तिलक पाैडेल
जेठ २९ बिहीबार संक्षिप्त प्रात:कालीन नित्यकर्महरू सम्पादन गरी झोलाहरू मिलाई कैलास पर्वतको परिक्रमाका लागि
तयार भयौँ । परौठा, आलु-बोडीको तरकारी, कर्नफ्लेक्स, फुरन्दाना लगायतको बिहानी नास्तामा हामीले परौठा-तरकारी र कफीपान गर्यौँ । दिवाखानाको पकेट लिएर ९:०० बजे तिर यमद्वारतर्फको यात्रारम्भ गरियो । हिजो जस्तै मैले पञ्चाक्षरी स्तोत्र पाठ गरेँ । सबैले देवाधिदेवको जयजयकार गरियो ।
मैले आजको यात्रामा उठ्नसक्ने जिज्ञासालाई मध्यनजर गरी हिजो बेलुका कैलास पर्वतका विषयमा गुगलमा खोजी गरी
निम्नानुसारको व्यहोरा तयार पारेको थिएँ, जसले बाटो काट्ने औषधिको पनि काम गर्नेछ भन्ने मेरो सोच थियो । संयोग घनपुरो बाटो तय गर्न असमर्थ भएकाले सहयात्रीहरूसामु प्रस्तुत गर्न सकिएन तापनि सरोकारवालाहरूलाई जानकारी हवोस् भनी यहाँ उल्लेख गरेकोछु ।
कैलाश पर्वत हिन्दू धर्ममा भगवान शिवको घर हो । यसलाई चीनमा गाङ्ग रिनपोछे वा स्थानीय रूपमा गैंग टिसे पनि भनिन्छ । यसको टाकुराको उचाइ ६,६३८ मिटर (२१,७७८ फिट) छ । कैलाश पर्वतलाई हिन्दू धर्मको आध्यात्मिक पर्दाले ढाकेर भगवान शिवको सम्मानित निवास स्थानको रूपमा शोभायमान गर्दछ । प्राचीन हिन्दू मान्यता अनुसार, यहाँ देवाधिदेव भगवान शिव अनन्त ध्यानमा बस्नुहुन्छ र उहाँको पवित्र उपस्थितिले पवित्र चुचुराहरूलाई आफ्नो यौगिक ऊर्जाले ढाक्नुहुन्छ (नोभेम्बर २९, २०२४) । तिब्बतको भूमिमा रहेको कैलाश पर्वत हिन्दू, बौद्ध र जैनहरूको लागि एक पवित्र स्थान हो (जनवरी २९, २०२५) ।
नासा (NASA) ले उपग्रह चित्रण र भूगर्भीय सर्वेक्षणहरू मार्फत पृथ्वीका विभिन्न क्षेत्रहरूको अध्ययन अनुसन्धान गर्ने गर्छ, जसमा तिब्बतलाई पनि आफ्नो रुचिको क्षेत्रको रूपमा केन्द्रित गरी खोजी गर्दा कैलाश पर्वतले असामान्य विद्युत चुम्बकीय ऊर्जा तरङ्गहरू उत्सर्जन गरेको पाइएको व्यहोरा उल्लेख छ (मार्च ९, २०२५)। नासाको हबल टेलिस्कोपले खिचेको तस्बिर भगवान शिवको डमरु जस्तो देखिन्छ । दक्षिणी क्र्याब नेबुलाको यो तस्बिर नासाको हबल टेलिस्कोपले अप्रिल २४, १९९० मा खिचेको थियो । यसले ताराहरूको घुमाउरो जोडीले शिवको “डमरु” को संरचना बनाएको देखिन्छ (नोभेम्बर १०, २०२४) ।
धार्मिक संवेदनशीलता र वातावरण संरक्षणका लागि कैलाश पर्वत आरोहणमा प्रतिबन्ध लागू गरिएको थियो । कैलाश पर्वत यसको भौगोलिक संरचनाको लागि मात्र नभई यसको आध्यात्मिक र रहस्यमय शक्तिहरूको लागि पनि परिचित छ । हिन्दू, बौद्ध, जैन र सिख धर्मका मानिसहरू हरेक वर्ष यस पर्वतको भ्रमण गर्छन् (मे ५, २०२५) ।
कैलाश पर्वतमाला क्षेत्रमा भूमिगत शहरहरू छन् भनिन्छ । शम्भाला र अगर्थ कैलाश पर्वतशृङ्खला क्षेत्रमा रहेका भूमिगत पौराणिक स्थानहरू हुन् भन्ने विश्वास गरिन्छ । शम्भाला एक पौराणिक राज्य हो, जुन शान्ति र ज्ञानको स्थान मानिन्छ । अगर्थ एक पौराणिक भूमिगत क्षेत्र हो ।
