तिलक पाैडेल
प्रात:स्मरणीय, स्वर्गीय जगदीश घिमिरेले आफ्नो जीवनको उत्तरार्द्ध त्यसमा पनि रक्त क्यान्सरबाट पीडित भई नाफाको जिन्दगी जस्तो बनेको जीवनबाट आलस्यलाई बिदा दिंदै अफ्नै अध्ययन, जीवनको अनुभव र सिकाइलाई अन्तरमनदेखि ढुँडलेर स्मरणीय जँचेका व्यहोराहरुको सँगालो प्रकाशन गरी हामीरुलाई हस्तान्तरण गरिएको कृति हो -अन्तरमनको यात्रा ! वहाँकै भनाइमा माइलोमा लागेपछि आफ्नै जीवनको फूटपाथमा उभिएर आफ्नै जीवनको रमिता हेर्न लागें । छिन दिनजति लामा भए, दिन बर्षजति । सरसर्ती पढें, मनका विभिन्न अवयवहरुलाई झङ्कृत गरायो । दोहोर्याएर पढ्न मनलाग्यो, धोको पुर्याएँ र मनलाई उपयुक्त जँचेका व्यहोराहरु निम्नानुसार टिपोट गरें ।
यस्तै काम खप्तड स्वामीद्वारा लिखित विचार विज्ञान पढ्दा पनि गरेको थिएँ । वास्तवमा विचार विज्ञानबाट आफ्नो जीवनलाई अनुप्राणित गरेको महसूस अद्यावधि गर्दैछु । त्यसैगरी शिव खेडाको यु क्यान वीन पढ्दा पनि मेरो दिमागी तहबाट राम्रो लागेका व्यहोराहरु पनि टिपोट गरेकोछु । यो मानेमा उल्लिखित स्रष्टाहरुप्रति हार्दिक सम्मान प्रकट गर्नु परम कर्तव्य ठहर्याउँछु ।
हुन त यी व्यहोराहरु समेटेर समग्र पुस्तक अध्ययनको अवसर नहुनेहरुका लागि भनी सम्बन्धित प्रकाशकहरुको पूर्वस्वीकृति लिई प्रकाशनको धोको छ । रपनि त्यसको वरव्यवस्था मिलाउन आर्थिकादिको अभावले उछार नदिएकोले यहाँ अन्तरमनको यात्राको समावलोकनलाई निम्नानुसार पेश गरेकोछु । हुन त कतिपय पाठकवृन्दलाई तपसीलको अलावा पनि गहकिलो प्रसङ्ग लाग्लान् र छन् पनि । जसको लागि नि:सन्देह पुरै पुस्तकको अध्ययन जरुरी हुने नै भयो । यो त मेरो नितान्त वैयक्तिक अनुभूति भएकोले यसउपर नयनेस्पर्श गर्नेहरुसँग सोही दृष्टिबाट नियालिदिनुहुन सदाग्रह गर्दछु ।
• साहित्य लगायत सबै कलाका सामग्री अक्षर र भावना हुन्, जसलाई धेरै संस्कृतिमा पूजाअर्चना गरिन्छ । शब्दलाई ईश्वर पनि मानिन्छ । ईश्वरलाई कवि पनि भनिन्छ ।
• साहित्यकारहरुको नियति हुन्छ, उनको (डा.धीरेन्द्र) वृद्धावस्था दुःखत थियो । आर्थिक र मानसिक रुपमा तनावग्रस्त थिए ।
• यो दुःख भोग्ने परमेश्वरै हो,
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ,
सुटुक्क सामान लिएर जान्छ । -कवि शिरोमणी लेखनाथ पौड्याल
• नियमित पढाइको अन्तिम लक्ष्य प्रमाणपत्र हो । पढाईले प्रमाणपत्र दिन्छ । प्रमाणपत्रले गेटपास ।
• योग्यता मान्छेमा हुन्छ, कागतको टुक्रामा होइन ।
• आफ्नो योग्यता बनाउने वा बिगार्ने आफू मात्रै हो ।
• कुनैपनि स्कूल, कलेज, विश्वविद्यालयले जीवन शिक्षा दिँदैनन् । त्यो जीवनको पाठशालाले मात्र दिन्छ । डिग्री भनेको नक्कली दाँत जस्तै हो, हुँदा राम्रो हुन्छ ।
• मेरो जे हो अक्षर हो र अक्षरहरुको संयोजनले बन्ने शब्द हो ।
• शब्द मेरो जीवन हो । शब्द मेरो संसार हो । शब्द मेरो मुक्ति हो ।
• बुढेसकालमा सन्तानबाट केही पाइयो भने तरकारी किन्दा फोसामा पाइने एक मुठो धनियाँ जस्तै ठान्नु ।
• मेरो सबभन्दा ठूलो गुरु जीवनको यथार्थ हो, संम्भवतः सबैको हो ।
• इन्द्रिय भन्दा पर मन, मन भन्दा पर बुद्धि र बुद्धिभन्दा पर आत्मा छ । -गीता
