×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

यसरी मनाइन्थ्यो – माघे सग्राँती

  •  गोरखा समाचार
  • शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/magi-tilak-paudel-lekh.wav

    तिलक पाैडल

    पहाडी सौन्दर्यताको काखमा विविध प्राकृतिक छटाहरूले आच्छादित हाम्रो जन्मभूमि अहिले कल्पनामा सजाउन विवश हुँदा मनमा अतीतका व्यहोराहरू ताजा बनेर आलिँदा रहेछन् । वास्तवमा पहाडी भेकमा सामान्यत: गर्मी कमै हुन्छ । त्यसमा पनि कार्तिकदेखि चैत्रसम्म अलि बढी जाडो हुने गर्दछ । हाम्रो बालादिनमा अहिले जस्ता सस्ता, न्याना कपडाहरूको उपलब्धता शून्यप्राय: थियो । पुराना जर्सी कुहिनाउँदो फाटेपछि उधारेर सीप भएका आमा, दिदीबैनीहरूले छाताका करङ्ले टोपी, गलबन्दी, हाफ स्वीटर बुनिदिन्थे र कसै-कसैले लाउन पाउँथे । अन्यथा स्कूले पोशाक (गाढा नीलो जीनको जाँघे, आकाशे नीलो टेरिलिनको कमेज) नै हिउँद-बर्खा, ठण्डी-गर्मीका कपडामा गनिन्थे । स्कूल जाँदादेखि घरमा बस्दा, गुच्चा, खोपी खेल्दासम्म मात्र नभएर तिनै कपडा लगाएरै सुतिन्थ्यो पनि । त्यसैले जाडो भगाउन राजा, कपर्दी खेल्ने, दगुर्ने, जुर्केली लगाउने (पाखामा सुकेको घाँसमा आगो लगाउने) र ताप्ने गरिन्थ्यो ।

    तिनताका हरेक घरपरिवारले आफ्नो जीवन गुजारा गर्न आवश्यक सबै खेतीबाली लगाउने गर्दथे । हाम्रै घरको व्यहोरा स्मरण गर्दा आँगनको छेउमा तुलसीको मठ थियो, त्यसैको छेउमा तिलानी (तिल) छर्नु हुन्थ्यो – हजुरामाले । मलखादको छेउमा सखरखण्डका झालहरू लहलह हुन्थे । दुधिलाको रूखमा तरुलको झाल थियो । माघे सग्राँतीका बेलामा बुबाले कोराहा (खन्ती) ले खनेर मभन्दा अग्लो तरुल निकाल्नु हुन्थ्यो ।

    ठूलागराको छेउमा उखुवारी थियो । चुलेत्राको फेदमा ४/५ वटा कपासका रूखमा पाकेर सेता फूल जस्तो लाग्नेलाई हजुरामाले टिपेर बत्ती कात्नु हुन्थ्यो, साँझ बत्ती बाल्न । लसुन, प्याजको खेती त्यतिबेला लगाएको पाइन्नथ्यो । बेलाम्तीको रूख भएको फोहोटामा अदुवा लगाइएको हुन्थ्यो । हिउँदमा बारीमा तोरी फुल्दा पहेल्पुर देखिन्थ्यो भने खेतमा मूलत: जोत्ने गोरूलाई पिँडा ख्वाउन, भैंसीलाई कुँढोमा मिसाउन र बैशाखको अक्षय तृतीयामा खुदोसँग सातु खान जौको पनि खेती गर्ने गरिन्थ्यो । मौसम अनुसारका अन्नखेती धान, मकै, कोदो, गहुँ लगाइने गरिन्थ्यो भने खेतका आलीमा मास, भट्ट बारीमा बोडी, सिल्टुङ्, खेतको मकैबारीमा फर्सी, सिमी फलाइन्थ्यो । घरको भाँडा माझ्ने जुठाल्नोमुनि डल्ले खुर्सानीको बुटो बाह्रै महिना फलिरहन्थ्यो भने मलखातोमा मभन्दा ठूला पात हुने पात्साई (रायोको साग) हुन्थ्यो । घर वरिपरि सागबारीमा मूला, पात्साई, सागे सिमी लगाइएको हुन्थ्यो । सारांशमा त्यतिबेला आफूलाई चाहिने सबै चिजहरूको बन्दोबस्त मिलाइएको हुन्थ्यो । अचेल यसलाई ‘सब्सिस्टेन्ट एग्रिकल्चर’ भन्ने गरिन्छ । हुनपनि तिनताका माटोको परीक्षण नहुँदा राम्रो भएपनि वा नभएपनि आफ्ना आवश्यकताहरू पूर्ति गर्ने प्रकारले खेतीपाती गर्ने चलन थियो । विकासे मल (रासायनिक मल) पाइँदैनथ्यो, परिणामस्वरूप, उत्पादनमा ‘अर्ग्यानिक’ भन्ने उपसर्गिक विशेषण जरुरी थिएन । तिनैताकाको माघे सग्राँतीको सम्झना ताजा हुँदा निम्नानुसार शेयर गर्ने चेष्टा गरेकोछु ।

