तिलक पाैडेल
सगरमाथाको शिरपोश लगाई तराईको फाँटमा पलेँटी कसेको हाम्रो पहाडी मुलुक नेपाल – कृषि प्रधान देश हो, जहाँ अधिकांश जनसङ्ख्या कृषिमा निर्भर छ । यहाँ असार महिनालाई खेतीपातीको मुख्य समय मानिन्छ । असार महिना प्रायः वर्षायामसँग मेल खाने हुनाले, पानीको प्रशस्तता हुँदा खेतहरूमा धान रोप्ने सबैभन्दा उपयुक्त समय हो । यो मानेमा असार १५ लाई धान रोपाइँको उच्चतम समय मानिन्छ र सनातनी हिसाबले यस अवधिलाई मध्यबर्खा अर्थात् ‘मानु खाएर मुरी उब्जाउने समय’ भनेर लिइन्छ । अचेल यो दिनलाई धान दिवसको रूपमा रोपाइँ महोत्सवहरूको आयोजना गरेर पनि मनाइने गरिन्छ ।
परम्परागत रूपमा किसानहरूले वर्षौंदेखि उत्सवकै रूपमा मनाउँदै आएका भएपनि नेपाल सरकारले २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय
धान दिवसको रूपमा मनाउन थालेको हो । यस दिन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले आयोजना गर्ने कृषिसम्बन्धी अन्तरक्रिया एवम् गोष्ठीहरू, विभिन्न प्रतियोगिता, प्रदर्शनी, मेलाका साथै धानको विभिन्न जातको प्रदर्शन, कृषि प्रविधिको अवलोकन जस्ता कार्यक्रमहरूले यो दिनको महत्व अझै बढाएका छन् । कतिपय स्थानहरूमा ‘हिलो फुटबल’, ‘धान रोपाइँ प्रतियोगिता’, ‘परम्परागत खाना खाने कार्यक्रम’ जस्ता सांस्कृतिक गतिविधिहरू समेटिने कार्यक्रमहरूको समेत आयोजना गरिन्छ । साथै, जलवायु परिवर्तनले वैश्वविक गर्मी, वर्षामा अनियमिततादेखि स्वदेशी रोजगारीको कमी औँल्याउँदै विदेशिएका युवाहरूको कारण श्रम शक्तिको अभाव र जमिनप्रतिको अनुचित अतिक्रमणले कृषिमा पर्ने प्रतिकूल असरप्रति जनचेतना फैलाउने काम पनि यही दिन गरिन्छ । यस्ता कार्यक्रमहरूको आयोजनाले नयाँ पुस्तालाई कृषिप्रतिको मोह जगाउन मद्दत पुर्याएको महसुस हुन्छ ।
असारे पन्ध्रमको अर्को महत्वपूर्ण पक्ष भनेको स्वयं धान नै हो । धान हामीहरूको मुख्य भोजन ‘भात’ को प्राथमिक स्रोत हो । ‘भात नभई, रात नगई’ भन्ने भनाइले हाम्रो समाजमा धानको महत्त्व स्पष्ट गर्छ । नेपालको कुल कृषियोग्य क्षेत्रको ठूलो हिस्सा धान खेतीमा प्रयोग हुन्छ र अधिकांश किसानहरूको जीवन यसैमा आधारित छ । त्यस्तै यस दिनको अर्को मुख्य आकर्षण भनेको दही-चिउरा खाने परम्परा हो । दही-चिउरा खाने परम्पराको पछाडि वैज्ञानिक कारणहरू पनि छन् ।
पोषक तत्त्व पाइने मात्रा (अनुमान) कार्य / भूमिका

जाती भनिन्छ । तिनीहरू स्वस्थ जीवनशैली, जैविक खानपान र पहाडी वातावरणमा बसोबास गर्छन् । तिनीहरू लामो आयु र राम्रो स्वास्थ्यका लागि प्रसिद्ध छन् । केही ठाउँमा यी मानिसहरूलाई ‘विश्वकै दीर्घजीवी जाति’ भनिन्छ । यस्तो किन भयो ? भनेर अनुसन्धान गर्न टोली खट्यो । प्रतिवेदनमा तिनीहरू अधिकांश शाकाहारी भएको पाइयो । फेरि अन्यत्रका शाकाहारीहरू त्यति दीर्घजीवी नहुने हुँदा त्यहाँ किन त्यस्तो भयो ? भनी पुन: खान-पान, आहार-विहारका बारेमा अध्ययन गरियो । सो क्रममा तिनीहरूले बिहान-दिउँसो-बेलुकाको खानासँग दही खाने गरेको पाइयो । तब दहीको बारेमा अध्ययन गर्दा दहीमा निम्न तत्त्वहरू पाइने र तिनले मानव शरीरलाई देहाय बमोजिम फाइदा पुर्याउने जानकारी भयो । जसलाई तालिकाको रूपमा प्रस्तुत गरिएको छ ।
स्रोत : सामाजिक सञ्चाल, २०८२
