तिलक पाैडेल
२०६९ साल मार्ग ११ गते सोमबार बिहान उठी स्नानादि कार्यहरू सम्पादन गरेँ । झ्यालबाट बाहिर नियाल्दा स्वच्छ, स्निग्ध शहरका बीचतिर पेनेन्सुला (समुद्रको पानी होचो जमिनतिर पसेर बनेको नदी जस्तै) देखिन्थ्यो । त्यसमाथि पुल रहेछ, हिजो साँझ हेर्दा रङ्गीचङ्गी बत्तीहरूको तिखे चुली जस्तै देखिन्थ्यो । प्रातःकालीन नास्ता खायौँ । मनचिन्ते प्रकृतिको सेवामा मैले जाम, बटर, पाउरोटी, अमलेट, कुन्नी केको हो बोक्रैसितका, काटेका, हेर्दाखेरी कुखुराकै अण्डाजस्तै लाग्ने, चिकन, फिस र गाँजरको जुस खाँए । साना तर वियासमेत नभएको सुन्तला र अम्बा खाई यथासमयमा कपडा लगाई नेपाली पोशाक दौरा र सुरुवाल लगाएर लबीमा उपस्थित भएँ ।
९:०० बजे VCCIDB (Vietnam Chamber Of Commerce and Industry, Danang Branch) मा पुग्नुपर्ने भएकोले ८:४५ बजे जति जना भएपनि यात्रारम्भ गर्ने सल्लाह अनुसार यात्रारम्भ गर्यौँ । ४ जना साथीहरू उद्योग मन्त्रालयका २ जना अनि राजेशजी र कृष्ण बहादुर महराजीहरू छुट्नु भयो । VCCIDB मा पुगेपछि मैले हा लाई होटलको रेसिप्सनमा सम्पर्क गरी छुटेका साथीहरूलाई ट्याक्सीबाट आउने व्यहोरा सुझाव गर्न आग्रह गरेँ । सोही बमोजिम साथीहरू पनि आउनु भयो ।
हिजको विलम्ब सुताइको परिणाम होला सबै सहभागीहरू झुलिरहनु भएको थियो । म पनि दायाँतिर मध्यस्थकर्ता दोभाषे (अंग्रेजी – भियतनामी) अनि बायाँपट्टि उक्त संस्थाका निर्देशकका बीचमा बसेर करिब १ घण्टाको अनवरत लेक्चर सुन्दा अनियन्त्रित निद्राको चपेटामा पिसिएको पाउँदा आत्मग्लानी भइरहेको थियो । वास्तवमा निद्रा भनेको मानिसको काबु बाहिरको प्रसङ्ग रहेछ, स्वयं प्रस्तोताले समेत लामो यात्रा पार गरेर आउनु भएको यहाँहरूलाई थकाइ पनि छ…..जस्तो कुटनैतिक भाषा प्रयोग गरी आफ्नो प्रस्तुतिलाई संक्षिप्त्याएको जनाए । निदाइरहेको साथीहरूले समेत प्रश्न गर्दा कतै असान्दर्भिक सोधनी हुने त हैन ? बहुत सन्त्रस्तता थियो । मायाको चिनोको रूपमा सुदूरपश्चिम नाउँमा प्रकाशित Wonderful Far West नामक पुस्तकको दुबैभाग र नेपाल उद्योग वाणिज्य सङ्घका तर्फबाट देसीमरूझ्या प्रदान गरियो । येनकेन कार्यक्रम सकाएर उनीहरूलाई पनि हामीसँगै दिवाकालीन खाना खाने निम्ता गरी हामी बाहिरियौँ ।
बाहिरपट्टि एक सामुहिक तस्वीर खिच्ने भनेकोमा सिढीमा व्यवस्थित हुन सकिने भएपनि आफूखुसी जम्मा भएजति मात्रै समेटेर कर्म पुर्याइयो । हिँडेर भ्याइने दुरीमा रहेको अप्सरा नामको होटलमा गयौँ । वास्तवमा नेपाली नाम लाग्ने सो होटेल पनि भियतनामी खानाको प्रसिद्ध होटल रहेछ । पर्यटकहरू पनि टनाटन थिए । सुनियो भियतनामा वर्षेनी २३ लाखको हाराहारीमा पर्यटकहरू भित्रिने रहेछन् । जुन हामी कहाँ नेपाल भ्रमण वर्ष होस् वा नेपाल पर्यटन वर्ष कुल लक्ष्य १० लाखमात्रै हुन्थ्यो, जुन प्राप्ति पनि हुँदैनथ्यो । हामीले सोचेभन्दा मिठा धेरै परिकारहरू खायौँ । VCCIDB का निर्देशक र हामी सम्मुखै भएपनि भाषाको तगाराले भने बाँधको काम गरिरहेको थियो ।
