तिलक पाैडेल
२६) बल दाँज्ने/जोरी खेज्ने/हात ढल्काउने :
यो पनि बराबर जस्तो बल/शक्ति भएका खेलाडीहरूकाबीच खेलिने खेल हो । सम्म परेको सतह – टेबल वा चौतारीको ढुङ्गामा कुहिना टेकाएर पञ्जा जोलटिन्छ । रेफ्रीले शुरु भनेपछि खेलाडीहरूले वायाँ हात प्रयोग गरी खेलिएकोमा दायाँतिर र दायाँ हात प्रयोग गरी खेलिएकोमा वायाँतिर ढल्काउने प्रयास गर्दछन् । जसले सोही बमोजिम ढल्काएर अर्को खेलाडीले उठाउन नसक्ने बनाउँछ, उसलाई विजयी घोषणा गरी बाजी थापिएको भए बाजी मार्दछ । उसलाई बलियो रहेको पनि प्रमाणित गरिन्छ ।
२७) बाघ-गोटे :
यो खेल बुद्धिचाल (चेस) को प्रारूपका रूपमा पनि लिने गरिन्छ । पच्चीस बिन्दुहरूलाई जोडेर संलग्न अनुसारको कोट बनाइन्छ । काठको
छेस्का वा ठूला ढुङ्गालाई बाघको रूपमा र साना ढुङ्गाका गोटीलाई गाई/बाख्राका रूपमा मानिन्छ । बाघलाई कोटको चार कुनामा राखेपछि क्रमश: बिन्दु-बिन्दुमा गोटी राख्दै र बाघ चाल्दै गइन्छ । एक बिन्दु बाँकी रहेपछि सरल रेखामा चाल चलिन्छ । बाघ रहेको सरल रेखामा गोटीपछि खाली छ भने बाघ उफ्रेर अघिल्लो बिन्दुमा सरी नाघिएको गोटी/बाख्रालाई खाएको मानी कोटबाट हटाइन्छ र खाली बिन्दुको सङ्ख्या बढ्दछ । यो खेलको बीचमै पनि लागू हुनसक्छ ।
सामान्यत: पाँच-छवटा बाख्रा बाघले खायो भने बाघ पक्ष विजयी हुन्छ । त्यसैगरी माथि भनिए बमोजिम चल्न मिल्ने सरलरेखाका बिन्दुमा चल्दै गर्दा यदि बाघलाई सरल रेखामा नजिकैको बिन्दुमा ठाउँ बाँकी रहेन, अर्थात् खाली कायम भएका बिन्दुहरूमा बाघ जान नसक्ने भएमा गोटी/बाख्रा पक्षको विजय हुन्छ । कसले बाघ, कसले गोटी लिने भन्ने व्यहोरा थुक कि सुक, गाई कि त्रिशुल भनी पैसा उरालेर भुईंमा खस्दा जसले भनेको पर्छ, उसले रोजेको पक्ष लिन पाउँछ । यो खेल बाजी थापेरभन्दा पनि समय कटाउने, बुद्धि लडाउने खेलको रूपमा लिइन्छ । प्राय: गाईगोरू चराउन जाँदा फुक्काहार खेत वा चउरमा गाईगोरू लगाई चौतारीमा बसेर खेल्ने गरिन्छ ।
२८) भकुण्डो खेल्ने :
यो खेल भलिबलकै प्रारूप हो । विद्यालयमा ठूला-ठूला विद्यार्थीहरू खेलेको सिको गरी निगालाका पोल, हत्यौरीको नेट र झुम्राको बल बनाई उपस्थित सङ्ख्याका जोडी बनाई दुईजना मुली बनेर आएका जोडीको विकल्प (राजा-रानी, ढुङ्गा-माटो, आगो-पानी अर्थात् जे नाम आफूबीचमा राखिएको हुन्छ) रोजी मुलीहरूले जोडीका आलोपालो रोज्दछन् र दुई टिममा विभाजित भई भलिबल खेलकै नियममा उपलब्ध स्थान बमोजिमको कोटमा खेलिन्छ । गणनादेखि खेलका नियम सम्झेसम्म भलिबलकै लागू गरेर खेलिन्छ ।
२९) राजा :
उपस्थित खेलाडीको सङ्ख्यालाई दुईजना मुलीले भकुण्डो खेलकै विधिमा मिल्दा-मिल्दा साथीहरूबीचको जोडीबाट दुई समूहमा बाँडिन्छ ।
एक समूह राजा बन्ने (सानो बाटुलो घेराभित्र उभिने/बस्ने) र उसका साथीहरू प्रजा बनी निश्चित दुरीमा चौघेराभित्र रहन्छन् । अर्को समूहका खेलाडीहरूले राजालाई प्रजा भएको ठाउँमा जान नदिने गरी पहरा दिन्छन् । राजाका समूहका प्रजाले आलोपालो कपर्दी-कपर्दीको उच्चारण गरी अर्को समूहकालाई धपाउँछन्, यदि विपक्षीलाई छोएर कपर्दी भन्दै आफ्नो चौघेराभित्र आउन सकेमा छोइएको खेलाडी मर्छ अर्थात् उसले त्यसपटकको खेलमा सहभागिता जनाउन पाउँदैन । यदि छोएर कपर्दी-कपर्दी भन्दै आफ्नो कोटमा नपुग्दै सास छाड्यो भन्नाले कपर्दी भनिरहन सकेन बने उ मर्छ अर्थात् राजापक्षको त्यस खेलाडीले त्यसपटकको खेलमा सहभागिता जनाउँन पाउँदैन अर्थात् खेलबाट बाहिरन्छ । राजा प्रजा भएको ठाउँमा जाँदा विपक्षी समूहका खेलाडीले छोएमा राजापक्षको हार हुन्छ भने कसैले/सँग नछोइकन प्रजा भएको चौघेराभित्र राजा पुगेमा राजापक्षको विजय हुन्छ । यो बाजी थापेरभन्दा पनि स्कूलबाट घर फर्कंदा फुकाहार (फुक्का) भएका खेतका गह्रामा मनोरञ्जनका लागि खेलिने खेल हो ।
