तिलक पाैडेल
१८) ठ्याक लगाउने :
स्कूल छुट्टिका दिन गाईवस्तु चराउन लग्दा खेत/बारीमा यो खेल खेलिन्छ । लारी-लौरी प्रकृतिको यो खेलमा दुईटा लट्ठी चाहिन्छन् । एउटालाई अर्कोको माथि घुमाएर छाडेपछि अर्को लट्ठीले नखसाली सकेसम्म बढी ठ्याक लगाउनु पर्दच । ठ्याकको संख्या गन्ने गरिन्छ । खेल्ने बेलासम्म जसले बढी ठ्याक लगायो, उही विजयी हुन्छ ।
१९) डण्डिवियो (लारी-लौरी) :
यो खेलमा करिब एक बित्ताको लारी/डण्डी र डेड हात करिबको लौरी/वियोको व्यवस्था मिलाइन्छ । एउटा एकबित्ते लाम्चो खोपी बनाई
लारीलाई एउटा छेउमा करिब साठी डिग्रीको कोणमा रहने गरी राखेर लौरीले हानेर उरालिन्छ । उरालेको लारीलाई लौरीले ठ्याक लगाएर सकेसम्म पर फालिन्छ । लारी पुगेको ठाउँबाट एक ठ्याक लगाए लौरीको लम्बाइको नापो गणना गरिन्छ, दुई ठ्याक लगाए लौरीको नापोको दुईगुना गणना हुन्छ, तीन ठ्याक लगाए लारीले नै दुरी नापी गणना गरिन्छ । त्यसैगरी चार ठ्याक लगाएमा लारीकै गणनाको दुईगुना कायम गरिन्छ । गणना बीस पुगेपछि एक भकारी मानिन्छ । बीस मुनिका गणनालाई पाथी भन्ने गरिन्छ । थुक कि सुकको आधारमा पहिला खेल्ने पालो निर्धारण गरी अन्तिममा जसको गणना धेरै हुन्छ, उसैलाई विजयी घोषित गरिन्छ ।
२०) दौडने/दगुर्ने :
खेत वा चौरमा एउटा सरल रेखा खिची सहभागी खेलाडीहरूलाई उभिन लगाई एक जना रेफ्री बनी ‘रेडी, सेट, गो’ अतवा एक, दुई, तीन भनेपछि सबै दगुरेर तोकिएको ठाउँ छोएर फर्कनुपर्दछ । जो पहिला फर्कन सक्छ, त्यो प्रथम अनि क्रमश: दोस्रा, तेस्रासम्म घोषणा गरिन्छ । यदि दुईजना सँगै फर्के भने ‘री’ परेको भनी पुन: ती दुईलाई वा री पर्नेलाई दौडन लगाई फस, सेकेन, थड कायम गरिन्छ ।
२१) थिथिरी लौरी :
यो खेलका लागि डेड दुई हातको लौरी चाहिन्छ । पालो निर्धारण उही थुक कि सुकबाट गरी क्रमश: लौरीलाई हातका औंलामा थिर्याइन्छ । सबै औंलाहरूमा सार्दै थिर्याउने व्यक्ति/खेलाडी जान्ने ठहर्छ । रपनि लौरी थिर्याउँदा गणना गरिन्छ, जसले धेरै गणना हुने बेलासम्म लौरी झर्न दिंदैन, उसैलाई विजयी घोषणा गरिन्छ । एउटाले लौरी झरालेपछि अर्को खेलाडीको पालो हुन्छ । क्रमश: दोहोर्याएर, तेहोर्याएर पनि खेल्न सकिने यो खेलमा दोस्रो पटक थिर्याउँदा पहिलाको गणना क्रमश: गरी गणना गर्ने गरिन्छ ।
२२) धनुकाँढ :
निगालाको फित्कौलीका दुई टुप्पाहरूमा एउटा रसी/डोरी बाँधेर ‘डि’ आकारको धनु बनाइन्छ । अनि निगालकै काँढ/वाणहरू बनाएपछि
खेलाडीहरूले आ-आफ्ना धनुकाँढ लिएर खेलमा सहभागी हुन्छन् । निश्चित दुरीमा रहेको निशानालाऐ काँढ/वाण चलाएर टोल्नु पर्दछ । जसले टोल्न सक्छ, त्यही विजयी हुन्छ । दुई वा दुईभन्दा बढीले टोलेमा निशानाको दुरी बढाउँदै लगेर अन्तत: एकजना छानिन्छ । यो खेलमा खेलाडी र निशानाको दिशामा अरू दर्शक वा खेलाडीलाई बस्न/उभिन दिइँदैन । यो व्यहोरा वाण लागेर कुनै दुर्घटना नहोस् भनी गरिएको प्रतीत हुन्छ ।
२३) तास :
