×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अक्षय तृतीया यसरी मनाइन्थ्यो

  •  गोरखा समाचार
  • सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    अक्षय तृतीया धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व

    अक्षय तृतीया बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिमा पर्दछ । यो भनेको औँसीपछिको तेस्रो दिन हो र यसपटक बैशाख १७ गते बुधबार परेको छ । हिन्दू धर्मावलम्बीहरूको मतमा यो विशेष धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको पर्व हो । “अक्षय” शब्दको अर्थ “कहिल्यै क्षय नहुने” अर्थात् “अनन्त” भन्ने हुन्छ। यस दिन गरिने शुभ कार्यहरू फलदायी हुने, पुण्य सञ्चय हुने, र दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । अक्षय तृतीयालाई विशेषगरी दान, जप, तप, पूजा, स्नान, हवन र धार्मिक अनुष्ठानका लागि अत्यन्त शुभ दिन मानिन्छ । यस दिन विवाह, गृह प्रवेश, नयाँ व्यवसायको सुरुवात तथा अन्य महत्त्वपूर्ण कार्यहरू गर्न उचित हुन्छ।

    हिन्दू मान्यताअनुसार, अक्षय तृतीयाका दिन भगवान विष्णुको छैटौँ अवतारका रूपमा जमदग्नि र रेणुकाको सुपुत्र, अष्ट चिरञ्जीवीमध्येका एक परशुराम जन्मिएकाले यस दिनलाई “चिरञ्जीवी तिथि”का रूपमा पनि मानिन्छ । उनी एक महान शिवभक्त, तपस्वी, अन्याय र अधर्मको विरुद्ध लड्ने एवं क्षत्रीय संहारकका रूपमा परिचित छन् । यसमानेमा अक्षय तृतीया “परशुराम जयन्ती” पनि हो ।

    सनातन धर्ममा सत्ययुग, त्रेतायुग, द्वापरयुग, र कलियुग गरी चार युग हुन्छन् । जसमध्ये अक्षय तृतीयाका दिन सत्ययुगको अन्त्य र त्रेतायुगको सुरुवात भएको मानिन्छ । यसै दिन राजा भगीरथले हजारौँ वर्षसम्म गरेको घोर तपस्यापछि गङ्गा स्वर्गबाट पृथ्वीमा अवतरित भएकी थिइन् । तसर्थ, यो दिन गङ्गा स्नान गरेर पूजा गरेमा जीवनभर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

    महाभारतमा पाण्डवहरू वनवासमा रहेका समयमा श्रीकृष्णले द्रौपदीलाई “अक्षय पात्र” प्रदान गरेको प्रसङ्ग आउँछ । यो पात्रबाट मनचिन्ते भोजन उत्पादन हुन्थ्यो, जसले गर्दा पाण्डवहरूलाई भोजनको अभाव कहिल्यै भएको थिएन । यसकारण अक्षय तृतीयाका दिन दान मूलत: अन्नदान गर्ने परम्परा चल्दै आएको पाइन्छ । साथै, कुबेरले यही दिन आफ्नो खजाना प्राप्त गरेका थिए भन्ने विश्वास रहेको छ । यो दिन भगवान विष्णुको पूजा बद्रीनाथ रूपमा गर्ने गरिन्छ र बद्रीनाथको ढोका पनि यसै दिन खोलिन्छ । हिन्दूहरूको तीर्थस्थल वृन्दावनस्थित बाँकै बिहारीको चरण दर्शन पनि अक्षय तृतीयको दिन मात्रै हुन्छ ।

