तिलक पाैडेल
पापैपापको समूहमा धेरै पापपीण्डका आसपासको थोरै पापपीण्ड सापेक्षितरूपले धार्मिक ठहर्छ एकातर्फ भने अर्कोतर्फ कतै गाई पूजेर धर्म हुन्छ त कतै गोबधलाई धर्म मानिएकोछ । यस अर्थमा धर्म पक्कै पनि निरपेक्ष शब्द नभै सापेक्ष शब्द हो । तर, धर्मको सारांशलाई नियाल्ने चेष्टा गर्यो भने अन्ततः मानव कल्याणतर्फ निर्देशित भएको पाइन्छ । यस पाटोबाट हेर्दा धर्म निरपेक्षरूपले मानवोचित वर-व्यवहारहरू कल्याणकारी ढङ्गले यथार्थको धरातलमा प्रयोग गराउन विद्वान् अग्रजहरूले प्रयोग गरेको शब्द हो भन्ने स्पष्ट हुन्छ ।
यहाँ वैज्ञानिक आविष्कारको सोपानोकाली चढ्दै भौतिकवादको सनाई बजाइरहेको वर्तमान युगमा हाम्रो हिन्दू धर्मशास्त्रले अनुबन्ध्याएका धार्मिक संस्कार एवम् नियमहरू कति भौतिकवादी छन्/रहेछन् त ? भनेर आफ्नो अनुभवलाई यहाँहरू सामु राख्ने जमर्को गरिएकोछ । हुन त यहाँ कुन धर्म के कति कारणले ठीक र बेठीक भनी छुट्याउने तर्फ नलागी हिन्दूयीय चर्याहरू कति मानवोचित देखिन्छन् ? भनेर संभाव्य तराजुमा जोख्ने प्रयास मात्र गरिएकोछ । रपनि, कतै कसैले हिन्दुत्वको प्रचार-प्रसारको कठघरामा ठड्याएमा अहिल्यै यो आशय होइन भनेर त्यस सन्दर्भसँग नमुछिनु पङ्तिकार उचित ठान्दछ ।
सामान्यतः गृहस्थाश्रममा रहेका व्राह्मणहरूले हिन्दू धर्मको भावना अनुरूप आफूलाई चलाउने हो भने एक प्रहर रात छँदै उठ्ने, शरीरको कुनैपनि भाग ओवानो नरहने गरी नुहाउने, प्रभाती गर्ने, जप गर्ने, सनातनी गृहस्थाश्रमी कर्महरूमा संलग्न हुने, कपडा फेरेर याने शुद्ध कपडा पहिरेर भान्सामा जाने, बल हालेर खाने, खाँदा नबोल्ने, जनै लगाउने, दिसा-पिसाप गर्दा जनै कानमा राख्ने जस्ता नियमहरूको पालना गर्नुपर्ने हुन्छ । चर्मदृष्टिले नियाल्दा यी आडम्बरी कुराहरू जस्तो लाग्छन् – परिणमतः वर्तमानमा उपरोक्तानुसार कायावलम्बीहरू कोर्काली/पाखेका परिभाषामा बाँधिनु परेको देखिन्छ । के सत्यता यही नै हो त ? यसैको फरफारक आफूले गरेको अध्ययन, अनुभावका आधारमा यहाँहरूसमक्ष राख्ने चेष्टा गरिएकोछ ।
१६ वर्षको उमेर भएपछि दैनिक ६-८ घण्टाको आराम भए पुग्छ रे ! यो धार्मिक अग्रजको नभै भौतिकयुगीन वैज्ञानिकको खोजीनीतिको नतिजा हो । अब १० बजे सुतेमा ४-६ बजे, ११ बजे सुतेमा ५-७ बजे उठ्नु नीतिगतरूपमा शरीरलाई आवश्यक आरामबाट बञ्चित नराख्नु हो । फेरि अनावश्यक आराम गरेमा आलस्य बृद्धि हुन्छ, तसर्थ धेरै सुत्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यही पक्षलाई मनन गरेर हुनसक्छ, एक प्रहर रात छँदै उठ्नुलाई धार्मिक अनुबन्धभित्र राखिएको पाइन्छ ।
