तिलक पाैडेल
आधुनिक सभ्यताको मेरुदण्ड भन्नु सूचना तथा सञ्चार प्रविधि हो । मानव समाजको विकाससँगै सञ्चारका माध्यमहरू पनि क्रमशः विकसित हुँदै आएका छन् । नेपालमा पनि सञ्चारको इतिहास परम्परागत सन्देशवाहक ‘कटुवाल’ देखि लिएर चिट्ठी-पत्र, तारयुक्त टेलिफोन, रेडियो, टेलिभिजनहुँदै आजको स्मार्ट मोबाइल फोनसम्म आइपुगेको छ ।
साविकमा गाउँ पञ्चायतका सूचनाहरू सर्वसाधारणसम्म पुर्याउने काम टोल-टोलमा तोकिएका कटुवालहरूले कर्नाल वा दमाहा बजाएर ‘घोक हालेर’ गर्ने परम्परा थियो । देश विदेशमा रहे/भएका आफन्तहरूलाई चिठीपत्रको माध्यमबाट भलाकुसारी हुन्थ्यो । २०३८/३९ सालतिर मुगु जिल्लाको धैनकोटबाट लेखेको चिठी स्याङ्जाको चिलाउनेवासमा आइपुग्न डेड-दुई महिना लाग्दथ्यो । त्यसपूर्व जिल्ला-जिल्लामा आकाशवाणी कार्यालयहरू थिए र जरुरी पर्दा त्यसैको उपयोग गरिन्थ्यो । अक्षर गनेर पैसा लिने भएकाले सकेसम्म थोरै शब्दबाट सन्देश पठाउन ‘तुरुन्तको तु, कप्तानको क…’ जस्ता शब्दावलीहरू प्रयोग हुन्थे ।
हुन त तत्कालीन राणा प्रधानमन्त्री श्री चन्द्रशमशेर जबराले सिंहदरबार र नारायणहिटी दरबारबीच पहिलो पटक वि.सं. १९७० सालतिर टेलिफोन जडान गराएका थिए । तिनताका त्यो सेवा शासक वर्ग, दरबार र प्रशासनिक निकायमा मात्र सीमित थियो । आम सर्वसाधारण बिच यो सेवालाई अत्यन्तै दुर्लभ र विलासिताको साधन मानिन्थ्यो ।
सञ्चार क्षेत्रको विस्तार प्रजातन्त्र स्थापनासँगै वि.सं. २००७ सालपछि भएको हो । सञ्चारका साधनहरूमध्ये यहाँ टेलिफोनको सन्दर्भमा केही नियाल्ने कोशिष गरिएको छ । यो सेवालाई व्यवस्थित गर्न वि.सं. २०३२ सालमा नेपाल दूरसञ्चार विभाग स्थापना भएपछि नेपाल दूरसञ्चार संस्थान हुँदै हाल नेपाल टेलिकमका रूपमा सोही जिम्मेवारी निर्वाह गरेको छ ।
नेपालका —काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज जस्ता प्रमुख सहरहरूमा तीसको दशकमा तारयुक्त (ल्याण्डलाइन) टेलिफोन विस्तार भएको हो । त्यतिखेर टेलिफोन जडानका लागि निवेदन दिएर वर्षौं कुर्नुपर्ने अवस्था थियो । २०४५ सालतिर सुर्खेरमा डायल टेलिफोनको व्यवस्था नहुँदा सेटबाट रिसिभर उठाएपछि एक्सचेन्जमा अपरेटरमार्फत कुरा भई फलानो मान्छेलाई सम्पर्क गरिदिनु भनेपछि सोही बमोजिम कुरा हुन पाउँथ्यो । त्यसपछि हातले सबै अङ्कहरू घुमाउनुपर्ने खालका सेटहरूबाट सम्पर्क गर्न खोजेको व्यक्तिको फोन नम्बरमा डायल गरी सोझै कुरा गर्न सकिने भयो । गाउँ-गाउँमा भिएचएफ (Very High Frequency) सेटहरू राखिएका थिए । ८-१२ वटा बुथ राख्न सकिने सो व्यवस्थामा दुर्गममा काम गर्नेहरूले आफन्तसँग कुरा गर्न सकिने थियो । तर, सेटमा गएर लाइन लागेर आफ्नो पालोमा फोन रिङ गरेपछि ‘टुक, टुक…’ आवाजपछि बल्ल सम्पर्क टोन सुनिन्थ्यो । मुस्किलले सम्पर्क हुँदा आफन्त घर फर्केर कुराकानी गर्नै सकिन्नथ्यो ।
टेलिफोन सेवामा वि.सं. २०५० दशकताका डिजिटल प्रविधिको प्रवेशसँगै राम्रो सुधार आयो । एक्सचेन्जमा अपरेटरमार्फत सम्पर्क हुनुको सट्टा स्वचालित सम्पर्क सुरु भयो । २०४९ तिर पोखरामा अङ्क थिचेर कल गरी कुरा गर्न सकिने सुविधाका टेलिफोन सेटहरू र सोही बमोजिमको सेवा सञ्चालन थियो । त्यही समयमा एसटीडी (Subscriber Trunk Dialling) र आईएसडी (International Subscriber Dialling) को सेवा सुरु भएपछि देश र विदेशमा समेत केही हदसम्म सम्पर्क सहज बनेको हो । तर, म आफैँ विदेश गएको समयमा सम्पर्कको कोसिस गर्दा रिङटोन बजेको मात्र पनि धेरै पैसा तिर्नुपरेको तीतो अनुभव छ । तिनताका कर्डलेस सेटहरू पनि प्रचलनमा आएका थिए ।