    माघे सग्राँती मनाउने क्रममा उखु काटेर गिँडी बनाउने, पेलेर खुदो पकाउने, चिउरा कुट्ने जस्ता कामहरू गर्नुपर्दथ्यो । तिनताका घरैपिच्छे उखुबारी हुन्थ्यो । उखु पेलेर खुदो बनाइन्थ्यो । उखु पेल्ने काठको कोल हुन्थ्यो । त्यसमा पेल्न सजिलो होस् भनेर उखुलाई एकुन बित्ताका गिँडी पारिन्थ्यो । हामी स्कुलबाट फर्कँदा उखु काटेका पुछारकै घरदेखि गिँडी मागेर चुस्दै हिँडिन्थ्यो । आपसमा कसका घरका उखु मीठा भन्ने पारख गरिन्थ्यो । उखुको गिँडमा दुवैतिर आँख्ला परेमा साटिदिन भनेर बीचमा मात्र आँख्लो भएको लिएर उखु चुस्दै घर पुगिन्थ्यो । उखु पेल्ने कोल करिब सबै गाउँमा एकुन्टा हुन्थे । उखु पेल्न सबैले आफ्नो पालो लगाएका हुन्थे । हामी उखु पेलेको ठाउँमा पुगेर खोया – उखुका गिँड पेलेर फलिएका अवशेषहरूलाई पनि चुस्ने गरिन्थ्यो । उखुको रस पकाउँदै गरेका रसेटोमा ती खोया लिएर गएपछि बुबा-आमाहरूले ‘खै ले त एउटा चोखो खोयो’ भन्दै मागेर तातो पाक्दै गरेको खुदोमा चोपेर दिनुहुन्थ्यो । पुसको जाडोमा जाँघे-कमेजको पोशाकमा हुने हामीहरूलाई त्यो तातो खुदोमा चोपिएको खोयो चुस्दाको आनन्द वास्तवमै वर्णानातीत हुन्थ्यो ।

    उखु पेलेर सग्राँतीलाई खुदो बनाउने सन्दर्भमा बुबाबाट सुनेको मेरा हजुरबुबाको एउटा कथांश यो घडिमा स्मरण भैरहेछ । पिता, प्रपिताप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै बैकुण्ठवासको कामनामा व्यहोरा निम्नानुसार संक्षेपीकरण गर्न मन लाग्यो ।

