×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कैलास-मानसरोवर यात्रा -१ (काठमाडौंदेखि केरुङ्सम्म)

  •  गोरखा समाचार
  • बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    २०८२ जेठ ४ गते दीपेन्द्रदाइले कैलास-मानसरोवरको यात्रामा हाम्रो जोडी, दिदी र दीर्घ जोडी जाने निर्णय गरिसक्यौँ, तिम्रो जोडी पनि सहभागी होस् भनी दुराभाषमा कुरा गर्नुभयो । पछि दीर्घभाइले पनि साविकमा ओम शान्तिको आयोजनामा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको मुख्यालय, माउण्टआबू जाँदाको व्यहोरा स्मरण गर्दै हजुरको जोडी पनि जसै सरिकिन पर्‍यो भन्ने भनाइ उषाको पनि रहेको जनाए र ५ गतेका दिन घुमाउने जिम्मा लिने संस्था “काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभल्स प्रा. लि.” को सम्पर्क ठेगाना उपलब्ध गराए । सोही बमोजिम सम्पर्क गर्दा त्यहाँका तुलाराम पौडेलजीसँग दुरपरिचयमै सगोत्रीय दाजू-भाइको नाताले र सहधर्मिणीको मौन समर्थनले मलाई पनि सहयात्रा गर्ने रहराङ्कुरण गरायो । सोही अनुसार संस्थासँग सम्पर्क गरी ११ गते आइतबार प्रवेशाज्ञा (भीषा) का लागि राहदानी (पासपोर्ट) उपलब्ध गरायौँ । प्रवेशाज्ञा आएपछि २१ गते बुधबार संस्थामा गई कार्यक्रमको बारेमा संक्षिप्त जानकारी लियौँ । २५ गते धेरै टोली भएकाले यथासम्भव २४ गते शनिबार नै अन्यथा २५ गते आइतबार बिहानै यात्रारम्भ गर्ने सहमति गरेर केही सामान खरिद गरी बिदा भयौँ । अन्तत: बिदेशी सहयात्रीका कारण शनिबार साइत गर्न नसकिएपछि आइतबार सखारै ३ बजे उठी ४:२० बजे इन्ड्राइभबाट सामाखुसीचोक बसस्टपका लागि यात्रारम्भ गरियो ।

    चोकमा कृष्ण ढकालजीबाट रुद्रक्षको माला एवम् सहयात्री कमल गुरुबाट टीका एवम् स्वास्तिवाचन गरी ५:०० बजे यात्रा गन्तव्यतर्फ अघि बढ्यो । दीर्घ जोडी खरीबोट, धापासीबाट र केही परबाट दीपाजी समावेश हुनुभएपछि हाम्रो १५ जनाको (दीर्घ‌+उषा, शारदा उपाध्याय, दिपेन्द्र+सरस्वती, कमलप्रसाद वली, तिलक+शारदा, गणेश आचार्य, सिता पोखरेल, द्वारीका कार्की उर्फ दीपा अनि पथप्रदर्शक एवम् बन्दोबस्ती तर्फका मोति, मङ्गल, लाल र भूपाल) नेपाली टोली अनि मलेशियाबाट थायन्मोझी ‘मोली’ र दाइभोम, अष्ट्रेलियाबाट भारतीय मूलका रजनीश र करूणा गरी कुलजम्मा १९ जनाको टोलीले पूर्णता पायो ।