• राजनीतिक सिद्धान्त बट्टामा बन्द संकीर्ण मानसिकता हो । सिद्धान्तको बट्टामा कैदी नभै सक्कली सिद्धान्तवादी भइँदैन । कडा सिद्धान्तवादी हुने नेताले, पार्टीले तोकेको गोरेटोभन्दा दायाँ-बायाँ नगर्ने लकिरको फकिर हुनुपर्छ ।
• पूर्ण सिद्धान्तवादी पूर्ण विवेकहीन हुन्छ । औसत राजनीतिज्ञले सिद्धान्तको बट्टा चिन्ने तालिम पाएको हुन्छ, बट्टा मात्र जान्दछ, बट्टा बाहिरको कुरा चिन्दैन, बुझ्दैन ।
• सबै सूचकहरु भन्छन्-नेपालको पतन हुनाको पहिलो कारण नेताहरुको भ्रष्टाचार र दोस्रो कारण रक्सी हो ।
• अन्तमा वर्गविहीनता उपलब्ध हुने समाजमा हो, पार्टीमा होइन ।
• हामीले मासु र ठर्राको सुरमा एकैछिनमा नेपालको सफलतापूर्वक छापामार युद्ध सम्पन्न गर्यौं र सुत्यौं ।
• मानव मनको सबभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म निस्सङ्कोच भन्छु -बोली र व्यवहारमा फरक । पशुजगतमा त्यस्तो हुँदैन । त्यस मानेमा मान्छे भन्दा पशु श्रेष्ठ छन् ।
• जङ्गलको गोरेटोमा बाटो छुट्टियो,
र मैले बेचल्तीको बाटो रोजें ।
सबै फरक त्यसैले पारेको हो । -अमेरिकी कवि रबर्टफ्रष्ट
• अवसरले कसैलाई खोज्दैन । अवसरलाई आफैंले खोज्नु पर्दछ ।
• हाम्रो संसारमा बास, गास दिने ठेक्का बाबुआमा बाहेक अरु कसैको हुँदैन ।
• नेपालमा एउटामात्र (यौटामात्र) कर्म थियो र छ त्यो हो चाकरी ।
• राजद्वारे भगाकारे, निर्गच्छन्ति विशन्तिच,
पण्डिता लिंगवत् सर्वे, विल्हणो बहिरण्डवत् ।
– ११ औं शताब्दीका महाकवि विल्हण
• ददाति प्रति ग्रहणाति गोप्यमाख्याति बृच्छति,
भुङ्ते भोजङ्यते चैव षड्विधं प्रीतिलक्षणम् ।
(दिनु, लिनु, गोप्य कुरा गर्नु, सोधखोज गर्नु, खानु, खुवाउनु गर्नेका बीचमा मायाप्रीति भएको हुन्छ ।)-पञ्चतन्त्र
• नबुझिने भएर कुनैपनि कृति महान हुने होइन । लेखनको लक्ष्य सञ्चार हो भने नबुझिनु वागलत बुझिनु आत्महत्या सरह हो ।
• मान्छे अर्काको राम्रो होइन, नराम्रो भन्न र सुन्नमा रस लिन्छन् । निन्दा रसिलो हुन्छ, प्रशंसानीरस ।
• अर्काको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विपन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ ।
• साम्यवाद राज्यव्यवस्था केन्द्रीकृत, हिंसक, क्रुर, अधिकतम नियन्त्रणात्मक हुन्छ ।
• साहित्य जीवनको अनुकृति हो भने त्यो राजनीतिमुक्त हुन सक्तैन । साहित्य कला हो नारा होइन ।
• नङ्ग्रा लगाएर हात्ती बाघ हुँदैन । दारा लगाएर बाघ हात्ती हुँदैन ।
• लकवा, पक्षाघातबाट आधा अङ्ग नचल्नेलाई निहाल भन्छन् । बाको जस्तो खाने पिउने भए यस्तो रोग लाग्ने थिएन होला । मुख बार्ने हुनाले मलाई रोग लागेको हो बालाई रोगको फिक्री छैन, मलाई मेरो र उनको दुवैको स्वास्थ्यको फिक्री थियो । त्यसैले म यस्तो रोगी भएँ ।
• जसले मुक्त गर्छ, त्यो गुरु हो । जसले बाँध्छ, पछि लाग्न बाध्य पार्छ, त्यो गुरु होइन शत्रु हो ।
• कुनैपनि किसिमको संस्थाको सफल व्यवस्थापनका गाँठी कुरा मान्छे हुन् । नेत्तृत्व मान्छेको गरिन्छ, व्यवस्थापन वस्तुको ।
• सफल नेतृत्व भनेको अगुवाले पछुवालाई विश्वास पार्न सक्ने क्षमता हो ।
• ओखलमा टाउको हालिसकेपछि मुसलको के डर ?
