तिलक पाैडेल
खोपी :
यो खेल कोठाबाहिर खेलिने खेल हो । केटाकेटीमा ढुङ्गाका निश्चत आकारका बाटुला बोटहरू
आ-आफैंले बनाउँछन् र त्यही बोटको साइजमा खोपी (खाल्टी) तयार पारिन्छ । बोट बनाउने राम्रो सीप भएका खेलाडी साथीले एउटा अलि ठूलो आकारको ढ्याक बनाउँछन् । सबै खेलाडीहरूबाट एकेक बोट जम्मा पारी करीब ५/६ फिटको दूरीबाट त्यही खोपीमा सबै बोटहरू फालिन्छ । यसरी फाल्दा खोपीमा परेका बोटहरू सम्बन्धित खेलाडीका हुन्छन् ।
बाहिर रहेकाहरूमध्ये कुनै एउटालाई टोल्न भनेर खेलाडीलाई दिइन्छ । खेलाडीले टोल्न दिएको बोटलाई ढ्याक फालेर टोलेमा उसले सबै बोटहरू जित्छ र पुन: बोट उठाएर उसैबाट खेल अघि बढाइन्छ, दिइएकोभन्दा अर्को टोलेमा एक बोट सजाँय तिर्नुपर्छ र केही भएन भने खोपीमा परेका उसले लिन पाउँछ र अर्को खेलाडीको पालो आउँछ । तर यही खेललाई अलि ठूला फुर्सदिलाहरूले रुपैयाँका सिक्काहरूको बोट राखेर उपर्युल्लिखित विधिबाटै खेल्दछन् । अझ टोल्न दिएकोलाई टोले वा नटोलेमा यति बाजी भनेर खेलाडी-खेलाडी वा दर्शककाबीचमा समेत थप मौखिक बाजी थाप्ने गरिन्छ । अलि टोल्न सिपालु खेलाडीको विपक्षमा बाजी थाप्नेहरू हुँदै हुँदैनन् वा कम हुन्छन् । यस्तो बाजीमा पनि नटोलेमा मौखिक बाजी बराबरको रकम खेलाडीले बाजी थाप्नेलाई तिर्नु पर्दछ भने टोलेमा खेलाडीले थापेको बाजी पनि मार्छ र खालको पनि विजय पाउँछ । अनि फेरि बोट उठाएर खेल दोहोरिन्छ । यसले निशाना टोल्ने अभ्यासलाई चुस्त एवम् दुरुस्त बनाउन सहयोग मिल्छ ।
गुच्चा :
गुच्चा भनेको सिसाको गोलो अर्थात् गोली जस्तै चीज हो । कालो, रङ्गीन एवम् पानी रङ्गका डल्लाका रूपमा पाइने गुच्चाहरू दुई वा दुईभन्दा बढी साथीहरू मिलेर खेलिन्छ । एउटा खोपिल्टो बनाइन्छ र करिब चार-पाँच फिटको दुरीमा दाउ/दाग लगाइन्छ । त्यही दाउमा उभिएर आफ्नो-आफ्नो गुच्चा सकेसम्म खोपिल्टोमा पर्ने गरी फालिन्छ । सबैले फालिसकेपछि खोपिल्टोको नजिक परेको गुच्चावालाले अर्को खेलाडीको
टोल्न सकिने गुच्चालाई ताकेर हान्छ । यस खेलमा ताकेर हान्दाखेरि टोल्यो भने त्यसपछि गुच्चालाई खोपिल्टोमा छिराउनु पर्दछ, जसलाई ‘पिलाउने’ भनिन्छ । यदि पिलाइयो भने जितिन्छ नत्रभने त्यो जितेको ठहरिन्न । अथवा पहिला खोपिल्टोमा छिराउने र त्यसपछि टोलेमा पनि जितिन्छ । तर टोलिएका गुच्चाहरू एकै ठाउँमा जोडिएर रहन हुँदैन । त्यसकारण टोल्नेवालाले हान्नु पहिले ‘तोइ आत विशे है, जनजिब्रोमा दानविशेहै’ भन्दछ । यो गुरुङ्भाषाको शब्दावली हो र यसको अर्थ गुच्चा सँगै भएपनि ‘केही हुँदैन भनें है’ भनेको हो । यो खेलमा गुच्चाले गुच्चा टोल्दाखेरि न्यूटनको तेस्रो नियम आकर्षित हुन्छ । जति जोसले जुन दिशाबाट टोल्यो, त्यत्तिकै जोडले विपरीत दिशामा आफ्नो गुच्चा फर्केर आउँदा र त्यो पनि खोपीमा