    ६:०० बजे थाना भञ्ज्याङमा लघुशङ्का गरी ओह्रालो झर्दै ७:३० बजे विदुर-१, बान्द्रे स्थित जिम्मु रेस्टुरेण्टमा मैदाका पुरी, आलु/गेडागुडीको तरकारी र चिया/कफीको नास्ता गरेर ८:०० बजे अघि बढ्यौँ । ८:३० बजे वेत्रावती बजारमा पुग्दा दीर्घभाइले यसलाई उत्तरगया (सायद गया/काँसीको गया, दक्षिण गया होला) पनि भनिने र यहाँ मूलतः माघे सग्राँतीमा स्नान गरी पितृ उद्धारार्थ तर्पण/श्राद्ध गरिने जानकारी गराए । त्यही नदी तरेपछि हामी नुवाकोटलाई छाडेर रसुवा जिल्ला प्रवेश गर्‍यौँ । अब हाम्रो यात्रा उकालो लाग्यो । ९:०० बजे कालिकास्थान हुँदै ९:३० बजे राम्चे बजार पुग्यौँ । उत्तरगयामा स्नानको प्रसङ्गले नदीहरूको मुहान हाम्रै हिमालय पर्वत भएकाले जति तलतिर बग्दै जान्छन्, प्रदूषण पनि बढ्दै जाने हुँदा वरिष्ठ साहित्यकार डा. महेश्वर शर्माले नेपाल स्तोत्रममा निम्नानुसरका हाम्रै नदीहरूको नामोच्चारण गर्दै नुहाउनु उपयुक्त हुने बताउनु भएको सन्दर्भसँगै निम्न श्लोक पाठ गर्न खोज्दा आफूलाई कताकति अल्मलिएको पाएँ, जुन स्नानका बेलामा दशक पहिलेदेखि नै यिनै श्लोकहरू गुन्गुनाउँदै नुहाउने गरेको छु ।

    वहाँका अनुसार –
    कर्णाली सप्तसंख्याकाः सप्तकोश्यस्तथैव च ।
    आयान्तु सप्तगण्डक्यः स्नानकाले सदा मम ॥
    स्वर्णा-ताम्रवती-तमोर-वरुणा दुग्धाऽरुणा वाग्वती।
    वृद्धा-विष्णुवती-हिमा-तिलयबा कृष्णा च इन्द्रावती ॥
    ज्याग्दीवेत्ररुहा – बबै च कमला-मर्स्याङ्दिका मोदिका ।
    कर्णाली च सुविश्रुता हिमसुता तादी-त्रिशूली-सिता ।।
    भेरी-रापति-आँधि-मादि सरिता कोका च कावेलिका ।
    कल्याणाय वहन्तु नः प्रतिपलं मेची-महाकालिका ॥

    कतै नुहाउनै लाग्दा मात्र सम्झने हुँदो रहेछ कि ! भन्दा दीर्घभाइले लक्ष्मीपतिबालाई “बल हाल्न – औसानी” आउँदैन ? भनेर सोध्दा जहाँ पायो, त्यहिँ कहाँ आउँछ र ! भात र आम्खोरामा जल लेऊ त ! परीक्षा हुनेछ भनेको प्रसङ्गले हास्यरस प्रदान गर्‍यो ।

    केहीसमयपछि पिसाब-ब्रेक सकिएपछि दिसा-पिसाब सम्बन्धी चर्चा चल्यो । हर-हिसाब, न्याय-निसाफ र दिसा-पिसापलाई कहिल्यै रोक्नु हुँदैन । एकपटक आयुर्वेदाचार्यका छोराले विपरीत दिशाबाट आइरहेका नौजवान युवतीहरूले देख्ने गरी यस्सो बाटोको छेउतिर फर्केर पिसाप गरेछ । त्यो देखेपछि युवतीहरूले उसको बाबुसँग गएर उजुर गरेछन् – तपाईँजस्तो आचार्यका छोराले शिष्टता सिकेका छैनन् ? हामी दिदी-बहिनीहरू बाटोमा आइरहेको देख्दादेख्दै त्यहीँ पिसाप गर्न शर्म मान्नुपर्दैन ? … तब बाबुले छोरालाई डाकेर गालामा एक थप्पड लगाइदिएछन् । त्यो देखेर केटीहरू मज्जाले हाँसेछन् । पछि छोरालाई अर्थ्याउँदै तँलाई हर-हिसाब, न्याय-निसाफ र दिसा-पिसाप कहिल्यै नरोक्नु भनेको अझै तेरो दिमागमा पस्न सकेन र सोझै पिसाप नगरेर बाटोमा छेउतिर फर्केर गरिस् ! कहिल्यै गाई वस्तुले त्यसो गर्दछन् ? गाईवस्तुको जत्तिको बुद्धि पनि भएन …!