• नोकरतन्त्रको विशेषता निर्णय गर्नु होइन, निर्णय टार्नु हुन्छ ।
• गतिशील संसारमा सदा सङ्गत केही पनि छैन ।
• जीवन असन्तोष हो । जससँग जे हुन्छ त्यसले हुँदैन, पुग्दैन । जे हुँदैन त्यो चाहिन्छ, नभै हुँदैन ।
• जे छ र जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो, सन्तोष हो । जे छैन त्यसमा रमाउन खोज्नु दुःख हो ।
• रमाउन जान्नु र नरमाउन जान्नु दुवै कला हो ।
• जीवन चेपारे यथार्थ हो । जीवन भनेको धान्ने प्रक्रिया हो । जसले जसरी सक्छ त्यसैगरी धान्छ ।
• अमेरिकाले युद्धमा जति खर्च गर्छ, त्यसको दशांश मात्रै शान्ति र विकासमा खर्च गर्ने हो भने संसार शान्तिमय र समृद्ध हुने थियो ।
– डा.जोन पिट्र्स वल्ड नेबर्स (२००७ वि.सं.)
• अमेरिकाका दानेच्छुक व्यक्ति र संस्थालाई दान दिने सत्पात्र छान्ने समस्या छ ।
• जीवनमा एकछिनपछि के हुन्छ भन्ने थाहा हुँदैन भने लामा-लामा निजी योजनाहरुको के अर्थ हुन्छ ?
• हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो ।
• प्रत्येक रात म निदाउँदा म मर्छु र प्रत्येक विहान व्युँझदा म जन्मन्छु ।
– महात्मा गान्धी
• हरेक ठूलो सरकारी ओहोदामा धनको वा मानको वा दुवैको चक्कर हुन्छ ।
• मान्छेलाई कति जग्गा चाहिन्छ ? -टल्सटायको कथा
• मान्छेको पूर्ण व्यक्तित्व उसको भाव (बाहिरी बोक्रो), स्वभाव (भित्री गुदी) र वास्तविकता (सबभन्दा भित्री चुरो) को संयोग हो ।
• आफ्नो अनायास प्रस्तुति नै उसको विवेकशीलता, संवेदनशीलता, विद्वता, विनयशीलता वा मूर्खताको पहिलो परिचय हो ।
• बोली नै मान्छेको व्यवहारको पहिलो कसी हो र व्यक्तित्वको पहिलो अभिव्यक्ति ।
• व्यवहार मान्छेको स्वभाव हो । स्वभावको गहना नम्रता हो । नम्रता हीनता होइन, नम्रता अहङ्कारहीनता हो ।
• समस्या तब हुन्छ, जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरुमा देख्छ । समस्या तब हुन्छ, जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ । समस्या तब हुन्छ, जव मान्छेले आफू मात्रै जान्ने छु भनी ठान्छ । अनि त्यसको समाधान हुँदैन ।
• म केवल यो जान्दछु की म केही पनि जान्दिन ।
– शुकरात
• शुकरात आफूलाई केही पनि नजान्ने भन्छन् । लालबुझक्कडहरु आफूलाई सर्वज्ञ भन्दछन् ।
• अज्ञानी बोल्छ, ज्ञानी सुनिबस्छ ।
• नम्रताले माया र श्रद्धा पाइन्छ भने घमण्डले घृणा ।
• मान्छे मूलतः अविवेकी प्राणी हो, जो आफ्नो अविवेक देख्दैन, अर्काको मात्रै देख्छ । अरुबाट मात्र विवेक खोज्छ आफूबाट होइन ।
• अविवेक कमनसेन्स (मनज्ञान) को अभाव हो ।
• दुर्जन प्रथम वन्दे, सज्जन तदानन्तरम् ।
मुख प्रक्षालनात पूर्व गुदप्रक्षालनं यथा ।। -हितोपदेश
(बिहान उठेपछ मुख धुनुभन्दा पहिले चाक धोए जस्तै सज्जनलाई भन्दा पहिले दुर्जनलाई ढोग ।)
• जसमा जति बढी कमजोरी र दुर्गुणहरु हुन्छन्, उसले अर्काको कमजोरी र दुर्गुणहरु खोतल्न उति चाख लिन्छ ।