यसरी दहीमा पाइने प्रोबायोटिक्स (जस्तै Lactobacillus) ले पाचन सुधार गर्ने, शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने, अम्लीयता (Acidity) कम गर्ने, घाउ, जलन वा पेट दुखाइमा राहत दिन सहयोगी हुने देखियो । परिणाम त्यो हुञ्जा जाती विश्वकै सबैभन्दा बढी बाँच्नुको कारण खानासँग दही खाने गरेर रहेछ भन्ने प्रमाणित भएको थियो, भनिन्छ । बरू रुघाखोकी, टन्सिल वा साइनस भएको बेलामा दही नखानु, एलर्जी वा लैक्टोज इन्टोलरेन्स भएको व्यक्तिले चिकित्सकीय सल्लाह बिना दही नखानु राम्रो हुन्छ । अन्यथा माटोको भाँडोमा जमाएको फ्रेस दही १-२ कचौरा बिहान वा दिउँसो, भातसँग वा रैता/लस्सीको रूपमा खाँदा स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ ।
फेरि चिउरामा कार्बोहाइड्रेट, भिटामिन र आइरन पाइन्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ । त्यसमाथि उल्लिखित तत्त्वयुक्त दही र चिउराको संयोजनले शरीरलाई आवश्यक पोषण दिन्छ, जुन खेतीपातीको कठोर परिश्रमका लागि उपयुक्त हुन्छ । यो मानेमा दही-चिउरा खाने प्रचलन आफैँमा स्वास्थ्य अनुकूल वैज्ञानिक रहेको बुझ्न सकिन्छ ।
धान दिवसका रूपमा समेत मनाइन थालिएको यो असारे पन्ध्रम हामी सानो छँदा घर गाउँमा यसरी मनाइने गरिन्थ्यो । सामान्यत: खोलाखेतहरूमा रोपाइँ सकिएपछि पाखो खेतमा रविको भोलिपल्टबाट रोपाइँ शुरु गरिन्थ्यो । कर्णालीतिर त झन् बिउ राख्ने, गोड्ने, रोप्ने, गोड्ने जस्ता सबै कार्यहरूको समय तालिका हुन्छ । रपनि असारे पन्ध्रमले देशव्यापी स्वीकृति र महत्त्व पाएको कामको माचो भएका बेलामा आनन्द छल्क्याइदिने ऊर्जावान् पर्व हो । मेरो बाल्यकालमा असारे पन्ध्रमका दिन आपसमा हिलो छ्यापाछ्याप गर्दा कसैले, कसैलाई दोषभागी हुन/गराउन नपाइने/नपर्ने दिनको रूपमा बालमस्तिष्कमा छापिएको थियो, जुन अद्यावधि कायमै छ ।
हुनपनि असारे पन्ध्रमका दिन घरमुलीका रूपमा बुवाले खलेगरामा हिउँदमा दाइँ हाल्नका लागि मियो गाड्ने ठाउँको अड्कल गरी बिउको ठूलो मुठो र वरिपरि स-साना मुठीहरू रोपिदिनुहुन्थ्यो अनि सबैलाई हिलाको टीका र रोपको फूल लगाइदिनुहुन्थ्यो । त्यसबेलामा अरू गरामा धान रोपिरहेका खेतालीहरू/रोपाहारहरू पनि त्यही गरामा जम्मा भएर सबैले बुवालाई हिलो छेप्ने गर्दथे भने त्यसै अवसरमा अरू बाउसेहरूले खेतालीहरूलाई हिलो छेप्दा सबै खेतालाहरू हिलाम्मे हुन्थे । गह्रो हिल्याइसकेपछि बाउसेले बाउसे गर्दैगर्दा हलिबाले खेतालीलाई बिउ पुग्न दिने हिसाबले उनीहरू नेरै पर्ने गरी बिउको मुठा फालेर अप्रत्यक्ष हिलो छ्यापेको दृश्यले अलि ठूलो भएपछि कता-कता शर्म मान्दै आफूले पनि त्यसैगरी बिउ फालिदिएको झझल्को स्मरण हुँदा अचेल पनि काउकुती लागे झैँ हुन्छ । जेहोस्, मेलो सिध्याएर, स्याखु बोकेर घर फर्किँदा रोपाहारहरू हिलाम्मे देखिए भने सबैले आज पन्ध्रम रहेछ भन्ने अड्कल गर्दथे । जेहोस् खले गरामा बिउका मुठा रोपेर हिलो खेली सकेपछि कुलाको पानीमा हात खुट्टा धोई आमाले ल्याएको दही-चिउरा अनि आलुको अचारको नास्ता सबैले बहुत हँसिलो वारावरणमा गर्नुहुन्थ्यो । म पनि सानो बाउसो लिएर कुलाबाट पानी मिलाउने बुवाले सुम्पिएको जिम्मालाई पूरा गर्दै कुलो खन्दा हिलो उछिट्टिने ठाउँमा दुई-चार चोटि खनेर कपडाभरि हिलो र पानीले निथ्रुक्क हुँदा रमाइलो लाग्दथ्यो र गरेको हुन्थेँ पनि । तर अर्नी खाने