×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

भियतनाम यात्राको स्मरण गर्दा … (१)

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    २०६९साल मङ्सिर ९ गते शनिबार जर्मन सहयोग नियोग (GIZ) को SUNAG – Sub National Governance Program अन्तर्गत उद्योग मन्त्रलयबाट उपसचिव द्वय तुलसीराम गैरे र लक्ष्मी प्रसाद अधिकारी, INCLUDE बाट अरूण राना (काठमाडौँ) र निवेदन वैद्य (नेपालगञ्ज) अनि SUNAG काठमाडौँबाट रमेश श्रेष्ठका साथ GIZ कार्यक्रम भएका ५ वटा निम्न जिल्लाहरूका संस्थाहरूबाट निम्नानुसार –
    १) कैलाली
    स्थानीय विकास अधिकारी- केदारबहादुर बोगटी, जिविसको कार्यालय
    कार्यवाहक अध्यक्ष- राजेश भण्डारी, उद्योग वाणिज्य सङ्घ
    कार्यकारी निर्देशक- डिल्लीराम शर्मा, उद्योग वाणिज्य सङ्घ
    पूर्व अध्यक्ष- दिनेश भण्डारी, उद्योग वाणिज्य सङ्घ
    पर्यटन व्यवसायी- कृष्णबहादुर महरा, उद्योग वाणिज्य सङ्घ
    २) दाङ
    स्थानीय विकास अधिकारी- विष्णुप्रसाद  पोखरेल, जिविसको कार्यालय
    अध्यक्ष- मधुसुदन बैद्य, उद्योग वाणिज्य सङ्घ
    पूर्व अध्यक्ष- माधवप्रसाद शर्मा, उद्योग वाणिज्य सङ्घ
    ३) प्यूठान
    स्थानीय विकास अधिकारी- भगवान अर्याल, जिविसको कार्यालय
    अध्यक्ष- माधव भण्डारी, उद्योग वाणिज्य सङ्घ
    पूर्व अध्यक्ष- ईमानसिंह भारती, उद्योग वाणिज्य सङ्घ
    ४) बाँके
    स्थानीय विकास अधिकारी- विश्वराज डोटेल, जिविसको कार्यालय
    अध्यक्ष- सुनिल कुमार शर्मा, उद्योग वाणिज्य सङ्घ
    ५) सुर्खेत
    स्थानीय विकास अधिकारी- भोजेन्द्र क्षेत्री, जिविसको कार्यालय
    अध्यक्ष- पदम बहादुर शाही, उद्योग वाणिज्य सङ्घ
    पूर्व अध्यक्ष- प्रकाश अधिकारी, उद्योग वाणिज्य सङ्घ
    ६) अन्य
    सञ्चालक समितिको सदस्य- सुनैना दहित, उदयपुर सिमेन्ट उद्योग
    महानिर्देशक- हेमन्त कुमार दवाडी, नेपाल उद्योग वाणिज्य महासङ्घ र स्थानीय विकास मन्त्रालयबाट म (तिलक पौडेल) सहित २४ जना भियतनामको अवलोकन भ्रमणका लागि रमाना भयौँ । संयोग ईश्वरीदाइ (महानिर्देशक, खानेपानी तथा ढल निकास विभाग) को पनि इन्डोनेसियाको यात्रा रहेछ, विमानस्थलमा भेट भयो । राजेन्द्र भाइ (शाखा अधिकृत, नागरिक उड्ड्यन कार्यालय, गौचरन) को सहयोगमा थाइ एयरलाइन्समा चेक-ईन गरी हामी दाजुभाइ ३८ को जे र के सिटमा बसेका छौँ ।

