तिलक पाैडेल
एउटा पैसो छैन दाइ, चैते दसैँ बाग्लुङ बजारलाई …!
चैते दसैँ नेपाली हिन्दु समाजमा मनाइने प्रमुख पर्वहरूमध्ये एक हो, जसलाई विशेषतः शक्ति आराधना, शौर्य, परम्परा र सांस्कृतिक एकताको प्रतीकका रूपमा लिने गरिन्छ । चैत्र महिनाको शुक्ल पक्षलाई हिन्दूधर्ममा अत्यन्त पवित्र समय मानिन्छ । हरेक वर्षमा असार, असोज, पुस र चैतमा गरी चारवटा नवरात्र पर्छन् । असार र पुसको शुक्ल पक्षमा पर्ने नवरात्र कताकति मनाइने भएपनि उत्तिको प्रचलनमा छैनन् । चैत्राष्टमीको दिनलाई चैते दसैँको रूपमा मनाउने गरिन्छ । यो दसैँ मनाउनुको मुख्य उद्देश्य यो लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्तिका लागि शक्तिस्वरूपा देवी दुर्गा र पुरुषोत्तम भगवान् रामबाट आशीर्वाद याचना गर्नु हो भन्ने मान्यता रहेको छ ।
पहिले-पहिले चैतेदसैँलाई नै मुख्य दसैँका रूपमा मनाइने गरिन्थ्यो । तर चैत महिनामा चैते हुरी चल्ने, खडेरी पर्ने, मौसम गर्मी हुनेहुँदा दसैँका मिष्ठान्नहरू पचाउन सहज नहुने, धेरै व्यक्तिहरू दसैँको निहुँमा बिरामी पर्ने जस्ता कारणले मुख्य दसैँलाई मानव स्वास्थ्य प्रतिकूल हुने वसन्त ऋतुको चैत महिनाको सट्टा शरद ऋतुको असोज महिनामा मान्ने गरिएको भनाइ पाइन्छ । त्यसैले यो दिन अशोकको फूल खाने हो भने रोगव्याधिहरू नष्ट हुने जनविश्वास हुँदा अशोकको फूल पाएसम्म खाने गरिन्छ । अचेल पनि चैते दसैँलाई कतिपय ठाँउमा सानो दसैँ नै भन्ने गरिन्छ । त्यसैले बडादसैँमा जस्तै चैते दसैँमा पनि नवदुर्गाका —शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री— रूपहरूको पूजा अर्चना गरिन्छ ।
यो पर्व वर्षको अन्त्य (चैत्र) र नयाँ वर्षको स्वागत (वैशाख) बीचको सङ्क्रमणको समयमा मनाइने भएकाले शुभ-शक्ति साधना गर्दै नयाँ वर्षलाई शुभ बनाउने तयारीको पर्वको रूपमा पनि लिन सकिन्छ । चैत्र शुक्ल अष्टमीमा मानिने चैते दसैँ अनि भोलिपल्ट मनाइने रामनवमी हरेक वर्षकालागि लगभग अन्तिम पर्वहरू हुन् । यी पर्वपछि तत् वर्षका चाडहरू सकिन्छन् ।
चैतेदसैँका दिन उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, रक्तकाली, शोभाभगवती, नक्साल भगवती, मैतिदेवी र सङ्कटा मन्दिरहरूमा सबेरैदेखि दर्शन गर्नेहरूको भीड लाग्ने गर्दछ । उपत्यका बाहिर पनि पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायतका शक्तिपीठमा विशेष पूजा-अर्चना गर्ने गरिन्छ । यसैदिन हनुमान ढोका र भक्तपुर दरवार स्क्वायर, तलेजु भवानी लगायत उपत्यकाका मन्दिरहरूमा पशुबलि दिने गरिन्छ । नेपाली सेनाको समेत सहभागितामा गरिने पशुबलि कार्यक्रमलाई पर्यटकहरूले पनि सार्वनजिक रूपमा हेरी रमाउने भएकाले पर्यटकिय हिसाबले पनि चैतेदसैँलाई उत्तिकै महत्त्वपूर्ण मान्न सकिन्छ ।
भगवान् रामले आफ्नी सहधर्मिणी सीताको अस्मिता रक्षा गर्न र दानवराज रावणको दुस्साहसी एवम् असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन रावणको वध गर्नुभएको थियो । चैते दसैँका दिन रामले आफूलाई तोकिएको चौध वर्षको वनवास अवधि सकाएर सकुशल अयोध्या फर्केको खुसीयालीमा अयोध्यावासी र समस्त हिन्दु धर्मावलम्बीहरूले असत्यमाथि सत्यको विजय ठानेर चैते दसैँ मनाउन थालेका हुन् भन्ने सामाजिक मान्यता रहेका पाइन्छ । संयोग भोलिपल्ट नवमी तिथिमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा भगवान् रामचन्द्रको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।
