×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पुसे पन्ध्रम र बाल्यकाल

  •  गोरखा समाचार
  • सोमबार, पुष २१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/Tilak_Pudel_Lekh.wav

     

    तिलक पाैडेल

    पुसको पन्ध्र गते मनाइने हुँदा यो चाडलाई पुसे पन्ध्रम भनिन्छ । यो पर्व खासगरेर सुदूर पश्चिमतिर विशेष धुमधामका साथ मनाइने गरेको पाइन्छ । हरेक वर्ष पुसको पन्ध्र गतेका दिन मूलत: तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि फल्ने कन्दमूललाई उसिनेर खाने चलन छ । कन्दमूलहरू उसिनेर वा पोलेर खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरिएको बताइन्छ । प्रायः सबै परिवारले घरमा लगाएको र जङ्गलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । यस दिन तरुल खानैपर्ने मान्यता अनुरूप देशैभरिका बजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्दछ । नेपालका केही-केही स्थानमा गाउँखाने र दन्त्य कथा सुन्ने तथा सुनाउने मौलिक पर्वका रूपमा पनि पुसे पन्ध्रमलाई लिने गरिन्छ । बाल्यकालमा हामीकहाँ पनि बुवाले कथा सुनाउने गरेको सम्झना हुन्छ ।

    लोक संस्कृतिको मौलिक पहिचान बोकेको पुसको पन्ध्र गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात हो । यसपछि दिन लमाउँदै जाँदा रातहरू छोटाउँदै जान्छन् । हाम्रो बुवाले पनि ‘पुसका पन्ध्र लमाए, माघका पन्ध्र घमाए’ भन्नुहुन्थ्यो । यही विश्वासमा दिनमा वनभात खाएर राति कथा तथा लोककथा सुन्दै र सुनाउँदै रातभर जाग्राम बसेर पुसे पन्ध्रम मनाउने गरिन्छ । पुसे पन्ध्रममा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने गरिन्छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि अचेल पहिले-पहिले जस्तो गरी नयाँ पुस्ताले पुसे पन्ध्रम मनाउँदैनन्, परिणाम हाम्रो मौलिक परम्परा क्रमिक रूपले हराउँदै जान थालेको छ ।

    पहिले-पहिले तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट पुस पन्ध्रममै पिक्निक अर्थात् वनभोज खाने गरिन्थ्यो । पुस पन्ध्रमको आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिन्थ्यो । पुस पन्ध्रममा घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्यहरू वनभोज जाने र मीठा-मीठा खानेकुरा खाने चलन पनि विगतदेखि नै चल्दै आएको हो ।

    मेरो बाल्यकाललाई स्मरण गर्दा – दिनमा आमाले पकाउने भाँडाकुँडाहरू र पकाइने चिजहरूलाई घाँसकाट्ने डोकोमा हालेर कुवापानीको अमलाको रूखको फेदमा जानुहुन्थ्यो । वनभात खाने भनेर हामी केटाकेटीहरू वहाँको पछि-पछि लाग्दथ्यौँ । हामी पुग्दा पारिधारा र खेताघरतिरका आएर आगो बालिसकेका हुन्थे । आमाले बिचमा अलि ठूलो र छेउ-छेउमा ठिक्कका ढुङ्गा ल्याएर चुलो बनाउनु हुन्थ्यो ।

    हामीलाई ससाना बाल्टि र जरिकन दिएर उ… कुवापानीको कुवाबाट पानी लिएर आओ भनी अह्राउँदा खुसीले पुलकित भइन्थ्यो । बाटोमा अरू साथीहरूले पानी लिएर आउँदै गरेका भेटिन्थे । पानी लिएर आउँदा आमाले छाँटा पारेको मासको दाल फलामे भजालोमा र जर्पनीका चामल पित्ले कसौँडीमा हालेर पात्साई काट्दै हुनुहुन्थ्यो । ठूलो किटको कराहीमा तरुलका र पाकेका फर्सीका टुक्रा, गिठा, पिँडालु, आलु, सखरखण्ड राखेर ठीक पारिसक्नु भएको हुन्थ्यो । पानी पुर्‍याएपछि चुलोमा आगो बाली चामल मिचेर चौलानी दालमा हाली एक थुर्मी घिउ हालेर बसाल्नु हुन्थ्यो भने कराहीमा पानी हाली सिलोटे थालले ढाकेर चुलोको अर्कोतिर बसाल्नु हुन्थ्यो । भात पनि बसाल्नु न आमा भन्दा ‘घिउ हालेर पकाउने भातका लागि चामल भिजाएर पकाएपछि नरम र मिठो हुन्छ’ भनेको अहिल्यै जस्तो लाग्दछ । हामीहरू अरू साथीहरूसँग मिलेर बाटेगरामा ओरोडोरो खेल्दथ्यौँ ।