    तिनताका छिमेकी थुमगाउँमा उखु पेल्ने कोल थियो रे ! माघे सग्राँतीभन्दा २/३ दिन अगाडि उखु पेली सग्राँतीलाई खुदो बनाउन उखु गिँडी पारेर कोल माग्न जीजुहजुरबुबा थुमतिर जानुभएछ रे ! संयोग सग्राँतीको माँचोमा कोल माघ २ गतेसम्म उठिसकेको जानकारी भएछ । अनि त्यतैबाट चुलीमुनितिर हानिएर एउटा रूख ढाली कोलका लागि ओखल, बियो, कात्री लगायतका सामान तयार पारी बोकेर घर आई भोलिपल्टै घरमै कोल तयार पारी उखु पेल्नु भएथ्यो रे ! यो व्यहोराले हजुरबुबालाई बलिष्टमा चर्चित गराएछ । बाइसे-चौबीसे राजाको पालामा यो व्यहोरा एक कान दुई कान, मैदान भने झैँ आरूखर्के राजाको कानमा पनि परेछ । उनले दरबारमा पहलमान पालेका थिए रे ! अनि चैतेदसैँका दिन पहलमानसँग लडाउन सतौँकोटे राजालाई समाचार पठाएछन् । सतौँकोटे राजाले हजुरबुबालाई खबर गरी चैतेदसैँका दिन पहलमानसँग लड्न भनेछन् । चैतेदसैँका दिन आरुखर्के राजदरबारको टुँडिखेलमा हाम्रा हजुरबुबा र पहलमानको लडाइँ हेर्न धेरै मान्छेहरू जम्मा भएछन् । हजुरबुबा हात पट्याएर बीचमा उभिनु भएछ, पहलमानले झुक्याएर टाङमुनि छिरेर पछार्ने अवसरको खोजीमा वरिपरि घुमिरहँदो रहेछ । हजुरबा पनि जता-जता पहलमान जान्छ, त्यतै-त्यतै घुम्नु हुँदोरहेछ । पहलमान टाङमुनि छिरेका बेला बुढाले दुईटा घुँडा जोडिदिँदा त्यहीँ च्यापिएछ र जोड खप्न नसकी पटे निचरिएर दिसै निक्लेछ रे ! तब, आरुखर्के राजाले ‘छाड्देऊ बाजे, छाड्देऊ, तिमीले जित्यौ …’ भनेछन् । प्रतिउत्तरमा पट्याएका हात फुकाई जोडेर ‘मैले त के गरेकोछु र महाराज ?’ भन्नुहुँदा ‘तिमीले मागेको पुरस्कार पाउने छौ, छाडिदेऊ अब !’ भनेर राजाले भनेपछि लडाइँ टुङ्गिएथ्यो रे ! त्यसपछि राजाले ‘तिमीलाई इच्छा भएको माग’ भन्दा हजुरबुबाले ‘भैंसी पाल्ने बस्यारीको खर्क’ माग्नु भएछ । जुन अद्यावधि ‘स्याँर्कोटेको खर्क’ भनी प्रचलित छ । अचेलका हामीलाई ‘त्यो बेला बुढाले पोखरातिर फर्केर चौरासी बिरुवा मागिदिएको भए !’ भन्ने लोभ लाग्छ, कारण गाउँबाट प्राय:जसो त्यतैतिर घर बनाएर सहरीया भैसके ।

    अर्को तर्फ, पुसे मसान्तको दिन बुबाले दुधिलाको बोटमा झ्याँगिएको तरुल खन्दै हुनुहुन्थ्यो । काठको बीँड भएको खन्तीले तरुललाई जोगाई-जोगाई खनेर झण्डै हामी जती अग्लो तरुल निकाल्नु हुन्थ्यो । हामी रमाएर ताली बजाएर हर्ष प्रकट गर्दथ्यौँ । बुबाले फेरि चुलेत्राको बुटामुनिको फोहोटामा लगाएको सखरखण्ड कोदालोले उप्काउनु हुन्थ्यो । लाम्चा आलु जस्ता देखिने सखरखण्ड झुक्किएर काटिन पुगेमा ‘लौ पखालेर खाओ’ भनेर हामीलाई दिनुहुन्थ्यो । हामी खुसीले उफ्रँदै पानीले पखालेर काँचै खान्थ्यौँ, जुन पनि गुलियो आलु जस्तो मीठो लाग्दथ्यो । आमाले दाउरा खोज्न वन गएर फर्कँदा सखरखण्ड भन्दा अलि ठूला फिका कलेजी रङका वन तरुल पनि ल्याएर ‘सग्राँतीका दिन खाने’ भनेर थन्क्याउनु हुन्थ्यो । हामीलाई ‘सग्राँती कहिले होला ?’ भन्ने आतुरी लाग्दथ्यो ।

