तिलक पाैडेल
देवीप्रसाद प्रसाईद्वारा लिखित ‘भगवत् गीताको दर्शन’ कृतिमा छुटाउने खालका वाक्यै रहेनछन् एकातर्फ भने अर्कोतर्फ हरेक वाक्यको प्रसङ्गले छुट्टै लेख लेख्ने ‘प्लट’ तयार हुने महसुस भयो । परिणाम, मैले अद्योपान्त पढेपछि समीक्षासम्म लेख्न मन लागेको परिणाम यो कार्याग्रसर भएको हुँ । उचाइ-निचाइउपर अग्रिम यथोचित याचना गर्दै अघि बढ्ने अनुमति चाहन्छु ।
लेखक स्वयंले प्रकाशन गरेको कुल १२६ पृष्ठको प्रस्तुत कृतिमा श्रीमद्भगवत् गीताका अठारै अध्यायहरूको दर्शनलाई संक्षिप्त विश्लेषण गरी संलग्न गरिएकोछ । कृतिमा लेखिएका सन्दर्भहरूबाट मेरो सोचाइ र तहमा मन परेका व्यहोरालाई चिन्ह लगाउँदै, पढ्दै गरेँ । कतिपय वाक्यहरूलाई मन नलाई-नलाई छाडेँ, अन्यथा पुस्तकै सारेजस्तो हुने भयो । रपनि समग्र टिपोटलाई निम्नानुसार एकीकृत गर्दा आफ्नो मनमाफिक लाग्यो । बरू कतै खसेका टङ्कन त्रुर्टिहरूलाई कताकति मिलान गरेपनि समीक्षाका खाँतिर उद्धृत गरेकाले अधिकांशत: यथारूपमै राखेकोछु । विज्ञचक्षुलाई बिझाएमा अग्रिम क्षमा चाहन्छु । विद्वतजनहरूलाई यो वर्गीकरण क्षुद्रप्रकृतिको लाग्न सक्छ, तापनि मेरो लेखकप्रतिको सम्मानस्वरूप अभिव्यक्तिएको व्यहोरा ठानी स्वीकारिदिन सदाग्रह गर्दछु ।
जस अनुसार :
१) योग, ध्यान र वैराग्य : उल्लिखित पुस्तकमा योग, ध्यान र वैराग्यका सन्दर्भमा निम्नानुसारका व्यहोराहरू उल्लेख भएको देखिन्छ
• चाहनालाई नियन्त्रित गर्नु नै योग हो ।
• जसले प्राण र अपान वायुलाई सन्तुलित गर्छ त्यो नै योगी हो ।
• योगद्वारा शरीर, मन र आत्मालाई जोडन सक्छौं ।
• गृहस्थ अवस्थामा विषयगत चाहना नहुनु भनेको कर्मयोगबाट विमुख हुनु हो ।
• कर्मयोगमा चाहनाहरूलाई नियन्त्रित गर्नुपर्ने हुन्छ भने कर्म सन्यासमा चाहनाहरूलाई मनबाटै निर्मूल गर्न जरुरी हुन्छ ।
• कर्मयोग साङ्ख्ययोग बिना कानो बन्न पुग्छ भने साङ्ख्ययोग कर्मयोग बिना लङ्गडो बन्छ । साङ्ख्यले चेतना प्रदान गर्छ भने त्यो चेतनालाई कर्मयोगले मूर्त रूप दिन्छ ।
• कर्मयोग भित्रको कर्मसन्यास भनेको यही हो, जहाँ कर्म सँगसँगै कर्म सन्यास पनि गरिरहेको हुन्छ ।
• जब व्यक्तिमा बढी वैराग्य वा सन्यासी भाव बढ्छ, पुरुषोतम भगवानले कर्मयोग बढाई दिनुहुन्छ र मानिस सकाम र निष्काम कर्मयोग गर्छन् ।
• साङ्ख्ययोग अध्ययन गर्दा ज्ञान नै सर्वोच्च योग हो जस्तो लाग्छ । कर्मयोग पढ्दा, साधना गर्दा, कर्म नै सर्वोच्च, ध्यानयोगमा प्रज्ञा र ज्ञानको सर्वोच्चता अनुभूती हुन्छ भने अध्याय १२ मा भक्तियोग पढ्दा यो नै सर्वोच्च योग हो जस्तो लाग्छ ।
• साङ्ख्य र कर्मलाई विपरीत ध्रुव देख्नु अल्पज्ञानको परिचायक हो भने साङ्ख्य र कर्म एक अर्काका पूरक देख्नु ज्ञानको परिचायक हो । त्यो भन्दा पनि माथि साङ्ख्य र कर्मलाई एउटै देख्नु पूर्णज्ञानको वा बुद्धिमानीको परिचायक हो ।