    हामी २:३३ बजे काठमाडौँबाट बैङ्ककका लागि उड्यौँ । मैले यो विवरण लेख्न सुरु गरेँ । ३:०० बजे खानाको सेवा सुरु भयो, मैले म्लेच्छ आहार चलाउने भएँ । ईश्वरी दाइले शाकाहारी मगाउनु भयो । अहिले काठमाडौँमा ४:०५ बज्यो भने बैङ्ककमा ५:२० बजेको रहेछ । हामी अझै सवा घण्टा उड्नुपर्ने जनाइएको छ । यतिखेर Tail Wind १०० किलोमीटर प्रति घण्टा, उचाइ ११८८७ मीटर, बैङ्ककसम्मको दुरी ९५६ किलोमीटर, Ground Speed 898 किलोमीटर प्रति घण्ट,, काठमाडौँ सम्मको दुरी १३३८ किलोमीटर र बाहिरको तापक्रम -५२ डिग्री सेल्सियस रहेको व्यहोरा डिस्प्ले भैरहेको छ । खाने पिउने कार्य सकियो ।

    यसपटक डिस्प्ले प्यानलको लागि साईडमा रिमोट राखेको बटम रहेछ । पहिलाको भन्दा प्रगति गरेको महसुस भयो । वास्तवमा थाई एयरलाइन्स र नेपाल वायुसेवन निगम सँगसँगै जन्मेका भन्छन् । नेपाल वायुसेवा निगमको अझैसम्म एउटा आफ्नै जहाज पनि छैन । थाईले आफ्नो अवस्था कता-कता पुर्‍यायो ।

    ड्युटी फ्रिका दरमा जहाजमै रहेको सामानहरू खरीद गर्ने भए … भनी सूचना जारी भयो । मैले दक्षिण भारतबाट दिल्ली आउँदा Addidas/Rebock घडी खरीद गरेथेँ । आज पनि ईश्वरीदाइले सोध्नुभयो तर मलाई भने केही खरीद गर्ने सोच छैन । जुस, कोकको सेवामा कोक खाएँ । नेपाली समय अनुसार ४:५० बज्यो । अब ल्याण्डिङ् हुँदै गरेको सूचना जारी भयो । शेष साँझ लेख्ने गरी अहिले अडियो सुन्न थालेँ । रिमरिम निन्द्रा लाग्ला जस्तो छ । १५ मिनेटको लागि आराम गर्छु सोचे पनि निन्द्रा लागेन र लोकगीत सुनेर समय व्यतीत गरेँ । अन्तत: नेपाली समय अनुसार ५:२५ मा बैङ्ककको सुवर्णभूमि विमानस्थलमा अवतरण गरियो । यो विमानस्थलको उचाइ समुन्द्रसतहबाट ११ मीटर देखाइएको छ भने बाहिरी ताफक्रम २५ डिग्री सेल्सियस बताइएको छ।

    विमानबाट निस्केपछि हामी कोही शौचालय प्रयोग गर्ने हिसाबले अघि बढ्यौं । ईश्वरीदाइलाई स्वागत गर्न विमानस्थलबाट निस्कने स्थानमा सरोकारी पर्खेर बसेको रहेछन् । परिणामत: दाइ सम्बन्धितलाई भेटी आफ्नो गन्तव्यमा जानु भएछ । हामीहरू कोहीले पैसा साट्ने काम गरेर त कोहीले आगमन/प्रस्थान कार्ड भरेर अरू साथीहरूलाई पर्ख्यौं । तर वहाँहरू अघि बढिसक्नुभएको रहेछ । हामीहरू Transfer को सङ्केत अनुसार अघि बढ्यौँ । सुरक्षा जाँचसमेत गरेर बाहिरिँदा एकजना साथीको साधारण राहदानी भएकोले नेपालमै भिसा नलिएको हुँदा आगमन भिसाकाबारे सोधनी गर्न माथिल्लो तलामा जानपर्ने बताए । सोही बमोजिम हामीहरू माथि गयौँ । सोधनी गर्दा नीलो अर्थात् कुटनैतिक पासपोर्टको हुनेहरूलाई अध्यागमनमा तल जान बताइयो । हामीहरू अलमलियौँ, ओहोर-दोहोरमा समय बित्यो । अरू साथीहरू पनि कता जानुभयो ? अन्तत: सूचना कक्षमा सोधनी गरी तल झर्ने स्थान पत्ता लगाई अध्यागमन तर्फ लाग्यौँ । अरू साथीहरूलाई सर्वसाधारण कक्षमा छाडी हामीहरू कुटनैतिक कक्षतिर लाग्यौँ । दाङका स्थानीय विकास अधिकारी विष्णु प्रसाद पोख्रेलको साधारण राहदानी हुँदा अघि पाएको जानकारी अनुसार नेपालमै भिसा नलगाएको हुँदा वहाँलाई त्यत्तिकै वेवारिस छाडी हामीहरू बाहिरिन विवश भयौँ । वहाँसँग ‘बाँकेका स्थानीय विकास अधिकारी विश्वराज डोटेलको पनि यस्तै केश भएकाले कतै भेटेमा यतै पठाइदिनु होला, अब भोलि बिहान भेट’ भनी बिदा भयौँ ।

