तिलक पाैडेल
आज बिहान महाकविको कृति “लक्ष्मी निबन्ध सङ्ग्रह” का केही निबन्धहरू अध्ययन गरेँ । श्रीगणेशाय नमः, लेख्ने बानी आदि पढ्दा आफ्ना अगाडिका प्राकृतिक, सामाजिक, उबडखाबडहरू अन्तरचक्षुबाट विश्लेषणात्मक पाराले स्वच्छन्द विचरण गर्न सके, खाटी साहित्य बनाउन सकिने रहेछ, भन्ने भावाङ्कुरण भयो । जसको परिणाम चर्मद्रैष्टीय अभिलेखबाटै पनि श्रीगणेशाय नमः गरे कसो होला ? भनी यो धृष्टता गर्ने जमर्को गरेको हुँ । वास्तवमा विगत एकाध दशकदेखि मैले कार्यसम्पादन होस् वा कार्य योजना होस् दैनिकी लेख्ने गरिरहेकोछु । यस मानेमा चर्मचक्षुबाट दृष्टिगोचर हुने/भएका यथार्थताहरूलाई कताकति समेट्ने गरेकाछु भन्दा अनिशयोक्ति ठान्दिन ।
प्रस्तुत परिवेशमा आज र भोलिमात्र बाँकी रहेको बिक्रमाब्ध २०५७ को सम्भवतः अन्तिम लेखनी स्वरूप पनि अभिलेख हेतु यो कार्याग्रसर भएको हुँ भन्नुपर्दछ – नढाँटी भन्नु पर्दा । बरु के विषयमा लेखुँ ? भन्ने प्रश्नले मस्तिष्कमा उत्तर भेट्टाइरहेको छैन । खासमा म यतिबेला हिमाल पारीको जिल्ला मनाङमा सरकारी जागीरेका रूपमा कार्यरत छु । जीवनका अमूल्य क्षणहरूलाई तास-जुवा, जाँड-रक्सीको लात्तेपार लगाएर धकेल्न पर्नुलाई यस ठाउँको विवसता/नियति भन्नु पर्दछ । यस अर्थमा लेख्ने बानी परेका व्यावसायिक लेखकहरूका लागि यहाँ मनग्गे विषयहरू विद्यमान छन्, तर म जस्तो महाकविको शब्दमा भलाद्मी अर्थात् “आफ्नो कलम सुताएर अरूको लेखमा नाक चेप्य्राउने लेखक” भएकाले छरप्रष्ट रहेका विषयहरूमध्ये कुनै एक विषयमा केन्द्रित रहेर साङ्गोपाङ्गो लगाउन सक्ने हुति ममा छैन । तेसैकारण पनि २०५७ सालको अन्तिम अभिलेख राख्ने मनीषा पूर्ण गराउना खाँतिरमात्र एस्ता विभिन्निएका अभिव्यक्तिहरू यहाँ कलमको मुखबाट ओकली कागजको पाना रङ्गयाउन तम्सेको हुँ ।
अस्ति एकजना मनाङी अनुभवीले आफ्नो अनुभवमा मनाङ आरा, रारा र पाराको सहयोगमा बिताउने जिल्ला हो भन्नु भयो । मनाङको नवागन्तुक मैले अरू स्पष्टताका लागि अनुरोध गरेँ । वहाँले आरा (रक्सी) – यहाँ रहँदा/बस्दा सेवन गर्नुपर्दछ, किनभने यसले शरीरलाई आन्तरिक रूपले तताइदिन्छ । रारा (चाउचाउ) – यहाँको निर्वैकल्पिक चमेना/नास्ता/अर्नी हो, भोक मेटाउने हो भने ३-४ बजेसम्ममा यसको सेवन नगरी सुखै छैन, किनभने यहाँको अन्य स्थानीय उत्पादन केही हुँदैन र छैन । पारा (जुवा विशेष) – यहाँको समय कटाउने एउटा भरपर्दो माध्यम हो, किनभने ४ देखि ८ जनासम्म खेल्दा १२ जनाले दर्शकको स्थान पाउँछन् । खेलाडीले घूँडा दुःखेको, हात काठ्ठीएको मेसो पाउँदैनन् भने, दर्शकले टाउको अररिएको पनि भ्याउ पाउँदैनन् । हुनपनि यो तासको