तिलक पाैडेल
सबैजना टीकारदुर्गा भाउजूहरूको कोठामा जम्मा भई कोठेनास्ता गरी बाहिर निस्केर चिया पियौँ । चिया स्टलका धनी कहिल्यै नहाँस्ने जस्ता देखिँदा पशुपतिले यो मान्छे हाँसे मैले १० रुपैयाँ दिन्थेँ भनेको व्यहोरा तमाम यात्रावधिको स्मरणीय लाग्छ । जेहोस् ८:३० बजेतिर सामानहरू गाडीमा राखी कन्याकुमारीका लागि रमाना भयौँ ।
आधी घण्टाको यात्रापछि गाडीमा पेट्रोल हाल्न रोक्दा खानेहरूले खानेचिज ( मासु समेतको समुद्री सिपी बिक्री गरेको हाम्रो लागि नौलो भयो । ११:०० बजेतिर वायाँतर्फ होचा-होचा पहराहरू देखिए-हाम्रै पहाडी भेकमा जस्तै, मनमस्तिष्कमा सम्झना आलियो । गुगल मार्फत गाडीमै होटेलको खोजी गर्दा होटेल गणेश एण्ड लज मन्दिरबाट पनि नजिकै र हाम्रो खर्चको सीमामा पनि समेटिने भेटियो । साढे एघारबजे सोही होटेल अगाडि सामानहरू झारेर चालक अर्को बुकिङका लागि बिदा भए । हामीले चेकइन गरी संक्षिप्त ताजा बनेर खानाको लागि बाहिरियौँ ।
शुद्ध शाकाहारी भोजनको खोजीमा नजिकैको होटेलले खाना भएको जनाएर प्रवेश गर्दा माछाको परिकार र गन्धले स्वीकार्न सकिएन ।
त्यतातिर माछा र अण्डालाई शाकाहारी पनि मानिन्छ रे ! अर्को होटेलको सोधनी गर्दा करिब एक किलोमिटरको दुरीमा विवेकानन्द पार्क रहेको र त्यहाँको चित्रा होटेलमा शुद्ध शाकाहारी भोजन पाउन सकिने जानकारी लिई अघि बढ्यौँ । करिब पौने एक बजेतिर नभन्दै चित्रा होटेल अगाडि पुग्यौँ । केराको पातमा दक्षिण भारतीय खाना खाएर ताजा खरबुजा र भुईँकटहरको जुस खायौँ । दुई बजेतिर होटेलमा फर्केर पाँच बजेसम्म आराम गरी साढेपाँच बजेतिर पैदल बाहिरियौँ ।
करिब आधा घण्टाको हिँडाइपछि कन्याकुमारीको मन्दिर र पारिपट्टि टापुमा विवेकानन्द रक मेमोरियलको अवलोकन गरियो । पारि द्वीपमा
जानेबारेमा जिज्ञासा राख्दा ७५ र ३०० रुपैयाँका प्रवेश टिकट लिएर मात्र जान सकिने र टिकट भोलि ८:०० बजे मात्र लाइनमा बसी लिन सकिने जानकारी प्राप्त भयो । उखुको जुस पिएर गर्मीलाई मस्तर्याई सामुद्रिक तटमा तस्विर खिचेर पानीको छालसँग रमाइयो । नजिकैको श्री मारवाडी पञ्जावी ढावा, नियर रकवे, कन्याकुमारीमा रोटीको खाना खाई पैदल टहल्दै होटेल फर्क्यौँ । सबैसँग भोलि बिहान ७:३० मा लबीमा भेट हुने राय गरी पशुपति र मैले रामेश्वरम् जाने गाडीको खोजी गरी आराम गरियो ।
पुस २८ आइतबार बिहान उठी सनातनी नित्यकर्महरू सम्पादन गरी कुर्ता र टोपीको पहिरनमा कन्याकुमारीको दर्शन निस्कियो ।अटोरिक्साबाट गई दर्शन गर्न लाइनमा जाँदा पुरुषलाई माथितिर भेष्ट पनि लगाउन नपाइने व्यहोराको जानकारी भयो र त्यसै गरियो । लाइनमा
