तिलक पाैडल
७) विविधा : प्रस्तुत कृतिमा प्रसाईको विश्लेषणलाई टिपोट गरी तालिकीकरण गर्दा निम्नानुसार कर्ता, अकर्ता; परा, अपरा; क्षर, अक्षर अनि
प्रकृति एवम् पुरुष तत्त्वमा र अन्य मननीय सन्दर्भहरूलाई देहाय बमोजिम उल्लेख गर्न आफूलाई सहज लागेकाले सोही बमोजिम प्रस्तुत गरिएको छ ।
७.१ कर्ता, अकर्ता :
- कर्ता त परमेश्वर स्वयं हुनुहुन्छ, वहाँले जे भुमिका दिनुहुन्छ हामी त्यही भूमिका निर्वाह गछौँ । हामी कर्ता होइनौँ, हामीमा लोभ, मोह र द्वेष छ; हाम्रा कर्मबाट प्रतिक्रिया प्राप्त हुन्छ । त्यसैले हामी अकर्ता पनि होइन ।
- वास्तविक कर्ता भनेको परमेश्वर नै हुन् । अकर्ता भनेको पनि परमेश्वर नै हुन् किनकी रिमोट उनको हातमा छ ।
- जब पुरुष तत्त्व बढ्छ म आफू कर्ता होइन भन्ने ज्ञान हुन्छ ।
- म कर्ता होइन कर्ता त उपरवाला हुन्, जसले राम्रा साधनहरू प्रदान गर्नुभयो, सही ठाउँमा राखिदिनुभो र साध्यतिर लगाउनु भयो । कर्तापनलाई निषेध गर्न जरुरी छ ।
- जीवात्माका कर्ता वा अकर्तापन अन्तःकरण र संस्कारबाट आउँछ । शुद्ध आत्मामा कर्तापन हुँदैन ।
- अकर्ता बन्ने हो भने आफ्ना सबै चाहनाहरूलाई तिलान्जली दिनु पर्छ ।
- अकर्ताबाट कर्ता बन्ने होइन बरु कर्ता हुँदै हुँदै पनि अकर्ता बन्नु यो लोक र परलोक दुवैमा फाइदाजनक कुरा हो । यसबाट दिगो शान्ति र आनन्द प्राप्त हुन्छ ।
- जसले आफूलाई अकर्ता ठान्छ र सोही अनुसारको व्यवहार गर्छ, उ संसारिक बन्धनबाट मुक्त हुन्छ ।
- अकर्ता भएपछि न त पुण्यको लोभमा बाँधिन्छ न त पापको डरमा नै रहन्छ ।
- मन परमेश्वरमा लगाउदै काम गर्ने र अकर्ता हुँ भन्ने भावना लिई कर्म गरियो भने उ कर्म गरे पनि बन्धनबाट मुक्त हुन्छ ।
- निष्काम कर्म गर्ने व्यक्ति कर्ता हुँदा हुँदै पनि अकर्ता हो । अकर्ता भएपछि कर्मबन्धनमा फस्ने कुरै भएन ।
७.२ परा र अपरा :
- परा भनेको आध्यात्मिक प्रकृति हो र अपरा भनेको भौतिक प्रकृति हो ।
- आध्यात्मिक उर्जाको कारण परा र अपरा प्रकृतिबीचको सम्बन्ध बोध हुन्छ ।
- विद्वान् व्यक्तिले हरेक परा प्रकृतिलाई अपरा र अपरा प्रकृतिलाई परा प्रकृति देख्छ ।
- परमेश्वरलाई नजानी केबल परा र अपरा प्रकृति मात्र बुझ्नु भनेको सूर्यलाई नबुझी अग्नि बुझ्न खोज्नु जस्तै हो ।
- जुन परिवर्तनीय छन्, ती परा प्रकृति हुन् । जुन अपरिवर्तनीय छन् ती अपरा प्रकृति हुन् ।
- जो सँग चेतना छैन, त्यसलाई अपरा प्रकृति भनिएको हो ।
- त्यो अपरा प्रकृतिलाई सञ्चालन गर्ने चेतना भएको प्रकृति भनेको परा अथवा जीव प्रकृति हो ।
- परा प्रकृतिले अपरा प्रकृतिको उपभोग गरिरहेको हुन्छ ।
७.३ क्षर र अक्षर :
- संसारमा दुई प्रकारका प्राणी छन् । एउटा नाशिने प्राणी अथवा ‘क्षर’ प्राणी भने अर्को चाहिँ ननाशिने प्राणी अर्थात ‘अक्षर’ प्राणी ।
- क्षर शरीरको पवित्र कर्मले अक्षरमा रुपान्तरण गराउँछ ।
- परम बह्मलाई बुझेपछि क्षर शरीर लिनु पर्दैन ।