सबैभन्दा पहिले युरोपमा वि.सं. २०४८ तिर प्रयोगारम्भ भएको मोबाइल फोन सेवा वि.सं. २०५६ सालबाट नेपालमा पनि भित्रियो । नेपाल टेलिकमले जीएसएम (Global System for Mobile communication) प्रविधिमा आधारित मोबाइल सेवा प्रारम्भ गरेपछि सञ्चार क्षेत्रमा युगान्तकारी परिवर्तन भयो । सुरुमा मोबाइल फोन सेट, सिमकार्ड, र कलदर महङ्गो हुँदा सर्वसाधारणको पहुँचभन्दा बाहिर थियो । वि.सं. २०६२ सालबाट एनसेल (पहिले स्पाइस नेपाल) ले मोबाइल सेवा सुरु गरेपछि निजी क्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धा बढ्दा सेवाको गुणस्तर सुधार र सेवा शुल्क घटाउन ठूलो योगदान पुग्यो र समयसँगै प्रविधि सस्तो हुँदै गयो । मोवाइल सेटको कुरा गर्दा नोकिया, मोटरोला जस्ता कम्पनीका अङ्क थिचेर डायल गर्ने सेटहरूले पहिले प्रवेश पाएका थिए, जसमा समय, बत्ती, एफएम रेडियो, गेमहरू हुन्थे ।
२०६० को दशकपछि मोबाइल फोन नेपालमा तीव्र गतिमा फैलियो । पहाड, हिमाल र तराई सबै क्षेत्रमा मोबाइल टावर विस्तार भए । आज मोबाइल फोन नेपालका दुर्गम गाउँसम्म पुगेको छ । टेलिफोन लाइन तान्न नसकिने ठाउँमा पनि मोबाइल सिग्नल पुग्न थालेको छ ।
साधारण कल र एसएमएसबाट सुरु भएको मोबाइल सेवा अहिले इन्टरनेट, भिडियो कल, मोबाइल बैंकिङ, अनलाइन शिक्षा, स्वास्थ्य परामर्श, ई-सेवा र सामाजिक सञ्जालसम्म विस्तार भएको छ । स्मार्टफोनको आगमनसँगै मोबाइल फोन केवल सञ्चारको साधन मात्र नभई बहुउपयोगी उपकरण बनेको छ । टच स्क्रिन मोवाइल सेटहरूमा उपलब्ध क्यामेरा (स्थिर र चल) को सुविधा, भ्वाइसरिकर्ड, भिडियो रिकर्ड र प्ले, हृदयगति मापन, विश्व घडी, हिँडाइका पाइला र दुरी गणना, मौसम भविष्यवाणि, पत्रपत्रिका, टेलिभिजन, युट्युब आदिको सुविधाले आवश्यकता पूर्तिका अधिक हिस्सा मोवाइलले ओगटेको छ । हाल नेपालमा सामसुङ्, झियाओमी, रेडमी, पोको, रियलमी, भिभो, इन्फिनिक्स, अनर, टक्नो, वन प्लस जस्ता कम्पनीका मोवाइल सेटहरू प्रचलित छन् ।
यसरी मोवाइलको प्रयोगले विदेशमा रहेका आफन्तसँगको दूरी घटाएको छ । व्यापार व्यवसायमा पनि यसको उपयोगले सहज बनाएको छ । विद्यार्थीले अनलाइन माध्यमबाट अध्ययन गर्न पाएका छन् । केटाकेटीलाई मोवाइल देखाएर फुल्याउने, खाना खुवाउने गर्न थालिएको छ । किसानले आफ्नो उत्पादनको बजार मूल्य थाहा पाउन सक्छन् । विपद् व्यवस्थापन, आपतकालीन सूचना प्रवाह र सरकारी सेवामा पनि मोबाइल फोन अपरिहार्य बनेको छ । मानवीय आवश्यकताका सबै पहलुहरूमा मोवाइल फोनको उच्च प्रयोग हुन थालेको छ ।
रपनि, मोबाइलको प्रयोगबाट विभिन्न चुनौतीहरू पनि थपिएकाछन् । इन्टरनेट दुरुपयोग गरी अश्लील सामाग्रीहरू हेर्ने गर्दा हत्या, बलात्कार बढ्दै गएको छ । चोरी, डकैतीका सिनेमा आदिबाट साइबर अपराध जन्मिएको छ । सञ्जालको समाजमा नकारात्मक प्रभाव, वैयक्तिक हिसाबले डिजिटल लतजस्ता समस्या देखिएका छन् । यस्ता चुनौतीहरुको सामना गर्दै भविष्यमा ५जी प्रविधि, डिजिटल नेपाल अभियान, ई-गभर्नेन्स र स्मार्ट सेवा विस्तार हुँदै जाँदा मोबाइल प्रयोगले विकासमा समीचिन योगदान पुर्याउने सम्भावना नकार्न सकिन्न ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०८२ मङ्सिर २९ गते सोमबार
आँधीखोला-२, चिलाउनेवास, स्याङ्जा




















