तिलक पाैडेल
हिन्दु संस्कृतिमा नागलाई पानी पार्ने जीवका रूपमा मानिन्छ । एकपटक गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेका थिए । सबैनागहरू आसनमा थिचिँदा पानी नै नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेर दर्शन गर्दा नाग मुक्त भएर पानी परेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ ।
त्यस्तै, स्वयम्भूको शान्तिपुरभित्र नागको रगतले लेखिएको पुस्तक सुरक्षित राखिएको छ भन्ने किंवदन्ती पनि सुन्न पाइन्छ । नेपालमा पानी नपरेर हाहाकार मच्चियो भने शान्तिपुरभित्र गएर उक्त पुस्तक बाहिर ल्याई घाममा सुकाए पानी पर्छ भन्ने विश्वास गरिन्छ ।
सर्प सूर्यको रश्मी मण्डलको, वैभवमय मातृत्वको पनि प्रतीक हो । यसलाई घरको रक्षक पनि मानिने हुनाले घरको जग खन्दा नागको प्रतिमा राख्ने चलन छ । श्रीमद्भगवत गीतामा कृष्णले आफूलाई वासुकी नागराज भनेका छन् । रामायणमा रामका भाई लक्ष्मणलाई शेषनागको अवतार भनिएको छ । शेषनागले पृथ्वीलाई आफ्नो वशमा राखेको मानिन्छ र भूकम्प जानु भनेको शेषनागले फण हल्लाउनु हो भन्ने मान्यता छ।
किंवदन्ती अनुसार एक दिन खेतमा काम गरिरहेका किसानले खेत खन्दै जाँदा नागका दुईटा बच्चाहरू काटिन पुगेछन् र मरेछन् । नागकी आमाले आफ्ना बच्चाहरूको खोजीमा जिस्कँदा बच्चाहरू मरेको भेट्टाउँछिन् र हेर्दा मरेका ती
बच्चाहरूको आँखामा किसानको आकृति रहेको देखिछन् । त्यही आकृतिका आधारमा नागिनी उक्त किसानको घरमा गइन् र किसानलगायत उनकी श्रीमती र दुई छोरालाई पनि डसेर मारिदिइन् । किसानकी एउटी छोरी पनि थिइन्, तर त्यसबेला त्यहाँ नभएकाले ती बचिन् । पछि छोरीलाई पनि मार्ने विचारले नागिनी पुनः घरमा पुग्दा किसानकी छोरीले श्रद्धापूर्वक बटुकोमा दुध राखी नागिनीलाई पिउन निवेदन गरिन् । नागिनीले दूध पिइन् । ती केटीको व्यवहारबाट खुसी भई तिनलाई मार्नुको सट्टा उल्टै वरदान माग भनिन् । उनले आफ्ना आमाबाबुलाई पुनः जीवित बनाउन भनिन् । वरदान अनुरूप मरेकाहरू सबै जीवित भए । यसरी नागलाई दूध खुवाएर श्रद्धा देखाएको दिन श्रावण शुक्ल (गुँलाथ्व) पञ्चमी हो । यस दिन सर्पदेवता अर्थात् नागहरूको पूजा गरिने भएकोले यसलाई नागपञ्चमी पनि भनिन्छ ।
तक्षक नाग एक दिन करुणामयको अष्टमी व्रत बसी पानीबाट बाहिर निस्केर घाम तापिरहेका थिए । त्यही बेला गरुडले देखेर उनलाई च्याप्प समाते । ‘म व्रत बसिरहेको छु, मलाई छोडिदेऊ’ भनी तक्षक नागले धेरै बिन्तीभाउ गर्दा पनि गरुड नमानेपछि नागले गरुडलाई बेस्सरी बेरिदिए । त्यसपछि चल्नै नसक्ने गरी बेरेर गरुडलाई चार दिनसम्म पानीभित्रै राखिदिए । आफू मुक्त हुन नसकेपछि गरुडले विष्णु नारायणलाई पुकारा गरे । आफ्नो वाहन गरुडलाई बेरेर राखेको देखेपछि नारायणले फुकाउने प्रयास गरे । तर जति गरे पनि नागले नछाडेपछि नारायणले आफ्नो सुदर्शन चक्रद्वारा नागलाई छेदन गर्न खोजे । यो देखेर नागराजले पनि आफू व्रत बसेका करुणामयलाई पुकारा गरे । आफ्नो भक्तको पुकारा सुनेर करुणामय पनि सिंह चढेर पुण्यतीर्थ/गोकर्णतीर्थ आइपुगे । नारायणलाई सुदर्शन चक्रले छेदन नगर्नु भनी सम्झाए । गरुडलाई छाड्न भनी तक्षक नागलाई पनि आदेश दिए भन्ने व्यहोरा शास्त्रहरूमा वर्णित छ ।