- क्षर र अक्षर आत्माको स्रोत भनेको परमात्मा वा पुरुषोत्तम नै हो, वहां नै परब्रह्म हो ।
- अक्षर आत्माले कर्म गर्दैन, त्यसैले यो कर्मबन्धनबाट मुक्त हुन्छ ।
- अक्षर प्राण परमात्मासँग जोडिएको हुन्छ ।
- अक्षरलाई अव्यक्त पनि भनिन्छ । यो यस्तो अवस्था हो जहाँ पुगेपछि पुन: त्यो पृथ्वीमा फर्कनु पर्दैन ।
- चेतना त नाशवान शरीर भएको प्राणीमा भन्दा अक्षरमा अझ बढी हुन्छ किनकि त्यसमा अन्नमय आत्मा नभएर प्राणमय आत्मा मात्र हुन्छ ।
- शरीर सहितको आत्माको जस्तो अक्षर आत्मामा अपवित्रता हुँदैन ।
- पवित्र कर्म गरियो भने अक्षर प्राणी हुन्छौं । अक्षरधाममा हाम्रो बासस्थान बन्छ । यदि अपवित्र कर्म गर्दै गयौं भने शरीर लिएर पुनः जन्म, सुख, दु:ख, जरा, मरण भोग्नु पर्छ ।
- अक्षरधाममा कर्म नहुने हुँदा त्यहाँ भौतिकवादी कुनै काम कर्तव्य हुँदैनन् । केबल आध्यात्मिक कार्य मात्र हुन्छ ।
- अक्षरधाम भनेको अन्तरिक्ष हो, जो पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त हुन्छ तर पृथ्वीको आकर्षणबाट पनि बन्चित हुन्छ तर त्यंहा अरू ग्रहको आकर्षण पनि हुदैन ।
- क्षर, अक्षर र पुरुषोत्तम भनेको शरीर, आत्मा र परमात्मा नै हुन् । यिनै तीन तत्त्वको ज्ञान नै आध्यात्मिक ज्ञान हो, मुक्तिको ज्ञान हो ।
७.४ तत्त्व :
- एउटै वस्तु भित्र पुरुषतत्त्व र प्रकृतितत्त्व छन्, काठको बाहिरी देखिने वस्तु प्रकृति तत्त्व हो भने त्यो भित्र इन्धन तत्त्व छ, त्यो पुरुष तत्त्व हो ।
- प्रकृति तत्त्वलाई निष्तेज पार्ने तत्त्व भनेको पुरुष तत्त्व हो ।
- लिँदा प्रकृतितत्त्व सक्रिय हुन्छ भने दिँदा पुरुषतत्त्व सक्रिय हुन्छ ।
- पुरुषतत्त्व जुन निराकार छ, सर्वशक्तिमान छ त्यो आफूभित्र नै रहेको अनुभव योग र ध्यानबाट बोध गर्न सकिन्छ ।
- जब मोह घट्छ, मानिस स्वतः पुरुषतत्त्व बुझ्नतिर लाग्छ । पुरुष तत्त्व भनेको सत् हो र परा प्रकृति चाही असत् हो, किनकी यो परिवर्तन भइरहन्छ ।
- चेतना पदार्थबाट उत्पन्न हुने कुरा होइन । यो त ब्रह्मतत्त्व वा पुरुषतत्त्वका कारण उत्पन्न हुन्छ ।
• भगवत् गीता उपनिषदहरूको पनि सार हो ।
• मानव विकासको लागि निवृत्ति र प्रवृत्ति मार्ग बीचको सन्तुलन अपरिहार्य छ ।
• मुक्ति नै अन्तिम गन्तव्य हो ।
• दान, तप र यज्ञबाट मानिस भित्र प्रज्ञा पलाउँछ ।
• ध्यानले मनलाई अथवा चित्तलाई बरालिन दिदैन ।
• ध्यानको समयमा अक्सिजनको खपत कम हुन्छ; कारण प्राणवायु, अपानवायुमा हवन भएको हुन्छ ।
• मन परमात्मामा लगाउनु भनेको मनलाई बरालिनबाट रोक्नु हो; मनलाई तालिम गराउनु हो र मनमा पुनः अपवित्रताहरू आउनबाट रोक्नु हो ।
• जीत हार बराबरी सम्झे पनि पाप लाग्दैन ।
• जसले जति पुण्य कमाए भन्छ उसले त्यति नै पाप पनि कमाउँछ ।
• कर्म श्रीकृष्णमा अर्पण गरेपछि न त पाप हुन्छ न त पुण्य नै ।
• यो नाशवान् शरीर – यसले माग्ने विषय वस्तुको आपूर्ति गर्दै जाने हो भने ब्रह्मतत्त्व वा ज्ञान/प्रज्ञा बुझ्ने र अभ्यास गर्ने साधना तिर कोही लाग्दैन र झुटो संसारको बाटो मात्र लाग्छन् ।
