×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

धान थन्क्याउने अन्तिम कार्य – दाइँ !

  •  गोरखा समाचार
  • शुक्रबार, माघ ०९, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/tilak-paudel-lekh-dhai-news.wav

    सम्भवत: अन्नबालीको महत्त्वपूर्ण बाली धान हो । बिउ राक्ने, मल हालने, सिँचाइ गर्ने, गोड्ने जस्ता साझा कार्यको साथै रोप्ने, पुन: गोड्ने, बेड्याउने (राम्रा-राम्रा बाला धानको बिउका लागि पहिल्यै काट्ने कार्य), काट्ने, निहिन बेर्ने/उठाउने, कुनियो बनाउने जस्ता धानखेती गर्दाका मुख्य चरणहरू पार गरी धान थन्क्याउने कार्य स्वरूप दाइँ गर्ने गरिन्छ । ‘टौवामा पराल र भकारीमा धान’ भएपछि धान थन्क्याउने काम सकियो भन्नुहुन्थ्यो, बुवाले । दाइँ हाल्नु पहिले भकारी थोत्रिएका भए नयाँ बुन्ने काम बुवाले र ठीकैका भए गोवर माटो भिजाएर भए पिना पनि मिसाएर भकारी लिप्ने काम गर्नुहुन्थ्यो, आमाले । बिउ भने बुवाले थालेर मैले सिकेको पहिलो कोठी (पिँध ठूलो र मुख सानो – बाटुलो ढुङ्गाले छोप्न मिल्ने) मा थन्क्याउन हुन्थ्यो । त्यसपछि नै हो – मैले चुइयाकोत्राको काम गर्ने रहर पल्याएको ! स्कुले जीवनमै मान्द्रो, डालो, फुँवो, कोठी, भकारी, नाम्लो, डोको, थुन्से, स्याखु जस्ता चुइयाबाट तयार पारिने सामानहरू बुन्न जानिसकेको थिएँ । अहिले प्रयोगमा नल्याएपनि ती सीपहरू मनन गर्दा रमाइलो महसुस हुन्छ । अचेल पनि दसैँ, तिहार जस्ता महान चाड मानिसकेपछिको मुख्य काम भनेको पहाडी भेकमा धान, कोदो थन्क्याउनु, बाँझो जोत्नु, आलु लगाउनुलाई मानिन्छ ।

    आमाले सोली – ठूलो डालोमा राम्रा-राम्रा र एउटै प्रकारका धानका बालाहरू बिउ प्रयोजनका लागि टिपेपछि – बिउ बेड्याएपछि, एकदिन ५/७ जना खेतालाहरू जम्मा पारेर स्याँर्कोटको धान काट्ने व्यवस्था बुवाले मिलाउने हुन्थ्यो । धान काट्ने काममा सरिक हुँदा कान्लापट्टि घाँस काट्दा भाँचिएका/माडिएका धानका गाँजहरू काट्न र डिलपट्टि भट्टभन्दा पनि मासका झ्याङ्हरूसँग बेरिएका धानका गाँज काट्न असजिलो लाग्दथ्यो र धान काट्न मेलामा जाँदा माझमेलामा सामेल हुन्थेँ ।

    धान काटेर सक्दाको भोलिपल्ट खलो बनाउन हातमा खुर्पी, खुर्पेटोमा आँसी लिएर बुवा खले गह्रोमा जानु हुन्थ्यो । स्कुलबाट फर्केर खाजा खानभन्दा पनि बुवाले खलो बनाएको हेर्न जान्थ्यौँ । आँसीका चुच्चाले धानका खुट्टी उप्काई अग्लो-होचो मिलाउन खुर्पीले खुर्केर बढारबुढुर गरी धानको डँडाल्नो छर्दै हुनुहुन्थ्यो । सर्लक्कको खलो सम्झँदा अचेलका पूर्वाधारहरूको निर्माण पनि सरोकारी जिम्मेवारहरूले आफ्नो कर्तव्य निर्वाह गरेमा देश कति राम्रो हुँदोहो जास्तो लाग्दछ ।

