कृष्ण प्रसाद पोखरेल
समय मानव निर्मित एक अत्यन्तै उपयोगी मापन प्रणाली हो । हाम्रा चाडपर्वहरु पनि कुनै खास समयमा खास उद्धेश्य सहित मनाइने परम्परा देखि चलिआएको सामाजिक रीतिरिवाज हुन् । त्यसैले समय र चाडपर्वहरु वीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । जुन पर्व जुन समयमा गर्नु पर्ने हो सोही समयमा गरिएन भने त्यसका स्थापित मान्यता र परम्परामा आँच आउँदछ । साउने संक्रान्तिमा लुतो फाल्ने परम्परा कसैले भाद्र संक्रान्तिमा गर्दछ भने त्यो उपहासको पात्र बन्दछ । सूर्य उदाएर क्षितिजको निकै माथि आइपुग्दा कसैले भरखर सूर्याेदय भयो भन्दछ भने त्यसलाइ सवैले मगज खुस्केको भन्दछौं । तर कतै हामीले मनाउने पर्वहरु विना सोंच समझ कु–समयमा गर्ने गरिएको त छैन ? यस बारे विष्लेषण गरिनु आबश्यक छ ।
समय र गणितका थुप्रै मान्यताहरु सूर्य र चन्द्रमाको आकाशमा देखिने गतिलाई आधार मानेर तयार पारिएका छन् । त्यसका अलावा कुनै यन्त्रको सहायता विना नांगो आँखाले आकाशमा देखिने ग्रहहरुको पनि त्यतिकै भूमिका रहेको छ । आकाशको कुनै भौतिक अस्तित्व नभए पनि हामीले माथि हेर्दा एक विशाल अर्धगोलाकार वस्तुले पृथ्वीलाई छोपेर राखेको भान हुन्छ । राती हेर्दा चन्द्रमा लगायत संपूर्ण ताराहरु त्यही गोल आकाशको भित्तामा टाँसिएर रहेको जस्तो देखिन्छ । जुन जुन ताराहरु आकाशको जुन जुन ठाँउमा टाँसिएर रहेको जस्तो देखिन्छन् ती ताराहरु सधै भरी त्यही निश्चित स्थानमा रहने गरेको पाउँदछौ । ताराहरु उदाउने र अस्ताउने त सिंगो आकाश पश्चिम तर्पm घुम्ने गरेर भएको भान हुन्छ । जसरी पृथ्वीमा रहेका पहाड, उपत्यका, मैदान, नदी नाला, समुन्द्र जुन ठाँउमा छन् त्यही ठाँउमा रहिरहने हुनाले मोटर, रेल, पानी जहाज तथा हवाइजहाजमा यात्रा गर्दा एक ठाँउमा छोडेर अर्का ठाँउमा गएको सजिलै देख्न सकिन्छ, त्यस्तै गरी चन्द्रमा लगायत अन्य ग्रहहरु एक ठाउँबाट अर्काे ठाँउमा गएको हेर्न तिनै स्थीर बसेका ताराहरुलाई छोडेर अर्को ताराहरु नजिक गएको छ छैन भन्ने आधारमा गरिने हो । हरेक दिन आकाशमा चन्द्रमाको स्थान हेर्ने हो भने हिजो चन्द्रमा जुन तारा नजिक थियो आज त्यो स्थान छोडेर धेरै पूर्वमा रहेको ताराहरु नजिक पुगेको देख्छौ । यसरी नै सबै देखिने ग्रहहरुलाइ सधै हेर्ने गर्ने हो भने संगैको ताराहरुलाई छाड्दै अर्काे ठाँउमा सर्ने गरेको पाउँछौं । यसरी आकाशमा ताराहरुलाई छोड्दै अर्काे ठाँउमा सरेको देखिने आकाशीय पिण्डलाई ग्रह (ठाँउ सर्ने) भनिएको हो । हाल आएर ग्रहको परिभाषा बदलिएको छ तापनि