    खेल्न थालेपछि समय बितेको पत्तै हुँदैनथ्यो । बुवाले घर घाँसपातको व्यवस्था मिलाएर सधैँभन्दा चाँडै भैँसी दुहेर दुध लिएर पुगिसक्दा पनि हामी खेलिरहेका हुन्थ्यौँ । वनभात पाकिसकेपछि खान बोलाउनु हुन्थ्यो । तब खेल रोकेर सबैजना खान जान्थ्यौँ । ‘वनभात टपरीमा खानु पर्छ नि !’ भन्दै आमाले सालका टपरीहरू पुछपाछ पारेर पहिले उसिनेका चिजहरू दिनुहुन्थ्यो । बुवाले ‘बोक्रा छोडाउँदा पोल्ला नि ! तातै छन्, बिस्तारै खाओ, मुख पोल्ला, गालामा जिब्रोमा घाउ हुन्छ नि फेरि !’ भनी हामीलाई सतर्क गराउनु हुन्थ्यो । मलाई उसिनेको सखरखण्ड सबैभन्दा मिठो लाग्दथ्यो । त्यसपछि आमाले तिनै टपरीमा ‘लौ भात पनि त्यसैमा खाओ’ भनी घिउ-घिउ बसाएको जर्पनीको भात, जिम्मुले झानेको मासको दाल, हरियो राग आउने साग, आलु/गिठाको र दुधे कर्कलाको अचार हालिदिनु हुन्थ्यो । एकवर्ष मेरो टपरी चुहिने परेछ, आमाले जति दाल हालिदिएपनि राम्रोसँग मुछेर खानै पाइनथेँ । अरूहरूले सपासप खाएको देख्दा आफूले त्यसैगरी खान नपाएको पछुतो अहिले पनि केही कुरामा पश्चात्ताप हुँदा मस्तिष्कमा आलिन्छ । बाङ्सिङमा घाम पुग्दासम्ममा सबैले खाइसकिन्थ्यो । हामी केटाकेटीहरू खाइसकेपछि फेरि बाटेगरामा जम्मा भएर ‘यति-यति पानी गंगै रानी’ खेल्थ्यौँ । बा, आमाले सबै काम सकेपछि झम्केसाँझमा घर पुगिन्थ्यो ।

    बुवाले गोठ अगाडिको गरामा ठूला-ठूला दाउराका मुढामा आगो सल्काएर छाड्नु भएको हुन्थ्यो । हामी पुगेपछि आमाले जुठोभाँडो गर्नु हुन्थ्यो भने बुवाले हामीलाई आगो ताप्न डाकेर दन्ते कथाहरू सुनाउने गर्नुहुन्थ्यो । एकपटकको कुरा हो – बुवाले पुरोहित र सिंहको कथा सुनाउनु भएको अहिलेसम्म सम्झिरहेको लाग्छ । कथा अनुसार कुनै पूजाआजा सकेर घर फर्कँदै गरेको पुरोहितले बाटोमा एउटा पिञ्जडामा थुनिएको सिंहलाई देखेछन् । त्यस सिंहले पुरोहितलाई भनेछ ‘हे पण्डित बा ! तपाईँ त अर्कोको उपकार गर्ने मान्छे ! म जङ्गलको राजा, कुनै दुष्टको प्रपञ्चमा परेर यस पिञ्जडामा कैद भएको छु । उ… त्यो छेउमा झुन्ड्याएको चाबीले यस पिञ्जडाको तालालाई खोलिदिएर मलाई मुक्त गरिदिनुहोस् । तपाईँलाई ठूलो पुण्य हुनेछ ।‘ पण्डितले पनि व्यहोरा ठिकै ठानी झुण्ड्याइएको चाबीले पिञ्जडाको ताला खोलिदिएर सिंहलाई मुक्त गरिदिएछन् ।

