तिलक पाैडेल
२०६९साल मङ्सिर ९ गते शनिबार जर्मन सहयोग नियोग (GIZ) को SUNAG – Sub National Governance Program अन्तर्गत उद्योग मन्त्रलयबाट उपसचिव द्वय तुलसीराम गैरे र लक्ष्मी प्रसाद अधिकारी, INCLUDE बाट अरूण राना (काठमाडौँ) र निवेदन वैद्य (नेपालगञ्ज) अनि SUNAG काठमाडौँबाट रमेश श्रेष्ठका साथ GIZ कार्यक्रम भएका ५ वटा निम्न जिल्लाहरूका संस्थाहरूबाट निम्नानुसार –
१) कैलाली
स्थानीय विकास अधिकारी- केदारबहादुर बोगटी, जिविसको कार्यालय
कार्यवाहक अध्यक्ष- राजेश भण्डारी, उद्योग वाणिज्य सङ्घ
कार्यकारी निर्देशक- डिल्लीराम शर्मा, उद्योग वाणिज्य सङ्घ
पूर्व अध्यक्ष- दिनेश भण्डारी, उद्योग वाणिज्य सङ्घ
पर्यटन व्यवसायी- कृष्णबहादुर महरा, उद्योग वाणिज्य सङ्घ
२) दाङ
स्थानीय विकास अधिकारी- विष्णुप्रसाद पोखरेल, जिविसको कार्यालय
अध्यक्ष- मधुसुदन बैद्य, उद्योग वाणिज्य सङ्घ
पूर्व अध्यक्ष- माधवप्रसाद शर्मा, उद्योग वाणिज्य सङ्घ
३) प्यूठान
स्थानीय विकास अधिकारी- भगवान अर्याल, जिविसको कार्यालय
अध्यक्ष- माधव भण्डारी, उद्योग वाणिज्य सङ्घ
पूर्व अध्यक्ष- ईमानसिंह भारती, उद्योग वाणिज्य सङ्घ
४) बाँके
स्थानीय विकास अधिकारी- विश्वराज डोटेल, जिविसको कार्यालय
अध्यक्ष- सुनिल कुमार शर्मा, उद्योग वाणिज्य सङ्घ
५) सुर्खेत
स्थानीय विकास अधिकारी- भोजेन्द्र क्षेत्री, जिविसको कार्यालय
अध्यक्ष- पदम बहादुर शाही, उद्योग वाणिज्य सङ्घ
पूर्व अध्यक्ष- प्रकाश अधिकारी, उद्योग वाणिज्य सङ्घ
६) अन्य
सञ्चालक समितिको सदस्य- सुनैना दहित, उदयपुर सिमेन्ट उद्योग
महानिर्देशक- हेमन्त कुमार दवाडी, नेपाल उद्योग वाणिज्य महासङ्घ र स्थानीय विकास मन्त्रालयबाट म (तिलक पौडेल) सहित २४ जना भियतनामको अवलोकन भ्रमणका लागि रमाना भयौँ । संयोग ईश्वरीदाइ (महानिर्देशक, खानेपानी तथा ढल निकास विभाग) को पनि इन्डोनेसियाको यात्रा रहेछ, विमानस्थलमा भेट भयो । राजेन्द्र भाइ (शाखा अधिकृत, नागरिक उड्ड्यन कार्यालय, गौचरन) को सहयोगमा थाइ एयरलाइन्समा चेक-ईन गरी हामी दाजुभाइ ३८ को जे र के सिटमा बसेका छौँ ।
यसपटक डिस्प्ले प्यानलको लागि साईडमा रिमोट राखेको बटम रहेछ । पहिलाको भन्दा प्रगति गरेको महसुस भयो । वास्तवमा थाई एयरलाइन्स र नेपाल वायुसेवन निगम सँगसँगै जन्मेका भन्छन् । नेपाल वायुसेवा निगमको अझैसम्म एउटा आफ्नै जहाज पनि छैन । थाईले आफ्नो अवस्था कता-कता पुर्यायो ।