    काटेको धान दुईदिन जति घाममा सुकेपछि निहिन बेर्ने, बिटा बोक्ने र कुनियो लगाउने काम हुन्थ्यो । हलिनी आमै, भाउजू, आमाहरूले खाना खाएपछि स-साना खुर्मली आँसीको सहायताले निहिन बेरेर स-साना पाँजाहरू बनाउनु हुन्थ्यो । एकपाइलो चाँडै खलामा गएर बुवाले एउटा बिटो ल्याएर झाँटी परालबाट बिटा बोक्ने लट्ठरोहरू बाट्नु हुन्थ्यो । पछि तिनै लट्ठराहरू पिँढीको टँगालोमा बाँधेर हामी केटाकेटी पिङ् खेल्थ्यौँ । हलिबा, दाइ, बुवाहरूले आमाहरूले बेरेर पाँजा बनाएका धानलाई लट्ठरोले बाँधेर खलेगह्रामा जम्मा गर्ने काम सुरु गर्नुहुन्थ्यो ।

    पहिलो बिटोको लट्ठरा बाटेर बँचेको पराल छिटेर पिँजरी तयार पार्नुहुन्थ्यो । दोस्रो बिटो ल्याएपछि एक अँगालो जति धानलाई बाला भएतिर परालले बाँधी फेदहरू चारैतिर फिँजाएर कुनियोको आधार तयार पार्नुहुन्थ्यो, त्यसलाई बुढी राख्ने भन्दै एउटा चरा आकारको ढुङ्गालाई धानका बालाका फुर्काले छोपेर ‘लौ सिमलचरीको वास हवोस्, यसपटक धान धेरै भित्र्याउन पाइयोस् …’ भन्दै दाइहरूले ल्याएका बिटाहरूलाई वरिपरि मिलाउने काम गर्नुहुन्थ्यो । वरिपरि बिटा मिलाउँदै एक फन्को सकिएपछि बिचमा परेका खाडल पुर्न एउटा बिटो बिचमै राख्नु हुन्थ्यो – छापो हालेको रे ! घाम बाङ्सिङ्का डाँडामा पुग्दा सबै धानलाई कुनियोमा जम्मा पारिसकिएको हुन्थ्यो । अन्तिममा छापो वरिपरि फेद माथि बाला तल पारी कुनियो जुर्याएर एकमुठो धानलाई फेदतिर परालले बाँधी बाला चारैतिर फिँजाएर जुरी राखी एउटा फूलसहितको हाँगो र सुन्तला राखेर ‘लौ माल मदेसको सह आवोस्…’ भन्दै कुनियाबाट बुवा ओर्लँदा दाइहरूले पनि ‘सह आवोस्, सह आवोस्’ भनेर समर्थन जनाई कुनियो बनाउने/लाउने कामको समापन गरिन्थ्यो ।

    मङ्सिरको उपयुक्त दिनमा दँधेरा (दएँरा) खोजेर दाइँको मेसो मिलाउनु हुन्थ्यो, बुवाले । यसपटक पूज्य पिताजीलाई सम्झँदै वहाँ लगायत पितृहरूको बैकुण्ठवासको कामना गरी रामु, ईश्वर, दिवस, दाइ, ज्ञानुको समूहमा म पनि दाइँहाल्ने काममा आंशिक रूपमा सहभागी भएँ । दाइ-भाउजूले आज्जसै खलो चक्ल्याउने, मिहो (मियो) गाड्ने काम गरी सक्नु भएको थियो ।उज्यालो खस्दा गोरु र दँधेरा खलामा जम्मा भैसक्यौँ । रामुले ‘लौ धान ठटाउने कार्यारम्भ घरमुलीले जुरी निकालेर ठटाइदिनु पर्यो’ भनेपछि दाजीले ‘लौ सिमलचरीले वास गरुन्’ भन्दै कुनियोमा चढेर जुरी निकाली त्रिपाल माथि ठटाउनु भयो र त्यस पराललाई मिहोको वरिपरि पर्ने गरी बिचमा बाँधेर एकैतिर पट्याई दाइँको पिँजरी तयार पार्नुभयो । अरूहरूले धान निकालेर ठटाउने काम अघि बढाएपछि पराललाई मिहो वरिपरि छिटेर मिहोको हारमा गोरुहरू ल्याएर नारियो । मैले बुवाहरूका पालाको व्यहोरा सम्झँदै “हो भैया…, दाइँ चाँडो भैया…, माल-मदेसको सह ल्यैया…, हो भैया…” भन्दै गोरु खेद्न थालेँ । दाइ कुनियोमा बसेर अरूहरूलाई ठटाउन ठिक्क हुने पाँजाहरू मिलाइदिनु भयो ।

