तिलक पाैडेल
मार्ग १३ गते बुधबार पूर्ववत् प्रात:कालीन नास्ता खाई यथासमयमा उपस्थित भएँ । हाम्रो Interpreter (दोभाषे) युवतीको वैयक्तिक काम विशेष भोलि नहुने भएकाले आज एकजना युवक आएका रहेछन्, चराङ्ले परिचय गराइन् । नाम भान रहेछ । हाम्रो यात्रा अघि बढ्यो ।
श्रम तथा प्रशिक्षण विभागमा हाम्रो पहिलो कार्यक्रम थियो । ‘यु’ आकारमा मिलाइएको आसनहरूको सन्मुखमा तीनवटा कुर्चीहरू थिए । जसमा
विभागका डेपुटि डाईरेक्टर, म र दोभाषे लहरै बस्यौँ । कार्यक्रम सकिएपछि धन्यवाद दिएर हामीहरू पर्यटन तथा संस्कृति विभागतर्फ लाग्यौँ । कोठाको सजावट अनि होचिमिन्हको अर्घकदको प्रतिभा राखिएको स्टेज अगाडि दुई पङ्क्तिमा हाम्रो टोलि एकतर्फ र उनीहरू अर्कोतर्फ गरेर बस्यौँ । कार्यक्रम पूर्ववत् चल्यो । सकिएपछि उपहार हस्तान्तरण गर्दा भगवानजीले कालो टोपी ल्याएकोले लगाइदिन भन्नुभए बमोजिम लगाई दिएँ । हामीहरूलाई हाम्रो Tourism Board ले जस्तै कागजे फोटामा CD लगायत प्रकाशनहरू तीन थान उपलब्ध गराउनु भएपनि अन्तत: GIZ का साथीहरूलाई पुगेनछ । VCCF कि चराङले पछि मागेर पुर्ति गरिन् । यसपछि हाम्रो प्रात:कालीन अर्थात् पूर्वार्द्धको कार्यक्रम सकियो ।
हामी होटल तर्फ लाग्यौँ । होटल पुगेर हिजको समीक्षा गरियो । माधवजीले आफ्नो विदेश यात्रा पहिलो (भियतनामको) भएको हुलिया दिँदै यो भ्रमण कतै ठूलाबडाको जस्तो नहोस्, जो एयरपोर्टका बेन्चमा सुतेर पनि पैसा घर लग्न पाउँदा आनन्द मान्छन् अनि लक्ष्योन्मुख काम गर्न पर्दा जाँगर मारेर बस्छन्, समयको ख्याल गर्दैनन् … भन्नुभा’थ्यो, आज प्रमाणित भयो । रपनि हाम्रो लक्ष्यानुसार होटल आईपुग्यौँ । हिजोको समीक्षाका साथै माधवजीको प्रस्ताव अनुसार जिल्लागत बसाइ बसेर केही ठोस कार्ययोजना बनाउनुपर्ने व्यहोरा जनाउँदै निवेदनजीले मुख्य-मुख्य व्यहोराको टिपोटबाट संक्षेपीकरण गर्नुभयो । अन्त्यमा होटेलबाट त्यो स्थान अरूका लागि खाली गर्नुपर्ने व्यहोरा जनाइएपछि सबैजना भर्याङभुरुङ्ग हिँडिहाल्यौँ । त्यही समयमा सबै सूचनाहरू जारी गर्न समेत भ्याइएन । अरूणजीले पैसा फिर्ता दिने काम गर्नुभयो । मैले शुक्रबार डिनरसँगै सबै हर हिसाब मिलान गरेपछि खानाखाने प्रस्ताव गरेँ, जुन स्वीकार भयो ।
जेहोस् हामीहरू Young Business Association तिर लाग्यौँ । त्यस संस्थाको कार्यालय साँधुरो भएकाले हामी Skyline Secondary School मा गयौँ । जुन एक युवा महिलाको प्रयत्नबाट सञ्चालित रहेछ । छलफल कक्षमा प्रति पकेटमा एउटा नरिवलको कुफिज रहेको खाद्यवस्तुहरू लगायत मिठाई क्यान्डी पनि राखिएको थियो । हिजोको काष्ठ र धातु उद्योगमा बाहेक अन्यान्य स्थानहरूमा पानी सिवाय अरू केही थिएन, जसलाई उद्योग वाणिज्य सङ्घका साथीहरूले निजी क्षेत्रका संस्थाहरूमा पानीको अतिरिक्त पनि खान पाइएको तर सरकारी कार्यालयहरूमा पानी बाहेक नपाइएको व्यहोरा जनाउँदा तार्किक प्रस्तुति ठहरिएथ्यो । हुनपनि त्यस्ता खाद्यवस्तुहरू राखिएको ठाउँमा निन्द्रा लाग्दा ती खाने चिज खान शुरु गर्दा निन्द्रा हटेको महसुस चाहिँ गरिएथ्यो ।
एकजना नौजवानले आफ्नो प्रस्तुती जानेसम्मको अङग्रेजीमा गरेकोमा उच्चारण स्पष्ट नहुँदा दोभाषेलाई अलिकति संक्षेपीकरण गर्न भन्दा