आन्वेयषण गर्ने गणितज्ञ वास्तवमा हदैसम्मको चलाख ठहर्याएँ मैले पनि । किनभने के मन्त्री/सांसद, के जनता, के हाकिम, के पियन सबैले मेरिज (खेलको नाउँ) भनेपछि २१-२१ चक्की बाँड्नु पर्दछ, अनि यसरी-यसरी मिलाउनु पर्दछ भन्ने जानेकैछ । अनि दर्शक बन्दो भएकोले पनि दायाँबायाँका चक्की देखेपछि यसो गर्नुपर्थ्यो, यो फाल्नु पर्थ्यो भन्ने अर्ति दिएर लालबुझक्कडीपना देखाउन पछि हटेको हुँदैन नै ।
प्रस्तुत परिभाषामा म आरा नपिउने व्यक्ति, अनि अजिनोमोतो (मोनोसोडियम गुल्टामेट – कृत्रिम स्वदसर्जक) ले हड्डी गलाउँछ, तैयारी चाउचाउमा सो मिसिएको/मिसाइएको हुन्छ भन्ने जानकारी पाएपछि रारामात्र हैन अन्य तैयारी चाउचाउसमेत नखाने बनेको; फेरि पारा खेलेर समय कटाउनु भनेको मस्तिष्कको सिर्जनशीलतालाई सुगा रटाइको ढङ्गले उही टनेला, रियल सिक्वइन्स, ट्रायल अनि सत्ता-नहल भए अट्ठाको खोजी, दहल-गुलाम भए नहल वा मिसीको खोजीमा जकड्याउनु हो र यसो गरिनु हुन्न भन्ने मान्यता राखीटोपलेकोलाई यहाँ आएपछि यथार्थमा जीवनको अन्तिम घडीसम्म नफर्काउन सकिने अमूल्य समयको सदुपयोग गर्ने वातावरणको अभाव खट्केकोछ । पत्रपत्रिका पढेर सामयिक ज्ञान एवम् जानकारी संगालुँ, हफ्तौं नबिती एक त आइपुग्दैनन् दोस्रो सात दिनका समाचारपत्रहरूको बढीमा दुवैदिनमा इतिश्री भैहाल्छ । अर्थात् कुनै लाइन, हरफ पनि शेष रहन्न । यसउसले गर्दा पनि मैले यो प्रयास गरेको हुँ भन्नुपर्दछ – स्पष्टतः ।
कुरा अस्तिको हो, कार्यालय समयपछि रातपार्न म परिचित साथीकहाँतिर पयर बढाएँ । एकठाउँमा जाँदा साथीहरू द्यूतक्रीडा सुरु गर्नुभएको रहेछ । तीन बुङ् तास मिलाई ५ जना मिलेर मेरिज खेल्दै हुनुहुन्थ्यो । कोही ४५/५० वर्षका हुनुहुन्थ्यो भने कोही बिसपचिसका, कोही कार्यालय प्रमुख हुनुहुन्थ्यो भने कोही निम्नस्तरका सहयोगी । जेहोस्, सौहार्द्र वातावरणमा खेल अघि बढिरहेको थियो । बाजी भएको समयमा बाहेक सबैको चासो आफ्नै धुनमा सीमित थियो ।
“हातैमा दुई सिक्वाइन्स थियो, ऐलेसम्म अर्को मिल्दैन बा !”
“ए ऽऽऽ आइजा न ए लन्ठे (जोकर – जुन आएमा सबैसँग ५/५ प्वाइन्ट असुल गर्न पाइन्छ), कति अरूसँगमात्र जान्छस् ?”
“हातैमा ६ डुब्ली पनि छ, दुई सिक्वाइन्स पनि छ । न सात डुब्ली हुन्छ ! न तीन सिक्वइन्स पुग्छ, सबैले हेरिसके माल ! (तीन सिक्वाइन्स वा ७ डुब्ली भएको खेलाडीले जोकर÷माल हेर्न पाउँछ, सबैभन्दा पहिला उक्त शर्त पूरा गर्नेले तास काटेर एउटा चक्कीलाई पुछारमा राख्छ, त्यही रङ्गको पल्टेको वा सोभन्दा तल वा माथिको पाताले थप प्वाइन्ट पाउने हुँदा तेसलाई माल भन्ने गरिन्छ) आफू भने अहिले पनि दश प्वाइन्ट !”
