तिलक पाैडेल
यो वर्षको शुभारम्भ ताकै मित्र पशुपति पोखरेलले दक्षिण भारततिर घुम्न जाने प्रस्ताव गर्दा जीवन सङ्गिनीहरूसाथ जाने र केही तीर्थहरूको पनि दर्शनावलोकन गर्ने राय पारित भए बमोजिम दुई जना साथीहरू मिलेर कार्तिक ७ गते बुधबारका दिन जि-४ शृष्टि प्लाजा, धर्मपथस्थित
मारुतीनन्दन टुर्स एण्ड ट्राभल्स प्रालिमा सम्पर्क गरी ६ जना (तिलक पौडेल, शारदा पौडेल, टिकादेवी रेग्मी, सम्झना रेग्मी, सुनिता कुमारी अधिकारी पोखरेल र पशुपति पोखरेल) का नाउँमा जनवरी ७ तदनुसार पौष २३ गते दिल्लीबाट दक्षिण भारतको अन्तिम स्टेशन तिरुवनन्थपुरमसम्मको राजधानी एक्सप्रेस रेलको टिकट काटिएको थियो । बीचमा सम्झनाजी जाने अनुकूलता नभएपछि ५ जना मात्र जाने वा अर्को सहयात्रीको खोजी गर्ने बारेमा सल्लाह गर्दा टिकाजीको साथी दुर्गा बरालजीले सहयात्राको इच्छा प्रकट गर्नु भएपछि पशुपतिले टिकट परिवर्तनका लागि मारुतिनन्दनसँग सम्पर्क गर्दा खासै फरक नपर्ने, यदि परिवर्तन गर्ने नै हो भने त्यो सीट साबिककै नम्बरमा मिल्न नसक्ने जनाएपछि दुर्गाजीलाई सम्झनाजीको नाउँमा यात्रा गर्ने निधो गरियो । सोही बमोजिम दिल्लीसम्म जानका लागि नेपाल-भारत मैत्री बस सेवा, सृष्टि यातायात प्रालिको पौष २१ गतेको दिवा सेवाको टिकटको बन्दोवस्त गरिएको थियो । सयमको चक्र घुमाइसँगै पौष २१ गते झुल्किएपछि हामीहरूको दक्षिण भारतको दर्शन कम अवलोकनको तीर्थाटन आरम्भ भयो ।
२०८१ पौष २१ आइतबार बिहान टिका र दुर्गाजीलाई छोरी कल्पनाले महाराजगञ्ज चक्रपथबाट चढाइदिएर खबर गर्दा पशुपति जोडी दाजूको लिफ्टमा हामीकहाँ पुग्नुभएको थियो । हामीहरू समेत भई प्रातस् ६:४५ बजे ढुङ्गेअड्डाको यात्रु बस प्रतिक्षालयमा पुगी बसको प्रतिक्षा गर्यौँ । ट्राफिक व्यवस्थापनका लागि खट्नुभएका जवानलाई हाम्रो व्यहोरा जनाउँदा बस यहाँ रोक्न मिल्दैन, कता रोक्छ थाहा भएन… को प्रतिक्रिया जनाए । फेरि बसवालाले त्यही प्रतिक्षालयमा बस्नु भन्दै थियो भने त्यहाँको कर्मचारीले पनि त्यहिँबाट चढिने जनाउँदै थिए । बस पनि पुग्यो तर त्यहाँ रोकिएन । हामी बाध्य भएर आ-आफ्ना लगेजु बोक्दै र घिसार्दै झण्डै ५०० मीटर पर पुगेर बस पक्ड्यौँ । सबैले आसन ग्रहण गरेपछि पशुपतिले रेलवे स्टेशनमा प्लेटफर्म बदल्नुपर्दा आफ्ना सामानहरू यताउता गर्न पर्ने व्यहोराको पूर्वाभ्यास भयोु भन्दै सकारात्मकता नमुना प्रस्तुत गरे । बसका सहचालकले यात्रु सबैको परिचयपत्रको नम्बर टिप्दै हाम्रो यात्रा अघि बढ्यो । म अग्लो कदको र घुँडामा पनि समस्या भएको भएपनि हामी ए (३,४) मा बस्ने भयौँ, रपनि उपरवालाले डस्टबिनमथि खुट्टा तेर्स्याउन मिल्ने व्यवस्था गरिदिँदा आनन्दानुभवसँगै विश्व होटेल, धार्के, चालिसेमा चिया नास्ता गरी मलेखुमा सुन्तला किनेर खाँदै रामनगर, चितवन पुग्यौँ । गुल्मेली थकाली होटेलमा व्रतालु सहयात्रीहरूले नखाएपनि पशुपति र मैले खाना खायौँ ।