ड्युटी फ्रिका दरमा जहाजमै रहेको सामानहरू खरीद गर्ने भए … भनी सूचना जारी भयो । मैले दक्षिण भारतबाट दिल्ली आउँदा Addidas/Rebock घडी खरीद गरेथेँ । आज पनि ईश्वरीदाइले सोध्नुभयो तर मलाई भने केही खरीद गर्ने सोच छैन । जुस, कोकको सेवामा कोक खाएँ । नेपाली समय अनुसार ४:५० बज्यो । अब ल्याण्डिङ् हुँदै गरेको सूचना जारी भयो । शेष साँझ लेख्ने गरी अहिले अडियो सुन्न थालेँ । रिमरिम निन्द्रा लाग्ला जस्तो छ । १५ मिनेटको लागि आराम गर्छु सोचे पनि निन्द्रा लागेन र लोकगीत सुनेर समय व्यतीत गरेँ । अन्तत: नेपाली समय अनुसार ५:२५ मा बैङ्ककको सुवर्णभूमि विमानस्थलमा अवतरण गरियो । यो विमानस्थलको उचाइ समुन्द्रसतहबाट ११ मीटर देखाइएको छ भने बाहिरी ताफक्रम २५ डिग्री सेल्सियस बताइएको छ।
भोजेन्द्रदाइ, लक्ष्मीजी र म बाहिर आई अरू साथीहरूले सामान सोझै हनोइमा बुझ्ने नगरी त्यहाँ पनि जम्मा गर्ने भन्नु भएकोले सामान जम्मा गर्ने ८ नम्बरको ठाउँमा गयौँ, तर सबै बाहिरिइ सक्नु भएछ । हामी पनि बाहिरियौँ । पहिलो ट्रिप पठाई सकेर अरूण, निवेदन र रमेशजीले हामीलाई पर्खिनु भएको रहेछ । हामी भेट भएपछि होटल तर्फ रमाना भयौँ । Hotel Dis Sathorm, 21\1 Sai Ngan Duphli, Rama IV Road, Sathorn, Room 506 मा चेक-ईन गरी स्नानालय प्रयोग गरेँ । मेरो सहबासीका रूपमा विष्णुजी हुनुहुन्थ्यो, तर विमानस्थलमै रहनु भएकोले म एक्लै कोठा नं. ५०६ मा बसेँ । ताजगीपछि भगवानजी र म बाहिर गई तोमयाम सुप (नेपाली गुन्द्रुकको झोल सम्झाउने) सित खाना खायौँ । थाइ मसाजको घरैपिच्छे व्यवस्था थियो तापनि सोझै कोठामा आई अनुहार पुस्तिका अद्यावधिक गरी आराम गरेँ । भोलि बिहानै हिँड्नुपर्नेछ । रात बितिसक्यो । यस्तै भएकोभए विमानस्थलमै बसेको भएपनि हुने जस्तो लाग्यो । रपनि भोलिको नयाँ ठाउँको यात्राको परिकल्पनामा आराम गरेँ ।
२०६९ साल मङ्सिर १० गते आइतबार नेपाली समय अनुसार ३:०० बजे उठेर प्रभातकालीन कार्य सञ्चालन गरेँ । होटेलको लबीमा जाँदा प्रायः सहभागीहरूले बिहामनी खाना खाँदै हुनुहुँदो रहेछ । मैले पनि ४:३० बजे जाम, बटर, पाउरोटी, मेवा, खरबुजा र चिया खाँए । नेपाली समय अनुसार ५:०० बजे छुट्ने भनिएको बस ५:१५ बजे छुट्यो । रातारात आँए, रातारात फर्के – आँधी खोला कति बढ्यो कति बढ्यो भने जस्तो भयो । जेहोस ५:५५ बजे सुवर्णभूभि विमानस्थल प्रवेश गरियो । आफैँ चेक-ईन गर्ने प्रावधान पनि रहेछ र त्यसैको ताँतीमा बस्यौँ । त्यो व्यवस्था नीलो पासपोर्टका लागि मात्र भनियो र हामी अन्तै ताँती लाग्यौँ । पुनः अन्त्यमा साधारण ताँतीमा सरुवा भएको परिभाषा गरी अरू बसिसकेको ताँतीलाई विच्छृङ्खल बनाई हाम्रो ताँती बनाइयो । पहिलो (सन् १९९५ तिर) भ्रमणमा आफैँ चेक-ईन गर्ने सुविधा नभएको जस्तो लाग्यो । बरु उसबेला विमानस्थल कर स्वरूपको ५०० भाट भेण्डिङ्ग मेशिनबाट तिर्ने प्रावधान थियो भने यतिखेर ७०० भाट टिकट काउण्टरमा गएर तिरियो ।