साँच्चिकै सर्प समातेर पूजा गर्नु डरलाग्दो तथा गाह्रो काम भएकाले कागज, पित्तल, चाँदी, तामाको नाग प्रतिमा वा कपास
बाटेर नाग बनाई पूजा गर्ने चलन चलेको हो । श्रीपञ्चमीबाट वर्षा र नागपञ्चमीबाट हिउँद शुरु हुने मान्यता रहेकोछ । नाग भनेको रेप्टाइल्स – सरीसृप प्रजातिका घस्रेर हिँड्ने लामो किरा हो । लामो किरा भएकोले यसलाई लाम्किरा, सर्प, साँपका नामले पनि चिनिन्छ । ठण्डी मौसमका शरद, हेमन्त र शिशिर ऋतुमा सुषुप्त आवस्था (हाइवरनेशन) मा जमीन मुनि दुलोमा बिताउने सर्प गर्मी मौसमका वसन्त, गृष्म र वर्षा ऋतुमा सक्रिय अवस्थामा जमीनमा घुम्ने गर्दछ । प्राय: तराईतिर पाइने सर्पहरू बढी विषालु हुन्छन् भने हिमाल, पहाडतिर पाइने सर्पहरू त्यति विषालु हुँदैनन् । रपनि सर्प देख्दा अधिकांश व्यक्तिहरू डराउने गर्दछन् । साविकमा यिनीहरूलाई भगवानको रूपमा पूजन गरिने हुनाले मार्नु हुँदैन, पाप लाग्छ भन्ने मान्यता रहेको थियो । यिनले आफू रहेको ठाउँमा आगलागी, वर्षाद्, चट्याङ् पर्न नदिने हुनाले जीवनरक्षामा पनि सहयोग गर्ने जनविश्वास अद्यापि रहिआएकोछ । मुसा, भ्यागुताहरू खाइदिने हुनाले अन्नबालीको रक्षा पनि हुने नै भयो । यसका साथै सर्पदंशबाट बच्ने, घर-परिवारमा रोगव्याधिबाट रक्षा हुने, भूमि र सन्तान सुख प्राप्त हुने, पितृदोष, कालसर्प दोष निवारण हुन्छ भन्ने मान्यता रहेकोछ । हुनपनि यिनीहरूले वातावरणीय सन्तुलनको स्वभूमिकाको अलावा प्रदूषित तत्त्वहरू ग्रहण गर्ने भएकोले पर्यावरणीय स्वच्छता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जीव भनी विज्ञानले पनि प्रमाणित गरिसकेको पाइन्छ ।
हरेक वर्षको यो दिन हामी केटाकेटी हुँदा रमाइलो पर्वको रूपमा लिइन्थ्यो । नागपञ्चमीको बिहान बुबाले प्रभातकालीन नित्यकर्महरू सकाएपछि नागको थान सफा गर्नुहुन्थ्यो । हरियो मकै खान हुने भएपछि नाग-नागिनी र भँयरलाई भनी
तीन्टा मकैका जरैसितका बुटा ल्याएर नागको थानमा राखिदिनुहुन्थ्यो । मकै, धान नचह्राउँदै खायो भने नाग देउताले सराप दिने मान्यता थियो । रोपाईँ सुरु हुँदाका दिन पनि रोपो लगेर नागको थानमा राखिन्थ्यो । त्यसदिन ठूला-ठूला रुखै झैँ लाग्ने फुलेका तीतेपाती, ठूल्ठूला सलहझारलाई बाउसाको सहायताले उक्काएर र अरु रोल (सिरु, खर, झारहरू) आँसीले काटेर उघारो बनाउनु हुन्थ्यो । यता आँगनमा आमाहरूले काहुरो (काभ्रो) का पातहरूका लाम्चिला दुनाहरू पानीडोकाभरि जस्तो बनाउनु हुन्थ्यो । हामी साना केटाकेटीहरू फूलपाती, दुबो जम्मा गर्नमा रमाएका हुन्थ्यौँ । नागको पूजामा अबीर र गुलियो वस्तुको प्रयोग गर्नु हुँदैन, रातो फूल चढ्दैन भन्ने मान्यता रहेकोछ ।