    अब काम गर्दै अतीतलाई सम्झने क्रम सुरु भयो । रामुले ‘हजुरका बाजे सारै बलिया र सीप भएका हुनुहुन्थ्यो रे ! एकपटक उखु पेल्ने कोलका सामानहरू एकै खेपमा ल्याउनु भएथ्यो रे !’ बुवाहरूले भन्नुहुन्थ्यो – ‘स्याँर्कोटबाले एक पाँजो धानलाई घुमाएर झिरिप्प एउटा नाङ्लोमा एक गेडा बाहिर नजाने गरी झाँट्नु हुन्थ्यो रे ! अनि धान झाँट्दा/ठटाउँदा केही गेडा चामलै पर्थे रे … !’ भनेपछि नाङ्लोमा पार्ने अभ्यासलाई असम्भव ठान्दै चामल पार्ने प्रयासहरू भए । नभन्दै दिवस र रामुले चामलै पारे ।

    ईश्वरले पराल छिट्दै (छिरल्दै) थिए, कुनियोमा ठटाउनेहरूले नै पुग्न सक्ने भएपछि दाइ पनि हाम्रो काम (पराल छिट्ने, गोरु खेद्ने, रासको पराल खैँचने – एकत्र पार्ने…) मा सरिक हुनुभयो । कुनियाको अन्तिमतिर ‘बुढीले ढाड दुखेका व्यक्तिको ढाडमा सात चोटि बिस्तारै ठटायो भने ढाड दुखाइ सञ्चो हुन्छ भन्थे बाहरूले’ भनेर रामुले भनेपछि म रासमा घोप्टो परेर सुतेँ अनि रामुले त्यसै गरे । रमाइलो महसुस भयो । दाइले ढुङ्गारूपी सिमलचरीलाई झट्टपट्ट धानको रासभित्र लुकाउनु भयो । दस बज्दा कुनियोको धान र पराल छुट्याइसकियो । घरबाट आमा, भाउजूले पनि खाना तयार भएको जानकारी गराउनु भयो । ईश्वरले ‘पहिले-पहिले त घर-घरमा टौवा हाल्ने हुँदा खाना खान जाँदा दँधेराले एकुन्टा भारी पराल पनि लगिन्थ्यो । अचेल त पशुपालन नहुँदा खलैबाट पराल बेच्ने थिति बस्यो । हुनपनि थ्रेसरेले धान झार्ने अनि दाइँ नै ट्याक्टर घुमाएर गरने, पराललाई लुँढा मात्रै बनाएर त्यहि ट्याक्टरमा बोकेर लैजाने गर्न थालियो कतै-कतै ! हामी भने आज यत्तिकै गइने भैयो – दाइँ भतेर खान !’ वर्तमानको वास्तविकता प्रकट गरे । बिचमा चिया-बिस्कुटको नास्ता खाएको भएपनि थकाइ र भोक लागेको समयमा घरमा तयार भएको खाना निकै स्वादिलो लाग्यो । खानापछि सुन्तलाको बोटबाट रोजी-रोजी सुन्तला टिपेर खाँदै खलातिर लाग्यौँ । हामीहरू खान जाँदा दाइले गोरु खेद्दै खलो कुर्नुभएको थियो ।

    हामी पुगेर गोरु हिँडेभन्दा बाहिरको छिटेको पराललाई मिहेतिर छिट्ने – फेरो हाल्ने, काम गरियो । ‘गोरु हिँड्दा पराल कुइँक्यो भनेपछि अब पराल फाल्न सुर गर्नुपर्यो’ पुरानो कसीलाई स्मरण गर्दै रामु र ईश्वरले पराल फाल्न सुरु गरे । दिवसले वरिपरिबाट उनीहरूसामु पराल ल्याइदिए । करिब डेड-दुई घण्टाको अन्तरालमा पराल फाल्ने काम सकिनै लाग्दा दाइँ फर्काइयो । गोरुलाई अन्तिम फन्को लगाई फुँदा दिवसले मिहेको गोरूलाई अन्तिम फन्को घुमाई फोएर एक फुर्को पराललाई गोरुको पुच्छरमा बेरेर तान्दै ‘सह ले, सह ले…’ भनेर त्यो परालको फुर्को मिहेको टुप्पामा बाँधिदिए । हामी पछिका पुस्ताले पनि परम्परागत धरोहर धानिरहेको देखेर मलाई यो कार्याग्रसर हुन प्रेरणा मिल्यो । यो मानेमा निजी मामलालाई सामान्यीकरण गरी तयार पारिएको आलेखलाई मेटिन लागेका मान्यताहरूको सँगालोका रूपमा ग्रहण गरिदिनुहुन सदाग्रह गर्नु परम कर्तव्य ठान्दछु ।