बेलामा बा-आमाले ‘ए… छोरो त चिपिचल्लै भएछ, घर जाऊ र नुहाएर कपडा फेर । चिसोले फेरि जरो आउँछ ! तिमीलाई घरै आएर खान दिउँला’ भनेर भन्नु हुँदा मनमा खिन्नता लागेको अहिलेसम्म आलै छ । रपनि अरूहरूले खाएको हेर्दै र कुराकानी सुन्दै बिस्तारै घरतिर लाग्दथेँ । माघे सग्राँतीका चिउरा जोगाएर राख्ने गृहस्वामिनी लछिन कि मानिन्छिन् अनि असारका चिउरा भिजाउने गोरस दिने गाईभैँसी पनि लछिनका मानिन्छन् भन्ने चर्चा सुन्दै-सुन्दै मन दुखाउँदै घरतिर लागेथेँ ।
अचेल सो व्यहोराको तार्किकता मनन हुन्छ । वास्तवमा हिउँदमा धान काटेर कुनियो लगाई दाइँ हाल्ने बेलामा मियो गाड्न त्यो मुठा रोपेको ठाउँ सजिलो र गहिरोसम्म गड्ने हुनाले गोरुले उखाल्ने सम्भावना पनि हुने भएन नै । यस्तो दुरदर्शिता हाम्रो नीति निर्माताहरूमा भैदिए कति राम्रो हुँदो हो जस्तो लाग्दछ ।
हुनपनि असारको मैनामा खेतका मकै थन्क्याएर त्यसैमा धान रोपिन्थ्यो । मकैका डाँठ काट्दा छड्के परेका मकैका जराले खुट्टा काटेर रगताम्य बनाउँथे । एकपटक बुवाको दाहिने खुट्टामा त्यस्तै भयो । म अलि ठूलै भएपछिको कुरा थियो । मैले नजिकैको हेल्थपोष्टबाट मागेर आयोडिन, बेटाडिन, कटन, सिटामोल, एम्जिट जस्ता प्राथमिक उपचारका दबाईहरू घरमा जुगाड गरेको हुन्थेँ । त्यसैले बुवालाई औषधि गरौँ भनेको त ‘बर्खाको घाउ त सुक्खा भयो भने दु:ख दिन्छ बाबु, यो त हिलाले चुसेर आफैँ निको हुन्छ…’ भन्नुभयो र अन्तत भयो पनि त्यस्तै । अहिले बल्ल मृतिका उपचारको जानकारीले व्यहोरा प्रमाणित गरिदियो । हाम्रा परम्परागत मान्यताहरू कति जीवनोपयोगी रहेछन् भन्ने आजभोलि मनन हुँदैछ ।
तिनताका गाउँघरमा रेडियो पनि कताकतिका घरमा मात्र हुन्थ्यो । खेतको रोपाइँका लागि बिहानमा गह्रा पन्छाएर (मकै भाँच्ने, डाँठ काट्ने) घरको पिँडीमा थुपारिएका हुन्थे । २/४ दिनमै ती मकै नबनाउने (नङ्ग्याउने, झोती बनाउने, पड्काउने आदि) गरिएन भने कुहिन थाल्दथे । त्यसैले दिउँसोभरि मेलामा काम गरेपनि साँझ खाना खाएपछि वल्तिरपल्तिरका जम्मा भएर रेडियो सुन्दै मकै बनाएको प्रसङ्ग रमाइलो लाग्दथ्यो । त्यतिखेर साढे नौबजेदेखि पाण्डव सुनुवारले ‘रोधी घर’ कार्यक्रम चलाउँथे । त्यस कार्यक्रमका लोकगीतले सबैको थकाइ मारिदिएको जस्तो भान हुन्थ्यो । एकाध घण्टाको काममा त्यो कार्यक्रमले ऊर्जा भरे झैँ लाग्थ्यो ।
हिँ… असारका त्यस्ता दिनहरू अब त इतिहास बने झैँ भए । गोरु पाल्ने चलन हराइसक्यो । हलो बाँध्ने, साहने मोही (बर्खे लिँड्को)को ठाउँ हाते ट्याक्टरले ओगट्यो । दु:ख गरेर लगाएको खेती पनि बाँदरको आतङ्कले राम्ररी स्याहार्न पनि नपाइने भैसक्यो । प्राङ्गारिक गोबर मललाई विकासे मलले विस्थापन गर्यो । युरिया मलको प्रयोगले किसानका साथी मानिने गँड्यौलाहरू मर्दै गए । परिणाम माटो जमेर ढुङ्गा सरह भैरहेछ । हामी पश्चिमाको अन्धानुकरण गरी आधुनिकताको बिगुल फुक्दैमा मख्ख छौँ । रपनि असारे पन्ध्रमलाई सम्झन मन लागेको परिणाम यतिका गथासोत गरेँ । उचाइ-निचाइप्रति यथोचितसहित सबै अग्रजानुज महानुभावमा असारे पन्ध्रम उर्फ धान दिवसको हार्दिक मङ्गलमय शुभकामना !!!
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०८२ असार १४ गते शनिबार
कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।




