• जति ध्यानमा डुब्दै जान्छ, उति उसले भूत शरीर छाड्दै आत्मा तत्त्वलाई समाउँदै जान्छ ।
• वैराग्य आउनु भनेको चाहना नआउनु होइन, बरु चाहनाहरूमा ह्रास आएको चाही पक्का हो ।
• वैरागीमा चाहना सीमित हुन्छ, तर सन्यासीमा चाहना एउटा मात्र हुन्छ – त्यो हो परब्रह्ममा ध्यान लगाउनु र आध्यात्मिक शान्ति र आनन्द प्राप्त गर्नु ।
• सबै वैरागी वा वैराग्य आउने मानिस सन्यासी हुन सक्दैनन् ।
• सन्यासी त्यो हो; न त उसमा द्वेष छ, न त चाहना नै ।
२) कर्म, अकर्म र विकर्म : प्रस्तुत कृतिमा कर्म, अकर्म र विकर्मका सम्बन्धमा तपसील बमोजिमका व्यहोराहरू मलाई मननीय र अभिलेखनीय लागे
• मन, वचन र शरीरद्वारा यो लोक र परलोकमा फल दिने क्रियालाई नै कर्म भन्दछन् ।
• ध्यान गर्नु, योग गर्नु, तपश्या गर्नु पनि कर्म नै हो ।
• अर्थशास्त्रीहरू भन्छन् चाहना बिना कर्म हुँदैन ।
• कर्म नै जीवन हो भन्ने सन्देश गृहस्थी अवस्थाले दिन्छ ।
• भौतिक संसारमा उद्देश्य विना कर्म हुँदैन ।
• शरीरले पवित्र कर्म नगर्ने हो भने आत्माले मुक्ति पाउन सक्दैन ।
• मानिसले खाने भोजनले दृष्टिकोणमा प्रभाव पार्दछ । दृष्टिकोणले विचार र विचारले कर्ममा प्रभाव पार्दछ ।
• कुनै पनि फल नदिने क्रियाकलापलाई अकर्म र खराब फल उत्पन्न गर्ने क्रियाकलापलाई विकर्म भन्दछौँ ।
• मनले इन्द्रिय र शरीरलाई, बुद्धिले मनलाई, बुद्धिलाई आत्माले नियन्त्रण गरेन भने अपवित्र कर्म गर्दछौँ ।
• कर्म गर्दा फलको आशा नगर्नु, निष्काम कर्म गर्नु र ज्ञान वा प्रज्ञा प्राप्ति गर्दा पनि कर्मको प्रबर्धन गर्ने हेतुले गर्नु, साङ्ख्यलाई कर्मयोग देख्नु र कर्मलाई पनि साङ्ख्य नै देख्नु श्रेयस्कर छ ।
• निष्पाप हुन अकर्म हुन जरुरी छ ।
• जुन कर्मबाट कुनै प्रतिक्रिया प्राप्त हँदैन, त्यस्तो कर्म अकर्म हो ।
• अकर्म न त कर्म बन्धनमा बाँधिन्छ, न त विकर्म अथवा विपरीत कर्मतिरै लाग्छ ।
• कर्म गर्दा पनि अकर्म गरेको मानी गरेमा पुण्य र पापबाट छुटकारा पाइन्छ ।
• कर्ममा अकर्म र अकर्ममा कर्म देख्नु नै वृद्धिमानी हो अथवा त्यो नै उत्कृष्ट ज्ञान हो।
• पापी सोच मनमा आउनु भनेको विकर्म हो ।
• कसाईले श्रीकृष्णलाई संझेर हात मुख जोर्न पुग्ने मात्र नाफा लिएर आपूर्ति गरिएको मासु काटेर बेच्छ भने हेर्दा त्यो विकर्म जस्तो भए पनि कर्म नै हो ।
• जुन हिंसात्मक कार्यको उद्देश्य पवित्र छ, विकर्म भित्र कर्म देख्न सकिन्छ ।
• कर्ममा अकर्म, अकर्ममा कर्म, विकर्ममा कर्म र कर्ममा विकर्म देख्नु भनेको समदर्शी हुनु हो अथवा हृदयमा नकारात्मक
कुराभित्र पनि सकारात्मक पक्ष देख्नु र सकारात्मक कुराभित्र पनि नकारात्मक पक्ष देख्नु नै भावातीत (Transcendental) अथवा उत्कृष्ट भावातीत हुनु हो । विकर्ममा अकर्म, अकर्ममा विकर्म देख्नुलाई सार्थक नभएपनि परिभाषामा समेट्दा के हुन्थ्यो होला ?