मेडमहरूले बसाइ सहजताका खाँतिर सीट परिवर्तनका लागि प्रस्ताव गर्नुभए पनि साविक बमोजिमै आनन्द भएकाले सीटमै आराम गर्दै साँझ ५:३० बजे सुनौली सीमा नजिकको पेट्रोल पम्पमा पुगेर गाडी रोकियो । त्यहाँ भारतीय रुपैयाँ साट्ने व्यवस्था रहेछ । सुनौली नाकामा प्रतिक्षारत हुँदा फणिन्द्रभाइको समन्वयमा एकजना खड्काभाइले भारतीय सीमकार्ड उपलब्ध गराए । सरोकारीलाई धन्यवाद प्रकट गरी हामीहरू मित्रराष्ट्र प्रवेश गरियो । चेकिङकाे लाइनमा ढिलाइ भएपनि लगेजुहरूलाई स्क्यानिङ् मेसिनुको प्रयोग गरी जाँच गर्ने व्यवस्था राम्रो लाग्यो । अध्यागमन कार्यालयमा बिहान कन्डक्टरले टिपेको राहदानी वा नागरिकताको विवरण अनुसार लाइन उभियौँ । एकजना नौजवान अधिकृत आई भेरिफाइु गर्दा थ्याङ्क्यूुको प्रतिक्रिया वेलकमु जनाएको राम्रो लाग्यो । नजिकै पे एण्ड युजु लेखिएको शौचालय भारु १०।- ( प्रतिव्यक्ति तिरेर प्रशाधनालयको उपयोग गरियो ।
अब हाम्रो रात्रियात्रा शुरु भयो । करिब ११:४५ बजे अयोध्यास्थित अरविन्द प्यालेसमा पशुपति, शारदा र मैले २ रोटी र २ गास भात, आलु र हरियो मटरको सुख्खा तरकारी, गुलियो स्वादको पनीर, दाल, प्याजका टुक्रा र हरियो खुर्सानीको भोजन गर्यौँ -नमिठो लागेन । शौचालयमै भाँडा माझेको पानी आउने र एग्झस्ट फेनुको व्यवस्था राम्रै लाग्यो । १२:३० बजे पुनस् हाम्रो रात्रिकालीन बसयात्रा अघि बढ्यो । २:१५ बजे बिहान बारम्वकीमा भन्ने ठाउँमा-जहाँबाट काठमाडौँ ५६६ किमी र दिल्ली ५८३ किमी पर्दोरहेछ, माटोको पालामा चिया रु १५।- (प्रति कप) पियौँ ।
वैकल्पिक चालकको लागि करिब १ घण्टाको प्रतीक्षापछि ३:२० बजे गुडेको गाडीमा प्रायस् यात्रुहरू निदाइरहेका थियौँ । अफसोच १ बिहान ७:४५ बजे तिर पछाडिको बाहिरी टायर फुट्यो । प्रभातकालीन सुचिनिचीको समय पनि भएकाले मरमतका बेलामा शौचालयको खोजी गरियो । राजमार्गको दुबैतिर तारजाली लगाइएकाले बाहिरिन पनि ठाउँ थिएन । रपनि अलि परै पुगेपछि खुला चौरमा दिसा गरी बाल्यकालमा पातले पुछेको सम्झनामा टिस्युपेपरुले पुछेर सन्तोष मान्न विवश भयौँ । संयोग एकजना ठिटोले पानी दिएकाले सफा भई बसमा जम्मा भई स्यानिटाइजरुले हात सफा पारी लड्डु र ठिकचा रोटीको नास्ता गर्यौँ । मरमतपछि ८:२५ बजे दिल्लीका लागि अरू ३२३ किमी तय गर्ने यात्रारम्भ गरियो । ११:१५ बजे वृन्दावन वाइपासको ढावा होटेलमा सबैले तन्दुरी रोटी, भात, दाल, आलुदम, धनियाको चटनी, दही सहितको खाना खायौँ, मीठो लाग्यो-भोकले पनि हुनसक्छ । त्यहाँबाट दिल्ली अझै करिब १६० किमी टाढा रहेछ । अन्ततस् करिब २:०० बजे दिल्लीको बसपार्कमा पुगरे बस रोकियो ।
हामीहरू बसबाट ओर्ली अटोरिक्साबाट हजरत निजामुद्दीन रेलवे स्टेशनमा गयौँ । झोला र मेडमहरूलाई स्टेशनको प्रतीक्षालयबाहिर छाडेर पशुपति र म सीम सक्रिय पार्न सहरतिर निस्क्यौँ । मेरो सीममा जनवरी ३० सम्म कल फ्रि र २ जिबी डाटा लोड रहेछ र बाबु-नानीहरूसँग सम्पर्क गरेँ । नजिकैको रेष्टुरेन्टमा खाने इच्छामाफिक आलोपालो सामानको रखवारी गर्दै नास्ता गर्यौँ । शारदाले औषधि बसमा छुटेको जनाएपछि पशुपति र मैले गुगल सर्च गरी रेक्साबाट नजिकैको औषधि पसलमा गई किनेर ल्यायौँ । तदुपरान्तको समय मैले क्लेश नाशु पढेर व्यतीत गरेँ-बिहानको रेलयात्राको प्रतिक्षा स्वरूप !
क्रमश…





