शरीरको कुनै भाग ओवानो नरहने गरी नुहाउनुलाई पनि अनिवार्य शर्त मानेको देखिन्छ – हिन्दूयीय चर्यामा । यसका पछि पनि गुह्य सत्य लुकेको रहेछ । मानवीय त्वाचाबाट स्खलित पसिनाले धुलैधुलोको वातावरणमा काम गर्दा जती धुलो सोस्छ, २४ घण्टाभित्र पानीले भिजाएर कपडाले पुछेमा सबै सफा गर्न सक्ने खुवी पानीमा छ भन्ने व्यहोरा पनि प्रमाणित भैसकेको छ । यस हिसाबले हेर्दा उनताका साबुनहरूको निर्माण भैनसकेकाले कपडाहरू खरानीको बाहान लगाएर र कपाल रिठो, कन्टकारी आदिले नुहाउने गरिन्थ्यो । ननुहाउने हो भने मैलाले पसिनाका प्वालहरू बन्द गराइदिने र चर्मरोग लाग्ने हुँदा साबुन नहुने जमानामा हरेक बिहान अनिवार्यरूपले शरीर सबै रुझाएर नुहाउनु भनी बनाएको धार्मिक नियम सान्दर्भिक देखिन्छ । भला आजकल साबुनहरू बनेकाले साप्ताहिक रूपले नुहाए पनि मैलालाई साबुनको प्रतिक्रियाले हटाई त्वाचा सफा गर्न सघाउ पुग्दछ ।
अब जप अर्थात् प्रभाती वा सन्ध्या कै कुरा गरौँ न ! आजभोलिको Meditation/Mind Concentration भन्दा उत्तम देखिन्छ । यसको प्रयोग समूचितरूपले गर्ने हो भने बिहान होस् वा साँझ, जप गरी सकेर सूर्यतर्फ जल चढाई ‘गुरु ब्रह्मा, गुरु विष्णु … … …’ भन्दै भान्सामा जानु पर्ने हुन्छ । वास्तवमा मानिस परिस्थितिको कमारो हो, सुख-दुःख उसका जीवनका उकाली-ओह्राली, घाम-छायाँ, दिन-रात हुन् । अब जप नगर्दा के हुन्छ भन्ने बारेमा दृष्टि दिउँ, यदि कोही सुखमा छ भने उ पुलकित हुँदै मित्रजनहरू समेतको भेला गराई, नभएपनि घरैका जाहानमात्र किन नहुन्, मांसाहारी, शाकाहारी, दूधाहारी जेसुकै किन नहोस्, धेरै प्रकारका परिकार तयार पारेर शरीरलाई आवश्यक इन्धनको ख्यालै नगरी खान्छन्/हसुर्छन् । परिणाम के निस्कन्छ – ‘अनभ्यासे विषं विद्या, अजीर्णे भोजनं विषम्,…..’ भन्दछन्, भोलिपल्ट पखाला, आउँ, मासी, शूल, वह आदिबाट पीडित हुनपुग्छ । यसको विपरीत उ परिस्थितिवस दुःखको भूमरीमा परेको छ भने घरमा गृहिणीले खाना तयार पारेर ‘खान आउनुहोस् …’ भन्ने अनुरोध गर्दा – भो मलाई खाना खान मन छैन, म खाँदिन….. भन्छ, जिद्धि गरेपछि भान्सामा गएर भागमात्र बसी शरीरलाई सञ्चालन गर्न आवश्यक इन्धनापूर्ति नै गर्दैन । परिणाम के हुन्छ ? शरीरले सञ्चित इन्धनबाट आफूलाई गतिशील राख्न विवश हुन्छ । क्रम लम्बियो भने चिन्ता/दुःखको चितामा परिणत हुन्छ । सबैले त फलानालाई के भएको हो सिठो सुके झैँ दुब्लाएको छ अचेल त ! भन्छन् । भनिन्छ ‘चिता चिंता समयद्वा, बिन्दू मात्र विशेषत: ।
