तिलक पाैडेल
२६ गते सोमबारको रातमा रुघाको सिकायतले मङ्गलबार सखारै बिउँझायो । प्रभातकालीन नित्यकर्म सम्पादन गरी घनपूरो सयन योग गरेँ । फ्रेस भई चपाती, तरकारी, महको बिहानी नास्ता गर्यौँ । हातका औँलाका टुप्पाहरू झमझमाएको व्यहोरा दीर्घभाइले अभिव्यक्त गरे । मलाई
पनि त्यस्तै भएको पाउँदा पथप्रदर्शकसँग जानकारी गरायौँ । हिजो साँझ खाएको औषधिको ‘साइड इफेक्ट’ भनेर सिटामोल खान दिइयो । औषधि समेत खाई करिब ८:१५ बजे मानसरोवरतिर रमाना भयौँ । दायाँतिर सोलार स्टेशन र राका गाउँ देखिन्थ्यो । कलात्मक गेटमा राष्ट्रिय मार्ग नं. २१९ को विशेष पर्यटन मार्गमा तपाईंलाई स्वागत छ । २० औँ चिनियाँ कम्युनिष्ट पार्टी राष्ट्रिय महाधिवेशनको भावनालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुहोस्, “चार सिर्जना” लाई प्रवर्द्धन गर्नमा ध्यान केन्द्रित गर्नुहोस्, र “चार अग्रणी” बन्न प्रयास गर्नुहोस् लेखिएको थियो । आधा घण्टाको यात्रापछि गाडीहरू जाममा रहेछन् । दुर्भाग्य ! एउटा गाडी दुर्घटना भएको रहेछ, दु:ख लाग्यो । तर कोही हताहत भएका रहेनछन् । सबै मिलेर गाडी उठाई यात्रा अघि बढ्दा ८:५५ बजे दर्केलिङ भन्ने सानो सहरमा पुग्यौँ ।
भञ्ज्याङ्को अर्को गेट पार गरेपछि ‘तिब्बत स्वायत्त क्षेत्रको स्थापनाको ६० औं वार्षिकोत्सव मनाउँदै’ लेखिएका होर्डिङबोर्डहरू सडक किनारमा थिए । तेरपाएँ भित्तामा शिक्षाको विकास गरेर मात्र हामीले गरिबीको जरा उन्मूलन गर्न सक्छौँ । केवल एकता र संघर्षबाट मात्रै विकास सम्भव छ – झोङबा काउन्टी जन सरकार, लेखिएको थियो । त्यसैगरी भित्तामा हामी सबैको मन जोडौँ, सुन्दर चित्र बनाऔँ, राष्ट्रिय एकता मजबुत पारौँ भनी लेखेको देखिन्थ्यो । अर्को होर्डिङ् बोर्डमा पार्टीको नेतृत्वमा, साहसपूर्वक शिखर चढौँ, जोखिमबाट नडराऔँ भन्ने लेखेको व्यहोरा गुगल/च्याट जिपिटि अनुवादकले जानकारी गरायो । घनपूरो अनुवाद नहुँदा अलि सार्थक व्यहोराहरू मात्र यहाँ उल्लेख्ने चेष्टा गरिएको छ । करिब दुई घण्टाको यात्रापछि पुरानो दोङ्वामा पुगेथ्यौँ । सहभागीहरूले कफी चक्लेट; भुटेका र बदाम, किसमिसादि मिसेको खाजा वितरण गर्नुभयो । कुत्रुङ-कुत्रुङ टोक्दै गाडीको यात्रा रमाइलोसँग अघि बढ्यो ।
करिब ११:१५ बजेतिर नयाँ दोङ्वामा पुग्यौँ । त्यहाँबाट वायाँतिरबाट मुस्ताङको सिमाना कोरोला-लेक्चेतिर जानेबाटो रहेछ । यो बाटो पहिले चालु थियो रे ! र छोटो पनि पर्ने रहेछ, तर कोरोनापछि बन्द गरिएको रहेछ । सुनौलो याकको मूर्ति निर्मित त्यस चोकमा चौथाइ घण्टा जति खर्च
