तिलक पाैडैल
२०३८ साल फागुन महिनामा म वास्तविक उमेरले बिसवर्ष पनि नपुग्दै तीन जना साथीहरूको कल्याणका खाँतिर घरपाहीमा आफैँले पढेको विद्यालयमा गरिरहेको शिक्षण पेशालाई छाडेर कर्णाली अञ्चलतिर पयर बढाएथेँ । संयोग, भैरहवामा बस दुर्घटना हुँदा दुईजना साथीहरू घाइते
हुँदा उनीहरूको उपचार गरी त्यहिँ छाडेर दुईजना मात्रै अघि बढेथ्यौँ । प्रवेशिका उत्तीर्ण नभएका सहयात्री मित्रलाई शिक्षकको जागिर पनि नमिलेपछि म एक्लै ‘दुर्गमको टुहुरो’ बनेर बस्न बाध्य भएको थिएँ । त्यसैबेला मलाई जगतमाला माध्यमिक विद्यालय, धैनकोटमा गणित, विज्ञानको शिक्षकको रूपमा आउन आग्रह भएपछि म त्यहाँ गएको थिएँ । तिनताका सो विद्यालय प्रस्तावित माध्यमिक विद्यालय थियो र माध्यमिक स्तरका पढाइहरू निजीस्रोतका शिक्षक र म जस्ता निम्न माध्यमिक स्तरमा सरकारी दरबन्दीका शिक्षकहरूबाट सञ्चालन हुन्थे । सहकर्मी शिक्षकहरूमध्ये एकजना हुनुहुन्थ्यो – तत्कालीन सिद्धेश्वर गाउँपञ्चायत वडा नं. ९, मोहरे पाल्पाका झवीन्द्र ज्ञवाली! अर्घाखाँचीका ललितकुमार आचार्य, ज्ञवालीदाइ र म कोटबाडा, धैनमा एउटै पाँडघरमा बस्थ्यौँ ।
तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्जबाट जुम्लासम्म गएपछि डाँफे र घुच्ची लेखहरू पार गरी दुईदिन पैदल हिँडेर मुगु जिल्लाको सदरमुकाम गमगढी पुगिन्थ्यो । त्यहाँबाट पुन: दुईदिन पैदल हिँडेपछि धैनकोटमा पुग्दथ्यौँ । हुम्ला र मुगु कर्णालीको दोभानमाथि रहेको धैनकोटमा ठण्डी मौसममा निकै चिसो हुन्थ्यो । परिणाम हवाइजहाजको सीमित तौलभित्र मिलाएर आफूलाई चाहिने लत्ताकपडा, साबुन, चिनी-चिया र कसैलाई उपहारहरू लग्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर, चारदिनसम्म पैदल हिँडेर आफैँले रुकस्याकमा कोचेर मुस्किलले ५।६ किलोको सिरक पनि लग्नु सबैलाई जरुरी हुन्थ्यो । ऐले जस्ता ‘फिदर’का हलुङ्गा र न्याना सिरकहरू पाइन्नथे ।खाद्य संस्थानको निर्धारित कोटा अनुसारको उसिना मोटा चामल बोकाएर लगेपछि कुनै घरभेटीलाई पकाउन जिम्मा दिई १५ दिन वहाँकै खाना खानुपर्दथ्यो ।
अनि, तिनै बोराहरूमा गहुँ, उवा, धानको पराल कोचेर डसनाका रूपमा प्रयोग गरिन्थ्यो । पट्याउन नमिल्ने ती गद्दाहरूमाथि स्थानीय राडी ओच्छ्याई तन्नाले ढाकेर विस्तारा तयार हुन्थ्यो भने अर्को बोरामा पराल कोचेर तकियाका रूपमा प्रयोग गरिन्थ्यो । एउटा मात्र सिरकले चिसो कटाउन नसकिने हुँदा दुई जना मिलेर दुईटा सिरक र राडीपाखी खापेर जाडो कटाउनु पर्ने बाध्यता थियो । त्यो चिसोमा काखमा सुताई मलाई जाडोबाट जोगाइदिनुहुन्थ्यो – झवीन्द्रदाइ !
हिउँ परेको तीनचार दिनपछि माटाका छानाहरूबाट कोठामा पानी चहिन्थ्यो । एकपटक विस्तारामा पानी चुहिँदा आफूले मलाई छाता ओडाई – तिमी निदाऊ ! भनी मेरो मनीषाप्रति सदैव सचेत रहनुहुन्थ्यो । एकपटक मिनपचास बिदामा घरतिर आउँदै गर्दा बाटोमा हिउँपात भयो । भीषण वर्षादका कारणअँध्यारो भई हामीहरू भूलभूलेसम्म पनि पुग्न सकिएन रघुच्चीलेकको भञ्ज्याङमाकाठको छाप्रोमा रात बिताउन बाध्य भयौँ । म अल्लारे उमेरको केटो जङ्गलको बसाइ मनमा जाडो र त्रास मडारिइरहेको थियो । रातभरि आगो बालेर अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुने मेरा आधार हुनुहुन्थ्यो – झवीन्द्रदाइ !
तिलचामले दाह्रीकपाल भएका दाइले मलाई ‘अब तिम्रा पनि दाह्री काट्ने बेला भयो, म त बुढो भएँ अब तिमीलाई राम्रो बनाएर सन्तोष लिनुपर्यो’ भनी २०३९ साल वैशाख १७ गते शुक्रबार दिउँसो ३:३५ बजे मेरा कलिला गालामा घुँघरिएका दाह्री पहिलोपटक खौरिदिएर मलाई राम्रो देख्न चाहने मेरा अग्रज हुनुहुन्थ्यो – झवीन्द्रदाइ !