    पराल फालिसकेर खलो बढारबुढुर पारेपछि रामु र दिवस परालका भारी बनाउने कार्यभार सम्हाले भने ईश्वर, ज्ञानु र म धान बत्ताउने काम गर्न थाल्यौँ । दाइले गोरुहरूलाई पानी पियाउने र रथपाथ लगाउने काम गर्नुभयो । अब फेरि ईश्वरले धान बत्ताउँदा ‘रासमा राखेको डबल सिक्का फर्काउनु हुन्थ्यो रे बुवाहरूले…’ भनी पुरानो श्रुतिस्मरण गरे । तल्लो गह्रामा परालका भारी बाँधिरहेका मामा-भाञ्जाबिच ‘मानोलाई सितन नचाहिने र मुरीलाई नाम्लो नचाहिने उमेर हो तिमेर्को ! यस्ता भारी त बैँसमा फरक्क फर्काएर बोकिन्थ्यो हाम्ले पनि …’ भनेर रामुले भनेपछि दिवसले पनि भारीलाई घूँडाको भरमा जुरुक्क उचालेर पिठ्यूँमा पुर्याएर ‘म पनि कम छैन’ भन्ने प्रमाण पेश गरे ।

    धानको रास तयार भएपछि दाइले एउटा ठूलो आँसी – खुर्पा, रासमा गाडेर चुच्चो गोरुजुरेतिर (दक्षिणतिर) फर्काउँदै त्यसका आडमा सुन्तालाहरू राख्नुभयो । ‘सुरुमा दक्षिणतिर राकस/राक्षस हुन्छन् र आएर सह लैजान्छन् भन्ने मान्यतामा खुर्पाको चुच्चो यता फर्काउने अनि धान बत्ताइसकेपछि सह आवोस् भनी अन्नपूर्ण हिमालतिर फर्काएर राख्नु हुन्थ्यो क्यारे बुवाले …!’ भनी अतीतको स्मरण गर्नुभयो । धानको रास लाम्चो र गोलो (ठाडो) गरी दुई प्रकारले बनाइँदो रहेछ । धान तहराएर लाम्चो र नाङ्लो घुमाइ छप्के हिसाबले धान हुरेलेर गोलो रास बन्दछ । हामीले लाम्चो प्रकृतिको रास तयार पारी कट्करी बढारी सक्दा परालका भारी बाँध्ने काम पनि सकियो ।

    काम पनि सकिँदै जाँदा घाम पनि खोलो तरे, जाडो पनि हुन थाल्यो । बिहान गर्मी भएर निकालिएका कपडाहरू टक्टक्याउँदै लगाइयो । ईश्वरले उत्तराभिमुख भएर बसी अन्नपूर्णलाई स्मरण गर्दै सात अञ्जुली धान रासको छेउमा राखी पाँचपाथे डालोले धान भर्न थाले, मैले बोराहरू थापेँ । दिवसले तीस पाथीसम्म एकैचोटि बोके । रामु, ज्ञानुले पनि एकन्मुरी (बीस पाथी) का बोरा बोके । यसरी पराललाई गह्राको छेउमा मिलाएर राखी धान बोकेर घर भकारीमा राखी दाइँको समापन गरियो । पुराना व्यहोराहरूको सम्झना गर्दै काम गर्दा दिन बितेको थाहै भएन । जेहोस्, थाकेको शरीरलाई संक्षिप्त धोइपखाली गरी मासु र इच्छुकले थहटो (थकाइ हरण गर्ने टोनिक) सहित सायमकालीन भतेर खाएर केही हाँसख्यालका प्रसङ्गहरूले रमाइलो गरी बिदाबादी भयौँ र धान थन्क्याउने अन्तिम कार्यका रूपमा ‘दाइँ’ गरेर सक्यौँ ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    २०८१ मङ्सिर ६ गते बिहीबार
    स्याङ्जा, आँधीखोला-२, चिलाउनेवास, स्याँर्कोट ।

    ‘आँधीखोले संस्कृति र स्मृति’ बाट साभार

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    शुक्रबार, माघ ०९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.