गरेर सहभागीहरूले सुनौलो याकको मूर्तिको भूमिकामा मनचिन्ते फोटोहरू खिच्यौँ । ढुङ्गाजस्तै एकताबद्ध बनौँ, काँधमा काँध मिलाएर अघि बढौँ भन्ने होर्डिङबोर्ड र भित्तामा देशको उदय र पतन शिक्षामा निर्भर गर्दछ, शिक्षा र पुनरुत्थानमा सबै जनताहरूको दायित्व हुन्छ – शेन्बा काउण्टी जनसरकार लेखिएको देखिन्थ्यो । यसले जनमानसलाई सुसूचित गरिरहे झैँ लाग्दथ्यो भने पर्यटकहरूलाई पनि प्रिय पर्यटक साथीहरू, आफ्नो सुरक्षा र यहाँको प्राकृतिक वारावरण जोगाउन कृपया गाडी लिएर भित्र नजानुहोस् । जारीकर्ता : लाजाङ गाउँ कमिटी र जनसरकार भनी राजमार्ग दायाँ-वायाँको प्रवेशका लागि सतर्क गराएको प्रतीत हुन्थ्यो । दिशा निर्देशन बोर्डमा पाँच रङ्गको सबैभन्दा सुन्दर मरुभूमि, झोङ्बा काउन्टीमा भेटिने विभिन्न रंगहरू, तिब्बतको सुन्दरता त्यो भन्दा बढी छ भनी तीनतिर देखाइएको थियो ।
गीतहरू सुन्दै/गुन्गुनाउँदै त्यहाँबाट अघि बढी १२:३५ बजे फर्याङ भन्ने ठाउँमा पुगियो । ठाउँ-ठाउँमा वत्तीका लागि राखिएका सोलर सिस्टमहरू लोभिला देखिन्थे । करिब एकघण्टाको हँकाइपछि फन्सुम भन्ने ठाउँमा पुगेर दिवाकालीन भोजन गरियो । बगिरहेको सानो खोलामा ट्राउट (?) जस्तै माछा प्रशस्तै थिए । प्राय: सबै तीर्थयात्रीहरूको दिउँसोको खाना यही ठाउँमा हुँदो रहेछ । सबै आयोजकले खाना सागामै तयार पारी तातो राख्ने भाँडा (हटकेश)मा सुरक्षित गरी ल्याएका हुँदा रहेछन् । माछा खेलिरहेको दृश्यसँगै मीठो खाना खाई २:०० बजेतिर अघि बढियो ।
पौने घण्टाको हँकाइपछि मैयुम्ला चेक पोष्टमा दायाँतर्फ सवारी चलाउनुहोस् लेखिएको बोर्ड थियो । सुरक्षा जाँच गराई यात्रा अघि बढ्यो । करिब ४ बजेतिर वायाँतर्फ ठूलै ताल देखियो – खोङ्घ्यू सरोवर । अरू आधा घण्टा गुडेपछि मानसरोवर र कैलासको दुरदर्शनीय स्थलमा पुग्यौँ ।
सबैजना उत्रेर तस्विर खिच्ने काम भयो । सरोवर परिक्रमाको टिकट (@चाइनिज रू – युएन. ४३०।) लिने ठाउँमा सफा शौचालय भएको व्यहोरा तिबेतियन गाइड – धावाले जानकारी गराएपछि कतिपय सहयात्रीहरू फ्रेस भई ५:४० बजे परिक्रमा आरम्भ गरियो । ६:२० बजे मानसरोवरको जल सङ्कलन गर्न उपयुक्त स्थलमा ओर्लियौँ । जहाँकहिँबाट जल लिन सकिँदो रहेनछ । किनभने पानी र जमिनको सङ्गम बढी हिले हुँदोरहेछ । ४/५ जना तीर्थयात्रीहरूले पञ्चस्नान गरपनि अरूहरूले पूर्ण स्नान गर्नुभयो । नुहाउन वर्जित भनिए पनि कतिपयले नुहाउने र चिसो कपडा त्यहीँ निचोरिदिएको दृश्य सुपाच्य लागेन । धावाजीको हुलिया दिँदै ‘प्रहरीले तस्विर खिचेर लगेको, साँझ सोधनी भएमा ननुहाएको वा भारतीय भएको’ जानकारी गराउन हाम्रा नेपाली पथप्रदर्शक मोतिप्रसादले जनाउनु भयो । अन्तत: ७:३० मा सबै जम्मा भई परिक्रमाको क्रम जारी राख्यौँ ।