सजीवो दहते चिंता, निर्जीवो दहते चिता ।।
यसरी हामीले मन एकाग्र (जप) गरेनौं र शरीरलाई सनातनी सुखदुःखमा सहभागी बनाउँदै छाड्ने मात्र गर्यौँ भने अतुलनीय क्षति व्यहोर्नु पर्ने देखिन्छ । तसर्थ विद्वान् अग्रजहरूले जपको नियमन व्यवस्था धार्मिक अनुबन्धका हिसाबले गरिदिए, जसबाट दुःख वा सुख – जुनसुकै परिवेश किन नहोस्, ‘ॐ भूर्भूवस्व …’ लाई अष्टोत्तरसय पटक, नभए दशै पटक किन नहोस् एकाग्र चित्तले जप गरेपछि दिमागबाट बाह्य तनावयुक्त परिस्थितिहरूले बिदा लिन्छन् । हाम्रा अन्तराङ्गहरू त शरीरका कर्मठ पहरेदार हुन् नै शरीरलाई जो, जे चाहिने जति इन्धन भित्र्याउँछन्, यदि यो क्रम खाना खाँदै गर्दा स्मृतियो भने पनि केही आवश्यकता त पूर्ति हुने भयो । फेरि जप गर्दा पनि कतैबाट अवरोध नहोस् भनेर यसको पनि नियम बनाइदिए । जप गर्दा बोल्न/बोलाउन हुँदैन, छुन/छुवाउन हुँदैन, हरियो तृणलाई साक्षी राखी विशुद्ध मनले मन्त्र जप गर्नु पर्दछ, जनैको शिखाको जल अचाउनु पर्दछ, चढाउनु पर्दछ । भनिन्छ – बिहानी सूर्यको प्रकाशमा उन्मुख भई शिरमाथि पुर्याएर अंखारी वा अञ्जुलीले पानीको धारा बहाउँदा परावर्तन भई निस्कने सप्त रङ्हरूले अनुकूलताको आधारमा हाम्रो मुटुलाई ऊर्जा प्राप्त हुन्छ र मुटुको रोग लाग्न पाउँदैन । फेरि, छिनेको जनै लगाउने, मन्त्र बिर्सने हो भने बोहुलाइन्छ । यी यस्ता देख्दा आडम्बरी तथ्यजस्ता लाग्ने तर उपरोक्तानुसारको व्याख्या सार्थक्याई मानवीय जीवनको सच्चाइ अभिव्यक्त्याउने हाम्रा धार्मिक नियमहरू हुन्, आदि संस्कारहरू हुन्, जुन भौतिक सोचाइ असम्मत छन् भन्न सकिने ठाउँ देखिंदैन ।
अब खाना खाँदा छुट्टै कपडा लगाएर खानु पर्दछ भन्ने व्यहोरा त स्पष्टै छ, किनभने बाहिर यात्रा गर्दा पहिरेका कपडाहरूमा हाम्रा आँखाले देख्न नसकिने, स्वास्थ्यका लागि हानिकारक किटाणुहरू स्थानानुसार हाम्रा कपडासँग आएका हुन सक्छन् । यदि तिनै कपडासँग खाना खायो भने अदृश्य ती किटाणुहरू हाम्रो खानासँग पेटमा भित्रिई हाम्रो स्वस्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छन् । तसर्थ हाम्रा विद्वान् धर्मज्ञहरूले शुद्ध कपडा पहिरेर भान्सामा जानु पर्दछ, कपडा नफेरी खानु अनुपयुक्त हो र पाप लाग्छ भन्ने त्रासको घण्टी बजाई स्वच्छ तबरले खाना खाने