शुरुको अवस्थामा ग्रहको परिभाषा यही हो । त्यसैले सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पती, शुक्र र शनी आकाशमा ठाउँ सरेको देखिने भएर ती सबैलाई ग्रहको रुपमा मानिएको हो । यी सात ग्रह र सूर्य ग्रहण र चन्द्र ग्रहण हुँदा छायाँ पर्ने अदृष्य ग्रहको रुपमा राहु र केतुको नाम दिएर हामीले पूजा गर्ने नव ग्रह बन्न पुगेका हुन् । आकाशमा देख्न सकिने माथि उल्लेखित सात ग्रहहरुको नामबाट सात वारको नामाकरण गरिएको छ । यसबाट हप्ताको उत्पत्ति भयो । हप्ताको सातैवार संस्कृत र अंग्रजीमा समान छन् ।
चन्द्रमाले आकाशमा ठाउँ सरेको देखिने र चन्द्रमा हँसिया आकारबाट बढ्दै गएर गोलो देखिने अनि घट्दै गएर पुरै नदेखिने चन्द्रकला अवलोकनबाट महिनाको विकास भएको छ । चन्द्रमा पुरै गोलो देखिने (पूर्णिमा) बाट पुनः अर्काे पुरै गोलो देखिने अवस्था अथवा पटक्कै नदेखिने दिन (औशी) बाट अर्काे पटक्कै नदेखिने दिनसम्मको गणना गर्दा ३० दिन (हालको मापन अनुसार २९.५ दिन) हुने हुनाले ३० दिनको एक महिना विकास भएको छ । यसलाई चन्द्र महिना भनिन्छ ।
सूर्यको उदय अस्तबाट दिन र रातको विकास भएको छ भने सूर्य आकाशको एक तारालाई छोडेर एक चक्कर लगाई पुनः त्यही तारा भएको ठाँउमा आइपुगेको देखिने अबधिलाई एक बर्षको रुपमा लिईएको छ । पहिलेका मानिसहरुले अवलोकन गर्दा बाह्र चन्द्र महिना अर्थात् ३६० दिनमा सूर्यले एक चक्कर पुरा गर्ने गरेको पाएबाट बाह्र महिना अथवा ३६० दिनको एक बर्ष कायम गरिएको थियो । सूर्यले प्रत्येक दिन केही ठाउँ सर्ने र ३६० दिनमा एक वृत्त पूरा गर्ने कारणले सूर्यले एक दिन सरेको कोणीय नापलाई एक डिग्री मानी हालसम्म पनि वृत्तमा ३६० डिग्री हुने प्रचलन कायम नै छ ।
चन्द्रमा र अन्य ग्रहहरुले जस्तो आकाशमा सूर्यले ठाँउ सरेको हेर्न त्यति सजिलो छैन । त्यसका लागि बिहान सूर्य उदाउनु भन्दा पहिले उदाउने ताराहरु हेर्नु पर्दछ । हरेक दिन सूर्य उदाउनु भन्दा पहिले उदाउने तारा हिजो भन्दा आज ४ मिनेट पहिले, भोली ८ मिनेट पहिले, पर्सी १२ मिनेट पहिले गर्दै उदाउन थाल्छन् । यसबाट हरेक दिन सूर्य एक डिग्री पूर्व सर्दछ भन्ने जानकारी मिल्दछ । यसरी सूर्य सरेको देखिनु वास्तवमा पृथ्वीले सूर्यको परिक्रमा गर्ने कारणबाट भएको हो ।