समुद्र सतहबाट ४,५८० मीटरको उचाइमा रहेको मानसरोवरको पानीका मुख्य स्रोतहरू कैलाश ग्लेशियरबाट मूलत: नजिकैका कङग्रीन्बोचे र नैमोनानि पर्वत हुँदै बग्ने हिमजल, वर्षा, साना नालाहरू रहेछन् । वार्षिक वर्षा लगभग १९० मि.मी. हुने हुँदा सरोवरमा नियमित जलापूर्ति हुने
रहेछ । यो ४१२ वर्ग किलोमीटरमा फैलिएको रहेछ । यो विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको ताजा पानीको ताल मध्ये एक मानिँदो रहेछ ।सबैभन्दा बढी गहिराइ ८१-९० मीटर रहेको यसको औषत गहिराइ ४६ मीटर रहेछ । यसलाई परिक्रमा गर्ने सडकको लम्बाइ करिब ९० किलोमीटर रहेछ । परिक्रमा गर्दै जाँदा ८:०५ बजे हिल्सातिरबाट आएको बाटो मिसियो । त्यसपछिको सडकको वायाँतिर दानव सरोवर/राक्षसताल र दायाँतर्फ मानव सरोवर/मानसरोवर पर्दारहेछन् । राक्षसतालको पनि अवलोकन गर्यौँ ।
कैलाश पर्वत नजिकै मानसरोवरको पश्चिमतिर समुद्र सतहबाट लगभग 4,575 मिटरको उचाइमा करिब 250 वर्ग किलोमिटरमा फैलिएको राक्षसतालको औसत गहिराइ 60 मिटर रहेछ भने यसको पानी लवणयुक्त रहेको जानकारी पाइयो । यसको पानी पिउनयोग्य पनि छैन । हिन्दू मान्यताअनुसार, राक्षसराज रावणले भगवान शिवलाई प्रसन्न गर्न राक्षसतालको किनारमा कठोर तपस्या गरी आफ्नो एक–एक शिर काटेर शिवलाई अर्पण गरेर अन्ततः शिवलाई प्रसन्न गराई वरदान पाएका थिए । हिन्दूहरू मानसरोवरलाई पवित्र र राक्षसताललाई अपवित्र मान्छन् । यसमानेमा तीर्थयात्रीहरू मानसरोवरमा स्नान र पूजा गर्छन्, तर राक्षसतालमा यस्तो गर्दैनन्।
राक्षसताल र मानसरोवर ताल दुवै चीनको तिब्बत स्वायत्त क्षेत्रमा अवस्थित छन्। तिनीहरू एक अर्कासँग जोडिएका छन्, बीचमा एउटा सानो जमिनको धारले छुट्याएका छ । कैलाश पर्वत यी दुई तालको उत्तरमा अवस्थित छ । कथा–किंवदन्तीहरूको मान्यता अनुसार, मानसरोवर
‘शुद्धता’ र ‘शान्ति’को प्रतीक हो, त्यसैले मिठो पानी र प्राणधारी जीव छन्। मानसरोवरलाई सात्त्विक (पवित्र, प्रकाश) ऊर्जा भएको स्थान मानिन्छ। तिब्बती मान्यता अनुसार मानसरोवर “सूर्यको ताल” हो । राक्षसताल ‘अहङ्कार’ र ‘इच्छा’को प्रतीक हो, त्यसैले यसको पानी नुनिलो र जीवनहीन छ । राक्षसताललाई तामसिक (अशुद्ध, अन्धकार) ऊर्जा भएको स्थान मानिन्छ । राक्षसताल “चन्द्रमाको ताल” हो । जेहोस्, दुवैले प्रकृतिको दुई ऊर्जा सन्तुलन गर्छन् । यसले यिन–याङ जस्तो दुई विपरीत शक्तिको सन्तुलन झल्काइरहेको प्रतीत हुन्छ ।
त्यही चोकमा निम्नानुसारको आयोजना विवरण बोर्ड रहेछ, जसमा –
चाइना रेलवे १४ औं ब्यूरो समूह लिमिटेड
