तिलक पाैडेल
स्लीपर बसमा जीवनको नयाँ अनुभवसँग रात्रियात्रा गरियो -रमाइलो महसुस भयो । अन्तत: माघ ५ गते शनिवार बिहान ८:४५ मा बसस्ट्यण्डमा ओर्ली टेम्पोवालाको सहयोगमा अशोकनगरस्थित होटेल पूजितमा चेकइन गरियो (नन एसी २१०००।-) । फ्रेस भएर अशोकनगरकै क्याफे
तिरुपतिमा डोसा, इड्ली, उखुको रस, चिया खाई कोठामा आएर आराम गरियो । करिब ५:०० तिर बाहिरिई चिया खाएर तिरूमाला (तिरुपतिबालाजीको मन्दिर भएको ठाउँ) जाने बसको खोजीमा निस्कँदा उसिनेको हरियो मकै खायौँ । त्यतातिर हरियो मकै चिनीपानीमा उसिनिँदो रहेछ, चियाका गिलासहरू राख्ने स्ट्याण्ड पनि नौलै लाग्यो । २३००।– प्रति दर्शनार्थीको टोकन लिएमा, जुन अनलाइन पनि लिन सकिने रहेछ, सर्वसाधारणको लामो लाइन उभिनु नपर्ने जानकारी पाए अनुरूप गेटमा टोकन प्रणाली आजैका मितिबाट अन्त्य भएको बोर्ड टाँसिएको भएपनि बुझ्ने धृष्टता गर्दा सबै बन्द रहेछ । महात्मा गान्धीको स्वर्ण मूर्तिको भूमिकामा तस्विरहरू खिची बसस्ट्यण्डतिर गई मारवाडी भोजनालयमा सायमकालीन भोजन गरी होटेल फर्केर आराम गरियो ।
माघ ६ गते आइतबार बिहान पानी परिरहेकोले दूध, पानी मगाई सातु र चिउराको कोठे नास्तापछि बाहिरिएर चिया पियौँ । तिरुपति बालाजीको दर्शनको सम्भाव्यता बुझ्ने हिसाबले कोठामा फर्केर कपडा फेरी बसपार्क आएर ९:३० बजे तिरूमाला रमाना भयौँ । टिकट (नन एसी २६०।-) काटेपछि सो रूटको जुनसुकै बसमा चढ्न पाइने, उभिएर यात्रा गर्न नपाइने व्यवस्था राम्रो लाग्यो । बिचमा सुरक्षा जाँच पास गरी १०:५० मा तिरुमाला पुग्यौँ । नजिकै उपलब्ध बदाम दुध (२३०।-) खाएर वरिपरि घुमी मन्दिर दर्शनबारे सूचना केन्द्रमा कुरा बुझ्दा आजै राती १:०० बजे लाइनमा बस्नुपर्ने, टोकन प्रणाली आजैका मितिबाट अन्त्य भएको जानकारी प्राप्त भयो । अब तिरुपति फर्कनु भन्दा आज यतै बिताई साँझ खाना
खाएर लाइन लागी दर्शन गर्ने सल्लाह गरियो र गुगलबाट शाकाहारी भोजनालयको खोजी गरियो । गुगलकै निर्देशानुसार अनुसा हस्पिटालिटी सर्विस, ग्राउण्ड फ्लोर, नन्दकाम सर्कल, तिरूमालामा गई खाना खायौँ । हामीले लञ्च खाने बारेमा सोधनी गर्दा १२:०० बजेपछि मात्र सुरु हुने जनाइयो । वास्तवमा बाह्रबजेसम्म ब्रेकफास्टका परिकारहरू मात्र उपलब्ध हुने, तदुपरान्त प्रातस्कालीन नास्ताका परिकार उपलब्ध भएपनि ग्राहकलाई नदिइने र यही व्यहोरा डिनरका हकमा पनि लागू गरिएको प्रसङ्ग आफैँमा स्वस्थकर एवम् कसैलाई पनि मनपरी खाने इजाजत नहुने परिपाटी दक्षिणि भारततिर अन्यत्र पनि अनुभव गरिएकै थियो – मनासिब लाग्यो । केही समय बाहिरै प्रतिक्षा गरेर निर्धारित समयमा हलमा भित्रिएर भोजन (कर्ड राइस – नयाँ अनुभव, मिठो लाग्यो, भेज बिरियानीको अनुरोधमा टेबुलमै अचार, रैता, तरकारी, साम्बरादि उपलब्ध थिए) औसत १८०।– का दरमा ग्रहण गरियो । त्यहाँ CGST = Central Goods and Service Tax 2.5% र SGST = State Goods and Service Tax 2.5% लिइँदो रहेछ, अन्यत्र त्यति ख्याल गरिएको थिएन ।