    बाटो काट्ने सन्दर्भमा दीर्घभाइले हजुरले आफैँलाई वञ्चना गर्नुभयो दाइ ? भन्ने प्रसङ्ग उप्काएपछि मैले चाणक्य नीतिको चौथो अध्यायको पहिलो श्लोकको भावानुवाद चर्चा गर्दै
    आयु र विद्या धन कर्म मर्नु, यी पाँच कुराको पछुतो नगर्नु ।
    जुन जन्मँदैदेखि सबै मिलेर, जन्मन्छ शिशु गर्भमै लिएर ।
    को व्याख्याले बाटो कटाउँदै १०:१० बजे राम्चे झरना पुर्‍यायो । यतिखेर झरनामा पानीको कमी महसुस भयो । हुनपनि पढ्दा कसलाई फेल हुन मन हुन्छ र ? धन नकमाऊँ भन्ने कसलाई छ र ? राम्रो कर्म परोस् नभन्ने को छ र ? रपनि मानिसहरू फेल भैरहेकैछन्, गरिबहरू पनि छन्, राम्रो परिश्रम गर्दागर्दै पनि नराम्रो भोगिरहेकै छन् भनेपछि आयु भन्नाले बाँच्ने अवधि र मृत्यु भन्नाले के भएर मर्ने भन्ने व्यहोरा पनि आमाको गर्भबाटै लिएर आएको जस्तो महसुस हुन्छ । त्यसैले मनमिल्दा सैँसाथीका घर-घरमा मासिक खाना खाने कार्यक्रमको आयोजनाले आपसी सान्निध्य बढोत्तरी हुने मननीय चर्चा दीर्घभाइले गरे । विचार शक्तिको बारेमा कुरा हुँदा ‘एकजना अपराधीलाई मृत्युदण्ड दिने र सो दण्ड करेत सर्पबाट टोकाएर दिने भनी राजाज्ञा भयो । तर निज अपराधीलाई घोप्टो सुताएर सियोले च्वास्स-च्वास्स कोपिदिँदा अन्तत: अपराधी मरेको अनि उसको शरीरको पोष्टमार्टम गरी फरेन्सिक परीक्षण गर्दा मुटु कलेजोमा वीष बनेको पाइयो’ भन्छन् । वास्तवमा विचार शक्तिको यो ज्वलन्त उदाहरण हो नै ।

    १०:३० बजे लामटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरी चेकिङ सकाएर धुन्चे हुँदै अघि बढियो । हाम्रो यात्रा गोसाइँकुण्ड ठडिने बाटो छाडी स्याफ्रुवेँसीतिर ओरालो लाग्यो । कुराकानीको प्रसङ्गमा आफ्नो सरोकारले कति ठूलो भूमिका निर्वाह गर्दछ भन्ने सन्दर्भमा एकजना सभापतिले कार्यक्रममा सम्बोधन गर्दा आफूलाई मीठो खाना खुवाउने होटेलवाली साहुनी, खाना थपिदिदाँ मीठो मुस्कान छर्ने साहुनीको छोरी अनि कार्यालयबाट भत्ता दिने एकाउन्टेन्टसाहेवलाई दिमागमै टाँसिन गरेर चिप्काएका सभापतिले आफ्नो सम्बोधनमा कार्यक्रमका अध्यक्षज्यूबाट सुरु गर्नुको सट्टा सम्बोधनमा अमुक होटेलकी साहुनी, साहुनी छोरी, एकाउन्टेन्टसाहेव र उपस्थित महानुभाव भनेथे रे !… हाँसो छुट्यो ।