अन्ततः चेक-ईन गरी भित्रिएपछि शौचागर तर्फ भोजेन्द्र दाइ र म गएर फर्कंदा फाइनल कल गरिसकेको रहेछ । पानी परिरहेको थियो । बसवाट विमानसम्म आई २३ पाईले भर्याङ चढी अहिले म ४४ वी को सिटमा छु । सि मा विष्णु प्रसाद पोखरेल हुनुहुन्छ भने ४३ वी र सि मा क्रमशः भोजेन्द्र दाइ रेग्मीजी (अर्को कार्यक्रममा भाग लिने) हुनुहुन्छ । नेपाली समय अनुसार ६:४० बजे (थाइ समय ७:५५ बजे) विमान गुड्न शुरु गर्यो भने ६:५५ बजे उड्यौँ ।
७:१५ बजे बिहानी नास्ताको सेवा शुरु भयो । सानो कपमा पानी र अर्को त्यस्तैमा सुन्तलाको रस ढाकेको अवस्थामा थियो । रिफ्रेसिङ् टवेल अनि प्लष्टिकमा चम्चा, काँटा, चक्कु, मरिच, नुन, ह्वाइट्नर/दुध र सिन्का; ठूलो चारपाटे प्लेटमा पाउरोटी र अण्डा अनि चिकन (?) थियो । सलाद सागमा सिमी, मेवा, चना लगायत गेडागुडीलाई क्रिममा मुछेर राखेको थियो । सोभन्दा सानो कपमा मेवा, भुईकटर र तीलका जस्ता दाना भएको ड्रागनफ्रुट (पहिलो पटक खाएको ठीकै लाग्यो) गरी तीन थरी फलफूल थिए । नास्ता प्याक (Breakfast Box) को एक कुनामा चियाकप पनि अटेको थियो । पानी पिउनका लागि चुस्ने पाईपको पनि व्यवस्था थियो । १५ मिनेटमा बिहानी नास्ताको कार्य सकियो । होटलमा पनि नास्ता गरिएकोले उपलब्ध परिमाण ठीकै लाग्यो ।
बाहिरको उचाइ ३७००० हजार फिट र तापक्रम -५६० सेल्सियस देखाएको छ । पुग्न अझै ५२ मिनेट लाग्ने छ । हामी त्यहाँ (हनोई) बाट आजै विमानबाट डानाङ जाने छौँ । यो उडान नम्बर टिजी ५६० हो । यो म शुरुमा थाईलैण्ड आउँदाको जस्तो, सेन्ट्रल डिस्प्ले सिस्टम (Central Display System) भएको रहेछ । ७:५५ बज्यो, हनोईका लागि अझै १८८ माईला बाँकी छ । अन्तत: थाइ समय अनुसार ८:२८ बजे नोईबोई अन्तर्राष्ट्रिय विमानस्थल, हनोई, भियतनाममा ल्याण्ड गरियो । यो जीवनको दोस्रो पटक हो – भियतनाम यात्राको । थाइलैण्डको समय र भियतनामको समय बराबर रहेछ, नेपाली समयभन्दा १ घण्टा १५ मिनेट अगाडि ।
भियतनामी समय अनुसार ९:४५ बजे हनोईको विमानस्थल क्षेत्र भित्रिएर भिसा अपन एराइभल (Visa Upon Arrival) को लागि लाइन लगियो । ३ प्रति फोटाहरू र २५ युस डलरको आवश्यकता भन्ने साविकको सूचना बमोजिम तयारीसाथ भिसा फाराम (Visa Form) भरियो । तर फाराममा १ फोटो भएपनि पुग्ने रहेछ । यदि नलगिएको भए डलरमा कारोबार गरी त्यहीँ खिच्ने व्यवस्था पनि रहेछ, जुन