    सिंह बाहिर निक्लेपछि पण्डितलाई भनेछ ‘म धेरै दिनदेखिको भोको छु । अब म तिमीलाई खान्छु र मेरो भोक तृप्ति गर्छु ।‘ तब पण्डितले ‘मैले तिमीलाई पिञ्जडाबाट मुक्त गरी परोपकार गरेँ, त्यसको बदला तिमीले मलाई खानु अपकार वा पाप होइन र !?’ भनेछन् । सिंहले ‘यो जमाना भनेको परोपकारको बदलामा अपकार वा द्रुपकार गर्नु हो । नपत्याए अरूसँग सोधौँ उत्तर जे प्राप्त हुन्छ सोही बमोजिम गरौँला‘ भनेछ । पण्डितलाई पनि व्यहोरा मनासिब लागेछ । अनि सिंहले पण्डितलाई आफ्नो पिठ्युँमा बस्न लगायो । हिँड्दै जाँदा बाटोसँग सिंहले प्रश्न गर्‍यो ‘ए बाटो ! यो जमाना उपकारको बदला अपकार हो कि के हो ?’ सिंहको प्रश्न सुनेर बाटोले ‘मलाई नदेखेर भौँतारिरहेको बटुवाहरू जब मलाई भेट्छन्, तब सरासर आफ्नो गन्तव्यमा पुग्छन् । सायद यो मेरो उनीहरूलाई गरेको उपकार हो । यसको बदला बटुवाहरूले यसो कुइनेटो परेको ठाउँ भेटाउने बित्तिकै दिसा वा पिसाब गरिदिन्छन्; थुक्नु, सिँगान फाल्नु त सामान्य भयो । यो मेरो उपकारको बदला बटुवाहरूले गरेको अपकार होइन र ! त्यसैले यो जमाना भनेको उपकारको बदला अपकार नै हो‘ भनेछ । तब सिंहले पण्डितलाई ‘देखिस् पण्डित ! मैले भनेको हैन ?! अब म तलाई खान्छु’ भनेछ । अनि पण्डितले ‘अर्कोसँग पनि सोधौँ; उसले पनि यसै भनेमा तिमीले खाउला’ भनेछन् । त्यसपछि सिंहले हौसिँदै पण्डितलाई पुन: पिठ्युँमा बोकेर अघि बढ्यो ।

    जाँदाजाँदै चौतारीमा पुगेर सिंहले बरको रुखसँग सोही प्रश्न दोहोर्‍यायो । बरको रुखले ‘तालुको पसिना पैतालासम्म चुहाउँदै बोझा बोकिरहेका बटुवा मेरो छाहारीमा आएपछि सुस्ताएर आफूलाई पुन: ऊर्जावान् बनाउँछन् । यो मैले उनीहरूलाई गरेको उपाकारै त होला ! त्यसपछि मेरो शरीरतिर हेर्दै सोझो देखिएको हाँगालाई काटेर लठ्ठी बनाउँछन् भने सुकेका हाँगाहरू काटेर साँझ खाना पकाउने दाउराको रूपमा लिएर जान्छन् । यो भनेको मैले ती बटुवाहरूलाई गरेको उपकारको बदला अपकार होइन र !’ भनेछ । रुखले यति भनेपछि सिंहले पण्डितलाई खान खोजेछ । फेरि पनि पण्डितले ‘अर्को एउटासँग सोधौँ । ताकि तीनवटा उत्तर प्राप्त भएपछि अनि खाउला’ भनेछन् । त्यसपछि सिंहले पुन: पण्डितलाई पिठ्युँमा बोकेर अघि बढेछ ।