जब सूर्य र चन्द्रको आकाशमा सर्ने गति नाप्ने कुरामा सुधार भयो तब चन्द्र महिना २९.५ दिन र सूर्यले एक चक्कर लगाउने समय अर्थात् एक बर्ष ३६५ दिनको हुने कुराको जानकारी मिल्यो । यसरी एक वर्ष १२ चन्द्र महिनामा ( १२ह२९.५) जम्मा ३५४ दिन र एक वर्षमा ३६५ दिन हुन गई ११ दिनको फरक पर्ने अवस्था आयो । यो फरक परेको ११ दिनलाई वर्षमा कुनै तरीकाले मिलान नगर्ने हो भने चन्द्र महिना अनुसार असोजको १० गते मनाउने दशैंको टीका एक वर्षपछि ११ दिन सरेर भदौको २९ गते २ वर्षपछि भाद्र १८ गते हुँदै आषाढ श्रावण या जुनसुकै महिनामा पनि सर्दै आउने भयो । यसरी नै सवै चाडपर्व तथा श्राद्ध कार्यहरु पनि सर्दै जाने हँुदा सबै चाडपर्वहरुलाई मनाउँदै आएको समय आसपास मिलाउन अथवा पर्व समयमा सुधार ल्याउन कुनै खास वर्षमा एक चन्द्रमास मलमासको रुपमा थपी १३ चान्द्रमासको एक बर्ष बनाउने गरी प्रचलनमा ल्याईएको छ । वैदिक कालमा सूर्य उत्तरायण हुने माघ महिनाबाट वर्षको शुरु हुने प्रचलन भएको र ३ वर्ष जतिमा मलमास थप्दा आषाढ महिना वा पौष महिनामा थप्ने गरिन्थ्यो, तर भाष्कराचार्यको सूर्य सिद्धान्त ज्योतिष प्रचलनमा ल्याईएपछि वैशाख महिनाबाट वर्ष शुरु हुने र ३२ महिना १६ दिनपछि एक चान्द्र महिना थप गर्ने मलमास प्रथा शुरु भएको हो । २०७४ सालको दशै घटस्थापना असोज ४ गते परेको थियो र यदि २०७५ साल दशै अगाडि मलमास नराख्ने हो भने दशै भाद्र महिनाबाटै शुरु हुन्छ । तसर्थ २०७५मा मलमास राखी चाडपर्वहको निर्धारित ऋतुहरुमा नै पर्ने गरी समय सुधार गर्नु पर्दछ । यसरी हाम्रा चाडपर्व मनाउने निर्धारित समयहरुमा नपर्ने अवस्था आएमा पर्व समय सुधार गर्ने प्रथा वैदिक कालदेखि नै रहँदै आएको छ ।
हाल आएर सूर्य प्रत्येक वर्ष ज्यादै थोरै पश्चिम तर्फ सर्ने प्रकृयाका कारण ऋतुहरु झण्डै एक महिना पहिले शुरु हुने अवस्थामा पुगेकोले फेरि एक पटक पर्व समयमा सुधार गर्नु पर्ने अवस्था रहेको छ ।
के कारणले ऋतु शुरु हुने समय अगाडि सर्छ ?
पृथ्वीको ठीक उत्तरी ध्रुवमा राती मानिस उभिने हो भने टाउकोको सिधा माथि आकाशमा ध्रुव तारा देखिन्छ ।
त्यहाँबाट आकाशका तारा रातभर हेर्ने हो भने ध्रुव तारा कतै नसरी अटल बसेको र अन्य सबै ताराहरु दाइँमा बाँधेको गोरुहरु मियोको वरिपरि घुमे भैm ध्रुव ताराको वरिपरि परिक्रमा गरेको देखिन्छ । यसबाट पृथ्वीको दैनिक गतिमा २४ घण्टामा एक पटक परिक्रमा गर्दा अक्ष यही ध्रुव तारा तर्फ फर्काएर घुम्ने गर्दो रहेछ भन्ने कुरा थाहा हुन्छ । तर पृथ्वीको अक्ष सधैभरि त्यही ध्रुव तारातर्फ फर्कने भन्ने हुँदो रहेनछ । बिवक्रम सम्वत् शुरु हुँदाको बखत पृथ्वीको उत्तरी ध्रुवमा राती उभिने मानिसको टाउको माथि अहिलेको ध्रुव तारा नभएर हाल केही पूर्वमा देखिने तारा ध्रुवताराको रुपमा देखिन्थ्यो । अहिलेको ध्रुव तारा लगायत अन्य