ पुगेका स्थानीय विकास अधिकारी भगवान अर्यालले भने ।
- निमोनियाँ र दमले सतायो
- हिउँले आँखा पाक्ने र दुख्ने रोग पनि बढ्दो
- मंगलबार मात्रै दुई सयको उपचार
- चिसोले ३० महिने बालिकाको शरीरभरि खटिरा
ekantipur




