    त्यसै दिन प्राय: सबै घरहरूमा चिउरा कुट्ने काम हुने हुँदा गाउँको पुछ्रारदेखि नै चिउराको एक प्रकारको सुगन्ध फैलिएको हुन्थ्यो । घरमा पुगेर झोला पनि नथन्क्याई ढिकीतिर गइन्थ्यो । मुन्तिर आमाले तामाको ताउलामा भिजाइएका धान ठूलो खोत्तिया (हाँडी) मा भुटिरहेकी हुनुहुन्थ्यो । पल्तिर आमाले ढिकी कुटिराख्नु हुन्थ्यो । हाम्री आमाले फलामे दाँती नभएको मुसलले कुटिएका चिउरा लाउँदै तयार भएपछि सिलोटको ठूलो थालमा यसो निफनिटोपलेर डालोमा हाल्नु हुन्थ्यो । सधैँ नै हामी स्कुलबाट फर्कँदा भोक लागेको हुन्थ्यो । हुनपनि तिनताका अहिले जस्तो गाउँघरतिर चिया चमेना खाने होटेलहरू थिएन् । कहिलेकाहीँ पिपलगेडी (विभिन्न रङ्का केराउका गेडाजत्रा भित्र तोरीको गेडो भएका गुलिया मिठाइँ) किनेर चाप्दै कालीखोलाको दुई अँजुली पानी खाएर भोकलाई थुम्थुम्याइन्थ्यो । अघिपछि गहुँ/कोदाको रोटी, पुवा, भुटेका मकै आदिको अर्नी हुन्थ्यो भने च्युरा कुट्ने दिन हामीले च्युरा खाने आश गरेको आमाहरूलाई बुझ्न गाह्रो पर्दैनथ्यो । वास्तवमा आमालाई आफ्ना सन्तानको चाहनाबारेमा पूर्ण जानकारी हुँदोहो जस्तो लाग्छ – मलाई अहिले पनि । आमा बन्नुहुनेलाई अनुभवै होला । कति चिउराहरू ठूलै लट्टा बन्दथे, त्यसलाई फोरेर बँचेको हामीलाई खान दिनुहुन्थ्यो । सद्दे चिउरा खान नपाएपनि भोक लागेको बेलामा त्यो चिउराको लट्टो पनि साह्रै मीठो हुन्थ्यो । आमाहरूले भरदिनमा सबैका चिउरा कुट्ने काम सकाउनु हुन्थ्यो ।

    माघे सग्राँतीका दिन बिहान हामी उठ्दा तरुलहरू, सखरखण्ड उसिनेर तयार पारिएको हुन्थ्यो । चिउरालाई नाङ्लोमा निफनेर बियाँ हटाई राम्रा बनाएर दुध र खुदो मिलाएर भिजाइएको हुन्थ्यो । आमाले ‘लौ सबै भ’र भर्कुन्ना (भरिकुण्ड) को धारामा गएर नुहाओ, त्यहाँको पानी तातो हुन्च … !’ भने अनुसार स्कुलबाट पुरस्कारमा पाएको लक्स साबुनले सबै जना मिलेर फिँजैफिज बनाएर नुहाइन्थ्यो । घर आउँदा आमाले तोरीको तेलमा मेथी पड्काएर तताई बटुकामा राखिदिनुभएको हुन्थ्यो । तेल लाएर घाममा बस्दा साँच्चै नुहाउँदाको जाडो भाग्दथ्यो ।

    सबै जहानहरू माघ लाग्दाका बिहानी न्याना घाममा आँगनमा जम्मा हुन्थ्यौँ । ‘पुसको पन्ध्र लमाए, माघको पन्ध्र घमाए’ भन्नु हुन्थ्यो, बुबाले । हो जस्तो पनि लाग्दथ्यो, माघको अन्तिमताकातिरबाट जाडो घटेको जस्तो लाग्दथ्यो । आमाले खुदो र दुधमा भिजाएका चिउरालाई तरुलको छेउमा डाडुले पस्कँदै ‘लौ ! अर्को वर्ष मान्न पाइने हो कि हैन, यो वर्षका सबै चाडहरू अब सकिए भन्दा हुन्च … !’ भन्नुहुन्थ्यो – बुबातिर फर्केर । मैले जिज्ञासा राख्दथेँ ‘किन र आमा ?’ प्रतिउत्तरमा बुबाले सबैलाई खाने इसारा गर्दै ‘साउने सग्राँती बाँचियो भनेर मनाउने र माघे सग्राँती अब मरिने पो हो कि ! भनेर मनाउने चलन पुर्खादेखि चलिआ’को भन्चन् के रे !’ भन्नुहुन्थ्यो । ‘हुन पनि हो के ! अब गर्मी लाए’सि हैजा आउँच, काँचो-कचिलो खान हुन्न उँधै-उँभै हुन्च, पखाला चल्च, माई हुन्च, दादुरा-ठेउला हुन्चन् । चैताँ त्यो घाम्मा धुलोसँगै मकै छर्दा, पछि गोड्दा, गहुँ छर्दा, सबै बाली थन्क्याउँदा, खेत रोप्दा कति चापाचाप हुन्च, निरोगालाई पनि रोगाहा बनाउने बेला आयो अब त … !’ आमाले खाँदै-खाँदै व्याख्या गर्नुहुन्थ्यो । फेरि माघका चिउरा असारे पन्ध्रममा खाने भनेर केही चिउरा आमाले नबिग्रने गरी थान्को लगाउनु हुन्थ्यो । हामीले पनि त्यसरी राखिएका चिउराको दुरुपयोग गरिन्नथ्यो – संस्कारी धरोहरप्रतिको अबोध समर्थन र स्वीकृतिसँगै उल्लिखित व्यहोराहरू भाइ, बैनी, म चिउरा, तरुल, सखरखण्ड खाँदै आश्चर्यबोधक भावमा ध्यानपूर्वक सुन्थ्यौँ/हेर्दथ्यौँ ।