ताराहरुले त्यही ध्रुव तारालाई केन्द्रमा राखी परिक्रमा गर्दथे । अबको २ हजार वर्षपछि ध्रुव ताराको रुपमा अर्को नयाँ तारा रहने र त्यही तारालाई केन्द्रमा राखी अरु ताराहरुले परिक्रमा गर्ने छन् । यसरी पृथ्वीको अक्ष पश्चिम तर्पm (घडीको सुइको दिशामा) बिस्तारै सर्ने कुराको जानकारी मिल्यो । वैज्ञानिकहरुले गरेको मापन अनुसार पृथ्वीको अक्षको फर्काइ विस्तारै सरेर फेरि हालको ध्रुव तारा भएको ठाँउमा आइपुग्न २६००० वर्ष लाग्दछ । पृथ्वीको यस प्रकारको घुमाइलाई अयन भनिन्छ र यही कारणले गर्दा पृथ्वीमा ऋतु शुरु हुने समय छिटो छिटो हँुदै जान्छ । यदि हाम्रो प्रचलनमा रहेको महिनालाई यथावत् राख्ने हो भने १३००० बर्ष पछाडी पुष, माघ गर्मी महिना र जेठ, असार जाडो महिना हुन जान्छन् । यसरी ऋतु आउने प्रकृया वर्षमा करिब २० मिनेट, ७१ वर्ष लगभगमा १ दिन र २१३० वर्ष जतिमा १ महिना हुने हुनाले हामीलाई ऋतु सरेको अनुभव हँुदैन । तापनि विक्रम सम्वत् २०७५ हँुदासम्म विक्रम सम्वत् शुरु हँुदाका ऋतु एक महिना ( २४.२५ दिन ) अगाडि सरिसकेको छ । यसको प्रत्यक्ष प्रमाणको लागि सूर्य उत्तरायण र दक्षिणायण भएको अवलोकन गर्नु पर्दछ ।
कसरी गर्ने सूर्य उत्तरायण र दक्षिणायण हुने अवलोकन ?
कसैले भनेको कुरामा विश्वास गर्नु पूर्व सो कुरा आपैmले गर्ने र हेर्ने गरेमा त्यस बारेको हाम्रो भ्रम हट्ने र दरिलो बिश्वास बन्दछ । सूर्यको उत्तरायण र दक्षिणायण अवलोकन गर्न हरेक महिनामा एक दूई दिन बिहान सूर्योदय र बेलुका सूर्यास्त हेर्ने गर्नु पर्दछ । महिनाको कुनै दिन बिहान बिहान पूर्व क्षितिजमा फोटो मोबाइलमा खिच्नुहोस् । त्यस्तै गरी त्यही महिनाको अर्को दिनको सूर्योदय हुँदाको फोटो पनि खिच्नुहोस् । यसरी नै सूर्यास्त हुँदाको फोटो पनि खिच्दै जानुहोस् । केही महिनासम्म खिचेका सूर्यादयको फोटोहरु तुलना गरी हेर्ने । विभिन्न महिनामा पूर्वी क्षितिजको सूर्योदय हुने स्थान हामी पूर्व तर्पm फर्कदा दाँया वा वाँया कता तर्पm सर्दै गरेको छ सो पत्ता लगाउने । पूर्व फर्कदा देब्रे तिर उत्तर र दाहिने तर्पm दक्षिण हुने हुँदा यदि सूर्य उदाउँदा देब्रे तर्पm सरेको भए उत्तरायण र दाहिने तर्पm सरेको भए दक्षिणायण भन्ने बुझिन्छ । त्यसै गरी सूर्यास्तका फोटोहरु पनि तुलना गरी हेर्नुहोस्, उत्तरायण वा दक्षिणायण के भएको छ पत्ता लगाउनुहोस् । हामी पश्चिम तर्पm फर्कदा दाहिनेतर्पm उत्तर र देब्रेतर्पm दक्षिण हुने कुरा नविर्सौं । यसरी सूर्याेदय र सूर्यास्तको अवलोकन गर्दा उत्तरायण वा दक्षिणयण के