त्यही अप्सरा होटलमा अप्सराजस्तै लाग्ने युवतीहरूले सेवा उपलब्ध गराइरहेका थिए । हाले भियतनामको पोशाक लगाएकी एक वयेरासँग म पनि आफ्नो देशको राष्ट्रिय पोशाकमा भएकोले फोटो खिच्ने प्रस्ताव गरेपछि निर्देशकसमेत भई तस्विर खिचाउने कार्य भयो । एक सिताको पनि मुल्य हुन्छ भन्ने मलाई त्यहाँ खानेकुराहरू फलिएको देख्दा मन खिन्न भएर आयो । व्यहोरा सेयर गरी चित्त बुझाएँ । टेवुलमै एम्बल कपुर बालेर सुप उमाल्दै गेडागुडीका मुना, साग र अन्य परिकारहरू पकाई चाउचाउ जस्तो परिकारसँग खाई अन्तिममा कडा हरियो चिया पिएर हामी बसेको टेबुल अरूका लागि आवश्यक परेकोले ४५ मिनेट अघि नै बाहिरियौँ । लगानी तथा योजना विभाग (Department Of Investment And Planning – DIP) मा २:०० बजे पुग्नुपर्ने र हामी १:१५ बजे नै निस्किएकाले बसबाटै संक्षिप्त परिक्रमा (Sightseeing) गर्यौँ । वास्तवमा दानाङ सहर हाम्रो काठमाडौँभन्दा चाक्लो र समथर रहेछ, सडक सञ्जालहरू पनि चाक्ला र व्यवस्थित लागे ।
DIP मा उपनिर्देशक उपस्थित भई पावरप्वाइन्टमा प्रस्तुतिकरण गर्दा भए । जुन तुलनात्मक रूपमा सुरुची नै लाग्दथ्यो तरपनि आफ्नो काबुबाहिरको व्यहोराले सताउँदा नमज्जा महसुस भरदिन भैरह्यो । हुनपनि म त ३ घण्टासम्म पनि सुत्न नपाएको कारण भनेर चित्त बुझाउँथेँ, तर भियतनामीका अगाडि भने हामी कुम्भकर्णको परिभाषामा समेटिएजस्तो लाग्दथ्यो । प्रत्येकको परिचय कार्यक्रमबाट ढिलो शुरु भएको कार्यक्रम स्वभावत: आधाघण्टा जति ढिलो भयो भने अन्त्य पनि सोही बमोजिम ढिलै भयो । सरकारी अड्डा भएकोले होला बैठक कक्ष पनि उपयुक्त लाग्दथ्यो । त्यहाँको कार्य समापन पछि हामीहरू लगानी प्रवर्द्धन केन्द्र (Investment Promotion Centre- IPC) मा गई यथासमयमा सम्पन्न हुने हिसाबले कार्यारम्भ गर्यौँ । एक जना भद्र महिलाले अङ्ग्रेजीमै आफ्नो प्रस्तुती टुङ्याएपछि सधन्यवाद मायाको चिनो हस्तान्तरण गरी बिदा भयौँ र सोझै होटेलमा आई दैनिक समीक्षा (Reflection Of the Day) गरी आ-आफ्नो पाराले सामयकालीन कर्महरू गरी आराम गरियो ।
मार्ग १२ गते मङ्गलबार यथासमयमा उठी शारीरिक कर्म बाहेकका नित्यकर्महरू गरी रेष्टुरेण्टमा गयौँ । वास्तवमा हिजो अवलोकनिएको पुल रातिको समयमा पानी जहाज आउँदा बत्तीको सिङ्गनलका लागि तिखेचुली जस्तो बनाइएको रहेछ र जहाज आउँदा पुल बीचबाट छुटेर दायाँ-वायाँ सर्ने व्यवस्था मिलाइएको रहेछ । जेहोस्, अमलेट लगायत लसुनको फेदको डण्डीमा बेरेर पकाएको, फ्राई गरेको फ्राईड माछा, चिकन ससेज, जाम, बटर र पाउरोटी, चिकनसुप र नुडल, सुन्तलाको रस र खरबुजा, तरबुजा खाई चिया पिएर प्रात:कालीन नास्ताको खवाइ अन्त्य गरियो ।