    वास्तवमा गर्मी मौसमभन्दा ठण्डी मौसम निरोगी जस्तै लाग्दछ । हुनेखानेलाई त के छ र ? न्यानो कपडा लगायो, उच्चकोटीका मदिरापान गरेर ज्यान भित्रैदेखि ततायो, एयर कण्डिसनवाला गाडीमा आवत-जावत गर्‍यो, घरमा पनि एसीदेखि बेड हिटरसम्मको उपयोगले सर्वत्र तातो गराउनेहरूलाई त नि:सन्देह ठण्डी मौसम – जे खाएपनि पच्ने, उपयुक्त मौसम हो नै । तर हुँदाखानेहरूका लागि भने शीतलहर भन्दा लु लाग्नु ठीक जस्तो लाग्छ । किनभने बढी गर्मी भयो भने बरु सितलमा बसे भयो तर चीसोमा त के गर्नु र ? प्लाष्टिक बाल्यो भने क्यान्सर लाग्ने ग्याँस उत्सर्जन हुन्छ भनिएपनि टायरसमेत बालेर शरीरको अगाडिको भाग तताउन विवश हुन्छन्, रपनि पछाडिको भाग त चिसै हुन्छ, सुत्ने बेलामा न्यानो ओड्ने हुँदैन, दिनमा शरीर ढाक्ने तातो कपडा हुँदैन । यसरी भन्दा धनीहरूलाई ठण्डी र गरिबहरूलाई गर्मी मौसम उपयुक्त देखिन्छ पनि ।

    बा आमाहरू सग्राँती नुहाउन भनी दामली मिलेर सग्राँतीको बिहानै गएर साँझ घरै फर्कने गरी मोदीबेनी (काली गण्डकी) अथवा पोखरा (सेती गण्डकी) वा देवघाट (सप्त गण्डकी) जानु हुन्थ्यो । एक वर्ष म पनि बुबासँग मोदीबेनी मसान्तकै दिन साँझ उहीं बिताउने गरी गएथेँ । यसै त पुस, माघको चिसो उसमाथि गण्डकीको सिरेठो ! अझैसम्म पनि जाडो अनुभविएको ज्यादै ठण्डी क्षणको स्मरण गर्नुपर्दा त्यही दिन र हुम्लाको माइनस बाइस डिग्री सेल्सियसको हिउँले ढाकिएको सिमीकोटमा बिताएको दिनलाई सम्झने गर्दछु । रपनि विभिन्न ठाउँबाट खैँजरी, मुजुरा, मृदङ्गा लिएर आ-आफ्नो टोलीले भजन कीर्तन गरी नचरी लगाएर रातभर जागराम रही जाडो भगाएको देखिन्थ्यो । म भने बुबाको काखमा सिरान गरी रीडीको च्यादरमा गुटमुटिएर निदाएथेँ । बिउँझेका समयमा खैँजरी-मुजुराको तालमा चर्को आवाजमा गाइएका भजनको अन्त्यमा गरिने हरि बो§§§ल ! को उच्चारणले माहोलै तताए झैँ मान्दथेँ । बिहानै सबैले गण्डकीमा डुबुल्की लगाएर नुहाई झोलामा लगिएका घ्यू, खुदो मोलेका चिउरा, उसिनेको तरुल ज्ञादीचौरमा आएर चौतारीमा बिसाएर खाँदाको स्वाद मेरा लागि अहिलेसम्मको मीठो स्वाद हो । अन्तत: साँझ लखतरान जिउसँग घर पुगिएथ्यो ।