    भोजेन्द्रदाइ, लक्ष्मीजी र म बाहिर आई अरू साथीहरूले सामान सोझै हनोइमा बुझ्ने नगरी त्यहाँ पनि जम्मा गर्ने भन्नु भएकोले सामान जम्मा गर्ने ८ नम्बरको ठाउँमा गयौँ, तर सबै बाहिरिइ सक्नु भएछ । हामी पनि बाहिरियौँ । पहिलो ट्रिप पठाई सकेर अरूण, निवेदन र रमेशजीले हामीलाई पर्खिनु भएको रहेछ । हामी भेट भएपछि होटल तर्फ रमाना भयौँ । Hotel Dis Sathorm, 21\1 Sai Ngan Duphli, Rama IV Road, Sathorn, Room 506 मा चेक-ईन गरी स्नानालय प्रयोग गरेँ । मेरो सहबासीका रूपमा विष्णुजी हुनुहुन्थ्यो, तर विमानस्थलमै रहनु भएकोले म एक्लै कोठा नं. ५०६ मा बसेँ । ताजगीपछि भगवानजी र म बाहिर गई तोमयाम सुप (नेपाली गुन्द्रुकको झोल सम्झाउने) सित खाना खायौँ । थाइ मसाजको घरैपिच्छे व्यवस्था थियो तापनि सोझै कोठामा आई अनुहार पुस्तिका अद्यावधिक गरी आराम गरेँ । भोलि बिहानै हिँड्नुपर्नेछ । रात बितिसक्यो । यस्तै भएकोभए विमानस्थलमै बसेको भएपनि हुने जस्तो लाग्यो । रपनि भोलिको नयाँ ठाउँको यात्राको परिकल्पनामा आराम गरेँ ।

    २०६९ साल मङ्सिर १० गते आइतबार नेपाली समय अनुसार ३:०० बजे उठेर प्रभातकालीन कार्य सञ्चालन गरेँ । होटेलको लबीमा जाँदा प्रायः सहभागीहरूले बिहाम‍नी खाना खाँदै हुनुहुँदो रहेछ । मैले पनि ४:३० बजे जाम, बटर, पाउरोटी, मेवा, खरबुजा र चिया खाँए । नेपाली समय अनुसार ५:०० बजे छुट्ने भनिएको बस ५:१५ बजे छुट्यो । रातारात आँए, रातारात फर्के – आँधी खोला कति बढ्यो कति बढ्यो भने जस्तो भयो । जेहोस ५:५५ बजे सुवर्णभूभि विमानस्थल प्रवेश गरियो । आफैँ चेक-ईन गर्ने प्रावधान पनि रहेछ र त्यसैको ताँतीमा बस्यौँ । त्यो व्यवस्था नीलो पासपोर्टका लागि मात्र भनियो र हामी अन्तै ताँती लाग्यौँ । पुनः अन्त्यमा साधारण ताँतीमा सरुवा भएको परिभाषा गरी अरू बसिसकेको ताँतीलाई विच्छृङ्खल बनाई हाम्रो ताँती बनाइयो । पहिलो (सन् १९९५ तिर) भ्रमणमा आफैँ चेक-ईन गर्ने सुविधा नभएको जस्तो लाग्यो । बरु उसबेला विमानस्थल कर स्वरूपको ५०० भाट भेण्डिङ्ग मेशिनबाट तिर्ने प्रावधान थियो भने यतिखेर ७०० भाट टिकट काउण्टरमा गएर तिरियो ।