व्यवस्था मिलाएका रहेछन् । फेरि खाना खाँदा बोल्नु हुन्न, खाद्यवस्तुलाई दोष लगाउनु अनुपयुक्त हुन्छ, तसर्थ नबोल भन्ने सन्देश ‘पाक्य दोष नदियते …’ भनेर दिएको पाइन्छ । यसको सार के देखिन्छ भने कुरा गर्दै खायो भने बोल्दा/हाँस्दा खाना अनारीतिर जान सक्दछ र सर्को परेर मृत्यु समेत हुन सक्ने तथ्यको उजागर गरेको प्रतीत हुन्छ एकातर्फ भने अर्कोतर्फ हाम्रो शारीरिक संयन्त्र कस्तो रहेछ भने कुनैपनि खानेकुरा मुखमा हाल्ने वित्तिकै जिब्रोका स्वदगिर्खा (Test Bug) हरूले स्वादपारख गरी सञ्चार सम्वाहक तन्तुहरूले मस्तिष्कमा खबर गर्दारहेछन् अनि मस्तिष्कले तुरुन्तै आमाशयमा रहेका ‘भिलस’ (भुँडिभित्रको भुवादारीजस्तो) लाई यस्तो खाना आउँदैछ त्यो पचाउने विभाग तयार हुनु भन्ने खबर गर्दोरहेछ । परिणाम, मुखमा खाना चपाएर निल्दासम्म पेटमा खाना अनुकूलको पाच्यरसायन सहितका पाचनतन्तुहरू खानाको स्वागत गर्दछन् र त्यो खाना सुपाच्य हुन्छ । तर, गफ गर्दै खायो भने यो सञ्चार संयन्त्रै अवरुद्ध हुने हुँदा हाम्रो पेट मानौँ ओखरपौवाको ल्याण्डफिल जस्तो हुन जाँदा छुट्याउने ‘स्काइभेञ्जरहरू’ खटाउनुपर्ने र तिनले आलस्य दर्शाएमा फोहोर नकुहे जस्तै खाना नपच्ने हुन सक्दो रहेछ ।
यो मानेमा जप गरेर, कपडा फेरेर, नबोलेर खाना खानु स्वास्थ्यका दृष्टिले उपयुक्त देखियो नै । अझ खाँदा बल हालेर खानु भन्ने नियमले उसैबेला पनि सुक्ष्मदर्शक यन्त्रहरूबाट Micro-organism को पहिचान गरी तिनले हामीलाई पार्ने प्रतिकूल प्रभावको अध्ययन गरेर अनभिज्ञताको बाहुल्य रहेको तत्कालीन समाजमा धार्मिक संस्कार, नियमका रूपमा कार्यान्वयन गराएको झैँ लाग्दछ । किनभने गोबरले लिपपोत गरिएको भान्सामा पकाइएको खाना, नुहाइ-धुवाइ गरी प्रभाती वा सन्ध्या गरेर सफा कपडा फेरेर खान गए पछि बल हाल्ने (थालको वरिपरि पानीको घेरो हाली, आगाको फिलिङ्गोमा दूध-घ्यूमा मुछेको भात चढाउने, पहिला पाँच गास त्यही दूध वा घ्यूमा मुछेको भातको स-सानो गास खाने, पानी अचाई दायाँ-वायाँ कान छुँदै शिखा छुने आदि) कार्यले हामीलाई हानिकारक जीवाणुहरूको सम्पर्क हुन नदिने मात्र नभै भोजन नलीलाई पनि खुलाउने व्यवस्था मिलाएको प्रतीत हुन्छ । कारण, तातो भातको वाफले वायुमार्ग हुँदै हाम्रो खानामा सम्पर्किएर हामीलाई, हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर पार्ने जीवाणुहरू नष्ट गराउँछ । यसउसले बासी खाना खान पनि वर्जित गरेको पाइन्छ । अब थाल