बुवाले आँगनमा लोह्रो-सिलौटो धोएर सफा गरी आमाले भिजाएर नरम बनाएको चामललाई पिनेर ‘दयो’ बनाउनु हुन्थ्यो । दाजीले पनि नुहाई सफा धोती फेरेर ‘खै सबै समान तयार भएन, अझै !’ भन्दै दुनाको डोको, दयो, गाईको गोबर (गोमय) लिएर नागको थानतिर लाग्नु हुन्थ्यो र छेउमा आगो बाली बाँकी पिठो रयालेर ताइमा छर्केर मसाने चेपा आकारका रोटी ‘चेपारोटी’, ससाना ‘बाबररोटी’ तयार पार्नुहुन्थ्यो । अनि आमाले धान निफनेर सफा बनाई ल्याएर दिँदै धान भुटेर लाभा (धानका फुला) बनाउन भन्नुभए मुताविक दाइले त्यही तातो ताप्केमा धान भुटेर लाभा तयार पार्नु हुन्थ्यो । पछि बाँसको दाविलो बनाएर त्यसैमा गाईको दूधको खिर पकाउनु हुन्थ्यो । हामी केटाकेटीहरू सबै काम रमाइलो मानेर हेर्दथ्यौँ । संस्कारी धरोहर सम्हाल्ने धोकोले उछार नदिएको होला जस्तो लाग्दछ, अचेल ।
आमाले पञ्चपालामा सिँदुर, केशरी, जौ, तिल तयार पार्नुभएकोलाई एकहातमा र अर्को हातमा ताम्बुल (मुलत: अलैँची, सुपारी), नाग, फूलपातीका टपरी लगायत आवश्यक सामग्री राखिएको डाली अर्को हातमा लिएर बुबा पनि थान तिर लाग्नु हुन्थ्यो । आमा पनि थोत्रो फलाएँ भदालोमा फिलिङ्गासहितको आगो पुत्ताउँदै बुबाको पछि लाग्नुहुन्थ्यो । त्यसपछि हाम्रो पालो हुन्थ्यो पछि लाग्ने । त्यतिञ्जेल बुबाले सफा गरेको थानलाई दाइले गोबरले लिपपोत गरिसकेको हुनुहुन्थ्यो ।
बुबाले तामाको हत्तरीको जल हातमा लिई ‘अपवित्रो पवित्रोवा…’ भन्दै थानभित्र पस्नुहुन्थ्यो । वरिपरि बान्नु लगाएको र
बीचमा लाम्चो आकारको ढुङ्गा रहेको नागको थानमा दुईजना बसेर पूजा गर्न मिल्ने ठाउँ छ । दाइले गएर केराको ठूलो र नच्यातिएको एउटा पात ल्याउनु भयो । पानीले पखालेर बुबालाई दिनुभयो । बुबाले त्यही लाम्चो ढुङ्गासँग समानान्तर हुने गरी राख्दै ‘खै गाईको गोबर ल्याऊ त ! पुगेन …’ भन्नु भयो । वहाँले लाम्चो ढुङ्गामाथि तीनवटा गोबरका खोपिल्टा बनाउँदै हुनुहुन्थ्यो । तीनै गोबरका मुनि केराको पातमाथि अघि बनाएका कपास र पीठाका नागलाई जतनसँत सजीव ढङ्गले राख्नुभयो र त्यसैको छेउमा अष्टनाग, चन्द्र-सूर्य, नागकन्या, खजुरो, बिच्छी, भ्यागुतो, माकुरो, गँगटो, माछो आदिको चित्र बनाएको कापीका पाना राख्नुभयो । मामली हजुरबुबाले यस्ता चित्रहरू सारै राम्रो बनाउनुहुन्थ्यो र वहाँले नातीले पनि सिक्नुपर्छ भनेकाले मैले पनि अलि-अलि बनाउने गर्दथेँ । पछि अलि ठूलो भएपछि जानकारी भयो – नौथोप्लाबाट बनाएका नागका चित्रहरू राम्रा हुँदारहेछन् । बनाउन त डवल ब्राकेटबाट, त्रियाननब्बेबाट, सिङ्गल ब्राकेटका बीचमा ˜ लेखेर पनि बनाउन सकिँदो रहेछ ।