हामीकहाँ पनि विद्यमान छ । अफशोच ! तुलसीराम गैरेजीले पासपोर्ट सँगै २५ डलर पनि दिनुभएछ, ५ डलर लिएर २० डलर फिर्ता त गरेछ, तर त्यो ५ डलर विमानस्थलको आधिकारिक निकायले बुझेको कतै पनि उल्लेख गरेनछ । यसलाई हामीले अनुचित घुस लिएको भन्ठान्यौँ । जेहोस्, चेक आउट भिसाको कार्य सम्पादन गरी सामान सङ्कलन गर्यौँ । फेरि दुःखको प्रसङ्ग रमेशजीको सामान छुटेछ । विमानस्थलको आधिकारिक निकायलाई व्यहोरा अवगत गराई हामी आन्तरिक उडानको चेक-ईनका लागि उपल्लो तल्लामा गयौँ । हामीलाई यात्रा सहजीकरणको जिम्मा पाएको स्थानीय संस्था ईकोनोमिका (Economica) का तर्फबाट हा र चुराङ नामका दुई युवतीहरूले हामीलाई स्वागत गर्नुभो र एउटै उडानमा दानाङ तर्फ रमाना भयौँ । हँसिला एवम् फरासिला स-सानो कदका मर्गर्नी नानीहरूको झल्को लाग्ने उनीहरूलाई मेरो परिचय कार्ड पनि उपलब्ध गराएँ । साथीहरूले मलाई टोली नेताका रूपमा परिचय गराउनुभयो । खुसी हुँदै उनीहरूका कुराहरू म मार्फत् सम्पूर्ण सहभागीमा पुर्याउने व्यहोरा जनाए । अरू १ जना दानाङबाट सम्मिलित भई हाम्रो यात्रालाई सहजीकरण गर्ने बन्दोबस्त मिलाइएको रहेछ ।
सहजकर्ताहरूले बेलुका ७:०० बजे रात्रीकालीन खाना सँगै खाने, ४:०० बजेतिर होटलमा चेक-ईन गरिने, त्यतिबेलासम्म खाने चाँजो नमिल्ने, जहाजमा पनि हेभी चिजको सेवा उपलब्ध हुने हुँदा केही खान भोक लागेको भए खानुहुन अनुरोध गरे । तर हामीले कृष्ण बहादुर महराजीले ल्याउनु भएको पेस्ता खायौँ । फोनका लागि सीमकार्ड ३ यूयस डलरमा उपलब्ध हुने तर व्यापार प्रबर्द्धका खाँतिर ६ डलर बराबरको सेवा प्रयोग गर्न सकिने व्यहोरा जनाउँदै रिचार्जको बारेमा सोधनी गर्दा रिचार्ज गर्नुभन्दा सीमकार्ड फालेर नयाँ किन्नु ठीक हुने जानकारी गराए । साथै दानाङको होटलमा चेकईन गर्दा नै रकम बुझाउनु पर्ने भएकोले यूरो/डलरलाई भियतनामी डलर (द्वाङ) मा साट्ने र यो कार्य दानाङ् विमानस्थलमा गर्दा राम्रो हुने व्यहोरा अवगत गराए ।
अन्तत: १:१० मा बोर्डिङ चेक गरी १:१५ बजे २३ पाईले भर्याङ चढी विमानको आ-आफ्ना सीटमा बस्यौँ । विमान १:३१ बजे हिँड्न शुरु गरी १:४३ मा उड्यो । बीचमा बादलका फुल्काहरू भन्दा माथि भएर उड्दा तल कपसको फाटेको तन्ना मुनि निलङ्कार भुइँ – शायद समुन्द्र होला, दृष्टिगोचर भैरहेको थियो । केदारसरको भनाइमा निँद्रा लागेकोले त्यसको निक्यौल गर्न प्रकृतिलाई नै जिम्मा लगाइयो । यो जहाजको उडान नं. टिजी १५१३, जुन पहिलाको थाई एयरवेज भन्दा पनि भिन्न रहेछ । यसको बिजनेस र इकोनोमी क्लासको सीमाङ्कन पनि कपडाको पर्दाले गरेको जस्तो लाग्यो ।