वरिपरि पानीको घेरो अटूट रूपमा हाल्दा स्थल मार्गबाट हाम्रो खानामा मिसिन आउने हाम्रो आँखाले देख्न नसकिन जीवाणुलाई त ठूलै नदीको रूप हुने भो, त्यो पार गरेर थालसम्म आउन सक्ने कुरै भएन भने साना जीवाणुहरूका लागि थालको प्रचण्ड तातोले पानीको घेराभित्रको भागमा रहेका जीवाणुहरूको इहलीला स्वतः समाप्त भई हाम्रो खानामा हानिकारक जीवाणुले सम्पर्कै गर्न नसक्ने भए ।
अब सुरुमा भात दूध वा घ्यूमा मुछी आगोमा चढाउने नियमले हालमा हवनकार्यले पर्यावरणीय प्रदूषणलाई स्वच्छ बनाउँछ भनेर स्वीकारिएको वर्तमानको सत्यतालाई उनैताका मूर्तरूप दिएको झैँ लाग्दछ । हुन पनि दूध वा घ्यूमा नै मुछेको भात नै चढाउनु पर्ने नियमले त्यसबाट उत्पन्न हुने धूवाँले त्यही वरिपरिको (थालदेखि मुखसम्मको) मार्गमा भएको प्रदूषण त दूर गर्ने नै भयो, फेरि पानी अचाई ५ गास त्यही भात सानो-सानो गास गरेर खाने प्रावधानले शुष्क भएको भोजननलीलाई रसिलो बनाउन सहयोग पुर्याउने वास्तविकता पनि यस तथ्यभित्र सन्निहित देखिन्छ । पाँच गासपछि नाक, कान छुँदै टुप्पीको शिखा छुने प्रावधानले दायाँ-वायाँ-माथि फर्कन लगाई भोजननलीको सबै तर्फ खुल्न मद्दत पुर्याएको पाइन्छ । यसरी खाना बल हालेर खानु भन्ने जुन नियम धार्मिकरूपमा राखियो, यो वास्तवमा स्वास्थ्यका दृष्टिले अति गुणकारी देखिन्छ, जुन वर्तमानका भौतिकवादी व्याख्यासँग तादात्म्य नगराइएको मात्र रहेछ भन्ने स्पष्ट हुन्छ ।
अब जनैका विषयमा घोत्लिऊँ । धार्मिक आख्यान अनुसार इन्द्रजीतले ब्रह्माजीबाट वरदान पाएको ब्रह्मपास रावणको फूलवारी सखाप पार्ने पवनपुत्र – हनुमान पक्डन सक्षम देखाई यो पवित्र बन्धन दिसा-पिसाप गर्दा शिर्षस्थानमा झुण्ड्याउनु पर्दछ अन्यथा अपवित्र हुन गाई पाप लाग्छ भन्ने परिवेश सिर्जाएर तत्कालका हामीलाई दिसा-पिसाप गरेपछि हातपाउ धुन वाध्य बनाएको जस्तो देखिन्छ । किनभने जबसम्म दिसा-पिसाप धोईंदैन तबसम्म नियमतः जनै कानमा झुण्ड्याएर शिर्षस्थानमै राख्नु पर्ने भो, जसले दिसा गरेपछि धोए/नधोएको स्मरण गराउने भो अर्थात् बिर्सिने भैएन । हुन पनि उनताका शौचालयको व्यवस्था नै कहाँ थियो र ! दिसा-जङ्गल जाने भन्ने भनाइ नै थियो । त्यसैले दिसा बसिएको ठाउँमा नै पानीको बन्दोवस्त नभएमा, पानी भएको ठाउँसम्म दिसा धुने कार्यको स्मरण जनैले गराउने भयो । पानी लिएरै गएमा धोएर उठ्ने वित्तिकै जनै काँधमै खसाल्दा नियमानुसार फरक पर्ने भएन । फेरि, दिसा-पिसाप पानीमा गर्नु