• दृढ विश्वास साथ व्यक्तिले यज्ञ, दान र तपस्या गर्छ भने उ सत्यको नजिक पुग्छ र सत्य कहलाउँछ ।
• जब मन सफा हुन्छ, त्यहाँ पुरुषोत्तम विराजमान हुनुहुन्छ । त्यसैले दान, तप र यज्ञलाई ज्ञान र प्रज्ञा प्राप्तिको साधन अथवा पुरुषोत्तम कहाँ पुग्ने साधनको रूपमा बुझनु पर्छ ।
• कसैले मनमा क्लेश नराख्नु होस् । आत्मा न मर्छ, न कसैले मार्न सक्छ ।
• शरीरलाई र मनलाई विश्रामले इन्धन प्रदान गर्छ ।
• चाहना भनेको अनियन्त्रित घोडाजस्तै हो; जसलाई जति छोडिदियो, त्यति नै बढी अनियन्त्रित हुन्छ ।
• मनमाथि चौकिदारी गर्नु अर्को अर्थमा मनलाई नियन्त्रण गर्नु सन्यास अवस्थाको ठूलो चुनौती हो ।
• यो त आध्यात्मिक व्यापार भयो । माता मनकामनालाई रु.१०००।- हजार चढाउने अनि एक लाखको वरदान माग गर्ने ।
• त्यही संसार ढाक्ने मायाको बादलले असिनाको बर्षा गराइ दिन्छ । अमृतमय पानी असिना बन्छ ।
• न कोही जन्मिएको हुन्छ न त मरेको नै । यो त देहीले देहान्तरण गरेको मात्र हो ।
• इन्द्रियजन्य चाहनाहरूलाई संयमरुपी अग्निमा होम गर्नु अथवा विषय चाहनाहरूलाई इन्द्रिय रूप अगिनमा होम गर्नु दुवै मानव हितमा छ ।
• योग, ध्यान र भक्तिलाई समन्वय गर्न सक्यो भने विषयभोगका चाहना उत्पन्न हुँदैन । विषयभोगका चाहनाहरूलाई ब्रह्माग्निमा होम गर्न ध्यान, योग र भक्ति बीच समन्वयात्मक ढंगले अगाडि बढाउनुपर्छ ।
• दु:खबाट बच्ने हो भने सुखको कामना गर्नु हुँदैन ।
• परमात्मा र जीवात्माबीच असल संयोजन र समन्वय हुन्छ ।
• हाम्रो शरीर असल समन्वयले चलेको छ । समन्वय विग्रनु भनेको विरामी हुनु हो ।
• जब हामी धेरै बोटविरुवाको फलहरू अन्नपात खान्छौं, तब हामीलाई तिनै बोटविरुवाले राख्छन् । हामी मरेपछि हाम्रो शरीरलाई तिनै बोटविरुवाले खान्छन् ।
• वास्तवमा दुःख र सुख भनेको केबल भ्रम मात्र हो । यो अनुभव गर्ने क्रा मात्र हो ।
• यी सबै आत्माहरू परमात्माबाट निर्देशित र नियन्त्रित हुन्छन् अथवा आत्मा परमात्माकै अंश हुन् ।
• जब मानिस स्वतन्त्र हुन्छ, उसको लागि सफलता र विफलताको आभाष हुँदैन ।
• प्राणवायुले चेतना बढाउँछ भने अपान वायुले शरीरलाई शक्ति प्रदान गर्दछ ।
• स्वास प्रश्वासलाई नियन्त्रण र सहजीकरण गर्नु नै प्राणायाम गर्नु हो ।
• त्याग विना ज्ञान प्राप्त गर्न सम्भव छैन ।
• ज्ञानकै आशक्ति पनि राम्रो होइन ।
• मनमा अपवित्रता त मद्को आशक्ति मात्रले जम्मा हुने होइन सुवासको आशक्तिले पनि जम्मा हुन्छ ।
• प्रवृत्ति मार्गमा लाग्नु भनेको निवृत्तिमार्गलाई चटक्कै छोड्नु अथवा निवृत्तिमार्गमा लाग्नु भनेको प्रवृत्तिमार्ग विर्सनु होइन ।
• शरीर साधन हो भने मुक्ति साध्य हो ।
• जति इन्द्रियहरू अनियन्त्रित हुँदै जान्छन् त्यति नै मन र हृदयमा अपवित्रता बढ्दै जान्छ ।
• भगवानको राज्यमा न्याय हुन्छ, चाकरी चल्दैन, न त घुसले नै काम गर्छ ।