यसको आध्यात्मिक इतिहास र स्थानका कारण यो पर्वतलाई ब्रह्माण्डको स्तम्भ/केन्द्रको रूपमा घोषणा गरिएको छ, जहाँ स्वर्ग र पृथ्वी मिल्छन् । विगतमा कैलाश पर्वत आरोहण गर्ने प्रयासहरू भएतापनि कुनै पनि प्रयास सफल भएनन् (मार्च १३, २०२५) । क्षेत्रीय जटिलता र पवित्र चुचुरोप्रति गहिरो आध्यात्मिक आस्थाका कारण कसैले पनि कैलाश पर्वतको आरोहण गर्ने उपलब्धि हासिल गरेको छैन। यसको चुनौतीपूर्ण भू-बनोट धार्मिक श्रद्धासँग जोडिएको छ, जसले गर्दा सबै मानिसहरूले यो स्थानको पवित्रतालाई कायम राखेका छन् (मार्च ७, २०२५) । हिन्दू धर्मशास्त्रका अनुसार, रावणले एक पटक कैलाश पर्वतलाई उठाउने प्रयास गरेका थिए, तर शिवले पर्वतलाई धकेलेर रावणलाई त्यसको मुनि पुरिदिए भनिन्छ ।
कैलाश पर्वत चढ्ने प्रयास गरिए पनि कुनै पनि अभियान अहिलेसम्म शिखरमा पुगेको छैन । यसको मुख्य कारण
आध्यात्मिक श्रद्धा र स्थानीय रीतिरिवाज हो । स्थानीय तिब्बती बौद्ध र अन्तर्राष्ट्रिय तीर्थयात्री दुवैले पर्वतको चुचुरोमा पाइला राख्दा यसको पवित्रतामा खलल पुग्ने विश्वास गर्छन् । त्यसैले कैलाश पर्वतको आरोहण गरिँदैन (अक्टोबर २४, २०२४) । अहिले विश्वास गर्न जति नै गाह्रो भएपनि मिलारेपा कैलाश पर्वत चढ्ने एक मात्र व्यक्ति थिए भनिन्छ ।
धेरै तीर्थयात्रीहरूले तीन दिनमा कैलाश परिक्रमा पूरा गर्छन्, जुन तिब्बती बौद्धहरू सहित आम तीर्थयात्रीहरूका लागि महत्त्वपूर्ण उपलब्धि हो । हेलिकप्टरलाई कैलाशमा सम्पूर्ण तिब्बती भूमिमा उडान गर्न अनुमति छैन ।
कैलाश पर्वतको बारेमा आध्यात्मिक महत्त्वभन्दा बाहिर सबैभन्दा अनौठो रहस्य भनेको व्यतीत समयमा फरकपन हो ।
भनिन्छ कि कैलाश पर्वतमा जाने पदयात्रीहरूले त्यहाँ १२ घण्टा मात्र बिताउँदा अन्यत्र दुई हप्ता बिताएजस्तै महसुस हुन्छ र तीर्थयात्राको समयमा उनीहरूको कपाल र नङ असामान्य रूपमा छिटो बढ्छ (जनवरी ३१, २०२५) । यो किन हुन्छ भन्ने कसैलाई थाहा छैन, तर यो धेरै मानिसहरूले अनुभव गरेका छन् । रिपोर्टका अनुसार, केही वर्ष पहिले, साइबेरियन पर्वतारोहीहरू कैलाश पर्वतमा जाँदै थिए । उनीहरूले अत्यधिक थकान महसुस गर्न थाले र उनीहरूको कपाल र नङहरू तीव्र गतिमा बढेको पाइयो ।
वैदिक ज्योतिषमा भगवान शिव शनि ग्रहसँग सम्बन्धित छन्, जुन ग्रहहरूमध्ये सबैभन्दा ढिलो गतिमा चल्ने ग्रह हो र लामो समयसम्म विद्यमान रहने र ठूला कर्महरू गणनाकर्ता हो । वैदिक ज्योतिषमा शनि ग्रह शिवको प्रतीकात्मकताका पक्षहरूसँग देखा पर्दछ । यसले शिवको त्रिशूल र उनले जस्तै जसले उनको अनुशासित मार्गदर्शन स्वीकार गर्छन्, उनीहरूलाई शान्ति प्रदान गर्छ (अगस्ट ८, २०२४) भनिन्छ ।