छिराउन सजिलो हुँदा बहुत आनन्ददायक हुन्छ । अर्काको गुच्चालाऐ ताकीसकेपछि हिर्काउनु पहिले कुनै सिपालु खेलाडीले आफ्नो गुच्चालाई बहुत मजासँग आफ्नै नजिकमा रिंगाउँछन्, जुन पनि दर्शकलाई बहुत रोचक बन्दछ । टोल्ने काम सकिएपछि त्यो राउण्डको खेल समाप्त हुन्छ र नयाँ खेल पुन: शुरु गरिन्छ । बाजी भनेको टोलेवापत एक थप्पड (?) देखि पाँच पैसा ठिनी थाप्ने गरिन्थ्यो ।
गुलेली :
काठको Y आकारको टुक्रामा माथिल्ला दुई टुप्पाबाट रबर बाँधिएको हुन्छ, जुन सामान्यत: डेड-दुई फिट लामो हुन्छ । त्यसको बीच भागमा
अलि चाक्लो छालाको टुक्रा बाँधिएको हुन्छ । अब मिल्दो आकारका ढुङ्गा वा मट्याङ्ग्रालाई छालाको त्यही भागमा राखी एउटा हातले Y को तल्लो भागमा समा अर्को हातले रबरको तन्काइ तन्काएर जोडले छाडिन्छ । परिणामस्वरूप त्यो मट्याङ्ग्रा वा डु,गा न्यूटनको तेस्रो नियमानुसार जोडसँग अर्कोतिर फालिन्छ । केटाकेटीहरूले यसबाट फलफूल झार्ने, चराचुरुङ्गीहरूलाई हान्ने जस्ता काम गर्ने गर्दछन् । अचेल गुलेली बजारमा किन्न पनि पाइन्छ ।
गोटा :
ढुङ्गा वा किटका पाँच वटा करिब बाटुलो आकारका गोटाहरू बनाइन्छ । दुई वा दुईभन्दा बढी खेलाडी मिलेर कोठाभित्र बसेर खेलिने खेल हो – यो । एकण्टी अर्थात् सबै गोटाहरू छरेर एउटा लिई माथि उराल्ने र छिएकोमध्ये एउटा टिप्ने र यो क्रममा सबै टिपी सकेपछि अर्को चरण दुईटिपुमा प्रवेश हुन्छ । दुईटिपुमा पनि गोटा छिरलेर एउटा गोटा लिई उरालेर भुईंका चारवटामध्ये ऐकपटक दुईटा र अर्को पटक दुईटा टिपिन्छ । त्यसपछि तीनटिपुमा गोटा छिरलेर एउटा गोटाले पहिला एउटा अनि तीनवटा एकैचोटी टिप्नुपर्छ । यसो गरेर यो चरण पार गरेपछि ढाप अर्थात् हारमा पाँच गोटा लिने र एउटा उरालेर अरू चारवटा भुईंमा राक्ने फेरि त्यो उरालेको समाएर पुन: उराली भुफंका सबै गोटाको साथमा उरालेको पनि समाउने चरणमा पुगिन्छ । एकुण्टीदेखि ढापसम्म यदि अर्को गोटा छोइयो वा समाउनुपर्ने छुट्यो भने मरिन्छ अर्थात् त्यसपटकको पालो अर्को साथीमा सर्दछ । आफ्नो पालो फेरि आउँदा पहिले जुन चरणमा मरेको हो, त्यसैबाट निरन्तरता दिनुपर्दछ ।
त्यसपछि फर्काउने चरणमा प्रवेश हुन्छ । यस चरणमा गोटाहरू हातमा लिई उरालेर हातको उल्टो भागमा थापिन्छ, एउटै पनि नपरे मरिन्छ र अर्को साथीले खेल्ने अवसर पाउँछ । अन्यथा पछाडि परेका गोटालाई पुन: उरालेर अगाडि हारमा ल्याउनुपर्छ, यसलाई फर्काउने भनिन्छ ।
फर्काउनेपछि छिन्के भन्ने चरण आउँछ । यो फर्काउने जस्तै तर पछाडिबाट अगाडि ल्याउँदा उरालेका गोटा नखसाली भलिबलको सट हानेजस्तो पारामा समाउनु पर्दछ । त्यसपछि कापेभन्ने चरणमा प्रवेश हुन्छ । जुनपनि उही पर्काउने र छिन्केमा जस्तै सबै गोटाहरू उरालेर हातको उल्टो भारमा थापिन्छ । दुई वा दुईभन्दा भडी गोटा रहेमा अर्को खेलाडीले कुनै एउटालाई तोकिदिन्छ र त्यो बाहेक अरूलाई खसाली होकिएको गोटालाई माझीऔंला र चोरऔंलाले च्यापी अरू गोटाहरूलाई अर्को हातले सम्हालेर त्यही हातमा राखी माझीऔंलाले भुईंमा सरल रेखा खिचेर त्यो च्यापेको गोटा उरालेर समाउनु पर्दछ । यी कुनै पनि कर्ममा भनेजस्तो नभए मरिन्छ ।