भईरहेको छ सो प्रष्ट हुन्छ । यसमा खास गरी आषाढ र पौष महिनाको १ गते देखि १२ गतेसम्म हरेक दिनको सूर्योदय र सूयास्तको फोटो खिची तुलना गर्ने हो भने आषाढको ६ गतेपछि सूर्यको दक्षिणायण र पौष ६ गतपछि उत्तरायण हुन थाल्ने प्रष्ट देख्न सकिन्छ । त्यसैले हामीले मानी आएको श्रावण सक्रांतिबाट सूर्य दक्षिणायण र माघे सक्रांतिबाट उत्तरायण हुने कुरा पूर्ण रुपले गलत भैसकेको छ । जुन दिन सूर्य दक्षिणायण हुन थाल्छ, त्यो दिन सबैभन्दा लामो दिन र जुन दिन सूर्य उत्तरायण हुन थाल्छ, त्यो रात सबै भन्दा लामो रात हुन जान्छ । त्यसैले १५ आषाढ लामो दिन र १५ पौष लामो रात भन्ने कुरा पनि गलत हुन्छ । सोही अनुसार वैशाख १ गते र कार्तिक १ गते दिन र रात बराबर हुन्छ भन्ने कुरा पनि गलत भैसकेको छ । हाल आएर दिन रात बराबर हुने चैत्र ६ गते र असोज ६ गते हुन् ।
उत्तरायण र दक्षिणायण अगाडि सर्ने कुरा वैदिक कालमै जानकारी थियो । त्यति बेला उत्तरायण हुने दिनबाट वर्ष शुरु हुन्थ्यो । उत्तरायण शुरु हुँदा सूर्य धनिष्ठा नक्षत्रको अन्त्यमा रहने गरेको कुरा वेदमा उल्लेख गरेको पाईन्छ । धनिष्ठा नक्षत्र कुम्भ राशीको शुरुमा पर्ने र कुम्भ राशीमा सूर्य हुने महिना फाल्गुण भएकोले वैदिक कालमा फाल्गुण संक्रांन्तिबाट सूर्य उत्तरायण हुने गरेको कुरा सिद्ध हुन्छ । जब उत्तरायण हुने समय धेरै अगाडि सर्दै आयो तब उत्तरायण हुने दिनबाट सुरु हुने वर्ष पनि सार्दै आए । पछि महाभारत कालसम्म आइपुग्दा उत्तरायण हुने समय माघे संक्रान्तिमा पर्ने र सोही दिनबाट नयाँ वर्ष शुरु हुने कुरा महाभारतबाट थाहा हुन्छ । यसरी उत्तरायण हुने दिन माघे संक्रान्ति दक्षिणायण हुने दिन साउने संक्रान्ति पर्वको रुपमा मनाईने गरियो । पछि आएर उत्तरायण हुने दिन पौष १५ र दक्षिणायण हुने दिन आषाढ १५ मा सरेपछि १५ असार र १५ पुष मनाउने चलन शुरु भएको स्वतः सिद्ध छ । अव अहिले आएर उत्तरायण हुने दिन पौष ६ मै पर्न आएपछि पर्व समयमा सुधार गर्नुपर्ने आबश्यकता आइप¥यो । वैदिक कालमा उत्तरायण ६ डिग्री सर्दासम्म पनि पर्व समय नसारिएको पाईएकोले त्यही वैदिक परम्परा कायम गर्दै पौष ६ गतेबाट पौष १ गते उत्तरायण हुने मान्दा ६ डिग्री सम्मको मात्र अन्तर हुने हुनाले अब आइन्दा हालको पौष संक्रान्तिलाई उत्तरायण हुने दिन र आषाढ १ लाई दक्षिणायण हुने दिन कायम गरी पर्व सुधार ल्याउन उपयुक्त देखिन्छ । तर पौषबाट उत्तरायण र आषाढबाट दक्षिणायण कायम गर्दा महिनाका नामाकरण बारे विबाद हुन सक्छ ।
महिनाको नामाकरणका आधारहरु के छन् ?