पुलान काउन्टी सडक निर्माण सूचना
सम्माननीय जनसमुदाय र पर्यटकहरू,
यातायात अवस्थालाई सुधार गर्न र सडक सुरक्षालाई सुनिश्चित गर्नका लागि, G564 सडकको पुलानदेखि झियालाचुईसम्म सडक निर्माण कार्य भइरहेको छ। निर्माण अवधिमा सडक सुरक्षालाई सुनिश्चित गर्न निम्न सूचना जारी गरिएको छ:
■ निर्माण खण्ड :
G564 राष्ट्रिय सडक पुलानदेखि झियालाचुईसम्मको खण्ड
■ निर्माण अवधि :
२०२५ मे १ देखि २०२५ नोभेम्बर ३० सम्म
■ यातायात व्यवस्थापन उपायहरू :
1. एकतर्फी सञ्चालन र आंशिक बन्द –
निर्माण अवधिमा सडकलाई आंशिक रूपमा बन्द गरिनेछ, गति सीमा प्रति घण्टा ५ किमी राखिनेछ।
2. पर्यटक तथा सवारी चालकहरूलाई सुझाव –
कृपया वैकल्पिक मार्गहरू प्रयोग गर्नुहोस्, सकेसम्म G564 सडक प्रयोग नगर्न अनुरोध गरिन्छ।
■ सुरक्षा सावधानीहरू :
3. निर्माण स्थलमा अनधिकृत प्रवेश निषेध –
कुनै पनि व्यक्तिलाई निर्माण क्षेत्रमा अनधिकृत प्रवेश नगर्न अनुरोध गरिन्छ। जो व्यक्तिहरूले स्वतन्त्र रूपमा निर्माण क्षेत्रमा प्रवेश गर्छन् र त्यसबाट हुने आर्थिक क्षति वा कानुनी परिणामका लागि आफू नै जिम्मेवार हुनेछन्।
4. सावधानीपूर्वक यात्रा गर्नुहोस् –
निर्माण क्षेत्रमा यात्रा गर्दा गति घटाउनुहोस् र चेतावनी संकेतहरूलाई पालना गर्नुहोस्।
■ असुविधाका लागि क्षमायाचना :
निर्माण कार्यका कारण तपाईंलाई भएको असुविधाका लागि क्षमाप्रार्थी छौँ। तपाईंहरूको समझदारी र समर्थनको लागि धन्यवाद !
पुलान काउन्टी यातायात ब्यूरो
मिति: २०२५ जुन ४ लेखिएको रहेछ । प्रविधिको सहयोगले सबै व्यहोराहरूको जानकारी लिन सकियो । कतिपय दोकानहरूमा सामान खरिद गर्दा वा होटेलमा रेसिप्सनिष्टहरूसँग कुराकानी वा जिज्ञासा राख्दा पनि अनुवादक प्रविधिले निकै सहज गराएको अनुभव रह्यो – यसपटकको यात्रा !
अन्तत: स्थानीय समय अनुसार ८:३५ बजे मानसरोवर नजिकैको होटेल, चोईगुम्पामा पुगी त्यसदिनको यात्रान्त्य गरियो । बस्नको लागि एउटै कोठामा चार जनालाई व्यवस्था रहेछ । शौचालय माथि भनिएजस्तै रहेछ । खाना खाई दीपेन्द्र जोडीले भोलि बिहान लक्षद्वीप प्रज्ज्वलनको कार्यक्रम राखेकाले ज्योतिहरू तेलमा भिजाउने काम सकाई राखौँ भन्ने शोच तिलको तेल भएको जरिकन नै अर्को गाडीमा छुटेछ र काम थाँती राखी हामी सवेरै आराम गर्यौँ । केही सहयात्रीहरू भने राति १२/१ बजेतिर कैलास पर्वतबाट उज्ज्यालो तारा मानसरोवरमा आउँछ रे ! भनी अवलोकनार्थ सरोवरको तीरमा जानुभयो । तर त्यस्तो केही नदेखिएको जनाउनु हुन्थ्यो ।
क्रमश…
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#




