“एकै पटक हैन टनेला परेको ?” (एउटै रङ्गका एउटै तीनचक्की परेमा टनेला हुन्छ र तीन सिक्वेन्स बनाई पचाएमा सबैसँग ५/५ प्वाइन्ट अशुल गर्न पाइन्छ)”
“हैन त्यहाँ त कति बाजी भएको हो ?” त मेरो बत्तीस प्वाइन्ट, मालसाल छैन, जम्मा माल २२ हैन त ! म नहेरेको १० प्वाइन्ट जोड्दा बत्तीस हैन ? (हेर्न नपाउनेहरूले एकमुष्ट १० प्वाइन्ट मालमा जोडेर तिर्नुपर्ने हुन्छ)
“मेरो बराबर भयो, मैले हेरेको, २२ मालमा ३ जोड्दा २५, मसँग ५ को माल, ५*५=२५, बराबर भएन त !”
“एक राउण्ड सकिएको छैन, तीनसय त गैसक्यो नि !” (एक प्वाइन्टको एक रुपैयाँ ठिनी थियो)
“लौ अब कट्फट्, तपाईंले हैन ठाउँ रोजेको ?”
म एक राउण्ड सकिने बेलासम्म दर्शक बनेँ । प्रायः उपर्युक्त भनाइहरू हरेक बाजीमा दोहोरिन्थे । केटाले चिया लिएर आयो । म चिया पिउँदै हरेक अनुहार, त्यहाँको त्यसदिनको स्थिति र मेरो कल्पनाको उसको घरायसी परिवेशमा तादात्म्य गराउन थालेँ ।
शायद सानो उमेरका अविवाहित होलान्, कोही भरखर-२ बिहा गरेर आएका होलान्, कसैका बा…बा… भन्ने छोराछोरी होलान्, कोहीका छोराछोरी क्याम्पसमा पढ्दै होलान्, कोही घरमुली होलान्, कोही संयुक्त परिवारमा होलान्, कोही धनी होलान्, कोही गरिब होलान्, कोही रोगी होलान्, कोही निरोगी होलान् । कसैले अबको पटक त लोकसेवा पास गर्नुपर्दछ भनेर पुस्तकको ठेली ल्याएर चिसो कोठामा राखेका होलान्, कसैले अब २ वर्षपछि त सेवानिवृत्त हुनेहो, तेसपछि यस्तै गरेर दिन नकाटे के गर्ने हो त ! ठानेका होलान् । कसैकी गृहस्वामिनीले यसपाली बुढा आएपछि त साहिँलीका जस्तै झुम्का किन्न भनुँला भनेर पित्तले लुर्कन लगाएकी होलिन् । कसैका छोराछोरीको फिस, वरापैरी गराउँला सोचेका होलान् । यस्तै-२ पारिकाल्पनिक धेरै “होलान्” होलान् । अहिले यसरी घूँडा पट्टिएको वा ढाड दुःखेको थाहै नहुने अनि गोजीबाट रकम निस्केर सकिएको मेसै नहुने गरी बसेका छन् । खाना खाएपछि चिसो विस्तारामा निद्रा नपर्दा उल्लिखित तर्कना र तेसैको चिन्ता सिवाय यिनीहरूले के पो गर्लान् र ? आखिर चिता र चिंता एउटै हो भन्छन् । अनुपम मानवीय जीवन यसरी पनि चिन्तित बनाई बिताउन बाध्य छन् विचरा ! सोच्दै चिया सकेर सबैसँग बिदा भएर अर्को साथीकहाँ तिर लागेँ ।
त्यहाँ फेरि तीनजना कार्यालयप्रमुखहरू मिलेर शुरापानको सहारामा मदहोशी बन्दै “भन्ने गर्थे, पीरती पवित्र; ऐले आगो सल्कियो मभित्र…, नजाऊ छाडेर” गीत गाएर रम्न थाल्नु भएको रहेछ । मेरो अभिवादनबाट मप्रति मुखारित हुँदै तेसै कोठाको मालिकले भित्र आउने र पियानमा सहभागी हुन भन्नुभयो । मैले ‘भो ! म यसै पनि हजुरहरूको कार्यमा साथ दिन्छु, पिउन भने कर नगरौँ’ भनेँ । साँझ झमक्क परुञ्जेल गीत गाई नाच्नेसमेतको कार्य चली रह्यो । मैले घरतिर खबर गर्नुछ भनी सबैसँग बिदा भएर फोन भएको कार्यालयतिर लागेँ ।