जेहोस् खाना मिठो अनि सेवा चुस्त एवम् सरसफाइ मनचिन्ते नै थियो । वरिपरिको वातावरण पनि हामीकहाँ भन्दा फरक थियो । आँप पाकिसकेका थिए, रुख कटहरहरू पाक्ने उमेरका देखिन्थे, खेतमा लहलह धान झुलिरहेको थियो । रपनि हामी बिचमा अब साँझसम्मको समय कसरी बिताउने रु भन्ने समस्या खडा भयो । बेलुकाको उभ्याइको थकाइलाई मनन गर्दै सहभागी चारजना आराम गरेर दिन बिताउने शोच बनाउनु भयो । हाम्रो जोडी भने Andhra Pradesh State Road Transport Corporation (APSRTC) का बसहरूबाट २१२०।– त्यहाँ वरिपरिका ६ वटा मठ, मन्दिरहरूको दर्शन गरिने व्यवस्थालाई उपयोग गर्ने हिसाबले सहयात्रीहरूसँग बिदा भई बसपार्कतिर लाग्यौँ । तर, ती बसहरू दसबजेसम्म मात्र चल्दा रहेछन् । संयोग जीपहरू पनि चल्ने व्यवस्था रहेछ र २२००।– मा श्रीभारी पादालु मन्दिर, शीला तोरणम्, चक्रतीर्थम्, पापविनासनम्, आकाशगंगा, जपाली हनुमान र भेनुगोपाल स्वामी आलय मन्दिरको दर्शन गर्यौँ । दर्शन सकेर फर्की बेल्टब्याग निर्मलालाई दिएर म शौचालय गएँ । म निस्केपछि दुबै चिया पिउन गयौँ । बेल्टब्यागसँग उनको आपनत्व नभैसकेको परिणाम झोला त्यहीँ छुटेछ । पैसा तिर्ने बेलामा झोला – जसमा पासपोर्ट, रकम, मोबाइल समेत थिएस छुटेको जानकारी भयो र दौडेर सम्बन्धित ठाउँमा जाँदा त्यहीँ नै रहेछ, भेटियो । खुसी मात्रै हैन त्यतातिर चोरी नहुँदो वा कम हुँदो रहेछ भन्ने लाग्यो ।
अन्तत: सबैजना पुनर्मिलन भयौँ । साथीहरूले निस्शुल्क प्रसादनालयको बारेमा जानकारी लिनु भएको रहेछ र सबैले जुत्ता काढी जुत्ता, चप्पल राख्ने खुला र्याकमा राखी फोटोसमेत खिच्यौँ । त्यसपछि निस्शुल्क प्रसादनालयमा खाना खायौँ । केही रकम सहयोग स्वरूप दिने शोच बनाएकोमा नगद नलिने र अनलाइन पेको सुविधा हामीसँग नहुँदा मन खुन्सियो । त्यतैबाट जीप चढेर लाइन लाग्न जानु उपयुक्त हुने जानकारीसँगै जीप स्टेशनतिर गयौँ । झण्डै ५/७ किलोमीटरको यात्रापछि दर्शनार्थीको लाइन देखियो । ७:३० बजेतिर उभिएका हामी करिब ८:४० बजे ४३ नम्बर गेटबाट औपचारिक लाइनमा प्रवेश गर्यौँ । मुस्किलले ३ जना उभिन मिल्ने गरी कडा फलामको बार र टिनको छत मिलाइएको उभिने स्थान रहेछ । ठाउँ-ठाउँमा पिउनेपानी, शौचालय, निःशुल्क प्रसादनम् आदिको व्यवस्था राम्रो लाग्यो । पङ्खा नराखेको देखिँदा सदा शीतलै हुने अड्कल गरियो । दर्शनार्थीको भीड व्यापक लाग्यो । साह्रै चाँडो दर्शन पाउँदा करिब ३ घण्टा लाग्ने र कुनै पर्व, उत्सव विशेषमा कहिलेकाहीँ ३ दिनसम्म लाइन लागेको व्यहोरा पूर्वानुभवीले जनाउँदै आज भने भोलि बिहान ७/८ बजेसम्ममा दर्शन मिल्ला कि ? अड्कल काटे । हामीहरू करीब ११:०० बजे झण्डै ५०० जना अट्ने कोठामा पुग्यौँ । त्यहाँ दर्शनार्थीहरूका लागि उपमा, दुधको सेवा उपलब्ध थियो र इच्छुकजनले उपभोग गरिरहेका थिए । करिब एक घण्टापछि पुन: लाइनमा लगाइयो । बिचमा सुरक्षा जाँचको क्रममा आधारकार्डका रूपमा पासपोर्ट सहित तस्विर खिचाई अलिक पर मोवाइल, झोलाहरू कम्प्युटराइज्ड व्यवस्थामा राखियो । झण्डै १:३० बजे १७ नम्बरको