“नगरौँ क्यारे” प्रश्नोत्तरमा गरौँला भनिन् । हुनपनि विचराले आफ्नो तर्फबाट केकेन गरेको ठानेको हुनुपर्छ, जुन स्वभाविक पनि हो र पुन: अर्कोलाई त्यही व्यहोरा भन्न लगाउँदा जसलाई पनि निःसन्देह नमज्जा लाग्दछ नै । तर रमेशजीले जिज्ञासा नभै पुन: प्रस्तुतीका लागि आग्रह गरेपछि दोभाषेले प्रस्तुती गर्दिभईन् । तिनी युवकमा अलि खल्लो महसुस भएको प्रतीत हुन्थ्यो । जसको परिणाम बहुत रसिक भावमा प्रस्तुत भएका उनी दोभाषेले प्रस्तुती गर्दा फोनमा व्यस्त भइटोपले । जेहोस् मैले पनि उद्देश्य राख्ने बेलामा नेपालको झलक पनि संक्षेपीकरण गर्दा उपयुक्त हुने भनी सबै सहभागीहरूले दिएको राय अनुसार क्षेत्रफल, जनसङ्ख्या, राजनैतिक विभाजन जस्ता व्यहोराहरू प्रस्तुतीमा समेटेँ । विचार आदानप्रदान सकिएपछि म्याडमले Skyline स्कुलबारे प्रस्तुती गरिन् । अन्तरक्रिया पछि पठन कक्षहरूको अवलोकन पनि गरियो । सामूहिक तस्वीर खिचाई केही समय बाँकी रहेकोले सुपरमार्केटमा जाने राय उपर सर्वसम्मति भएपछि हामी सबै त्यतैतर्फ लाग्यौँ । बाटो काट्ने क्रममा कम्युनिष्ट मुलुकमा समेत निजिक्षेत्रबाट त्यत्तिको स्कुल भएको पाउँदा हामीकहाँका कम्युनिष्टले नाम भएपनि फेर्नका लागि भएको चर्चा समष्टिमा उपयुक्त जँचेन । पहिलो मलमा संक्षिप्त खरिद भएपछि हामीहरू अर्को मलमा गयौँ । त्यहाँ खाद्य परिकारहरू पनि भएकोले मैले जुस, दुध, केही मिठाईहरू खरिद गर्दोभएँ । त्यसपछि होटलमा आई घरयासी खाना खाई घरपरिवार एवम् आफन्तजनसँग भलाकुसारी गरेर निद्रादेवीको शरण परेँ ।
१४ गते बिहिबारका दिन पूर्व निर्धारीत कार्यक्रम अनुसार अर्को प्रोभिन्सको होईआन शहर – जुन परम्परागत र पर्यटकीय महत्त्वको रहेछ, जाने भएकाले प्रात:कालीन नास्ता चाँडै गरी ८:०० बजे तिरै रमाना भयौँ । दानाङ्गबाट ५०-६० मिनेटको हँकाइमा (करिब ३० किलोमीटरको दुरी)
होईआन पुगिँदो रहेछ । हामीहरू पुग्दा ८:५५ बजेकोले ५ मिनेट जति पछि मात्र कार्यक्रम शुरु गरियो । एकजना साथी नेपालमा (भक्तपुरमा) आउनु भएको रहेछ, वहाँको अङ्ग्रेजी राम्रो थियो । शेयरीङ्ग सकेपछि बिदाबादी भयौँ । आज पुस्तकका रूपमा खास शेयरिङ्ग थिएन, त्यसमाथि होईआनका जनसमितिका उपाध्यक्ष राजनैतिक व्यक्ति भएकोले उनको भाषण जस्तो व्याख्याबाट लाभ ग्रहण गरियो । आजका दोभाषे भानजीको उच्चारण भन्दा भक्तपुर पुगेर आएका साथीको राम्रो रहेछ । जसोतसो त्यहाँको कार्यक्रम सकाएर हामीहरू पर्यटन प्रबर्द्धनका खाँतिर भए/गरेका प्रयासहरूको अवलोकन गर्ने हिसाबले रिसोर्टमा गयौँ । वास बस्ने सुविधादेखि अन्यान्य व्यवस्थाको बारेमा जानकारी लियौँ । त्यसपछि खाना खाने कार्य गरियो । आजको खाना होटलको नाम ईण्डियन राखे पनि गुल्मी, आँपचौरका मित्रलाल खरेलका छोरा विश्व राज खरेलले खोलेको होटलमा गयौँ । केही साथीहरू र सहजकर्ताहरू Sea Food खान जानु भयो । हामीहरूले नेपाली स्वादको पारख गरियो । यो होटलवालाले ५ वटा होटल सञ्चालन गरेका रहेछन् । हाल त्यहाँ भरत भण्डारी र हरि अर्यालले सञ्चालन गर्दा रहेछन् । खानापछि हामीहरू होईआनको सिल्क पसलमा गयौँ । जहाँ कपडा तयार पार्ने काम हुँदो रहेछ । त्यहाँका निर्देशकले केही व्यहोरा संक्षेपीकरण गर्ने मनसाय गरिरहँदा साथीहरू डल/गुडिया सँग फोटा खिचाउँदै र फेसन हेर्दै हुनुहुन्थ्यो । वास्तवमा त्यहाँ कसैले पनि केही किनिएन, किनभने ज्यादै महँगो थियो । सेवाको हकमा (E-Service) अर्थात् फोटोको अधारमा रँग छनौट गरी आफ्नो नाम, ठेगाना ईमेलबाट पठाएर पनि सोही आधारमा सामान तयार पारी डेलीभरी गरिँदो रहेछ । व्यहोरा उपयुक्त जँच्यो ।