यथासमयमा छिट्टै हिँड्नुपर्ने रायानुसार ८:०० बजेतिरै लबीमा गयौँ । तर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका सुनिलजीले बिलम्ब गर्नु भएकोले प्रतिक्षा गरियो । त्यतिका समय प्रतिक्षा गरी हिँड्ने आजको व्यहोरा हिजो लागु हुन नसकेकोमा हिजो छुट्नुभएका साथीहरूमध्ये तुलसी गैरे र लक्ष्मीजीले आपत्ति गर्नु भयो । डोटेलजीले अब नपर्खौ हिडौँ भन्दै गर्दा ड्राईभर पनि नभएकोले अन्तत सुनिलजी पनि आउनुभएपछि सबैले तालीबाट व्यङ्ग गर्दै यात्रा अघि बढ्यो । वास्तवमा यस्ता सहयात्राका सुन्दर पक्ष भनेका पनि यस्तै हँसिमजाकहरूको समायोजन हो ।
पहिले हामी धातु र काठको उद्योगमा पुग्यौँ । मिठो कफी, सनातनी रूपको पानी गिलास अनि मीठो ठूलो कालो अङ्गुर (बोक्रा पनि गुदीसँगै सजिलै चपाइने) र स-साना मुन्तला जस्ता तर बियाँसमेत नभएको मीठो सुन्तलाहरू समेतको सेवामा आरम्भ भएको प्रस्तुती वास्तवमा राम्रो रह्यो । प्रस्तुती र छलफल पछि कारखानाको अवलोकन गरियो । हामी यतिका व्यक्ति त्यो पनि नामै नसुनेका मुलुकका आउँदा हामीकहाँ भए हेर्नको ताँती लाग्ने थियो । तर यहाँ भने सबैजना आ-आफ्नो कार्यमै तल्लीन रहेको देखिँदा हाम्रो अवस्थासँग तुलना गर्न मन लाग्यो । त्यसबेला सहभागीहरू मध्येबाट बैद्यजीले हामीकहाँ जीत-हार नहुनु दुर्भाग्य भएको मिलापत्रले पूर्ववत् अवस्थामा थप अटेरी भएको व्यहोरा जनाउनु भयो । वास्तवमा त्यतिका व्यक्तिहरूको बलिदान पछि पुनस्थापनाका नाउँमा पूर्ववत् ठाउँमा फर्किएपछि त्यहाँ अटेरी र खुच्चिङ् थप हुनु र आपसमा तुस बढेर आउनु स्वभाविकै देखिन्छ । जेहोस सामूहिक तस्वीर खिचेर बिदा भई मनोवञ्छित हिसाबको खानाका लागि होटेलमा फक्यौं । विश्व, भगवान समेत भई ड्राईफुडको सदुपयोग गरियो ।
दिवाकालीन भोजनको उत्तरार्द्धमा हामीहरू समुन्द्रको तीरैतीर मार्वलबाट विभिन्न मूर्तिहरू बनाएको ढुङ्गामा बुट्टा भर्ने सम्बन्धी उद्योगमा गयौँ । उद्योग सम्बन्धी छलफल पछि मार्वलका मालहरू उपहारका रूपमा खरिद गरी सोही प्रकृतिको अर्को उद्योग समेत अवलोकन गरियो । त्यसपछि समुद्रि तटमा अवस्थित होटेलमा समूहगत बसाइमा खाना खायौँ । सामुहिक तस्वीर खिची हामीहरू होटल तर्फ फर्क्यौं । बाटोमा ठट्टा मस्करीहरू सुनाउँदै भोलिको प्रभातकालीन सूचना सुनाएर कोठामा आई समयकालीन कर्महरू संलग्न रहेँ । भगवानजी आएपछि Front Desk मा गई फेसबुक खुलाउने प्रयास गरेर खोली बाबुहरूको समाचार पढी अन्यान्य चर्चा गरेर आराम गरेँ ।
…सके सपरौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
क्रमश:…



