    अन्ततः चेक-ईन गरी भित्रिएपछि शौचागर तर्फ भोजेन्द्र दाइ र म गएर फर्कंदा फाइनल कल गरिसकेको रहेछ । पानी परिरहेको थियो । बसवाट विमानसम्म आई २३ पाईले भर्‍याङ चढी अहिले म ४४ वी को सिटमा छु । सि मा विष्णु प्रसाद पोखरेल हुनुहुन्छ भने ४३ वी र सि मा क्रमशः भोजेन्द्र दाइ रेग्मीजी (अर्को कार्यक्रममा भाग लिने) हुनुहुन्छ । नेपाली समय अनुसार ६:४० बजे (थाइ समय ७:५५ बजे) विमान गुड्न शुरु गर्‍यो भने ६:५५ बजे उड्यौँ ।

    ७:१५ बजे बिहानी नास्ताको सेवा शुरु भयो । सानो कपमा पानी र अर्को त्यस्तैमा सुन्तलाको रस ढाकेको अवस्थामा थियो । रिफ्रेसिङ् टवेल अनि प्लष्टिकमा चम्चा, काँटा, चक्कु, मरिच, नुन, ह्वाइट्नर/दुध र सिन्का; ठूलो चारपाटे प्लेटमा पाउरोटी र अण्डा अनि चिकन (?) थियो । सलाद सागमा सिमी, मेवा, चना लगायत गेडागुडीलाई क्रिममा मुछेर राखेको थियो । सोभन्दा सानो कपमा मेवा, भुईकटर र तीलका जस्ता दाना भएको ड्रागनफ्रुट (पहिलो पटक खाएको ठीकै लाग्यो) गरी तीन थरी फलफूल थिए । नास्ता प्याक (Breakfast Box) को एक कुनामा चियाकप पनि अटेको थियो । पानी पिउनका लागि चुस्ने पाईपको पनि व्यवस्था थियो । १५ मिनेटमा बिहानी नास्ताको कार्य सकियो । होटलमा पनि नास्ता गरिएकोले उपलब्ध परिमाण ठीकै लाग्यो ।

    बाहिरको उचाइ ३७००० हजार फिट र तापक्रम -५६० सेल्सियस देखाएको छ । पुग्न अझै ५२ मिनेट लाग्ने छ । हामी त्यहाँ (हनोई) बाट आजै विमानबाट डानाङ जाने छौँ । यो उडान नम्बर टिजी ५६० हो । यो म शुरुमा थाईलैण्ड आउँदाको जस्तो, सेन्ट्रल डिस्प्ले सिस्टम (Central Display System) भएको रहेछ । ७:५५ बज्यो, हनोईका लागि अझै १८८ माईला बाँकी छ । अन्तत: थाइ समय अनुसार ८:२८ बजे नोईबोई अन्तर्राष्ट्रिय विमानस्थल, हनोई, भियतनाममा ल्याण्ड गरियो । यो जीवनको दोस्रो पटक हो – भियतनाम यात्राको । थाइलैण्डको समय र भियतनामको समय बराबर रहेछ, नेपाली समयभन्दा १ घण्टा १५ मिनेट अगाडि ।