समुन्द्रको तटमा रहेछ – डानाङ । स-साना टापुहरू अनि तिनको पानी सतहको मथि मोटरको बाटोको रेखाङ्कनले हाम्रा धानका रासमा नाङ्लाका घेरा जस्तो लाग्थ्यो । पूर्वाधारको निर्माण अत्याधुनिक तवरले भएको लाग्थ्यो । हुनपनि समुन्द्र/महासागरको तटमा अवस्थित हुनु भनेको पानी जहाजबाट सस्तोमा यातायात/सामान ढुवानीले जनजीवन शुलभ हुनु हो एकातर्फ भने अर्कोतर्फ सुनामी अर्थात् समुद्री छाल उर्लिएर डुवान हुँदाको क्षति भयावह पनि हुन्छ ।
जेहोस प्राकृतिक हिसाबले मनोरम लाग्ने शहरमा आएको महसुस भयो । १ घण्टा ५ मिनेट अर्थात् २:४८ बजे ल्याण्ड गरियो । आन्तरिक उडान भएकोले सोझै ब्यागेज जम्मा गरियो । दुर्भाग्य रमेशजीको सामान थाईल्याण्डबाट राखिएको हनोईमै निस्किएछ । यसरी हेर्दा हामीले काठमाडौँबाट सोझै हनोईमा जम्मा गर्ने गरी राखेको ठीक लाग्यो । बरु अत्यावश्यकताका संक्षिप्त सामानहरू हाते झोलामा ल्याउनु उपयुक्त देखियो । हुन त यसो गर्दा छुटेमा झन् समस्या हुनसक्छ । वहाँको त आजै साँझसम्म नभएपनि भोलिसम्ममा ल्याउने व्यहोरा जनाएको छ । लामो रूट भए त्यो पनि झन् ढीला हुन्थ्यो होला । जेहोस यो प्रसङ्ग नै एउटा र पहिलो असहज प्रसङ्ग बन्यो । आशा गरौँ अरू यस्ता घटना हुने छैनन् ।
ईकोनोमिका (Economica) का चुराङ र हा नामका युवतीहरू साथमा भएकोले सरासरी हामी गाडीबाट आई ट्रेन्डी होटेलमा चेकइन गरियो । म र विष्णु प्रसाद पोखरेल कोठा नं. ९०५ मा बस्ने भयौँ । कोठामा आई सरसामान मिलाई रेसिप्सनमा गई सबै साथीहरूको कोठा नम्बर र सम्पर्क नम्बर सङ्कलन गरेँ । होटल आउँदै गर्दा खाना बेलुकाको ७:०० बजे भनिएको थियो तर सहजकर्ता युवतीहरूले ६:०० बजेका लागि मसँग अनुमोदन माग्दा सबै सहभागीहरूको सल्लाहमा ६:०० बजे नै खाना खाने निर्णय गरियो ।
सोही बमोजिम ६:०० बजे लबीमा जम्मा हुने भनेकोमा ६:१५ बजेसम्म पनि सबै साथीहरू नआएकोले लबिमा गफगाफ गरेर आइनपुगेका साथीहरूको प्रतिक्षा गरियो – नेपालीपारा ! हाले नेपालीहरूका घडीमा अझै ६:०० बजेन भनेर व्यङ्ग्य कसिन् । म आफैँ आएर सबैलाई बसतर्फ जान आग्रह गरेँ । तर मुल आयोजक अरूण राना र निवेदन बैद्य अनि निजी क्षेत्रका समन्वयकर्ता हेमन्त दवाडीजी गरी ३ जनालाई बसै नपाएपछि रेसिप्सनमा वहाँहरू आएपछि हामी गएको होटलमा जान भनी दिन भनी हामीहरू रमाना भयौँ ।