• मानिसले अरूलाई ढाँट्न सक्छ तर आत्मालाई ढाँट्न सक्दैन ।
• पुरुषोत्तम भनेको परमात्मा वा परमब्रह्म हो ।
• आफूमै सबै देख्नु र सबैमा आफू देख्नु नै ज्ञान हो ।
• जसले विद्या र अविद्या बीचमा फरक छुट्याउन सक्छ, उसले आफैमा सब र सबैमा आफू देख्छ ।
• जब मानिस आत्मातत्त्वसँग नजिक हुन्छ र भूततत्त्व बाट टाढिदै जान्छ । तब आफूभित्रै सबै तत्त्व पाउँछ ।
• हाम्रो शरीर भित्रै दुर्योधन छ, रावण छ र परशुराम छ । यही शरीर भित्र धर्मराज पनि छ र राम पनि छ ।
• उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उचित हो ।
• हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ ।
८) आफ्नो बुझाइ : भगवद् गीताको दर्शनलाई विश्लेषण गर्दैगर्दा निम्म प्रसङ्गहरूलाई कृतिकारले आफूले बुझेको व्यहोराको रूपमा उल्लेख गर्नुभएकाले सोही बमोजिम पेश गरिएको छ ।
• मैले बुझेको कर्म बन्धनबाट मुक्त भनेको कर्मफल त्याग गर्नु नै हो ।
• बोधगम्य कम भएर हो वा ग्रहणशील क्षमता कमजोर भएर हो । चाहनालाई संयमको लगाम लगाउनु भन्दा चाहनालाई पलाउन नै नदिनु श्रेयष्कर हुन्छ जस्तो लाग्यो ।
• असिद्धिमा सिद्धि देख्नु भनेको कर्मयोगी भएर पनि कर्मसन्यासी हुनु हो भन्ने बुझेँ ।
• चेतनायुक्त हुनको लागि नियन्त्रण र सहजीकरण अनिवार्य हुन्छ भन्ने बुझेँ ।
उखान टुक्काको रूपमा नरहे बाँस नबजे बाँसुरी प्रयोगमा ल्याइएको प्रस्तुत कृतिमा शिरबिन्दु र चन्द्रबिन्दुको प्रयोग अनि चाहिँ, हरू, स्मृति, रूप, बिस्तारै, अत्यधिक, ऊर्जा, तत्त्व, महत्त्व, बाट, विद्वान्, फेरि, दिँदा, अरू, चाहना, बिरूवा, भगवत्गीता, बिना, सधैँ, हुँदैन, द्वेष, द्वारा, साङ्ख्य, सकिँदैन, सँग, आफैँ, बित्तिकै, रजोगुण प्रधान जस्ता शब्दहरू अनि मोहमा मोहले गुणन गर्दा क्रोध हुन्छ भन्ने वाक्यमा अन्यथा छापिएको मुद्राराक्षसको करामत पनि यहाँ उल्लेख्नुलाई असान्दर्भिक नठानिदिनु हुने अपेक्षा राखेकोछु । बरू यसै अवसरमा हो भने/होभने, भयो भने/भयोभने, र पनि/रपनि, तर पनि/तरपनि जस्ता शब्दहरूको प्रयोग एउटै अर्थमा हुन्छ वा फरक भन्ने बारेको जिज्ञासा विज्ञजनसामु यहिँ बिसाउन मन लाग्यो । सिद्धि र असिद्धिको परिभाषा, १० वटा पारमिताहरू, १० वटा शीलहरू, अष्टाङ्ग मार्गहरूको बारेमा पनि उल्लेख भएको भए मजस्ता सिकारुलाई पनि सुबोध्य हुने लाग्यो । पुण्य उद्देश्य छ र सो प्राप्त गर्न पापपूर्ण कार्य गर्छ भने महावीरले भने जस्तै पापबन्धु पुण्य हुन्छ भनिएझैँ पापी उद्देश्य लिएर पुण्यकर्म गरे पनि त्यो पापकर्म (पुण्यबन्धु पाप) नै हुन जान्छ भन्न पाएको भए झैँ लाग्यो । पृष्ठ ९२ को चित्र ५ मा परमात्मालाई शैव, वैष्णव, कृष्णप्रणामी र बैदिकको शीर्षस्थानमा राख्दा उपयुक्त हुँदो हो कि जस्तो लाग्यो ।
एकपटक जोकोहीले दृष्टि दौडाउन उपयुक्त कृतिलाई सबैले मनन गरौँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०८२ भदौ १६ गते बुधबार
कीर्तिपुर-२, अमृतनगर, काठमाडौँ ।




