केटाकेटीमा खास गरेर तिहारका बेलामा अग्रजहरू खेलेको देखासिकी गरेर तास खल्ने गरिन्छ । सामान्यत: जुटपत्ती, सत्र, काटपत्ती, घप्पुजस्ता खेलहरूलाई बालद्यूतक्रीडाका रूपमा लिइन्थ्यो । जुटपत्ती भन्नाले सबैजनालाई सात-सात पत्ती बाँडिन्थ्यो र बाँकी रहेको सिरानको पत्तीलाई उल्ट्याएर जोकर बनाइन्छ । उल्टिएको भन्दा एकतह माथिको पत्तीहरू जोकर मानिन्थे र जुनसुकै पत्तीसँग पनि मिसिएर त्यही पत्तीको जुट बनाउन सकिन्छ । त्यसैले सात पत्तीमा एउटा थपेर, थुतेर वा वायाँ साथीले फालेको लिएर चार जुट/जोडा जसले पहिला बनायो, उही विजयी हुन्छ । त्यस्तै सत्र भनेको सबैलाई एकुन्टा पत्ती बाँडेपछि दायाँतर्फका खेलाडीलाई थप पत्ती दिइन्छ । गुलाम झिकेर खेलिने यो खेलमा बासालाई बाह्र र मिसीलाई एघार जस्तै एक्कालाई एक र अरूलाई पत्ती अनुसार दुवालाई दुई, दहललाई दश अङ्कका रूपमा गणना गरिन्छ । यदि सत्र पुग्यो भने जितिहालिन्छ भने त्योभन्दा कममा बसेमा अर्को खेलाडीलाई पत्ती थपिन्छ ।
यही रीतले सबैजना खेलाडीहरू बसेमा सबैको खुलाउँदा जसको सत्रको नजिक छ, उसैलाई विजयी मान्यता पाउँछ । त्यसैगरी काड्पत्तीमा तासको बुकबाट अर्को खेलाडीले केही तास काट्छ, अनि हातमा तास भएको खेलाडीले पहिला बाहिर अनि भित्र भनेर साथी र आफूलाई तास उल्टा राख्दै जान्छ । काटिएको तासको पत्ती जुन छ, त्यो पत्ती बाहिर परे काट्ने खेलाडीले त भित्र परे खेलाउने खेलाडीको विजय हुन्छ । त्यस्तै घप्पुमा तासको बुकबाट सबै खेलाडीले तलको पत्ती नहेरी दश-आठोटा काटेर आफ्नो अगाडी घोप्टै राखिन्छ र ठिनी अनुसारको पैसा राखेर सबैले उल्ट्याइन्छ, जसको पत्ती ठूलो हुन्छ उसैले जित्छ र सबैको ठिनी आफूले पाउँछ । यसमा हुकुमको एक्कालाई सबैभन्दा ठूलो मानिन्छ ।
२४) परेड/पि.टी. :
स्कूलमा प्रार्थना गर्दा खेलकूद शिक्षकले परेड/पिटी खेलाउँदा सिकिएका शारीरिक अभ्यासलाई जीत-हारको हिसाबले भन्दा पनि सबै मिलेर सिकाएकै क्रममा गर्ने गरी सामूहिक रूपमा खेलिन्छ । जाडो भगाउन, ज्यान तताउन यो खेल विशेष रूपमा खेल्ने गरिन्छ । अचेल परेड/पि.टी. योगाभ्यासको रूपमा कतिपय स्कुलहरूमा योग गुरूद्वारा गराउने गरिन्छ । शारीरिक तन्दुरुस्तीका लागि यसलाई अति महत्त्वपूर्ण मानिन्छ ।
२५) पौँठा खेल्ने :
सामान्यतया बाराबर बल भएका दुईजनाबीच यो खेल खेलिन्छ । पहिला एकजनाले अर्कोको नाडीमा जोडले समाउँछ, तब अर्कोले त्यसलाई फुत्काएर आफूले पहिलो खेलाडीको नाडीमा जोडले समाउँछ । यो क्रम कसैले नाडी समाएको फुत्काउन नसकुञ्जेल चलिरहन्छ । जसले समाइएको आफ्नो नाडी फुत्काउन सक्दैन, उ हरल अर्थात् पराजयी हुन्छ भने जोडसँग अर्थात् फुत्काउन नसकिने गरी समाउने खेलाडी जित्तल अर्थात् विजयी घोषित हुन्छ । यसमा पनि कसले पहिले नाडी समाउने भन्ने पालो निर्धारण पूर्ववत् थुक कि सुकबाट गरिन्छ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
क्रमश:…





















