तिलक पौडेल
भोलि अख्तियार दिवस (माघ २८) ! त्यसैको उपलक्ष्यमा कर्मचारी मिलन केन्द्र, जुम्लाद्वारा काव्य गोष्ठीको आयोजना ! मिलनकेन्द्रको अध्यक्ष भएको र काव्यानुरागी पनि हुँदा अघिल्लो काव्य अन्तरक्रियाका बेलामा नै आजको शनिबार र उप्रान्त साप्ताहिक रूपमा क्रम अघि बढाउने सल्लाह बमोजिम काव्य गोष्ठी आयोजित थियो । त्यसमा मिलन केन्द्रका संरक्षक – श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूको उपर्युक्त दिवस मनाउन मिलन केन्द्रले के कार्यक्रम राख्न सक्छ ? भन्नु भएपछि सोही भेटघाटलाई अख्तियार दिवस २०६३ को उपलक्ष्य भनी प्रात:कालमा कागजी व्यानर तयार पारेँ । बादलिएको कारण र व्यस्तताको परिणाम नुहाइ-धुवाइमा संलग्न हुन सकिन ।
जोहोस् १:०० बजेको निर्धारित कार्यक्रम शुरु हुनु पूर्व र पश्चात् गोपी मैनालीको नियात्रा “आँखाभरि रमिता, मनभरि वेदना” पढेर आफूलाई व्यस्त कहलाएको हुँ । म झण्डै मैनालीसँग परिचय हुँदादेखि नियमित दैनिकी लेख्ने गरेकोछु । यस मानेमा मैनालीको नियात्रा “कार्यसम्पादन दैनिकी” अन्तरगत कल्पना, तुलना र विवरण संलग्न दैनिकीका रूपमा हेर्न सकिने देखिन्छ । जापानको प्रत्यक्षानुभवबाट नेपालको सोस्तरको कल्पना गरिएकोछ, कहिले होला ? कसरी होला ? चिन्ता जाहेर गरी राष्ट्रवादिता प्रकटिकोछ । फेरि आफ्नो कार्यालयीय भ्रमण हुँदा, त्यहाँ भए÷गरेको अभ्यास, नेपालको तत् क्षेत्रसँग तुलना गरिएकोछ । अनि आफ्नो यात्रावधिमा परेका नेपाली चाडपर्वहरूप्रति अतिसंवेदनाका विवरणहरू उल्लेख भएको छ । यसबाट पाठकहरूमा एक खालको रोचकता प्रदान गर्न नियात्रा सफल भएकोछ ।
भनिन्छ हजुरबाट तपाईं, तपाईंबाट तिमी अनि तिमीबाट तँको सम्बोधनमा पुग्नु सन्निकटता हो । यो हिसाबले गोपी र उनकी सहधर्मिर्णी (कमला) बीच अगाध प्रेम छल्किएका भावहरू नियात्रामा प्रष्ट छन्, जसले वर्तमानका नारी समानताका वकालतीहरूबीच त्यस्तो उच्च÷संभ्रान्त परिवारमा पनि संवोधनमा असमानताको अवशेष विद्यमान (अर्धाङ्गिनी कमलाबाट …. सियोस्को संवोधन) रहेको चर्चा परिचर्चा गराउन सक्छन् । तर, ति उनका नितान्त पारिवारिक÷वैयक्तिक प्रसङ्ग हुनाले समीचीन पूट पाउन असफल सावित होलान् ।
त्यसो त विश्वव्यापी गाउँ (Globle Village) को सनसनी फैलिएको वर्तमानमा १,४७,१४१ वर्ग किलोमिटरमा फैलिएको क्षेत्रमा ढाइकरोड व्यक्तिका पक्षमा ओकेलिएको चिन्तालाई अति राष्ट्रवाद पनि नभनिएला भन्न सकिन्न । तरपनि उपर्युल्लिखित हिसाबले धर्तीका कुनै दुईक्षेत्रहरूबीच तुलना गरी स्वैरकल्पनालाई विवरणात्मक रूप दिइएको प्रस्तुत कृति आफैँमा प्रशंसायोग्य छ । कमसेकम आफूलाई जापान गएको, जान पाए ….. भन्ने भावनाहरू जगाउन नियात्रा सफल छ । बरू प्रयोजित कागजको स्तर संक्षिप्त्याएर मूल्य न्यूनीकरण गर्न सकेको भए त्यो रसास्वादनको दायरा थप फराकिलो हुने थियो होला ।
त्रुर्टि छँदै छैनन् भनेर दूधस्नान गराउन नसकिए पनि नियात्रा सरल, सहज र सररर बगेको छ । नयाँ-नयाँ स्थानको अवलोकन अनि नियात्राकारको सजीव चित्रणले एकै दिनमा सक्न पाए ! भन्ने रहर जाग्दछ – जापानी भूमिको शब्दचित्र हेर्न ! जापान नगएका र जान चाहनेले एकपटक पढ्नै पर्ने कृति हो – आँखाभरि रमिता, मनभरि वेदना !
मैले आज पढेर सक्दा जीवनमा नयाँ अध्याय थप भएको, दिन/बिदा उपयुक्त ढङ्गले बिताउन सकेको महसुस भएको छ । यो नै कृतिकारको सफलता हो – मेरो हार्दिक धन्यवाद, जापानी व्यहोरालाई स्वार्थीमनमा मात्र नराखी सबै सामु पस्केर ऋजुता प्रकट गरेकोमा र अप्रत्यक्ष गुण लगाएकोमा ।
…सके सपारौँ, नसके नबिगारौँ…
२०६४ माघ २७ गते शनिबार
जुम्ला ।




