हुँदैन भनेर पानी स्वच्छ राख्न आह्वान गरेको स्पष्टिन्छ । यदि कसैले पानीमा दिसा-पिसाप गर्दछ भने त्यसलाई कुष्ठरोग (कोह्र) हुन्छ भन्ने सनातनी भनाइ हाम्रा पूर्खा अग्रजहरू अद्यापि सुनाउनु हुन्छ । अर्को तथ्य जनैले साँचो/कुची भिर्ने विश्वासिलो रिङ्गको काम गर्नेमा पनि विमती जनाउन सकिंदैन । किनभने, जनैको एउटा पयो (६*९=५४ मध्ये) मात्र चुँडियो भने नबोलिकन अर्को जनै फेर्नुपर्दछ भन्ने मान्यताले जनैको साँचो कहिल्यै हराउने सम्भावना देखिंदैन । काँधमा जनै नहुँदा बोल्नै नहुने हुँदा सदा काँधमा रहने जनैको साँचो कोठामा भित्रै छाडिएर बाहिर ताला अंठ्याई पछि फोरेर भित्रिनु पर्ने अवस्था पनि कहिल्यै आउने भएन । अर्को पक्ष दिसा बस्दा सबै स्नायुहरू कमजोर हुने हुँदा मष्तिस्कमा प्रतिकूल प्रभाव पर्न सक्ने र कानमा बेरी जनै राखेमा उक्त असर नपर्ने भन्ने मान्यता अनुरूप जनैलाई प्रयोग गरिएको भन्ने तथ्यलाई पनि अर्घेल्याई हाल्नहुने ठाउँ देखिंदैन । यसउसले गर्दा जनै लगाउने र सोसँग अन्य प्रसङ्ग मिलाइएका हाम्रा हिन्दूयीय व्याख्याहरू हेर्दा मानव जीवनको संरक्षणार्थ अल्पज्ञको बाहुल्य रहेताका विद्वान् अग्रजहरूले धार्मिक अनुबन्धका रूपमा सबै सामु राखिदिएको छर्लङ्ग हुन्छ, जुन वर्तमानमा भौतिकताले मसिन्याइ रहेको पाइन्छ ।
सारांशमा यस्ता अनेकन धार्मिक नियमहरू – जुन हुबहु अहिले लागू गर्नु सर्वथा उपयुक्त देखिंदैनन् तापनि उतिबेलै पनि मानवोचित क्रियाकलापहरूमा जातीय लक्ष्मण रेखाहरू खिचेर सबैलाई समानरूपले लागू गर्न र हुनबाट वञ्चित किन गरियो त नि ! भनी पङ्तिकारले वर्तमानका धार्मिक व्याख्यातासामु जिज्ञासा राख्दा ‘सबै एकै खाले बनाएमा मानव जीवन सञ्चालनका लागि अनिवार्य क्रियाकलापका शृङ्खलामा गर्नुपर्ने यावत् कार्यहरू कसले गरिदिने ? खेत जोत्ने हली चाहियो, बाउसा/आँसी बनाउन आरनमा काम गर्ने व्यक्ति चाहियो, भन्नुहोस् उसलाई बिहानै उठेर नुहाइ-धुवाइ गरी आरनमा बस भन्दा नुहाएको के अर्थ ? आखिर प्रकृतिले मानव जीवनलाई वातावरण अनुकूल चल्न/चलाउन सक्ने सामर्थ दिएकै छ त कुनै वर्गलाई आफ्नो स्वच्छन्दतामा पनि रहन/रमाउन दिंदा के बिग्रने भो र ? तसर्थ यो धार्मिक संस्कार मानव कल्याणकारी भएर पनि सबैलाई अनिवार्य नगरिएको हो/थियो’ भन्ने उत्तर प्राप्त भएथ्यो । यसरी हेर्दा ‘कर्म अनुसार धर्म’ भन्ने आहान पनि वास्तविकतामा आधारित देखिन्छ ।