त्यसपछिको चरणलाई घोडे भनिन्छ । यसमा माझीऔंला र चोरऔंला जोलटेर बुढीऔंला र माझीऔंलालाई भुईंमा टेकाई गेट जस्तो बनाइन्छ र अर्को हातले पाँचवटै गोटालाई त्यही गेट अगाडि छिरलिन्छ । अब अर्को खेलाडीले कुनै ऐउटालाई तोकिदिन्छ । त्यसपछि एउटा गोटालाई समाएर उराल्दै, त्यही समयमा गोटालाई गेटभित्रबाट छिराउने गर्नुपर्छ । तर तोकिएको गोटालाई सबैभन्दा पछि र एकैपटकमा छिराउनु पर्दछ । यसमा यदि दुईटा छोइएका गोटाहरूमध्ये चलाउँदा अर्को हल्लियो मात्र भने अथवा उरालेको गोटो समाउन सकिएन भने कुहिन्छ अर्थात् मरिन्छ र अर्को साथीले पालो पाउँछ ।
त्यसपछिको खेल अन्तिम हो । त्यसलाई खोपे भनिन्छ । एउटा हातलाई भुईंमा खोपोजस्तो पारेर राखिन्छ र गोटाहरू त्यसको अघि छिरलिन्छ । उही घोडेमा जस्तै अर्को साथीले तोकिदिएकोलाई अन्तिममा वा सबैलाऐ एकैचोटी एउटा उरालेर खोपामा छिराई उरालेको समाउनु पर्दछ र पुन: उरालेर भुईंमा हत्केलाले छोई समाउनु पर्दछ । यसमा सफल भइयो भने आफूले एकबाजी जितिन्छ र पुन: एकण्टीबाट नमरुञ्जेल खेलीरहन पाइन्छ । यो दोस्रो पुस्ताले गोटा खेल्ने विधि हो ।
गोटा खेलकै पहिलो पुस्तामा, उही पाँचवटा गोटा हुन्छन् र ढापबाट खेल शुरु हुन्छ । सबै चरणहरूलाई पाँच-पाँच पटक खेल्नु पर्दछ । ढापपछि तीनटिपु, दुईटिपु हुँदै एकटिपुमा पुगिन्छ । त्यसपछि फर्काउने अनि छिन्के खेलिन्छ । यस विधिमा दुबै हात प्रयोग गर्न पनि छुट हुन्छ ।त्यसपछिको चरणमा नयाँ दुईवटा खेल हुन्छन्, जसलाई लचकचे र ढोंड्के भनिन्छ । लचकचेमा सबै गोटाहरू छिरलेर एउटा समाई उरालेर अर्को समाइन्छ । अब हातमा दुईटा गोटा हुने भए । त्यसपछि एउटा उराल्ने र अर्को भुईंमा भएको कुनै एउटासँग साट्ने र उरालेको छोप्ने गर्नुपर्दछ । यो क्रम तलका तीनवटै गोटामा पाँच-पाँच पटक गर्नुपर्दछ र अन्त्यमा एउटा उरालेर सबै सोहोर्नु पर्दछ ।
अनि ढोंड्के भनेको ढाप जस्तै तर उरालेको गोटालाई तलका चारवटा समाएको हातका चोर र बुढीऔंलाको मिलनबाट प्वाल अर्थात् ढोंड बनाई समाउनु पर्दछ । ढोंड्कामा छिराउनु पर्ने भएकोले खेलको नामै ढोंड्के राखिएको हुनसक्छ । यसपछि अघिल्लो पानामा उल्लेख भएजस्तै पछिल्लो पुस्ताको कापे, घोडे, खोपे खेलिन्छ र नमर्दासम्म अर्थात् खेल विधि अनुसार अघि बढिरहँदासम्म उल्लिखित चरणहरू पूरा गरिरहन्छ । एक चरण पूरा भएपछि एकबाजी जितिन्छ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
क्रमश:…





















