किरण लोहनी
गोरखा, पुस १८ –
गोरखाको इतिहास सुन्दर नयाँ गम्काउने गोरखा
हाम्रो इज्जत आबरु जति छ त्यो चम्काउने गोरखा
पाल्पा, पर्वत बाजूरा धनगढी फर्माउने गोरखा
थापा भीम र रामशाह पृथ्विी जन्माउने गोरखा
८७ वर्षको उमेरमा एकल कविता बाचनका लागि मञ्चमा उक्लिनासाथ कवि नेत्रमणि आचार्यले आफ्नै जन्मथलोको कवितात्मक वर्णन गर्नुभयो । दर्शकदीर्घाबाट गडगडाहट तालिकाको साथ पाएपछि हौसिएका बृद्धवयका कविले
लगातार ५ वटा कविता वाचन गर्नुभयो । कविता लेखनमा ५ दशकको साधनाबाट निखारिएका आचार्यले वाचन गरेका कविता फरक फरक छन्दका त छँदै थिए, तिनका विषयवस्तु पनि विविधतायुक्त थिए । नाकावन्दी र भूकम्पले देशको अर्थतन्त्र डामाडोल भैरहेको बेला कवि आचार्यले कृषिमा ब्यवसायीकरण गर्दै आत्मनिर्भर बन्ने बाटोतिर लाग्नुपर्ने बताउनुभयो । त्यसै मेसोमा कृषकप्रति सम्मान गर्दै उहाँले शिखरिणी छन्दमा रचिएको कविता सुनाउनुभयो ।
किसानीनै दिन्छन् मधुमय मीठो खाद्य नमुना
किसानी सिर्जन्छन् मरुमूभी महाँ अमृत सुन
किसानी के भन्छन् ? निज पयरमै बाँच जनता
किसानीमै हुन्छन् निज मुलुकको प्रेम ममता
कविता वाचनकै क्रममा कुरीति, कुसंस्कार र पुराना बिचारलाई बूढो रुखको प्रतीक बनाउँदै कविले नयाँ विरुवा उमार्नु पर्ने बताउनुभयो । यथास्थितिवादी राजनीतिलाई ब्यंग्य गर्दै आचार्य कवितामा यसो भन्नुहुन्छ ।
आरो फलाँसी अझ तिब्र बञ्चरो
मच्चाई थोत्रा रुखमा दिने गरो
बेकार थोत्रा रुखनै नभैदिए
मुनाहरुले गति क्यै लिने थिए
नेत्रमणि आचार्यको कविताका पारखीमध्ये धेरैजसो युवा पुस्ताकै छन् । र, एकल कविता वाचनमा सहभागी धेरैजसो युवा पुस्ताका सर्जक र साहित्यप्रेमी थिए । आचार्यका कविताहरुको गहिरो गरि अध्ययन गरेका युवा पुस्ताका कवि तथा समालोचक सुरेन्द्र देवकोटा उहाँका कवितामा सरलता र सौन्दर्यचेत पाउनुहुन्छ । आचार्यका कविताहरुलाई ५ अलग विशेषता भित्र समेट्न सकिने देवकोटाको भनाई छ । “उहाँका कवितामा क्रान्तिकारी भावना, बेथितिप्रति चोटिलो ब्यंग्य, नैतीक शिक्षा, सनातन धर्म लगायतका विशेषता छन् ।” देवकोटाले बताउनुभयो ।
कवि आचार्यको पदचाप पछ्याउँदै छन्द अर्थात पद्यमा कविता लेख्दै आएका अर्का गोरखाली कवि नारायणप्रसाद पोखरेल ९० वर्षको हाराहारीमा पनि उत्तिकै सक्रिय आचार्य युवा पुस्ताले आचार्यबाट धेरै उत्साह लिन सक्नुपर्ने बताउनुहुन्छ । साहित्ययात्राका आचार्यले पहिलो पटक एकल कविता वाचन गर्नुभएको हो । यसले गोरखाली साहित्य र सर्जकलाई निकै सकारात्मक सन्देश दिने उहाँको विश्वास छ ।
उमेरमा पाका भएपनि समाजको अग्रगमनका पक्षमा कविता लेख्दै आएका आचार्यले नयाँ पुराना गरि २० भन्दा कविता सुनाउनुभयो । २०३१ सालबाट लेखनकार्यमा सक्रिय रहँदै आउनुभएका उहाँका १३ वटा कृति प्रकाशित भैसकेका छन् । उमेर र समयले साथ दिए अझै केही संग्रह प्रकाशित गर्ने उहाँको सोच छ ।
जिल्लामा हुने कुनै पनि साहित्यिक कार्यक्रममा नछुटाईकन सहभागी हुने उहाँले दर्जनौं सम्मान र पुरस्कार पाउनुभएको छ । हालसालै उहाँकै नाममा स्थापित नेत्रमणि आचार्य साहित्य सदनले एकल कविता वाचनको चाँजोपाँजो मिलाएको हो । छन्द परम्परालाई युवा पुस्ताले पछ्याईदिए आफूलाई सन्तोष लाग्ने उहाँको भनाई छ ।
तर कवि आचार्यलाई कहिलेकाहिँ भने राजधानीबाट पर रहेर सिर्जनाकर्ममा लाग्दा ओझेल परिने र पारिने गरिएको जस्तो पनि लाग्छ । राजधानीले त्यति धेरै वास्ता नगरेको भएपनि आचार्यको गोरखा प्रेम भने अनुकरणीय छ । दुई तीन वटा कविता लेखेर आफूलाई वरिष्ठ कवि ठान्नेहरुको भाऊ बढिरहेका बेला आचार्यलाई भने गृहजिल्लाभित्रै रहेर सिर्जनाकर्म गरिरहँदा पनि चित्त बुझेको छ ।
काठमाण्डौं नि खोजिन भो
पोखरा नि रोजिन हो
यहीँ बसे राम्रो ठानी
यै हो मेरो जिन्दगानी ।।
ujyaaloonline




