    भियतनामी समय अनुसार ९:४५ बजे हनोईको विमानस्थल क्षेत्र भित्रिएर भिसा अपन एराइभल (Visa Upon Arrival) को लागि लाइन लगियो । ३ प्रति फोटाहरू र २५ युस डलरको आवश्यकता भन्ने साविकको सूचना बमोजिम तयारीसाथ भिसा फाराम (Visa Form) भरियो । तर फाराममा १ फोटो भएपनि पुग्ने रहेछ । यदि नलगिएको भए डलरमा कारोबार गरी त्यहीँ खिच्ने व्यवस्था पनि रहेछ, जुन हामीकहाँ पनि विद्यमान छ । अफशोच ! तुलसीराम गैरेजीले पासपोर्ट सँगै २५ डलर पनि दिनुभएछ, ५ डलर लिएर २० डलर फिर्ता त गरेछ, तर त्यो ५ डलर विमानस्थलको आधिकारिक निकायले बुझेको कतै पनि उल्लेख गरेनछ । यसलाई हामीले अनुचित घुस लिएको भन्ठान्यौँ । जेहोस्, चेक आउट भिसाको कार्य सम्पादन गरी सामान सङ्कलन गर्‍यौँ । फेरि दुःखको प्रसङ्ग रमेशजीको सामान छुटेछ । विमानस्थलको आधिकारिक निकायलाई व्यहोरा अवगत गराई हामी आन्तरिक उडानको चेक-ईनका लागि उपल्लो तल्लामा गयौँ । हामीलाई यात्रा सहजीकरणको जिम्मा पाएको स्थानीय संस्था ईकोनोमिका (Economica) का तर्फबाट हा र चुराङ नामका दुई युवतीहरूले हामीलाई स्वागत गर्नुभो र एउटै उडानमा दानाङ तर्फ रमाना भयौँ । हँसिला एवम् फरासिला स-सानो कदका मर्गर्नी नानीहरूको झल्को लाग्ने उनीहरूलाई मेरो परिचय कार्ड पनि उपलब्ध गराएँ । साथीहरूले मलाई टोली नेताका रूपमा परिचय गराउनुभयो । खुसी हुँदै उनीहरूका कुराहरू म मार्फत् सम्पूर्ण सहभागीमा पुर्‍याउने व्यहोरा जनाए । अरू १ जना दानाङबाट सम्मिलित भई हाम्रो यात्रालाई सहजीकरण गर्ने बन्दोबस्त मिलाइएको रहेछ ।

    सहजकर्ताहरूले बेलुका ७:०० बजे रात्रीकालीन खाना सँगै खाने, ४:०० बजेतिर होटलमा चेक-ईन गरिने, त्यतिबेलासम्म खाने चाँजो नमिल्ने, जहाजमा पनि हेभी चिजको सेवा उपलब्ध हुने हुँदा केही खान भोक लागेको भए खानुहुन अनुरोध गरे । तर हामीले कृष्ण बहादुर महराजीले ल्याउनु भएको पेस्ता खायौँ । फोनका लागि सीमकार्ड ३ यूयस डलरमा उपलब्ध हुने तर व्यापार प्रबर्द्धका खाँतिर ६ डलर बराबरको सेवा प्रयोग गर्न सकिने व्यहोरा जनाउँदै रिचार्जको बारेमा सोधनी गर्दा रिचार्ज गर्नुभन्दा सीमकार्ड फालेर नयाँ किन्नु ठीक हुने जानकारी गराए । साथै दानाङको होटलमा चेकईन गर्दा नै रकम बुझाउनु पर्ने भएकोले यूरो/डलरलाई भियतनामी डलर (द्वाङ) मा साट्ने र यो कार्य दानाङ् विमानस्थलमा गर्दा राम्रो हुने व्यहोरा अवगत गराए ।

    अन्तत: १:१० मा बोर्डिङ चेक गरी १:१५ बजे २३ पाईले भर्‍याङ चढी विमानको आ-आफ्ना सीटमा बस्यौँ । विमान १:३१ बजे हिँड्न शुरु गरी १:४३ मा उड्यो । बीचमा बादलका फुल्काहरू भन्दा माथि भएर उड्दा तल कपसको फाटेको तन्ना मुनि निलङ्कार भुइँ – शायद समुन्द्र होला, दृष्टिगोचर भैरहेको थियो । केदारसरको भनाइमा निँद्रा लागेकोले त्यसको निक्यौल गर्न प्रकृतिलाई नै जिम्मा लगाइयो । यो जहाजको उडान नं. टिजी १५१३, जुन पहिलाको थाई एयरवेज भन्दा पनि भिन्न रहेछ । यसको बिजनेस र इकोनोमी क्लासको सीमाङ्कन पनि कपडाको पर्दाले गरेको जस्तो लाग्यो ।