३०) रुमाल लुकाइ :
यो कम्तीमा पाँच-छजना जति सहभागीहरू भएर खेलिने खेल हो । सहभागीहरू गोलो आकारमा बस्दछन् । एकजनाले हातमा रुमाल लिएर सहभागीहरूको पछाडिबाट घुम्दछ र एकजनाको पछाडि रुमाल खसाली दिन्छ । जसको पछि रुमाल छ, उसले थाहा पाई खसाल्नेले एकचक्कर लगाउँदा सम्ममा रुमाल लिएर पुन: अरू सहभागीका पछिबाट चक्कर लगाई एक जनाका पछाडि खसाली दिनुपर्छ । यदि रुमाल आफ्नो पछि भएको थाहा नपाएमा खसाल्नेवालाले आएर मुक्कीले पिठिउँमा पिटेर उठाई ठाउँ खाली गराएर बस्नुपर्छ । रुमाल आफ्नो पछाडि हुँदाहुँदै छैन भन्नु लुकाउनु हो बन्ने अर्थमा यस खेललाई रुमाल लुकाइ भनिएको हो । रुमाल खसाल्नेले पूरा चक्कर नलगाउँदै आफ्नो पछाडि रुमाल भएको थाहा पाई उठेर पहिलाको साथीका पछि लगेर खाली ठाउँमा बस्न नभ्याउञ्जेल रुमाल लिएका साथीले पिट्ने गर्दछन् ।
३१) लङ्गुर-बुर्जा :
तासका चार रङ् – हुकुम, पान, चिडी, ईटा र लङ्गुर अनि बुर्जा गरी छवटा कोठामा सबै चिन्हहरू एउटा ठूलो कागजमा बनाइन्छ । केटाकेटीमा सिपालुले काठको लङ्गुर-बुर्जाका तीनवटा गोटी बनाई कलमले लेखेर, बेसारले रङ्ग्याएर तयार पार्छन् । अरू खेलाडीले उल्लिखित चिन्हका कोठामा आफूले बाजी राख्न चाहेको पैसा राख्छन् । खेलाउनेले एउटा थोत्रो बटुकोमा तीनवटा गोटी राखेर हल्लाई घोप्ट्याउँछ । बटुको उठाउँदा जुन-जुन चिन्ह माथि परेका छन् तिनमा थापेको पैसा बराबर तिर्नुपर्दछ भने अरू चिन्हमा थापेको पैसा खेलाउनेको हुन्छ ।
३२) साँढे जुधाइ :
एकखुट्टे खेलमा जस्तै एउटा खुट्टको भरमा उभिई अर्को खुट्टालाई पट्याएर दुबै हातले पैताला, गोलीगाँठातिर समाइन्छ र आफ्नो प्रतिस्पर्धीसँग कुम-कुम ठोक्याएर जुधिन्छ । जुध्ने क्रममा पट्याइएको खुट्टाको समाइ फुत्क्यो भने वा खेलाडी पल्ट्यो भने त्यो खेलाडी पराजित हुन्छ । साँढेहरू बीचको जुधाइमा जसरी जित-हात नभएसम्म खेलिइरहने खेल भएकोले हुनसक्छ – यो खेललाई साँढे जुधाइ भनिएको । जेहोस्, विजयी खेलाडीसँग अर्को खेलाडीले प्रतिस्पर्धा गर्दछ । एवम् रितले पराजित खेलाडी बाहिरिन्छ र विजयीसँग अर्कोले खेल्दछ । यो वैयक्तिक प्रकृतिको खेल हो । सबैलाई जित्ने खेलाडी सम्मानित हुन्छ ।
३३) सिलिमिलि :
हातमा एउटा पैसा वा सानो ढुङ्गा लिएर दुई हातहरू रगडेजस्तै गरी चलाइन्छ । त्यसरी चलाउँदा सिलिमिलि-सिलिमिलि भनिन्छ । हात चलाउन रोक्दा दुबै हात मुठी पारिन्छ र कुनमा छ ? भनेर अर्कोलाई सोधिन्छ । समग्रमा सिलिमिलि-सिलिमिलि कुनमा छ ? भन्ने खेलको रूपमा यो परिचित थियो । अचेल त कसले पो खेलुन्/खेलाउन् र ! अनि सोधिएको व्यक्ति/खेलाडीले यसमा छ भनी देखाएको हात खोल्दा त्यसैमा रहेछ भने उसले जित्यो, रहेनछ भने सोध्ने/खेलाउनेले जित्छ । साविकमा बाजीका रूपमा पाँच पैसादेखि थप्पड हान्नेसम्म थापिन्थ्यो ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०७६ मार्ग २१ गते शनिबार
कीर्तिपुर, काठमाडौँ ।





