    खासगरेर अक्षय तृतीया दिन अन्न, जल, वस्त्र, स्वर्ण, गाई तथा अन्य आवश्यक वस्तुहरू दान गर्दा कहिल्यै नष्ट नहुने फल प्राप्त हुने बताएको पाइन्छ । मुख्यत: भगवान विष्णु, लक्ष्मी र शिवको पूजा गरिने यो दिन व्रत बस्नाले अक्षय पुण्य प्राप्त हुने विश्वास रहेको छ । यो दिनलाई अति शुभ मानिएकाले कुनै “साइत जुराउन” आवश्यक पर्दैन । ज्योतिष शास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन विवाह, नयाँ कारोबारको सुरुवात तथा गृहप्रवेशजस्ता मङ्गल कार्य गर्नु निकै शुभ मानिन्छ । यसै दिन श्रीकृष्णले युधिष्ठिरले सोधेको प्रश्नको जवाफ दिँदै आजका दिन जुनसुकै रचनात्मक तथा सांसारिक कार्य गरे पनि त्यसको पुण्य प्राप्त हुन्छ भनेका थिए भनिन्छ ।

    नेपाल, भारत तथा अन्य हिन्दू धर्मावलम्बीहरू रहेका देशहरूमा अक्षय तृतीया पर्व विभिन्न तरिकाले मनाइन्छ । हामीकहाँ पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लगायतका प्रमुख मन्दिरहरूमा विशेष पूजापाठ एवं अनुष्ठान गरी विशेषत: चामल, गहुँ, जौ, गाई, सुन तथा जलदानलाई ठूलो महत्त्वका साथ हेरिन्छ । भारतमा खासगरी सुन तथा अन्य बहुमूल्य धातु किनेर राजस्थान, गुजरात, उत्तर प्रदेश, पश्चिम बंगाल तथा दक्षिण भारतमा यो पर्वलाई विशेष महत्त्वका साथ मनाउने प्रचलन रहेको पाइन्छ । त्यस्तै जैन धर्मअनुसार अक्षय तृतीयाका दिन पहिलो तीर्थंकर भगवान् ऋषभदेवले वर्षौँको तपस्यापछि आहार ग्रहण गरेकाले यो दिन व्रत, ध्यान तथा परोपकारका कार्यहरू गरेर मनाउने गर्दछन् ।

    अक्षय तृतीयाकै दिन शिव र पार्वतीका बीच विवाह भएको व्यहोरा शास्त्रमा उल्लेख छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गर्दा यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरूपका भगवानको निवास हुने मान्यता रहेको छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने; जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने साथै निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूर्य यज्ञको फल प्राप्त हुने धार्मिक विश्वास छ । त्यसैगरी यो दिन महालक्ष्मीको पूजा गर्नु पुण्यदायक एवं महामङ्गलकारी हुने शास्त्रीय मान्यता रहेको छ ।सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सद्गति पाउने धार्मिक विश्वास रहेकाले आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खान दिने प्रचलन छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको भौतिक महत्त्व पनि रहेको छ ।

    म पनि सानो छँदाको एउटा स्मरण सेयर गर्न मन लाग्यो । मेरो हजुरामाले “स्याँर्कोटेको चौतारो” भनेर चिनिने हाम्रो तगारो नजिकैको चौतारोमा यही अक्षय तृतीयाका दिन जौको सातु र खुदो पानी बनाएर बाटोमा तलमाथि गर्नेलाई बाँड्नु हुन्थ्यो । अघिल्लै दिन जौ भुटेर जाँतोमा पिन्ने र नाङ्लो जस्तो चाल्नीमा चालेर सातु तयार पारिएको हुन्थ्यो । चाल्नीका प्वाल ठूला भएकाले जौका ठोसा पनि सातुमा मिसिएका हुँदा मलाई त्यो सातु खान मन लाग्दैनथ्यो । रपनि खुदोको गुलियोका लोभले र हजुरामाले “आज अछेतृतीया, आज गरेका पुन्नेले जिन्नकीभरी सुख पाइन्च, चिरन्जीवी भइन्च, फेरि जौ भनेको सर्दी हो, अब यी गर्मी दिनहरूमा यो खाँदा शीतलो बनाम्च … ” भनेर खान भन्नुभएपछि अलिकति खाइन्थ्यो ।