जेहोस्, अब हामीकहाँ सुलभ शौचालयहरू निर्माण भइरहेछन्, पानीको व्यवस्था त्यहीं हुन्छ, जनै कानमा झुण्ड्याइरहनु पर्दैन; साबुनहरू बनेकाछन्, हरेक दिन नुहाउनै पर्छ – वाध्यता भएन अर्थात् यस्ता प्रसङ्ग जुन भौतिकवादी आधुनिकताले पुराना व्यहोरा मानवोचित भएपनि उही रूपमा “बिरालो बाँधेरै श्राद्ध गर्नुपर्दछ ” भन्ने छैन । आखिर सबै धार्मिक नियमहरू मानव कल्याणका लागि पापकुण्डको काल्पनिक व्याख्या गरी/गराई लागू गरिएको रहेछन्, जुन यथार्थतः भौतिकतासँग तादात्म्य गरेको स्पष्टिन्छ नै । किनभने पङ्तिकारले १ वर्षसम्म जनै नलगाएर हेरेँ, तर कसैले मलाई पागलको संज्ञा दिएनन्, जप बिर्सिसकेँ – बौलाहेको अनुभव गरेको छैन । तसर्थ आडम्बरका रूपमा नुहाउने नियमलाई कपडा नै नफुकाली जनै चिस्याएर कपडाभित्रै पानी छर्कने, कपडा फेरेर खाना खाने प्रावधानलाई लगाइरहेकोभन्दा फोहोर कपडा लगाएर खानु सर्वथा अनुचित हुन्/रहेछन् । हाम्रा संस्कारगत उल्लिखित धार्मिक नियामकहरूको मनसाय पनि त्यस्तो नरहेको देखिन्छ र बिक्रीडिता तर्फ धकेल्नु सुझबुझयुक्त व्यक्तित्वलाई सुहाउने कुरा पनि होइन । जे भएपनि, १ प्रहर रात छँदै उठ्नु, हरेकदिन पानीले शरीर पखाल्नु लगायतका उपर्युक्त अनुसारका कतिपय अनुल्लिखित तर धार्मिक नियममा अनुबन्धित प्रसङ्गहरूको प्रयोगले शरीरमा स्फूर्ति आउने तथ्य अनुभव गरिसकिएकोछ र यहाँहरूलेले पनि गर्न सक्नुहुन्छ ।
समष्टिमा भन्दा हाम्रा हिन्दू संस्कारका धार्मिक नियमहरू पूरापूर भौतिकवादी स्वास्थ्य चर्चालाई माथ गर्ने हिसाबले हाम्रा विद्वान् धार्मिक अग्रजहरूले सामयिकरूपमा खाकाबद्ध गराइएका देखिन्छन् । तर वर्तमानमा उपर्युल्लिखित बमोजिम हुबहु लागू गरिरहनु नपर्ने अवस्था सिर्जना भैसकेकोछ । तापनि धार्मिक ग्रन्थको परिभाषामा अचेलका कायावलम्बीहरूलाई हिन्दूको संज्ञा दिन सकिने अवस्था छैन । तसर्थ पुरातन बनेका कर्महरूलाई समिचीन ढङ्गले परिमार्जन गर्ने व्यवस्था हुनु जरुरी देखिन्छ । जुन व्यहोरा धर्मसभाको आयोजना गरी तत् विज्ञजनले कार्यान्वयन गर्ने व्यवस्था मिलाउने हो भने हिन्दूयीय कृतहरू पनि अवलम्बन उपयोगी हुनेछन् जुन भौतिकवादी बनेर होस् वा अध्यात्मवादी भएर होस्, सबैले लागू गर्यौं भने हाम्रो शरीरको कल्याण अवश्य हुनेछ । उल्लिखित व्यहोराहरू जुन तरिकाबाट लागू गर्दा मनपसन्द हुन्छ सोही हिसाबले अवलम्बन गरौँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०७९ साउन ९ गते सोमवार
कीर्तिपुर-२, अमृतनगर, काठ्माडौं ।




