मलाई मेरो विद्यालय जीवनदेखि नै ‘छापा अक्षर’ लेख्ने सीप स्व:स्फूर्तरूपमा प्रकट भयो । परिणाम म सप्ताहन्तमा केही न केही लेख्ने, चित्र कोर्ने गरिरहन्थेँ । मलाई कहिले पुलका लट्ठा जेलेर, कहिले जुवाका सोइला जस्तै गरेर, कहिले फल्यकमा काँटी ठोकेजस्तै गरी अक्षरहरू लेख्न प्रेरित हुनुहुन्थ्यो – झवीन्द्रदाइ ! २०४० माघमा कोरिएको एउटा नमुना संलग्न गरेकोछु ।
२०४१ सालमा म स्नातकस्तरको अध्ययनको लागि त्रिचन्द्र कलेजमा आएपछि हामीबिच शारीरिक दुरी टाढियो । फोन, मोवाइल नहुने तिनताका हामीबिच चिट्ठीपत्रहरूको आदानप्रदान भैरहन्थ्यो । संयोग म २०४५ सालमा लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा पास भएँ । यो खबर पाउँदा खुसी र शुभकामनालाई नयाँ ढाँचामा (शायद नभूतो नभविष्यति) चिठीभित्र दुबो र अविर पठाएर शुभाशिष दिने मेरो शुभचिन्तक हुनुहुन्थ्यो – झवीन्द्रदाइ !
२०६१ सालमा पीडा हटाउने औषधी – कोलिन्याक (पेनकिलर) को ‘रियाक्सन’बाट मलाई ‘ड्यूडोपर्फोरेशन’भयो अर्थात् आमाशय र सानो आन्द्रा जोडिएको स्थान – ड्यूडोनममा प्वाल पर्यो । यो मानेमा त्यतिबेला मलाई डाक्टरले सुझाएको ‘मानिस पीडाले मर्दैन, केवल असैहनीय भएपछि तड्पिएला; तर पीडा हटाउने औषधी खायो भने तपाइँजस्तै समयमा उपचार नपाएमा मर्न सक्छ …’ व्यहोरा हजुरहरूसामु पनि स्मरण गराउन चाहन्छु । शल्यक्रियापछि अस्पतालबाट ‘डिस्चार्ज’ भई घर आएपछि पाल्पादेखि आफ्नै घरमा सँगालेको घ्यू लिएर भेट्न आई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने मेरा आत्मीय अग्रज हुनुहुन्थ्यो – झवीन्द्रदाइ !
मोवाइलको सुविधा प्राप्त भएपछि ‘आयो गयो, माया मोह …’ भन्ने व्यहोरालाई दुराभाष ‘फोन’मा सम्पर्क गरेर कार्यान्वय गरिरहेकोछु । आफ्नी जन्मदातृ र परिवारहरूलाई अनिवार्य र बाँकीहरूलाई कहिले नाता सम्बन्धको, कहिले आफू कार्यरत रहेका जिल्लाहरूको आधारमा उपलब्ध भएका सम्पर्क नम्बरहरूमा फोन गर्ने क्रम अद्यावधि कायम गरेकोछु । यो मानेमा कुनै शनिवारका दिन मैले चाँडै सम्पर्क गरेँछु भने’आज मलाई उछिन्यौ नि !’भन्दै अर्को हफ्ता सवेरै सम्पर्क गर्न नचुक्ने मप्रति शुभभावना राख्नुहुने सहृदयी हुनुहुन्थ्यो – झवीन्द्रदाइ !
यही चैत्र २२ गते बेलुका खानाखाई सुत्ने बेलामा पेट दुखेर पाल्पा मिशन अस्पतालमा ल्याई उपचार गराउँदा भोलिपल्ट लुम्बिनी प्रादेशिक अस्पतालमा सिफारिस गरेपछि त्यहाँ लगी आईसियुमा राखी उपचार गर्दागर्दै २४ गते शुक्रबार यी पङ्क्तिहरू पढ्न नपाउने अनि सुधारका लागि मलाई सुझाव कहिल्यै नगर्ने गरी यस धराबाट अलप हुनुभएको अप्रत्याशित एवम् असामयिक देहावसानको पनि आज १३ दिन पुगिसकेछन् । यस दु:खद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामनामा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आदरणीय भाउजू, समस्त सन्तति एवम् आफन्तजनमा पर्न गएको अपूरणीय क्षति सहन गर्ने शक्ति प्राप्तिका लागि ईशप्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछु ।
वास्तवमा २००६ साल वैशाख महिनाको १३ गते सोमबार बुवा श्री पीताम्बर ज्ञवाली र आमा श्री बालकुमारी ज्ञवालीको छैठौँ सन्तानका रूपमा साविक सिद्धेश्वर-९, मोहरे पाल्पामा अस्तित्व आरम्भ गर्नु भएको “मेरी आमाले नजन्माएका मेरा दाइ”- झवीन्द्र ज्ञवाली,२०२९ सालमा श्री भगवती ज्ञवालीसँग वैवाहिक बन्धनमा बाँधिई ३ छोरा, २ छोरीबाट ८ जना नातिनातिनाको वंशवृक्ष तयार पारी नाङ्गो आँखालाई सहज देखिने प्रकृतिको शास्वत मृत्युवरण गर्नुभएकोमा भाग्यमानी ठहर्नुहुन्छ तापनि मनमा कता-कता अमिलो हुँदा चिरस्मरण हेतु यो शब्दश्रद्धासहित अतीतको सम्झना तज्याएर कलम बिसाएँ ।
झवीन्द्रदाइ ! हजुरको बैकुण्ठ वास हवोस् !!!
२०८० वैशाख ६ गते बुधबार । प्रार्थी:
कीर्तिपुर-२, काठमाडौँ । (शारदा+तिलक) परिवार ।