हामीहरू ९:३५ मा यमद्वार पुग्यौँ । प्रचलनानुसार तीनपटक प्रदक्षिणा गरी धुप बत्तीसहित पूजाआजा गर्दा आधा घण्टा बित्यो । सरस्वती भाउजूका दिदीहबहिनी सबैलाई ‘शुभयात्रा’ भन्दै त्यहीँबाट फिर्ता हुनुभयो । करिब सवा दशबजे शेष अरूले देरापुकतिरको यात्रा अघि बढायौँ । वास्तवमा यात्रामा निर्मलाले गति लिन सकिनन् । दुई घण्टा जति हिँडेपछि उनलाई औषधि खाने प्रयोजनका लागि बिहान दिइएको पकेट खाना खान दिएँ र मैले सातु खाएँ ।
सडक किनारामा चाइनिज, तिबेतन र अङ्ग्रेजी भाषामा लेखिएको बोर्ड देखियो । जसको भाव यस्तो रहेछ –
कैलास पर्वत परिक्रमा गर्नेहरूलाई सुरक्षा दिशानिर्देशनहरू :
परिक्रमा मार्ग ५२ किलोमिटर लामो छ, जसको औसत उचाइ लगभग ५,००० मिटर छ । डोल्मा ला पास समुद्र सतहबाट ५,६५० मिटर उचाइमा छ । दार्चेनमा आइपुगेपछि २-३ दिन आराम गर्न सिफारिस गरिन्छ । त्यसपछि तपाईंको शरीर उच्च उचाइमा अनुकूल भएपछि परिक्रमा यात्रा सुरु गर्नुहोस् । पर्वतको परिक्रमा गर्दा कृपया सावधान रहनुहोस् ।
१. स्वास्थ्य र सुरक्षा : यदि उचाइमा लाग्ने रोग लागेको छ भने तुरुन्तै चिकित्सा सहायता खोज्नुहोस् वा बागा सहरमा फर्कनुहोस् । उद्धारका लागि हटलाइन ४००६६६६७१२ (सशुल्क सेवा) मा सम्पर्क गर्नुहोस् । मुटु/फोक्सो/मस्तिष्कको अवस्था, रक्तअल्पता, उच्च रक्तचाप वा वृद्धावस्था भएका पदयात्रीहरूलाई पदयात्रा गर्न सिफारिस गरिएको छैन ।
२. आवश्यक सामग्रीहरू : तापक्रममा ठूलो उतारचढाव आउने हुँदा न्यानो कपडा, रेनकोट, न्यानो बुट जुत्ता र छिट्टै शक्ति पाइने प्रकृतिका खाजा (जस्तै – मिठाइँ, चकलेट) बोक्नुहोस् ।
३. पर्यावरण र स्वच्छता : प्लेगको जोखिमबाट बच्न मार्मोटहरू नखुवानुहोस् । पठारको नाजुक वातावरणमा दुष्प्रभाव कम गर्न डोल्माला पासमा प्रति व्यक्ति एउटा मात्र प्रार्थना झण्डा बोकेर जान सिफारिस गरिन्छ ।
४. मार्ग अनुपालन : तपाईंको सुरक्षाको लागि, १७:०० पछि डोल्माला पासमा जान निषेध गरिएको छ । स्काई बरियल साइट (स्थानीय औपचारिक क्षेत्र, कृपया गोपनीयताको सम्मान गर्नुहोस्) देखि शेगी जाडो खण्डमा सुविधाहरूको अभाव छ र उच्च जोखिमहरू छन् । कृपया तोकिएको मार्गलाई कडाइका साथ पालना गर्नुहोस् । प्रतिबन्धित क्षेत्रहरू प्रवेश नगर्नुहोस् ।
५. वातावरण संरक्षण : बाटोमा फोहोर नफ्याँक्नुहोस्, सबै फोहोरहरू पोको पार्नुहोस् साथै नाजुक प्राकृतिक वातावरणको संरक्षण गर्नुहोस् ।
६. बहुमूल्य वस्तुहरू : व्यक्तिगत सामान र यात्रा कागजातहरू सुरक्षित राख्नुहोस् ।
गङ्गडिस अन्तर्राष्ट्रिय पर्यटन कोर क्षेत्र व्यवस्थापन सेवा केन्द्र,
अली दृश्य क्षेत्र सञ्चालन व्यवस्थापन कं, लिमिटेड
सभ्य तरिकाले यात्रा गर्नुहोस्, हरियालीमा यात्रा गर्नुहोस् । केवल सम्झनाहरू छोड्नुहोस्, कुनै पछुतो नमान्नुहोस् ।
केही अघि मङ्गलभाइ दुइटा झोलाहरू सहित मलेसियन महिलासँग विस्तारै हिँड्दा रहेछन् । निर्मलालाई उनीहरूसँग छाडी ‘भोलिदेखि म कत्तिको हिँड्न सक्दो रहेछु ?’ भन्ने स्वपरीक्षाका खाँतिर अघि बढेँ ।
क्रमश…
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#




