    अहिले त सहरीया भैएकोछ । गाउँमा छँदा उल्लिखित हिसाबले माघेसग्राँतीका बेलामा दुध, च्युरामा खुदो मिसाएर तरुल, सखरखण्डसाथ खाने प्रचलन थियो । अहिले काठमाडौँमा जस्तो तिलका लड्डु, घिउ-चाखु भन्ने चलन हाम्रो गाउँमा चलेको थिएन । घर-घरमा गाई वा भैंसी पालिएका हुन्थे, बकेर्नो नै भएपनि माघे सग्राँतीका च्युरा भिजाउने बस्तुलाई लक्षिनको मानिन्थ्यो । यो मानेमा दुधको बन्दोबस्त घर-घरमै हुन्थ्यो, नहुने घरकाले पनि दुध पहुल भएका घरबाट व्यवस्था मिलाएका हुन्थे । अचेल त गाउँमा बानरको आतङ्क फैलिएकोछ । बुढाबुढी भएका आमा बुबाहरूले गाउँ कुर्नुभएकोछ । हामी नै बाउआमाबाट ममीडेडी बन्दै आमाबाबा उर्फ जीबाज्यामै भैसकेकाछौँ । छोराछोरी सहरबाट पनि बाहिरिएर विदेशी जस्ता भएकाछन् । भाइवर, म्यासेञ्जरादिका माध्यमबाट हेराहेर गरेर बातचित हुने गर्दछ । कतिपय त हामीकहाँ दिन हुँदा रात पर्ने मुलुकमा छन् । ‘माघे सग्राँती आयो, चिउरा-तरुल खानु पर्छ, यसो वालमार्टतिरबाट ल्याएर खाओ’ भन्ने हाम्रा भनाइलाई ‘कहाँको फुर्सद हुनु, चिउरा-तरुल खोज्ने !’ भनेर व्यस्तता दर्साउँछन् । हामी भने अचेल तिलका लड्डु, घिउ, चाखु, तरुल, सखरखण्ड, सेल रोटी, दुधमा खुदो मिसाएर भिजाइएका ताइचीन चिउरा खाएर माघे सग्राँती मनाइरहेका हुन्छौँ – बुढाबुढी मिलेर । वास्तवमा पुस-माघको जाडोमा चिसिएको शरीरलाई तातो बनाउने परिकारहरूको उपभोग गर्ने हाम्रो साँस्कृतिक परम्पराको धरोहर धरासायी हुँदै गैरहेको देखिन्छ, यो व्यहोरा अन्यान्य चाडवाडहरूमा पनि लागू भैरहेको पाइन्छ । उन्ताका त बुबाले सग्राँतीको पूजा गरी सबैलाई टिका नलगाई, प्रसाद नखाई ती खानेकुरा खान हुँदैन भन्ने भावनाले मनमा जरो गाडिसकेको हुन्थ्यो । कदाचित् खाई हाले पाप लाग्छ भन्ने त्रासले अनुशासित बनाएको थियो । अहिले त पाप-धर्मको कुनै ख्याल छैन, रीतिथितिहरू पनि भुल्दै जान थालियो । यही सन्त्रस्तताले यो संस्मरण लेख्न ऊर्जाको काम गरेको परिणाम सबैमा आफ्नो भेकको व्यहोरा पस्कने यो चेष्टाले कतै कसैलाई असहज हुन पुगे यथोचित याचना गर्दै सबैमा ‘मकर सग्राँतीको हार्दिक शुभकामना’ प्रकट गर्दछु । सबैमा यथासम्मानसहित,

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    परिमार्जन
    २०८२ पुस मसान्त
    हाल : किर्तिपुर-२, मैत्रीनगर, काठमाडौँ ।
    (प्रकाशोन्मुख कृति ‘आँधीखोले संस्कृति र स्मृति’ बाट)

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.