कोठामा प्रवेश गर्यौँ । मार्वलको चिसो भुइँमा बस्न समेत असहजतासँगै ३ घण्टा आराम ( गर्दा मार्वलै तात्यो । साढे चारबजेतिर त्यहाँबाट निस्केपछि सेक्यूरिटी चेक महिलारपुरुषको छुट्टाछुटै) गरी अघि बढ्यौँ । अन्तत: ६ गते साँझ लाइनमा बसेका हामीले ७ गते सोमबार बिहान ६:३० बजे बालाजीको नजिकैबाट दर्शन गरियो । वास्तवमा त्यतातिरका मन्दिरहरूको बनौट एवम् शृङ्गारपटार निकै आकर्षक लाग्दथ्यो । एक दुनो दहीभात (कर्डराइस) खाई कम्प्लिम्न्ट्री लड्डुको खोजी गर्दा लामो लाइन भएकाले एकजना सज्जनबाट नैवेद्यको रूपमा चाखी शौचको तीव्रताले म अलि अगाडि जुत्ता लगाउन आउँदा त पशुपतिका, निर्मलाका र मेरा जुत्ता राखेको ठाउँमा रहेनछन् । निर्मला आत्तिइन्, म शौचालयतिर गई पर्कँदा हराएको ठहर गरिएको रहेछ । हिजो मात्रै निरूले अरू जे जस्तो भएनि जुत्ता चाहिँ राम्रो क्वालिटीको चाहिँदो रहेछ भनेकी थिइन् आजै हराए । पाउपोस जतनसँग राख्ने हो भने कलकरूममा राख्नु उपयुक्त लाग्यो । त्यहाँ त पाउलोहरू दान गर्ने ठाउँ हो, प्रायस्ले थोत्रामोत्रा लगाएर आउने र त्यसै छाडिदिने गर्दछन् । हुनपनि जुत्ता, चप्पलहरू धेरै पहिलेदेखि नै छाडिएका जस्तो लाग्ने दृश्य थियो । तपाइँहरूका आजै कसैले चोर्नु भनेको दान स्वीकार्नु जस्तै हो । भनिन्छ – जुत्ता, छाता, फलामादि वस्तु हराउनु ग्रह काटिन्छ रे ! सन्तोष मानियो । र पनि अमिलो मनसँग चिया, नास्ता गरी एसी बस ९२११०।- बाट तल तिरूपति झर्यौँ ।
होटेल आइपुगी फ्रेस भयौँ । संयोग त्यो दिन हाम्रा जेठा छोरा रोशनको जन्मदिन थियो । सोही दिवसको शुभोपलक्ष्यमा बिहानी भोजन (औसत २७५।– प्रति व्यक्ति) हामीले सौजन्य गर्ने शोच अनुरूप तिरुपतिको टाटानगरस्थित पञ्जावीढावामा खाई बाबुलाई शुभकामना प्रकट गर्यौँ ।
त्यसपछि महिला सहयात्रीहरू होटेल तर्फ र हामी दुई मल्लिकार्जुन जाने बसको खोजी गर्न बसपार्कतिर लाग्यौँ । त्यो रुटमा स्लिपर बसहरू नचल्दा रहेछन् र APSRTC = Andrea Pradesh State Road Transport Corporation को सरकारी बसमा टिकट लिन गयौँ । टिकट दिनुपहिले सबैको आधारकार्ड खोजेकाले होटेल गई सबैको राहदानी ल्याएर पेश गर्यौँ । ६० वर्षमाथिकालाई Senior Citizens को छुट दिइँदो रहेछ र छुटसहित रात्रिबसको टिकट (औसत २७६०० लियौँ ) विदेशमा पनि जेष्ठ नागरिकको सम्मानस्वरूप भाडाछुट उपभोग गर्न पाएकोमा रमाइलो महसुस भयो ।
हिजो जुत्ता गुमेपछि मेरो लागि एकजोडा चप्पल किनेर कोठामा फर्क्यौँ । केही समय आराम गरी साँझ कोठे खाना खाई गीता अध्ययनमा सरिक भई आराम गरियो ।
८ गते मङ्गलबार बिहानी नित्यकर्मपछि बाहिरिएर चियापान गरी झोला मिलाई अरू कोठाहरू चेकआउट गर्यौँ र १०२ नम्बर कोठा (पशुपति जोडी बसेको) मा लगेज जम्मा गरियो । पदयात्री बन्दै अशोकनगरस्थित क्याफे तिरूपतिमा गयौँ र डोसा, ईड्ली, बारा, उखुको रस खाएर पैदलै होटेल फर्कियौँ । मैले रचनारम्भ गरेको गीती कविता सुन्दैरसुनाउँदै सामाजिक सञ्जाल अद्यावधिक गरी समय बिताएँ । साँझपख टाटानगरस्थित बालाजी उडल्याण्ड, शाकाहारी भोजनालयमा खाना खायौँ । दुइटा टेम्पोबाट बसपार्क आई सामान साइडको डिक्कीमा राखी श्रीसैलमतर्फको रात्रिबस यात्रा गरियो ।
क्रमश:…
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#




