मुलुकभरि विभिन्न ठाउँमा चैते दसैँ आ-आफ्नै हिसाबले मनाइने गरेपनि गण्डकी क्षेत्रमा बाग्लुङ जिल्लाको देवीस्थानमा चैते दसैँ विशेष रूपले मनाउने गरिन्छ । यही मानेमा हामीकहाँ शुरुको गीत यिनताका प्रचलित हुन्छ ।
‘ए कान्छा ! अहिलेको चैते दसैँमा बाग्लुङ जाऊँ है ?’ बुवाले खेताघरे कान्छादाइलाई भन्नुभयो । कान्छाले पनि ‘लौ जाऊँ भने जाऊँ’ भनेर स्वीकृति जनाए । यो कुरा फाउपूर्नियाँका दिनको हो । हामी केटाकेटीहरूले बाँसको पचका बनाएर मसीमा पानी मिसाएर छेपाछेप खेली सकेर आँगनमा आउँदा मैले उक्ता वार्ता सुनेथेँ । तब मलाई पनि बाग्लुङ भन्नी कस्तो होला ? जान पाए जस्तो मन पल्हाएथ्यो ।
म त्यस्तै ५/६ कक्षामा पढ्थेँ होला । स्कुलमा पनि चैतेदसैँ र रामनवमीको बिदा हुने भएकोले मैले बुवासँग म पनि बाग्लुङको बजार हेर्न जान्छु भनेँ । पढ्नमा राम्रो थिएँ, सितिमिति केही माग नगर्ने छोराले बिदाका दिनमा त्यतिको माग राख्दा बुवाको मनले पनि जायजै ठहर्याएछ क्यारे ! ‘हिँड्न सक्छौ ?’ भन्नुभयो । मैले सक्ने व्यहोरा जनाएँ । परिणाम सप्तमीका दिन बिहानै हाम्रा बाउ-छोरा, खेताघरे कान्छा र थुमका पुर्नारी टीकाराम समेत भई चार जनाले बाग्लुङको साइत गर्यौँ । वास्तवमा कार्कीनेटाको उकालो चढ्न गाह्रै रहेछ । तर हिँड्न सक्छु भनेकाले थाकेको नदेखाउन सकिनसकी उकालोमा पनि घरिघरि दौडेँ । नेटामा पुगेपछि चिया खायौँ, सिन्कौलीका पात हालेर बनाएको भन्नुहुन्थ्यो बुवाले – मीठो थियो । त्यहाँपछि फेरि ओरालैओरालो झरेर ज्ञादीचौर पुगियो ।
घर-घरमा सेल-रोटी, अर्सा, अनरसा, खीर, तरकारी, अचार, मासु जस्ता विभिन्न परिकार बनाउने चलन अनुसार सबैले एकुन् चिजहरू झोलामा हाल्नु भएको रहेछ । सबैले भोक लागेको महसुस गर्नुभएकाले म केटाकेटीलाई भोकायौ होला भन्दै सबैले अर्नी खाइयो । त्यहाँबाट कालीको झोलुङ्गो तरेर कुस्मा निस्कन फेरि उकालो पर्दो रहेछ । कुस्मा बजार ठूलै लाग्यो । एउटा चिया पसलमा फेरि चिया खाइयो र तेर्सै-तर्सै मालढुङ्गा भन्ने ठाउँमा पुगियो । त्यहाँको पुल तरेर तेर्पाएँ-तेर्पाएँ उकालो चढेपछि रुखैरुखका बिचमा रहेछ – बाग्लुङ् कालिका देवीस्थान (मन्दिर) । रुखका फेदमा तिर्पाल भन्नुहुन्थ्यो बुवाले, ठूला ओढ्ने च्यादर जस्ता टाँगेर धेरै मान्छेहरू बसिसकेका देखिन्थे । टिकारामले ‘हैन यो चैतमास पनि यहाँ त जाडै लाग्यो नि मलाई त !’ भन्दा ‘ठूल्ठूला रुखहरूले दिनमा घाम छिर्न नदिने हुँदा ओसिलो भएको हो । कुस्माको उकालोमा कस्तरी पसिना आ’ते, तेइ सम्झेर रुखमुनि बस्नी हो । अब साँझ परे’सि आरतीबाट गानबजान शुरु हुन्च, केको निदाम्नी हो र ! नाचगान् हेर्दाहेर्दै परार आउँदा मैले झिमिक्कै गरेको हैन के रे …’ बुवाले आफ्नो अनुभव सुनाउनु भयो । ‘बरु बजारतिर जाम एकचोटि र भोलि किन्ने सामनहरू हेर्नी, भाउ बुझ्नी गरम्’ भन्नुभयो बुवाले र हामी बजारतिर लाग्यौँ । काठका धार्ने ठेका देखि आने-पाँचमुठी, चम्ठी, गरिया