त्यसपछि हामीहरू बाँसका लाल्टिन बनाउने घरेलु उद्योगमा गयौँ । त्यहाँ धेरैजसो सहभागीहरूले लाल्टिनको अलावा टाईहरू पनि खरिद गर्यौँ । कतिपय साथीहरूले टिशर्टहरू पनि खरिद गर्नुभो । त्यहाँको खरिदादिको कार्य सम्पन्न गरी होईआनको वास्तविक पुरानो शहरको अवलोकनका लागि त्यतातर्फ रमान भयौँ ।
एकलाख बीसहजार भियतनामी डलरको प्रवेश शुल्क तिरी भित्रियौँ । संक्षेपीकरणको क्रमसँगै बन्द व्यापारको व्यवस्था समेत अवलोकन गरियो । एकठाउँमा त एउटा ढोकाबाट छिर्यौँ, भित्र प्वाल परेको सिक्काहरूको माटाको भाँडोसहितको प्रदर्शन थियो । जसबाट सिक्का निकालेर सफा गरी बिक्रिमा राखिएको थियो । फेरी ती सिक्का (दुई वटा) लिएर एउटा कचौरामा गाई-गाई वा त्रिशुल-त्रिशुल परेमा भाग्य खुलेको र विपरीत परेमा साइत समेत नपर्ने मान्यता रहेछ । यो क्रम ३ पटकसम्म गर्न मिल्दो रहेछ । मैले गर्दा एकै पटकमा साईत परेको पाउँदा अन्त्तरेच्छा प्रति सम्मान प्रकट गरेँ । त्यहाँबाट सामान खरिद गरेकाहरू नजिकैको ढोकाबाट निस्कन पाउने, अन्यथा उही प्रवेश गर्दाकै ढोकाबाट बाहिरिनुपर्ने व्यवस्था मिलाइएको रहेछ । यो ठाउँको अवलोकन गर्दैगर्दा मलाई पोखराको रामकृष्ण टोलको स्मरण भयो । सफा, राम्रो, चुस्त, दुरुस्त प्रत्याभूति भए यस्तैगरी परम्परागत शहरको नाउँ राखेर प्रवेश शुल्क लिई आम्दानी गर्न सकिने पो रहेछ ! शायद हाम्रो पोखराले पनि रामकृष्ण टोललाई भियतनामको होईआन जस्तो रूप दिनेछ ।
त्यहाँबाट निस्की हामी डानाङ्ग फिर्ता भयौँ । बाटोमा साथीहरूले ठट्टा मस्करी सुनाउने, गीत गाउने, मुक्तक भन्ने जस्ता रोचक कृतहरू सञ्चालन गरी सहजै होटल पुर्याउनु भयो । आज भियतनाम उद्योग वाणिज्य सङ्घको डानाङ्ग शाखाको प्रमुखसँग रात्रिकालीन खानाको कार्यक्रम थियो । त्यसैले म चाँच्चाँडै गरी मेरा समयकालीन कर्महरू सम्पादन गरेँ । विष्णु सरले कफी तयार पार्नु भयो, त्यो खाएर लबीमा झर्दा ५ मिनेट जति ढिला भएको थियो । तर अफसोच ! डेपुटी डाईरेक्टर साहेवको प्रतिकूल स्वास्थ्यका कारण आउन नसकेको खबर गर्नुभएछ । परिणामस्वरूप कार्यक्रम स्थगित भएको व्यहोरा सहभागीहरूलाई खबर गर्न सहजकर्ताहरूले भने । सोही बमोजिम मैले पनि साथीहरूलाई खबर गरेँ भने उनीहरू मार्फत सबै सहभागीको तर्फबाट वहाँको शीघ्र स्वास्थ्य लाभको कामना प्रकट गरेँ । त्यसपछि कोठामा आई फोटोहरू अपलोट गरी केही फोटोहरूको पावर प्वाइन्ट प्रस्तुतीको अन्तिमीकरण गर्दो भएँ ।
भोजेन्द्र, केदार, भगवान सरहरू आएर कसैले दुध, जुस आदि खानुभयो । हाम्रो मन्त्रालय स्तरीय काम कारबाहीको विषयमा सामयिक समीक्षा भए । मैले यो दैनिकी अद्यावधिक गर्न थालेँ । समय त्यहीँको १०:३० बजिसकेछ, सबैजना आ-आफ्ना कोठामा जानुभएपछि म पनि आराम गरेँ ।
…सके सपरौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
क्रमश:…






