त्यसरी बनाएको चित्रका माथि अगस्त्य, पुलस्त्य, वैशम्पायन, जैमिनी र सुमन्त वज्रपात वा अग्निबाट रक्षा गर्ने भनी मानिएका पाँच मुनिहरूले कल्याण गरिदिनु भन्ने भावनाले निम्न श्लोक लेखेमा सो घरलाई बिजुली र अग्निको डर हुँदैन भनिन्छ ।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च।
सुमन्तु जैमिनिश्चैव पञ्चैते वज्रवारका: ॥
मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात्।
विद्युदग्निभयं नास्ति लिखितं गृहं मण्डले ॥
अनन्तो वासुकीः पद्मो महापद्मश्च तक्षकः ।
कुलीरः कर्कोटक् शङ्खश्चाष्टौ नगाः प्रकृतित: ॥
बुबाले ढुङ्गाको शिरतिर छाडिएको पातीको गाँजको मूल हाँगामा पनि रुई लड्काइदिनुभयो । त्यसैको मुनि एउटा टपरीभरि धान, त्यसमाथि अर्को टपरीमा चामल र त्यसमा तेल र ज्योतिसहितको तामेदियो राख्नुभयो । त्यसैको छेउमा तामे अङ्खरीमा जल भरेर राखी दाइसँग दियासलाई मागेर ज्योति बाली पूजा आरम्भ गर्नुभयो । बुबाले आवश्यक सामान दाइसँग र दाइले थानमा ल्याउन छुट भएका सामान घरबाट ल्याउन हामीलाई अह्राउनु हुन्थ्यो । मगाएको चीज घर गई आमासँग मागेर आफूले ल्याउन हामी भाइबैनीबीच तँछाडमँछाड हुन्थ्यो – कति रमाइलो लाग्दथ्यो त्यो क्षण !
घरमा भान्सा तयार पारी आमा पनि टपरीमा पाकेको आँप काटेर टुक्रा पारी ‘लौ यो पनि नैवेद राख’ भनी दाइलाई दिँदै पूजा गरेको हेर्न थानतिर आउनु हुन्थ्यो । बुबाले ‘लौ परमेश्वर श्रीङ्गानाग देउता हाम्रो पूजा विधिमा हुने/भएको कमीप्रति क्षमा देऊ, हाम्रो रक्षा कल्याण गर, आँटेताकेको पुर्याइदेऊ, रोग-व्याधि दूर गरिदेऊ, पीर-कष्ट हरण गरिदेऊ …’ भन्दै दियो कलस, गणेशको पूजा सकाएर भदालोको कोइला छेउमा खन्याएर धुप हाल्नु हुन्थ्यो । खै केको हो ? साल्धूप भन्नुहुन्थ्यो, सारै मीठो सुवासना फैलिन्थ्यो वरिपरि ।
त्यसपछि बुबाले साह्रो-साह्रो पीठो पीठो बनाएर तीनवटा र प्युरी (कपास)का तीनवटा नागाकृति बनाउनु हुन्थ्यो । चालमको ती नागहरूमा मासका गेडाले आँखा, तिल र जौले कत्ला, कुशको जिब्रो बनाएको हामीले टकलाएर हेर्दथ्यौँ । पञ्चपालाबाट सिँदूर, केसरी, जौ, तिल आदिले नागहरूलाई सिँगार्नु हुँदा साँच्चैका नाग जस्ता सजीव हुन्थे । गोबरका खोपिल्टामा गाईको दूध भरिदिनु भएपछि दाइसँग ‘अब नाग-नागिनीलाई आठवटा र नागका बच्चालाई एउटा गरी नौवटा दुनामा हातपाउ धुन जल तयार पार’ भन्नु भए अनुसार दाइले करूवाबाट दुनाहरूमा पानी राख्दै दिँदै गर्नुहुन्थ्यो । बुबाले –
अनन्तं वासुकिं शेषं पद्मनाभं च कंबलम्।
शंखपालं धृतराष्ट्रं तक्षकं कालियं तथा॥
एतानि नव नामानि नागानां च महात्मनाम्।
सायं काले पठेन्नित्यं प्रात: काले विशेषतः॥
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्॥