    संयोग अर्कोतिरबाट एउटा जम्बुमन्त्री अर्थात् स्याल आउँदै गरेको देखिन्छ । आफ्नो पिठ्युँमा मान्छेलाई बोकेर आइरहेको सिंह देखेर स्याल भाग्न खोजेछ । सिंहले स्याललाई एकछिन रोकिन भन्दै ‘तिमी नभाग, म एउटा प्रश्न सोध्छु; त्यसको उत्तर दिएर सहयोग गर । म तिमीलाई केही पनि गर्दिन’ भनेछ । त्यसपछि स्याल रोकिएछ । सिंह नजिकै पुगेपछि स्याललाई ‘यो जमाना उपकारको बदला अपकार हो कि उपकार हो ? बताइदेऊ’ भनेर सोधेछ । चलाख स्यालले ‘हैन यस्तो प्रसङ्ग कसरी आयो ?’ भनेर सिंहलाई प्रतिप्रश्न गरेछ । तब सिंहले ‘म दुष्ट मान्छेको फेला परी पिञ्जडामा कैद भएको थिएँ । यो पण्डितले मलाई पिञ्जडामुक्त गराएर उपकार गर्‍यो । म धेरै दिनदेखिको भोको भएको हुँदा सिकार गर्न सक्षम छैन, त्यसैले अब म तलाई खान्छु भनेँ । यो पण्डितले उपकारको बदला अपकार पनि हुन्छ र ! भन्यो । मैले बाटोसँग र बरको रुखसँग सोधनी गरेँ । दुबैले यो जमाना भनेको उपकारको बदला अपकार हो भन्ने उत्तर दिए । रपनि यसले अर्को तेस्रोसँग पनि सोधौँ भनेकाले तिमीलाई सोधेको हो ।‘ तब स्यालले हाँस्दै ‘कहाँको जङ्गलको राजा – सिंह, त्यो पनि कसरी पिञ्जडामा कैद भयो होला ? अनि यो जाबो मनुवाले कसरी खोलिदियो ? खै मलाई पत्यारै लागेन, महाराज !‘ भनेछ । त्यसपछि सिंहले ‘नपत्याए मसँग हिँड’ भनी पण्डितलाई पिठ्युँमा बोकेर आफू अघि-अघि र स्याललाई पछि-पछि आउन लगाएछ । आफू कैद भएकै ठाउँमा पुगेपछि झट्टपट्ट आफू पिञ्जडा भित्र पसेर ढोका तानी पण्डितलाई तालाबन्दी गरिदिन भनेछ । अनि पण्डितले पनि डराउँदै तालाबन्दी गर्न थालेपछि स्यालले पण्डितलाई ‘पहिलेको भन्दा पनि अझ बलियो हिसाबले बन्द नगरेमा म उत्तर दिन्न’ भनेछ । तब पण्डितले पनि राम्रोसँग तालाबन्दी गरी सकेपछि स्यालले पण्डितलाई ‘धन्य मसँग भेट भएर ज्यान बक्सिस पाइस् । यो जस्तो जङ्गलको हिंस्रक जन्तुलाई पनि पिञ्जडाबाट मुक्त गरिदिने हो मूर्ख ! अब आफ्नो बाटो लाग्’ भनेर स्याल त्यहाँबाट आफ्नो बाटो लागेछ । यसरी नपत्याइँदो हिसाबले पुरोहितले आफ्नो जीवन जोगाएथे रे ! बुवाले सुनाएको यो कथा ‘गुलवकावलीको कथा’ मा रहेछ । अचेल पढेपछि थाहा लाग्यो ।

    हामीहरू कथा सुन्दासुन्दै झुल्न थाल्दथ्यौँ । आमाले हामीहरूलाई ओच्छ्यानमा लगिदिनु हुन्थ्यो । निद्रादेवीले शरण दिएपछि हाम्रो लागि पुसे पन्ध्रम पनि सकिन्थ्यो । अचेल त अमलाको रुख पनि बुढिएछ, वनभात पकाउने गरामा वनमाराले ढाकेछ । केटाकेटीहरूलाई पनि वनभात खाने पुसे पन्ध्रम त विद्यालयहरूले बेला-बेलामा अभिभावकहरूसँग पैसा उठाई पिकनिक लगिदिने चलनसँगै सती गएछ । सम्भाव्यताको दायरामा समेट्न सकिने ठाउँ र परिवेशमै भएपनि हाम्रा साँस्कृतिक धरोहरको जगेर्ना गर्ने गरौँ ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    २०८१ पुस १९ गते शुक्रबार
    आँधीखोला-२, चिलाउनेवास, स्याँर्कोट, स्याङ्जा ।

    (पङ्क्तिकारको प्रकाशोन्मुख कृति ‘आँधीखोले संस्कृति र स्मृति’)

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, पुष २१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.