तिलक पाैडेल
कुरा २०४६/४७ तिरको हो । मेरो जेठो छोरा १ वर्षजतिको थियो । हामी सुर्खेत बस्थ्यौँ । सरकारी जागीर – त्यो पनि अधिकृत स्तरमा प्रवेश गरेको एक डेडवर्ष भएको समय । उही कवि विन्दुराज सिग्देलले जागीरे जीवनमा भने झैँ –
गर्थे काम अफिसको रुची लिई, छिटो छरितो सित ।
फूर्ति फार्ति थियो उमङ्ग उतिकै ठान्थें झुकौं को सित ?
गतिलै काममा छिरेको छु । आफ्नो बुता वर्कतले भ्याएसम्म गर्न सक्नु पर्छ, मान-मनितो, धन-सम्पत्ति पूर्ण हुने नै छ भन्ने दृढता थियो । संयोग, हाम्रो अञ्चलबासीहरूको मिलन-परिचय कार्यक्रम राख्ने कार्यक्रम तय भयो । संयोजन गर्ने जिम्मा म र बाँस्तोलाजीले पाएऊँ । म राष्ट्रिय योजना आयोगको क्षेत्रीय कार्यालय र वहाँ जिल्ला हुलाक कार्यालयमा काम गर्थ्यौँ । वास्तवमा दुवै फुर्सदका कार्यालय भएकाले हुनसक्छ अन्यान्य रहरालु मित्रजनहरूले तदार्थिक ढङ्गले उक्त जिम्मेवारी हामीलाई सुम्पेको । खैर ! जसरीसुकै भएपनि नववर्षको शुभोपलक्ष्यमा कार्यक्रमको आयोजना गराउनै पर्ने थियो र चैत्रको दोश्रो हप्ताको शुक्रबार कार्यक्रम तय गर्न वास्तोलाजीको कार्यालयमा, कार्यालय समयपछि भेट हुने कार्यक्रम साताको पूर्वार्द्धमै म आफैँले तय गरी छाडेको थिएँ ।
संयोग, त्यसैदिन – याने शुक्रबारका दिन सवावर्षे छोरा पखालाले पीडित हुन पुगेछ । परिणाम अर्धाङ्गिनीले कार्यालयमा फोन गरी कार्यालयसमय सकिनु पहिल्यै कोठामा आई, बाबुलाई डक्टरकहाँ देखाउन लाने कुरा गरिन् र मैले हार्दिकतापूर्वक स्वीकार गरेँ र व्यहोरा कार्यान्वयन पनि गरेँ । भला ! पौने तीन बजेतिर वास्तोलाजीले मलाई स्मरण गराउनु भएको थियो, तापनि मैले यथार्थ व्यहोरा निःसङ्कोच उद्धृत गर्दै सहभागिताप्रतिको असक्षमता प्रकट गरेथेँ ।
कुरा भोलीपल्ट शनिबारको हो । मैले आफ्नो प्रातकालीन खाना खाई बाबुलाई अलि सञ्चो लागेकोले निर्धारित समय पहिल्यै, क्षमा याचना गर्दै लाए/अह्राएको काममा सरिक हुने गरी, हुलाक कार्यालयतिर रमाना भएँ । त्यसपछि, वास्तोलाजीको व्याख्यानको सारांश हो – उल्लिखित शिर्षक – के हामी कुकुर जत्तिकै पनि छैनौँ वा रहेनौँ ?
बाबुलाई आराम लाग्यो ? भाउजू हुनुहुन्थेन कि क्या हो ? हिजो, कि तपाइँले डाक्टरलाई चिनेको हुँदा, बाबुलाई क्लिनिकमा तपाइँले नै लग्नु परेर हो ? विवेकजी ! सामान्य अभिभादन पछिका प्रश्नहरूको झटाराहरू हुन् – मप्रति वास्तोलाजीका । सोचेँ, वास्तोलाजी सान्दर्भिक प्रवचन दिने मूढमा हुनुहुन्छ, म मात्र श्रोता बन्नु बुद्धिमानी हुनेछ, जस्तो लाग्यो र गरेँ पनि त्यस्तै । वास्तोलाजी अघि बढ्दै जानु भो –
विवेकजी ! कुकुर्नीले एक बेतमा ७/८ वटा बच्चाबच्ची (छाउरा/छाउरी) जन्माउँछे, हैन त ? त्यसको लोग्नेको ठेगान हुँदैन हो ! आफ्नो बासस्थानको ठोस निधो पनि छैन । आफ्नो भण्डारबाट निकालेर खाउँला – सोच्नु सम्म छैन । हल ! पैसा छँदैछ, खरिद गर्न के पाईंदैन र ? भन्नु पनि छैन रपनि प्रकृतिले त्यस स्तनधारी स्त्रीलिङ्गीलाई स्तनपान गराउन सक्षम बनाइदिएकोछ । भला “चे-चे” शब्दोच्चारणमात्र उसको “कलो” खाने शुभावसरको खुसखवरी किन नहोस् । हैन त ? अब त्यतिका छाउरा-छाउरी बिरामी पनि त हुँदा हुन् ! तर न कसैले डाक्टरकहाँ लग्न सहयोग पुर्याउँछ ? न यातायातका साधन छन् – त्यसका लागि ! न लोग्नेको सहयोग नै अपेक्षित छ ? न बाकसमा पैसा छ नै – टेम्पो/टेक्सीलाई भनेर क्लिनिक लैजाऊँ त नि ! भन्नु छ । कसो विवेकजी ? तापनि, अस्तित्वका लागि सङ्घर्ष (Struggle for Existance) को नियम प्रकृतितः पालना भैरहेछ । कुन्नी ! हामीमात्रै हो कि क्या हो ? मख्ख पर्ने । जव कि एक कविले –