    समुन्द्रको तटमा रहेछ – डानाङ । स-साना टापुहरू अनि तिनको पानी सतहको मथि मोटरको बाटोको रेखाङ्कनले हाम्रा धानका रासमा नाङ्लाका घेरा जस्तो लाग्थ्यो । पूर्वाधारको निर्माण अत्याधुनिक तवरले भएको लाग्थ्यो । हुनपनि समुन्द्र/महासागरको तटमा अवस्थित हुनु भनेको पानी जहाजबाट सस्तोमा यातायात/सामान ढुवानीले जनजीवन शुलभ हुनु हो एकातर्फ भने अर्कोतर्फ सुनामी अर्थात् समुद्री छाल उर्लिएर डुवान हुँदाको क्षति भयावह पनि हुन्छ ।

    जेहोस प्राकृतिक हिसाबले मनोरम लाग्ने शहरमा आएको महसुस भयो । १ घण्टा ५ मिनेट अर्थात् २:४८ बजे ल्याण्ड गरियो । आन्तरिक उडान भएकोले सोझै ब्यागेज जम्मा गरियो । दुर्भाग्य रमेशजीको सामान थाईल्याण्डबाट राखिएको हनोईमै निस्किएछ । यसरी हेर्दा हामीले काठमाडौँबाट सोझै हनोईमा जम्मा गर्ने गरी राखेको ठीक लाग्यो । बरु अत्यावश्यकताका संक्षिप्त सामानहरू हाते झोलामा ल्याउनु उपयुक्त देखियो । हुन त यसो गर्दा छुटेमा झन् समस्या हुनसक्छ । वहाँको त आजै साँझसम्म नभएपनि भोलिसम्ममा ल्याउने व्यहोरा जनाएको छ । लामो रूट भए त्यो पनि झन् ढीला हुन्थ्यो होला । जेहोस यो प्रसङ्ग नै एउटा र पहिलो असहज प्रसङ्ग बन्यो । आशा गरौँ अरू यस्ता घटना हुने छैनन् ।
    ईकोनोमिका (Economica) का चुराङ र हा नामका युवतीहरू साथमा भएकोले सरासरी हामी गाडीबाट आई ट्रेन्डी होटेलमा चेकइन गरियो । म र विष्णु प्रसाद पोखरेल कोठा नं. ९०५ मा बस्ने भयौँ । कोठामा आई सरसामान मिलाई रेसिप्सनमा गई सबै साथीहरूको कोठा नम्बर र सम्पर्क नम्बर सङ्कलन गरेँ । होटल आउँदै गर्दा खाना बेलुकाको ७:०० बजे भनिएको थियो तर सहजकर्ता युवतीहरूले ६:०० बजेका लागि मसँग अनुमोदन माग्दा सबै सहभागीहरूको सल्लाहमा ६:०० बजे नै खाना खाने निर्णय गरियो ।

    सोही बमोजिम ६:०० बजे लबीमा जम्मा हुने भनेकोमा ६:१५ बजेसम्म पनि सबै साथीहरू नआएकोले लबिमा गफगाफ गरेर आइनपुगेका साथीहरूको प्रतिक्षा गरियो – नेपालीपारा ! हाले नेपालीहरूका घडीमा अझै ६:०० बजेन भनेर व्यङ्ग्य कसिन् । म आफैँ आएर सबैलाई बसतर्फ जान आग्रह गरेँ । तर मुल आयोजक अरूण राना र निवेदन बैद्य अनि निजी क्षेत्रका समन्वयकर्ता हेमन्त दवाडीजी गरी ३ जनालाई बसै नपाएपछि रेसिप्सनमा वहाँहरू आएपछि हामी गएको होटलमा जान भनी दिन भनी हामीहरू रमाना भयौँ ।