पृथ्वीलाई विभिन्न महादेश तथा देशहरुमा बाँडे भैm उत्तरी गोलाद्र्धको आकाश र दक्षिणी गोलाद्र्धको आकाशलाई ८८ वटा प्रदेशमा बाँडिएको छ । ती प्रदेशहरुलाई तारामण्डल भनिन्छ । ती ८८ तारामण्डल मध्ये सूर्य चन्द्र लगायत सवै ग्रहहरुले घुम्ने चक्रपथमा पर्ने १२ प्रदेश अथवा तारामण्डललाई १२ राशी भनिन्छ । यी १२ प्रदेशको क्षेत्र ३० – ३० डिग्रीका टुक्रा मानी हाम्रा ज्योतिष शास्त्रीहरुले गणना गर्ने गर्दछन् । यो चक्रपथको नाम रविमार्ग हो । यो चक्रपथमा देखिने चहकिला ताराहरुलाई ३० – ३० डिग्रीले बाँडेका टुक्राहरुमा पर्ने शहरहरुका रुपमा नामाकरण गरिएको छ । पहिलो शहर वा राशी मेष, दाश्रो वृष हँुदै १२औं शहर वा राशी मीन नामाकरण गरिएका छन् । सूर्यले त्यो चक्रपथमा भ्रमण गर्दा एउटा शहर वा राशी पार गर्न १ महिना लगाउँछ । तर चन्द्रमाले भने त्यो चक्रपथ पुरै भ्रमण गर्न करिब २७ दिन लगाउछ । त्यसैले त्यो चक्रपथमा चन्द्रमाले एक दिनमा पार गर्ने १३ डिग्री २० मिनेटको शहरको वडाको रुपमा मानी २७ टुक्रामा विभाजन गरिएको छ । ती २७ वडालाई अश्विनी, भरणी, आदि नाम गरिएका नक्षत्र भनिन्छ । त्यसैले १२ वटा शहरमा २.२५ वडा वा नक्षत्र पर्दछन् । हाम्रा चिना निर्माणदेखि विभिन्न साइत तथा पर्वहरुमा सूर्य चन्द्र लगायत अन्य ग्रहहरु त्यो चक्रपथ भ्रमण गर्दा कुन शहर वा वडामा पुगेका छन् भनी गणना गरी निकाल्ने गरिन्छ । हाम्रा महिनाको नाम राख्दा सम्वन्धित महिनाको पूर्णिमाको दिन चन्द्रमा चक्रपथको कुन शहरको कुन वडामा पुगेका हुन्छन् त्यही वडाको नामबाट महिनाको नामाकरण भएको छ । यस वर्षभन्दा १९४० वर्ष पहिले जुन दिन मीन राशीको (शहरको) रेवती भन्ने अन्तिम (२७औं) नक्षत्र वा वडा छाडेर मेष नामको पहिलो शहर वा राशीमा पर्ने अश्विनी नामको पहिलो नक्षत्र वा वडामा सूर्य प्रवेश गरेको थियो त्यसै दिनबाट नयाँ वर्ष सुरु भएको मानी त्यसलाई वैशाख नाम दिइयो । किन भने त्यो महिनामा पूर्णिमाको दिन चन्द्रमा तुला नामको शहर वा राशीको विशाखा भन्ने वडा वा नक्षत्रमा पुगेको थियो । त्यही विशाखा टोलको नामबाट वैशाख नाम राखिन गयो । त्यस्तै गरी अन्य महिनाको नामाकरण कसरी भयो भन्ने कुरा तल उल्लेखित चार्टबाट प्रष्ट हुन्छ ।
शक सम्वत् शुरु हुँदा १९४० बर्ष पहिले १२ महिनाको नाम जुन आधारमा राखियो सोही अनुसार हालको महिना मिलान गर्ने हो भने माथिको चार्टबाट प्रष्ट हुन्छ चैत्रलाई वैशाख, वैशाखलाई जेष्ठ गर्दै फाल्गुणलाई चैत्र गरी मिलाउनु पर्दछ । यसो गरेमा माथि उल्लेखित उत्तरायण – दक्षिणायण, लामो रात – लामो दिन तथा रात दिन बराबर हुने कुरामा देखिएको समस्या समाधान हुन्छ । होइन भने हामीले साउने संक्रान्ति मानेर लुतो फाल्दै आएको दिन भाद्र संक्रन्तिको दिन हुन्छ ।
के यो कुरा पात्रो लेख्ने ज्योतिषहरुलाई थाहा छैन ?