    यात्रा ठूलो भार्खु, सानो भार्खु हुँदै बाह्र घुम्ती पार गरेर ११:४५ स्याफ्रुबेँसी पुगी भोटेकोशी तरेर तीरैतीर पार्वती कुण्ड (१०-१२ किमी माथि) जाने बाटो छाडेर अघि बढिरहेको थियो । कुलुङ्पुल हुँदै फुन्लुङ्पुल १२:१५ बजे पुगे पनि सवारीहरूको लामो जाममा रोकियौँ । त्यही समयमा हाम्रा बालापनको स्मरण भयो । हामीले पढ्ने स्कुलमा तत्कालीन शिक्षा सहायक मन्त्री क्षेत्रप्रताप अधिकारी जाँदाको सन्दर्भ उप्कँदा उनको शालीन प्रस्तुतीको स्मरण भयो । उनले अन्यत्रको वर-व्यवस्थाको चाहना गर्नेहरूलाई लेखतिरका मानिसलाई दमौलीका आँप र कटहर खान मन लागेपनि वहीँका नास्पति र टिमुरको छोप पथी हुन्छ भनेको सम्झना गर्दै गैरपञ्चहरूले आफूहरू सरकारमा रहनुपर्ने मागलाई सम्बोधन गर्दै पोखराबाट चढेका यात्रु नओर्लेसम्म मलेखुबाट चढ्ने यात्रुले सीट पाउन सक्दैनन् भनेर गरेको तथ्यमिश्रित अभिव्यक्ति सुरुचिपूर्ण रहेको ठहर्‍याइयो ।

    झण्डै ४५ मिनेटको जामलाई प्रहरीलाई भनाएर १:०५ मा खुलेपछि टिमुरे हुँदै १:२० बजे घट्टेखोलामा पुगेर सोनाम गेष्ट हाउसमा खाना खायौँ । एकपटक स्थानीय कृषि सडक विभागका महानिर्देशकज्यूसँग सिंहदरबार जाँदा प्रवेशद्वारमा सुरक्षा जाँचका लागि खटेका प्रहरीले अगाडिको सीटमा बसेका महानिर्देशकको परिचयपत्र हेरेर पछि बसेका उपसचिवको परिचयपत्रमा आँखा पुर्‍याएपछि सल्युट हानेको प्रसङ्ग स्मरणियो । त्यतिबेला परिचयपत्रमा सचिव भएकालाई सलाम गरेर सम्मान प्रकट गर्ने आदेश दिइएको हुँदा प्रमुख जिल्ला अधिकारीलाई वास्ता नगरी गाविस सचिवलाई सलाम गर्ने प्रहरीले आफ्नै बाबु-आमा भएपनि आदेश पाएमा कारबाही गर्ने गरी शपथ लिएकोलाई इमान्दारीपूर्वक निर्वाह गरेको पाइन्छ । हाम्रो सवालमा पनि कसैद्वारा जाम खुलाउन आदेश प्राप्त भएकाले सोचेभन्दा सहजरूपमा खुलेकोले भोक धेरै खप्नु परेन ।

    जेहोस् खाना खाई २:१५ मा नेपाली अध्यागमन पार गरी २:२०-२:५० सम्ममा चाइनिज अध्यागमन परीक्षण सकाई तिब्बत प्रवेश गरियो । तिबेतियन गाइड धावा भुटीले खादाद्वारा स्वागत गर्नुभएपछि सामूहिक तस्विर खिचेर ३:१० (चाइनिज समय नेपाली समयभन्दा २ घण्टा १५ मिनेट बढी रहेछ) बजे चीन/तिव्वत यात्रारम्भ गर्‍यौँ । १५ मिनेटको यात्रापछि नै २/३ ठाउँमा पहिरोका (निर्माण कार्यको कारण) कारण जाममा रोकिँदै ५:३० बजे ठोङ्सीमा पुगेयौँ । चाइनिज गाइड धावा भुटीबाट सुप्रभात- सोपदेले, शुभदिन -निङ्खुङ् देले, शुभसन्ध्या – गोङ्मु देले, शुभरात्रि – सिङ्जो नाङ्गो, नमस्ते – टासी देले भन्ने शब्द सिक्यौँ । सिमानाबाट २६ किलोमीटरको दूरी पार गरी ५:५० बजे केरूङस्थित गोल्डेन रिसोर्टमा चेकइन गरियो । वातावरण चिसो प्रतीत भैरहेको थियो । बजार परिक्रमा गरी भृकुटी मन्दिरमा सदा भैरहने नृत्यमा स्थानीयको सहभागिता नजर गरी केही आवश्यक सामान खरिद गरी खाना खाई भोलिको प्रतिक्षामा आराम गर्‍यौँ ।
    क्रमश…

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.