बस्दा एकजना महिला बाँसको छेस्काले जिब्रो छेडेर सहयोग मागिरहेको देख्दा हामीकहाँ भक्तपुरतिर कुनै पर्व विशेषमा यसैगरी जिब्रो छेड्ने गरेको व्यहोरा ताजियो । नियालेर हेर्दा तिनको त्यो व्यहोरा कृत्रिम जस्तो लाग्दथ्यो, भला जेसुकै होस् ! दर्शनपछि सबै जम्मा भई मन्दिर परिसरको समुद्रीतटमा तस्विर खिच्यौँ । दुईजना मेडमहरूको व्रत भएकाले वहाँहरूलाई दुधको बन्दोबस्त मिलाई हिजोकै ढावामा नास्ता गर्यौँ र स्वामी विवेकानन्द रक मेमोरियलमा जान फेरी चढ्ने टिकट लिन १०:३० बजे लाइनमा लाग्यौँ । हामी रु ७५ दरको लाइनमा बस्न जाँदा संयोग सेन्ट जेभियर्स कलेज, माइतीघरका विद्यार्थीको समूह भेटियो र तिनीहरूसँगै मिसियौँ । श्रीमती बजाउने र श्रीमान्ले आफैँलाई कोर्राले हान्ने खेल देखाएर सहयोग बटुलिरहेको दृश्य कारुणिक लाग्दथ्यो । लाइनमै बस्दा आफन्तजनसँग कुराकानी कुराकानी गरियो भने हिजो हामीलाई कन्याकुमारी ल्याइदिने ट्राभल एजेन्ट ‘Friendstrack’ सँग कुरा गरी भोलि रामेश्वरम्सम्म पनि उनीहरूकै गाडीबाट जाने टुङ्गो लगाइयो । डेड बजेतिर बल्ल टिकट हात लाग्यो भने उभिँद-उभिँदा गलित भएको शरीरलाई भक्तपुरकी छोरी सुनवीको सौजन्यमा मलाई २:०० बजेतिर बिसाउने अवसर प्राप्त भयो । टिकट हात परेको पनि एक घण्टापछि मात्र फेरीमा चढ्ने लाइनमा पुगियो । जेहोस् साढेदुई बजे पारि स्वामी विवेकानन्द रक मेमोरिय द्वीपमा पुग्यौँ । पुन: त्यो द्वीप घुम्न प्रतिव्यक्ति रु ३० लाग्ने रहेछ र टिकट लिई पाउपोशलाई निर्धारित स्थानमा राखी घुम्न थाल्यौँ । पशुपति जोडीको करिब दुई दशक पहिलेको स्मृति तज्याउने तस्विर लिई अरूहरूले पनि तस्विर खिच्यौँ ।
अरूहरू थाकेको कारण विवेकानन्दको मूर्तिसम्म जान असमर्थ जनाए पनि टीका, दुर्गा भाउजूहरू र म माथि गयौँ । Statue of Wisdom को गेटबाट छिरेर तीन घुम्ति उकालोमा क्रमशस् २७, २० र २२ पाइलाहरू हिँडेपछि स्वमीको पूर्णकदको विशाल मूर्तिको दर्शन पाइने रहेछ ।
हामीले पनि दर्शन गरी केही तस्विर खिची फर्कियौँ । भित्तामा 122. DREAM VISIONS मा In wakeful hours who sees me not, I meet in dreams and linger yet. जस्ता १३३ वटा कवितांश जस्ता मार्वलमा कुँदेर टाँसिएका थिए । सिसाको पुल-तल समुद्रको पानी देखिने, तरी २९ पाइलाको उकालो चढेर विवेकानन्द ध्यानस्थ शीलामन्दिरमा शारदा र म मात्र गयौँ । त्यहाँ १८९२ डिसेम्बर २५,२६,२७ मा स्वामी विवेकानन्द ध्यानमा बसेको व्यहोरा जानकारी लिइयो । अन्ततस् ४:०० फिर्ता भई पायक पर्ने ठाउँबाट तस्विर खिच्यौँ । त्यहिँनेर एउटा मौलोलाई मर्दना धोती पहिर्याई माला लगाइएकोमा एउटा कुखुराको भाले बसेको दृश्य पनि अविस्मरणीय लाग्छ, यो यात्राको । थकित शरीरलाई मारवारडी ढावाको शुद्ध शाकाहारी भोजनालयको एसी च्याम्बरमा डोसा, बिरीयानी, कर्डराइस खाएर कोठामा आई ब्याग मिलाई आराम गरियो-कन्याकुमारीको अन्तिम रात स्वरूप !
क्रमस…
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#





