अन्य कार्यालयबाट समेत फोन गर्न भनी ४/५ जना साथीहरू त्यहाँ उस्थित हुनुहुनथ्यो, तर फोनमा लाइन (डायल टोन) पाइरहिएको थिएन । एस्सो लाइन पाउँदा एकजनाले मेरो जरुरी छ भनी नम्बर डायल गर्नुहुन्थ्यो ।
हलो ! पल्लोघर बस्ने स्मृतिलाई डाकी दिऊँ न ! म यहाँ मनाङबाट स्मरण बोलेको ।
… … … …
सुमनकी मम्मी के ! दिलबहादुरजीकहाँ बस्ने … हत्तेरी फेरि काटियो । भन्दै हेण्डसेट क्रेडिलमा राख्नु हुन्थ्यो । सबैलाई घर खबर गर्न अति जरुरी र आतुरी भएको अनुहारले जनाउँथ्यो । तर फोन भने बीच-२ मा अधुरै खबरमा कट् (Disconnect) भएर हैरान पार्दै थियो । मैले प्रतिक्षा गर्नु उपयुक्त नठानी छिमेकी कार्यालयका प्रमुखको आवासतिर लागेँ ।
“ए हजुर शुभ-सन्ध्या !” भन्दै जुत्ता फुकालेर भित्र पसेँ ।
“ए विवेकजी ! Good Evening ! आउनोस्, बस्नोस् । हेर्नु न ! आज सोनी च्यानलबाट बुगी-बुगी आउने दिन, टिभी नै क्लियर छैन भन्याँ; अरू च्यानल पनि क्लियर छैन क्या ! यो मौसमकै कारणले होला हई ?”
“खै सर ! मसँग त टिभी छैन, रेडियो पनि छैन, बरु सात बज्न थालेछ, रेडियोको भएपनि समाचार सुनौं कि हजुर ?”
“अँ त नि ! खै देशपनि कता लाग्ने हो कुनी ? बैशाख २ गतेदेखि प्रतिपक्षले प्रधानमन्त्रीलाई आफ्नो कार्यकक्षमा छिर्नै नदिने रे !, अधिवेशन पनि केही छलफलै हुन नपाई सकियो ….” रेडियोमा स्टेशन मिलाउँदै भन्नुभयो । “साँच्चैं भोलि त राती १२ बजेसम्म सँगै बसेर यो वर्षको बिदाइ गर्ने सल्लाह भएको छ नि ! तपाईं पनि सहभागी हुनुपर्ला है ?”
“के-के गरेर बिताउने हो र सर १२ बजेसम्म ?”
“आ ऽऽऽ अलि-अलि पैसा उठाएर मासु, रक्सी ल्याउँला; सिनेमाको रिल पनि ल्याउँला; सबैसँगै बसेर नयाँवर्षको स्वागत एवम् यो वर्षको बिदाइ गरौँला नि ! हुन्न र ?”
“हुन्छ त नि ! सबै साथीहरूले गरेको प्रस्तावमा सामेल नभए कसरी पो हो र यहाँको बसाइ छोट्याउने, बरु जीवनका अमूल्य क्षणहरू कुत्तिए कुत्तिउन् ! कसो सर ?” मैले समर्थन जनाएँ ।
“तेसै त भयो नि विवेकजी ! दुर्गमको बसाइ !”
समाचार सुनी सकेर भान्साघरतिर (होटेलतिर) लागेँ । खाना खाएर शयनकक्षमा जाँदा बत्ती रहेनछ । एस्तै कुराहरू मनमा खेलाउँदै बाध्यतापूर्वक आराम गरेँ । अहिले बिहान उठेर प्रभातकालीन नित्यकर्महरूको समापनपश्चात् यही आलेख मार्फत् चालु वर्षको स्मृतीय बिदाइ गर्दै साँझ साथीहरूको सहभोजमा नववर्षको हार्दिक स्वागत गर्ने लक्ष्य राखेकोछु ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०५७ चैत्र ३१ गते शुक्रबार
चामे, मनाङ ।