    पैसा आफैँले तिर्ने गरी सँगै खाने (GTPS) योजना रहेछ – त्यो डिनर । सबै पुगेपछि बल्ल हाम्रा सहजकर्ताहरूले खानाको मेनु सोध्न थाल्नुभयो । केही शाकाहारी, केही फिस र चिकन मात्रै, केही सी फुडको माग गर्नुभयो । वास्तवमा परिपक्व र आ-आफ्नो स्वादमा रमाउनेहरू उपर साझा सहमति जुट्नु अलि कठिन कुरा नै हो । जेहोस् मनमाफिकको माग गरियो । छुटेका साथीहरू पनि पुग्नुभयो । अनि फुर्सदको सदुपयोग गर्ने सोच बनाई भियतनामी डलर अर्थात् द्वाङ साट्ने प्रसङ्ग चलाइयो । दुई जना मिलेर बसेकाहरूले २०० र एक्लै बसेकाहरूले ३०० युरोको सटही गर्ने, त्यो भन्दा बढी चाहिएमा आ-आफैँ व्यवस्था गर्ने गरी उल्लिखित बमोजिम पैसा उठाई सहजकर्ता मार्फत् एकमुष्ठ सटही गर्ने प्रबन्ध मिलाइयो । यसो गर्दा प्रत्येक-प्रत्येकले सटही गर्दा हुने अतिरिक्त समय एउटा कारोबारबाटै गरिइने हुँदा समयको बचत भयो ।

    अब खानाको सेवा शुरु भयो । अक्टोपसको फ्राई, उमालेको साग र माटाको खोत्तियाजस्तो सानो भाँडामा अनदिको जस्तो भातबाट खाने अध्याय शुरु गर्‍यौँ । लामा-लामा जुँगा र त्यसमा आँखा देखिने प्राउनको प्लेट आएपछि अरूणजीले निवेदनजीलाई एउटा खाएमा १ डलर दिने भनी भियतनामी युवतीहरूकै सामु व्याख्या गर्नुभयो । यथार्थमा त्यो परिकार खानेहरूका सामु त्यस्तो चर्चा उपयुक्त थिएन कि ?! दोहोर्‍याएर उनीहरूलाई नै पुनः सुनाएपछि मैले व्यहोरा थप अघि नबढाउन आग्रह गरेँ । प्रसङ्ग थाती राखी रमाइलो वातावरणमा सायमकालीन भोजनको अध्याय समापन गरियो ।

    हनिकिन वियर समेतको खवाईको भुक्तानी भियतनामी डलरको भाउमा उच्चारण गर्दा लाखौँको डिनर खाएर हामी हाँस्दै होटेल फर्क्यौं । त्यहीँ खाना खाँदै गर्दा केदारसरले फोनले काम नगरेको व्यहोरा शेयर गर्नु भएको थियो । फर्किँदा बाटोमा सीमकार्ड किन्ने कि ? प्रसङ्ग चल्दा केही साथीहरूले ‘किन्ने’ व्यहोरा जनाएपछि सोही बमोजिम दोकानमा झर्‍यौँ । ५/७ जनाबाहेक अरू साथीहरू बसमै हुनुहुन्थ्यो । अति विलम्ब भएको जनाएपनि सीमकार्ड एक्टिभेट गर्दा र दोकानी समेत नेपालको विषयमा कन्फर्म नभएपछि भेरिफाई गरेरै खरिद गर्नु बाध्यता थियो ।
    मैले भोलिको कार्यक्रमको संक्षेपीकरण गर्दै आफ्नो आवाज चर्को भएको कारण युद्धकालमा भूमिगत समूह आई फुसफुस कुरा गर्दा प्रतिउत्तर मेरो चर्को आवाजमा भएछ र उनीहरूले हामी बहिरा छैनौँ विस्तारै बोले पनि हुन्छ भन्दा पनि विस्तारै बोल्न सकिनथेँ । त्यसैले मेरो चर्को आवाजलाई झर्केको रूपमा परिभाषा नगरी दिन आग्रह गरेँ । जसलाई डोटेलजीले यो ध्वाँस हो कि घुर्कि ? भन्दा संक्षिप्त असहज महसुस भएतापनि प्रसङ्ग मोडेर सहजीकरण गरियो । कोठामा आई मुहारपुस्तिका अद्यावधिक गरी ढिलै आराम गरेँ ।

    …सके सपरौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    क्रमश:…

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.