    एकपटकको अक्षय तृतीयामा भने अघिल्लो दिन आमा र हजुरामा मिलेर जौ कुटेर जौका चामल बनाउँदै हुनुहुँदो रहेछ । म पनि स्कुलबाट घर पुगेँ । त्यतिबेला आमा ढिकी कुट्दै हुनुहुन्थ्यो भने हजुरामाले जौमा पानी छम्कँदै लगाउँदै हुनुहुन्थ्यो । अनि हजुरामाले “पहिला हाम्रा पालामा बुहारीहरूलाई अहिलेभन्दा पनि गाह्रो थियो । कुलकी छोरी, मुलको पानी भन्ते । एकपटक तिजको बेलामा माइतबाट लिन आएपछि बुहारीले आमा म पञ्चमीका भोलिपल्टै आउने गरेर माइत जान्छु है भन्दा सासुले लौ यति जौ फलेर सक अनि जालिस् भनिच । विचरा बुहारीले उही कोदो, धान फलेजस्तै ढिकीमा घान हालेर कुट्न थालिच, तर जौ त केको फलिनु ? दिन ढल्कन लागिसक्यो, जौ फलिँदैन ! अब माइत जान नपाउने भएँ भनेर बर्बर्ती रुन थालिच । आँसुले भिजेका गेडा छोडिएर चामल बनेको देखेपछि अनि पानी छम्केर कुटिच र जौका चामल बनाएर माइत गैति अरे ! त्यै भ’र जौ फल्दा पानी छम्केर फल्नुपर्च । छोरी भएपछि यो जान्दिन, उ जान्दिन भनी भने कस्ताकी छोरी र’चे भन्चन् । सबै कराको हेका राख्नुपर्च बाबै… ” भन्नुभएको प्रसङ्ग अहिलेसम्म ताजै छ र त्यस वर्षको जौको सातु अरू वर्षको जस्तो ठोसा भएको थिएन । त्यसैले भाइ, बैनी सबैले मीठो मानेर खाइएथ्यो ।

    त्यही चौतारामा साउनको ठूली एकादसीका दिन हजुरामाले पाकेका आँपको सदाबर्त लगाउनु हुन्थ्यो । त्यहीँ माटोको घैँटोमा पानी र बाँसको ढुङ्ग्रो राखिदिई ‘धर्मशाला’ राखेको भन्नहुन्थ्यो । हरेक बिहान आफ्ना नित्यकर्महरू सकेपछि चराहरूलाई चारो राखिदिएर त्यो घैँटोमा पानी भर्न जानुहुन्थ्यो । घैँटामा पानी राखेर मात्र दैनन्दिनी काममा सरिक हुनुहुन्थ्यो । २०२८ सालमा परलोक हुनुभएकी हजुरामाको स्मृतिमा स्व. पिता तुलसीराम पौडेलले २०४१ सालमा त्यही चौतारोमा धारा कचुरेनी खानेपानीको टङ्की बनाउन सहमति दिनुभएथ्यो र सोही टङ्कीको पानी अहिले पनि तलमाथि गर्ने सबैले उपभोग गर्नुहुन्छ । यस घडीमा दिवङ्गत हजुरामा र बुवाप्रति बैकुण्ठवासको कामनामा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

    यसरी अक्षय तृतीयालाई हिन्दू धर्मावलम्बीहरूको एक अत्यन्त पवित्र दिन मान्न सकिन्छ । धार्मिक, सांस्कृतिक, सामाजिक एवं आर्थिक महत्त्व बोकेको यो दिन गरिने कुनैपनि शुभ कार्यहरूले जीवनभर सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।

    अक्षय तृतीया पर्वको उपलक्ष्यमा मनचिन्ते प्राप्तिको हार्दिक शुभकामनासहित !

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    २०८२ बैशाख १४ गते आइतबार
    कीर्तिपुर-२, अमृतनगर, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.