जो पालीकन पालिदैन कहिले, फालिन्छ जो दैवले ।
जो फालीकन फालिंदैन कहिले, पालिन्छ जो दैवले ॥
कोही जीवित छन् अनाथ वनमा, जो फालिएका पनि ।
मर्छन् ती घरमा बडा जतनले, सम्भार गर्दा पनि ॥
भनेको पाइन्छ । हैन र ? खैर ! जेसुकै होस्, मैले अलि तातो र तिक्ताभिव्यक्ति गरेँ क्यारे ! माइण्ड नगर्नु होला । तर वास्तविकता के चाहिँ हो भने – “तपाइँ छोराछोरीलाई आफ्नो खुट्टामा उभिउन् भन्ने चाहनुहुन्छ भने, केही न केही जिम्मेवारी सुम्पनुहोस्” भन्ने विद्वत् भनाइको व्यावहारीकरण गर्नु/गराउनु । यो व्यहोरा अन्य नातेदारहरूमा पनि लागू नहुने कुरै भएन । जहाँपनि र जुनपनि काममा आफैँ तम्सिने बानीले परिवारका सदस्यहरूमा परावलम्बिताको विकास हुनजान्छ । फेरि, तपाइँ हाम्रो लेवलमा त हाम्रा अर्धाङ्गिनीहरूलाई हाम्रो नाउँ विनिमय गर्न सजिलो पनि छ; यदि उनीहरू आफैँले सक्षमता दर्शाउन असमर्थ भैहाले भने पनि । हैन त ?
अब, हिजोको उदाहरण लिऊँ न – तपाइँ यता निर्धारित कार्य सम्पादनमा आउनु भएको भए, के घरमा पैसा थिएन ? भाउजूले जावो हजार/पाँचसयको जोहो मिलाउन सक्नु हुन्थेन र ? तेइपनि, क्वाटरमा सहयोगी छँदै थियो हैन त ? त्यसमा पनि पैसा भएपछि रेक्सावालले “तिम्रो लोग्ने नभै म कतै पनि लग्दिन भन्छ/भन्थ्यो होला र ?” अस्पताल वा क्लिनिकमा चिनेको मान्छे बेगर अरूको उपचारमा लापरवाही गर्नु/गराउनुलाई तपाइँ हामीले पनि डाक्टरी धर्म भनेर परिभाषा गर्नु पटमूर्ख्याइँ हैन र !? डाक्टरले सिफारिश गरेको औषधी के, कसरी, कहिले ख्वाउने भन्ने पढालेखा म्याडमले नपाउलिन् ठान्दा वहाँको नारी स्वावलम्बिताप्रति ठेस नपुग्ला त ? माथिल्ला प्रकरणमा उल्लेखिएका कुकुर्नीको जत्तिको दायित्वसम्म हाम्रा श्रीमतीहरूले निर्वाह गर्न सक्दैनन् ठान्नु हामीहरूको कत्तिको उदारता ठहर्ला ? कि हामी कुकुरहरू (कुकुर्नीका लोग्नेहरू) जत्तिकै पनि सोच्न वा कुकुर्नीलाई जत्तिको जिम्मा दिन नसकेका हौँ/सक्दैनौँ ? आदित्यादि ।
मेरो मनले व्यहोरा नाजायज पनि ठहर्याउन सकेन । त्यसैले “आफ्नो भूल स्वीकार गर्न हिच्किचाउनु हुँदैन, किनभने हिजोको गल्ती आज सँच्याउनु/स्वीकार गर्नु भनेको हिजोभन्दा आज बुद्धिमान हुनु भनेको हो” भन्छन्, मैले पनि भूल स्वीकार गर्दछु र यहाँप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । किनभने, यस्तो सोदाहरण व्याख्या गरिदिनु भो-प्रासाङ्गिक ढङ्गले, म यथासम्भव लिपिबद्ध गरी सरोकारवालाहरूका सामु पुर्याउने प्रण गर्दछु । बरु, हिजो के-कस्तो कार्ययोजना बन्यो र के-कति-कस्ता कार्यहरू, क-कसको समूहमा, मेरा जिम्मा परेकाछन् ?” भनी सुध्याउँदो भएँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
‘नीरूलाई पत्र’बाट लिपिकाल – २०५७/५/५ दुल्लु, दैलेख




