पैसा आफैँले तिर्ने गरी सँगै खाने (GTPS) योजना रहेछ – त्यो डिनर । सबै पुगेपछि बल्ल हाम्रा सहजकर्ताहरूले खानाको मेनु सोध्न थाल्नुभयो । केही शाकाहारी, केही फिस र चिकन मात्रै, केही सी फुडको माग गर्नुभयो । वास्तवमा परिपक्व र आ-आफ्नो स्वादमा रमाउनेहरू उपर साझा सहमति जुट्नु अलि कठिन कुरा नै हो । जेहोस् मनमाफिकको माग गरियो । छुटेका साथीहरू पनि पुग्नुभयो । अनि फुर्सदको सदुपयोग गर्ने सोच बनाई भियतनामी डलर अर्थात् द्वाङ साट्ने प्रसङ्ग चलाइयो । दुई जना मिलेर बसेकाहरूले २०० र एक्लै बसेकाहरूले ३०० युरोको सटही गर्ने, त्यो भन्दा बढी चाहिएमा आ-आफैँ व्यवस्था गर्ने गरी उल्लिखित बमोजिम पैसा उठाई सहजकर्ता मार्फत् एकमुष्ठ सटही गर्ने प्रबन्ध मिलाइयो । यसो गर्दा प्रत्येक-प्रत्येकले सटही गर्दा हुने अतिरिक्त समय एउटा कारोबारबाटै गरिइने हुँदा समयको बचत भयो ।
अब खानाको सेवा शुरु भयो । अक्टोपसको फ्राई, उमालेको साग र माटाको खोत्तियाजस्तो सानो भाँडामा अनदिको जस्तो भातबाट खाने अध्याय शुरु गर्यौँ । लामा-लामा जुँगा र त्यसमा आँखा देखिने प्राउनको प्लेट आएपछि अरूणजीले निवेदनजीलाई एउटा खाएमा १ डलर दिने भनी भियतनामी युवतीहरूकै सामु व्याख्या गर्नुभयो । यथार्थमा त्यो परिकार खानेहरूका सामु त्यस्तो चर्चा उपयुक्त थिएन कि ?! दोहोर्याएर उनीहरूलाई नै पुनः सुनाएपछि मैले व्यहोरा थप अघि नबढाउन आग्रह गरेँ । प्रसङ्ग थाती राखी रमाइलो वातावरणमा सायमकालीन भोजनको अध्याय समापन गरियो ।
हनिकिन वियर समेतको खवाईको भुक्तानी भियतनामी डलरको भाउमा उच्चारण गर्दा लाखौँको डिनर खाएर हामी हाँस्दै होटेल फर्क्यौं । त्यहीँ खाना खाँदै गर्दा केदारसरले फोनले काम नगरेको व्यहोरा शेयर गर्नु भएको थियो । फर्किँदा बाटोमा सीमकार्ड किन्ने कि ? प्रसङ्ग चल्दा केही साथीहरूले ‘किन्ने’ व्यहोरा जनाएपछि सोही बमोजिम दोकानमा झर्यौँ । ५/७ जनाबाहेक अरू साथीहरू बसमै हुनुहुन्थ्यो । अति विलम्ब भएको जनाएपनि सीमकार्ड एक्टिभेट गर्दा र दोकानी समेत नेपालको विषयमा कन्फर्म नभएपछि भेरिफाई गरेरै खरिद गर्नु बाध्यता थियो ।
मैले भोलिको कार्यक्रमको संक्षेपीकरण गर्दै आफ्नो आवाज चर्को भएको कारण युद्धकालमा भूमिगत समूह आई फुसफुस कुरा गर्दा प्रतिउत्तर मेरो चर्को आवाजमा भएछ र उनीहरूले हामी बहिरा छैनौँ विस्तारै बोले पनि हुन्छ भन्दा पनि विस्तारै बोल्न सकिनथेँ । त्यसैले मेरो चर्को आवाजलाई झर्केको रूपमा परिभाषा नगरी दिन आग्रह गरेँ । जसलाई डोटेलजीले यो ध्वाँस हो कि घुर्कि ? भन्दा संक्षिप्त असहज महसुस भएतापनि प्रसङ्ग मोडेर सहजीकरण गरियो । कोठामा आई मुहारपुस्तिका अद्यावधिक गरी ढिलै आराम गरेँ ।
…सके सपरौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
क्रमश:…


