किन थाहा नहुनु ? सवै कुरा थाहा छ र हाल प्रचलनमा रहेका पात्रोमा पनि यो कुरा दर्शाइएको छ । तर परम्परागत रुपमा झुठ् कुरा पनि उल्लेख गरिदै आएको छ ।
२०७४ सालको सूर्य पञ्चांग (पात्रो) हेर्नु भो भने आषाढ ७ गते ब्रत् विवरण खण्डमा कर्कटमा दृष्य सूर्य र सवैभन्दा लामो दिन भन्ने उल्लेख छ । कर्कटमा दृष्य सूर्यको अर्थ हो कर्कट राशीमा सूर्य सरेको देखिने अथवा त्यो दिन कर्कट संक्रान्ति वा साउने सक्रान्ति हो । सो दिन सवैभन्दा लामो दिन वा सो दिनबाट सूर्य दक्षिणायण शुरु भएको दिन हो भन्ने अर्थ हो । यसलाई सर्वसाधारणले नबुझिने भाषामा उल्लेख गरी छाडिएको छ । दक्षिणायण शुरु भएको २४ दिन पछि कर्कट संक्रान्ति र दक्षिणायण आरम्भ भन्ने उल्लेख भएको पाईन्छ । एकातिर सही समय पनि उल्लेख गरिन्छ भने अर्को तर्पm गलत समय पनि परम्परालाई छाड्न नसकेको प्रष्टै छ । यस्तै पौष ६ गते र माघ १ गतेको अवस्था पनि त्यस्तै छ । फेरि २०७४ चैत्र ६ गते पनि ब्रत् विवरण खण्डमा मेषमा सूर्य दृष्य लेखिएको छ । यसको मतलब चैत्र ६ गते नै सूर्य मेष राशीमा प्रवेश गरेको देखिने भन्ने हो । अर्थात् त्यो दिन २०७५ वैशाख संक्रान्ति हो भन्ने अर्थ हो । यसरी चैत्र महिनामा नै वैशाख महिना शुरु हुँदाहुँदै पनि सो कुरा सर्वसाधारणलाई बुझाएर समय सुधार गर्ने हिम्मत मात्र ज्योतिषहरुमा नभएको हो ।
निष्कर्ष :-
माथि उल्लेखित सबै कुराहरु केलाएर हेर्ने हो भने सबै आधारमा पर्व समय सुधार गर्न जसरी ३२ महिना १६ दिनमा मलमास राख्ने प्रचलन छ, त्यसरी नै हरेक २१३० वर्षमा १२ महिनाको चक्र एक महिना अगाडि घुमाई चैत्र महिनालाई वैशाख र फाल्गुण महिनालाई चैत्र हुने गरी मिलान गरिने प्रथा शुरु गरिनु आबश्यक छ । यसो गर्दा निर्धारित समयमा मनाईने चाडपर्वहरु सोही अबधिमा नै परिरहने हुन्छन् । त्यस्तै महाभारत एवं अन्य पुराणहरुमा मकर संक्रान्तिबाट सूर्य उत्तराण हुन्छ भन्ने उल्लेख भएको कुरा सत्य रहिरहने पनि हुन्छ ।
पर्व समय सुधार गर्ने विषयमा विभिन्न पक्षमा छलफल हुने गरे तापनि दिनको शुरुवात् विहान सूर्योदयबाट गर्ने कि राती १२ बजेबाट गर्ने भन्ने विषयमा पनि बहस गरी टुङ्गोमा पुग्नु आबश्यक छ । हालको जस्तो घडीको विकास पहिले नभएकोले सूर्योदयबाट दिनको शुरुवात् गर्नु सर्वथा उपयुक्त थियो । तर कतिपय कुराहरुमा पश्चिमा मुलुकहरुले प्रचलनमा ल्याएको १२ बजे मध्यरातबाट नयाँ दिन सुरु गर्ने नियमलाई पनि अँगाल्ने गरिएबाट केही समस्या बन्ने अवस्था खडा भएको छ । यसको निराकरण पनि गरिनु आबश्यक छ ।
अस्तु…
लेखक पाेखरेल गणित–शिक्षा परिषद्, राष्ट्रिय समितिका कार्य वाहक अध्यक्ष हुन्





