भाव होला गुनगुगाउँदै क्रमश: मिलाएर राख्दै जानुहुन्थ्यो । एवम् रीतले त्यति नै दुनामा गाईको दूध, अर्घ, बाबर रोटी, खिर, लाभा, पिउनेपानीका दुनाहरू राख्दै जाँदा केराको पात ढाकेर भूईँमा पनि राख्दै जानुहुन्थ्यो । ‘लौ अब नाग-नागिनी र बच्चालाई चुठ्ने पानी लेऊ, डाकियो, भोजन गराइयो, अब चुठाउनु पर्यो अनि पानसुपारी टक्र्याउँला’ भने बमोजिम दाइले सबै चीजबीज तयार पारी बुबालाई दिनुहुन्थ्यो । यता पानीडोकाका दुनाहरू पनि सकिँदै जान्थे । जम्मा दुना एकसय आठभन्दा कम हुन हुन्न भन्नुहुन्थ्यो । अलैँची फोरेर बीउहरूलाई ताम्बुलको रूप दिई बाँकी रहेका दुनाहरूमा शुद्ध जल राखी थानमा राख्दा सबै दुनाले ढपक्कै ढाक्दथ्यो । शायद यसै प्रयोजनलाई मध्यनजर गरी थानको आकार निर्धारण गरिएको होला ।
यसरी नाग-नागिनी र बच्चा नागको पूजा गरिसकेपछि गाईको दूधमा पकाएको खिर कोइलामा हवन गर्नु हुन्थ्यो । मन-मन के-के जप्दै डबके कचौराभरिको खिर हवनमा सक्नुहुन्थ्यो । नाग नचह्राई खान हुँदैन भनेकाले भोको पेटमा त्यो खिर हुमेको देख्दा मुखभरि पानी रसाएर आउँथ्यो – केटाकेटी मन न भयो ! हवन कार्य सकिएपछि दुनामा जल अचाई दाइसमेतले फूलपाती लिएर नागपूजा समापन हुन्थ्यो । बुबाले सिमेभूमे देवगणकी, श्रीङ्गा नागदेउताकी भनेर फलाक्नु हुन्थ्यो, हामी सबैले जय- जय भन्दथ्यौँ ।
अब टीका लगाउने र नैवेद खाने कार्य हुन्थ्यो । बुबाले भने कापीका पानामा लेखेको नागको चित्रलाई घरको मूल ढोकामा लगी गाईको गोबरका साना थुप्रामा टाँसी दुबो, कपासका नाग पनि झुण्ड्याएर ‘लौ नागदेउता रक्षा गर, कतै केही कमी भएको भए जानेर हैन म अनजानलाई क्षमा दिनुहोला’ भन्दै नागपूजाको समापन गर्नुहुन्थ्यो । आमाले तयार पारेको मीठो खाना सबैले खाई त्यसदिन प्राय: स्कुलमा स्थानीय बिदा हुने भएकाले साथीभाइहरू जम्मा भई रमाइलोसँग दिन बिताइन्थ्यो ।
यो व्यहोरा गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको आँधीखोला-२, चिलाउनेवास, झारखोलाको प्रचलनमा आधारित हो । नागपूजाका आ-आफ्नै विधि र तरिकाहरू भएपनि सारांशमा उही कविशिरोमणीले बुद्धिविनोदमा लेखे झैँ –
प्रजा धरामा, धरणी फणिसमा । फणिस पानी, बीच पानी हो कहाँ ?
मिलेन विश्रान्ति, जवाव हो कुन ? तँलाई मालुम, छ कि यो कुरा मन ??
धरतीलाई आफ्नो फणमा उचाल्ने शेषनागका विविध रूपहरूको पूजा हो – नागपञ्चमी । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, सङ्ख्य गरी आठ प्रकारका नागहरूलाई अष्टनागका रूपमा गृहप्रवेशद्वार, मुल ढोकामा टाँसेर परिआउने पीर, वाधाहरूबाट रक्षा गरिदिन नागदेवलाई पूजा गरिने पर्व नागपञ्चमी हो । यस दिन खेतबारीमा हलो जोत्न हुँदैन, सर्पहरूलाई मार्न हुँदैन, नागहरूप्रति आदरभाव राख्नु पर्दछ भन्ने मान्यता रहिआएको पाइन्छ । उल्लिखित बमोजिम गरिने पूजा अचेल रङ्गीन छपाइका विविध प्रकारका नागका चित्रहरू कथित पुरोहितहरूबाट टाँसाएर मनाउने रूपमा परिणत भैसकेकोछ । कमसेकम यही रूपमा भएपनि मनाउँदै गरौँ, परम्परागत साँस्कृतिक धरोहर धानी राखौँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०८२ साउन १२ गते सोमबार
आँधीखोला-२, चिलाउनेवास, स्याङ्जा ।




