• सन्यास लिँदा मनको र बुद्धिको परीक्षा नलिई दीक्षान्त दिनु पुण्य कर्म नभएर पाप कर्म नै हो ।
• मानिस कामना साथ कर्म गर्दछ तब कर्मफलको बन्धनमा बाँधिन्छ ।
• कर्मफल त्याग गरेमा न पुण्य आर्जन गर्ने लोभ हुन्छ; न त पाप लाग्ला भन्ने डर नै ।
• भगवानले हाम्रो पवित्र कर्मलाई नजरअन्दाज गर्न सक्नुहुन्न । न त अपवित्रता वा पाप नै पखाल्न सक्नुहुन्छ ।
• कर्मबन्धनबाट मुक्त हुनु भनेको आत्मा र परमात्मालाई बुझनु हो वा ज्ञान प्राप्त गर्नु हो ।
• कर्म बन्धनबाट पूर्ण रूपमा मुक्ति हुनु भनेको जन्मनु तथा मर्नु नपर्ने अवस्था हो ।
• सुख-दु:खबाट मुक्त हुनु भनेको कर्मबन्धनबाट मुक्त हुनु हो।
• कर्मबन्धनबाट मुक्त हुनु भनेको कर्म नगर्नु भनेको होइन, फलको कामना गर्नु वा फल सहित सम्पूर्ण कुरा परमेश्वरमै समर्पण गर्नु हो ।
• जब सफलता भित्र असफलता देख्छ अथवा असफलता भित्र पनि व्यक्तिले सफलता देख्छ उ कर्मबन्धनबाट मुक्त हुन्छ ।
• जब कर्मबन्धनबाट कोही व्यक्ति मुक्त छ भने न त उसबाट पाप कर्म हुन्छ, न त पुण्य कर्म नै ।
• मनबाटै चाहना ननिस्कने हो भने उ कर्मबन्धनमा पर्दैन ।
• कर्मबन्धनबाट मुक्त हुने हो भने आफू कर्ता होइन सबै परमेश्वरबाट गराइएको हो म त केबल माध्यम अथवा रचिएको पात्र मात्र हुँ भनी कर्म सम्पादन गर्नु पर्छ ।
• आत्मा परमात्माको अंश हो र आफू भगवानको अंश हुँ भन्ने कुरा बुझेपछि व्यक्ति कर्मबन्धनमा पर्दैन । सुख, दुखको चक्करमा पर्दैन । जन्ममृत्युको बन्धनबाट मुक्त हुन्छ ।
• सन्यास भनेको कर्मबन्धनबाट छुटकारा हो ।
• कर्मसन्यास भनेको नियन्त्रित चाहना भएको अवस्था हो ।
• ज्ञानमा आशक्ति बढ्नु भनेको कर्मसन्यासी हुनु हो ।
• कर्मसन्यास लिएँ भनेको फलको इच्छालाई त्यागी दिएको हो ।
• कर्मसन्यास भनेको ज्ञान हो । सकाम कर्म भनेको ज्ञानलाई छोप्ने बर्को हो ।
• कर्मसन्यास गर्नु भनेको काम्यक कर्म मात्र छोडनु हो । आध्यात्मिक कर्म छोड्नु भनेको होइन ।
• कर्म गर्नेले नै कर्मसन्यास गर्न सक्छन् । यदि कर्म नै नगरी सन्यास गर्यो भने कर्मसन्यासी हुन सक्दैन ।
• कर्मसन्यास धारण गरेका व्यक्तिमा पनि यौन चाहना हुन्छ नै ।
• कर्मसन्यास लिएका अथवा सन्यासी अवस्थामा चाहनाहरूको उत्पादन नै नहुनु राम्रो हो ।
• वास्तवमा जसले कर्म गरेकै छैन भने कर्मसन्यासको अर्थ के ?
• साङ्ख्ययोग बिनाको कर्म अन्धो हुन्छ अथवा कर्म त गर्छ तर चेतना हुँदैन । त्यस्तै कर्म विनाको साङ्ख्य हातखुट्टा विनाको टाउको हो, जुन अरूको सहारा बिना अगाडि बढ्न सक्दैन ।
• जसले फलाशक्ति अथवा फलको कामना नलिई अथवा निष्काम कर्म गर्छ, पवित्र कर्म गर्छ, उसले एउटै कर्म राम्ररी पूरा गरेमा साङ्ख्य वा कर्मसन्यास दुवैको फल पनि प्राप्त हुन्छ ।
• कर्म र साङ्ख्यलाई एउटै रथका दुई पाँग्राको रूपमा हेर्ने, एउटै सिक्काका दुई पाटाको रूपमा हेर्ने दृष्टिकोण बढी व्यावहारिक हुन्छ र सत्य पनि त्यही हो ।
• साङ्ख्य अथवा कर्म सन्यास निवृत्ति मार्ग हो; त्यागको मार्ग हो र मुक्तिको मार्ग हो ।
क्रमश: …
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०८२ भाद्र २१ गते शनिबार
कीर्तिपुर-२, अमृतनगर, काठमाडौँ ।




