भनिने काठका सामान अनि डाला, नाङ्ला, चाल्ना जस्ता चुइयाका सामनहरूको पसल त कति हुन् कति !? ठूला मान्छेहरूले त्यस्तै सामानको भाउ सोध्दै हिँड्नु भयो भने मलाई हामी केटाकेटीले खेलाम्नी चिजको खोजीमा आँखा दौडाउन मन लाग्यो । एउटा पसलमा ठ्याक्कै स-साना केटाकेटीका खेलौना मात्रै रहेछन् । बुवाले मैले केइ’नि नभन्दै सिठी किनिदिनु भयो । अर्को हातमा लिएर हल्लाउँदा छिर्लिङ्-छिर्लिङ् गर्नी किनेर ‘यो भाइबैनीहरूलाई लगिदिने हुन्च ?’ भन्दा त्यो मैलाई मन परेपनि केही नभनी ‘हुन्च’ भनेको सम्झँदा अचेलको त्यागको भावना तिनैताका बिजाङ्कुरण भएको रहेछ कि जस्तो लाग्दछ ।
बजार घुमी सकेर हामीहरू फर्केर देवीस्थानको गेट नजिकैको चिया पसलमा तातो-तातो चियासँग घरबाट ल्याएका रोटीहरू खानाको रूपमा खायौँ । भोक लागेको रहेछ क्यारे ! सारै मीठा भए । खाइसकेर भित्र जाँदा त झलमल्ल बत्तीहरू बालेर भजन कीर्तन गाएर नाचेका रहेछन् । एकछिन घुमेर हेरेपछि बुवाहरूले उपयुक्त ठाउँमा बस्ने व्यवस्ता मिलाउनु भयो । बुवाले मलाई आफ्नो काखको सिरानी गरी सुत्न भन्नुभयो र च्यादर ओडाइदिनुभयो । थाकेको भएर होला, एकैछिनमा निदाएँछु । बिच-बिचमा बिउझँदा खैजरी, मुजुरा, मृदङ्गा, मुरलीहरूको धुनसँग गानबजान चलिरहेको थियो ।
बिहान झिस्मिसै तल नदीमा झरेर नुहाइयो, पानी भने चैतमा भएपनि चिसै लाग्यो । ‘गण्डकी भनेकी हिमनदी हुन्, यिनको पानी सधैँ चिसै हुन्छ’ भन्नुभयो बुवाले । हामीले नुहाइसकेर बुवाहरूले जप गरी झोलामा ल्याएका सिसि निकालेर पखाली घरका लागि जल भर्नुभयो र माथि देवीस्थानमा गएर दर्शन गर्यौँ । घरलाई पनि फूल-प्रसाद लिई बाजरतिर गएर बुवाहरूले ठेका, ठेकी, पाँचमुठे, नाङ्लो, चाल्नोहरू किन्नु भयो । मलाई त्यस्तै दुईमाना जाने जत्रो ठेकी बोक्ने जिम्मा मिल्यो । सामान किनी सकेपछि तल झरेर पुल तरी एउटा होटेलमा भात खायौँ । मासको हैन मुसुराको दाल रहेछ, जिम्मुले झानेको सारै मीठो लाग्यो । मैले सधैँभन्दा केही बढी खाएँ । त्यसपछि उही हिजो आएको बाटो सामान बोकेर हिँडियो । झम्केसाँझ पर्दा घर आइपुग्यौँ । मलाई बल्ल थाकेको महसुस भयो । साँझको खाना खाएर चाँडै सुतेँ । यसरी जीवनमा चैतेदसैँको रमाइलो बाग्लुङमा गएर हेरेथेँ । अचेल त टोल-टोलमा बजार छन्, राम-रमाइलो गर्न अनि सरसामान किन्न चैते दसैँ कुर्नै पर्दैन, बाग्लुङ पुग्नै पर्दैन । अब त बरु देवीस्थानमा कालिकाको दर्शन गर्न तीर्थाटनमा जान्छन्, मानिसहरू ! समयको प्रवाहसँगैको बदलाव !!!
वास्तवमा चैतेदसैँमा देवीशक्तिको आराधना, राम-आदर्शको स्मरण, सामाजिक मेलमिलाप, परिवारिक एकता अनि नयाँ वर्षको तयारी गर्ने भावहरू मिसिएको चाडको रूपमा अचेल पनि मनाउनु उपयुक्त देखिन्छ । यसमानेमा परम्परागत विधि र आधुनिक चेतनाको समन्वय गर्दै यस पर्वलाई अब पनि नेपाली जीवनमा हर्ष, उल्लास, श्रद्धा र धैर्यको शक्ति जगाइरहने बनाउनु युक्तिसङ्गत देखिन्छ । जय बाग्लुङ कालिका !!!
...सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
(२०६८ बैशाखको खाकामा आधारित)
कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।
(आँधीखोले संस्कृति र स्मृतिबाट साभार)





