• मान्छेले आफन्तको कमजोरी किन खोतल्छ भने उसमा तिनै कमजोरीहरु व्याप्त हुन्छन् । उसले अरुको निन्दा गर्दा साँचो कुरा गरेको भन्छ । अरुले उसको साँचो कुरा गर्दा मेरो निन्दा गरेको भन्छ ।
• मान्छेले आफूलाई जे होइन त्यो हो र जे हो त्यो होइन भनेर बुझेको हुन्छ ।
• मनस्यन्यद्, वचस्यन्यत्, कर्मव्यन्यद्, दुरात्मनाम् ।
मनस्येकं, वचस्येकं, कर्मव्येकं महात्मनाम् ।।
-हितोपदेश
(दुरात्माको मन, वचन, कर्म फरक हुन्छ । महात्माको मन, वचन, कर्म एकै हुन्छ ।)
• स्पष्टचिन्तक, स्पष्टवक्ता र स्पष्टकर्तालाई लोकले छुच्चो पनि भन्छ । तर त्यो मनजोगी मान्छे सन्त हुन्छ ।
• औसत कर्मचारी-मनोबृत्ति पदपूजक हुन्छ, जसले माथिकालाई रिझाउनु, समानसँग मिल्नु र मुनिकालाई झुकाउनु पर्छ ।
• औसत व्यापारी मनोबृत्ति धनपूजक हुन्छ, जसले सफल र ठूलो हुन पैसाले शक्ति किन्नैपर्छ र शक्तिले पैसा बनाउनै पर्छ । धनकै बलमा तिनले संसार विजय गर्न चाहन्छन् र धेरै हदसम्म गर्छन् पनि ।
• औसत राजनीतिज्ञ-मनोबृति शक्तिपूजक हुन्छ । शक्ति नभएको नेता दाह्रा-नङग्रा नभएको बाघ हो ।
• नेपालमा भुमरी ल्याउने जाँतोको घुमाउने हातो भने विदेशी हातमा छ ।
• मान्छेले अर्काको मूल्याङ्कन गर्दा आफ्नै मूल्याङ्कन गर्छ । मान्छेको मूल्याङ्कन कर्मचारीले पदको आधारमा, व्यापारीले धनको आधारमा, नेताले शक्तिको आधारमा, पत्रकारले यथार्थको आधारमा, लेखक, कलाकारले प्रेमको आधारमा, बौद्धिकले बौद्धिकताको आधारमा, गै.स.स.वालाले दातारुपी सपेरा, उसको मौसम अनुसार फेरिने बीनको धूनमा हुने नाचगान र उसले ख्वाउने डलररुपी मह र दूधको आधारमा गर्छ ।
• पैसाले सबैलाई चिन्छ, धेरैलाई किन्छ ।
• मान्छे भाव अनुरुप देखिन्छ, स्वाभाव अनुरुप चिनिन्छ र वास्तविकता अनुरुप जिउँछ अथवा मर्छ । वास्तविकताको फरकले गर्दा नै मान्छे फरक हुन्छ ।
• मन परेको व्यवसाय राज्यौ भने तिमीले जीवनमा एक दिन पनि काम गर्नु पर्दैन । सोख गरेर जीवन बिताउँछौं ।
-कन्फ्युसियस
• भोगेको राजनीति नङ्गाको भगवान हो र धनाढ्य धनवानको व्यापार हो, सोख हो, पेवा हो ।
• देहव्यापारमा देहको व्यापार हुन्छ । राजनीतिमा देहकोभन्दा बढी चेतनाको व्यापार हुन्छ । आजको राजनीति मूलतः कल, छल, बल हो ।
• राजनीतिले जनतालाई धेरै पीडा र थोरै सुख दिएको छ ।
• साहित्य र राजनीतिबीचको फरक –
• संसारमा जसरी मान्छे चोखा छैनन्, त्यसैगरी विचार पनि चोखो छैन । चोखो प्रतिमा मात्र हो ।
• साहित्यकार स्रष्टा हुँदैन द्रष्टा हुन्छ ।
• मुख्य कुराले मुख्य स्थान पाउनु मुख्य कुरा हो ।
• हरेक मान्छेले आफ्नो शारीरिक आयतनका लागि मात्र नबाँचेर त्यस बाहिरको सानै सोच राख्ता, सानै प्रयत्नबाट थाल्दा र निरन्तर लागिपर्यो भने कोही पनि सानु बत्ती हुन सक्छ ।
• कसले समाल्छ मेरो काम, सोध्छन् साँझ रवि
सुनेर जगत् बन्छ अवाक् छवि
माटोको बत्ती थियो, भन्यो -स्वामी
मैले सकेको जति म गरिहाल्छु नि !
-रवीन्द्रनाथ ठाकुर
• हाँसो जगतको एक मात्र मातृभाषा हो, जुन सबैले बुझ्छन् ।
• जीवनको लक्ष्य खुसी हो । जत्रो पदमा बसेर जति कमाए पनि, जे खाएलाए पनि, जति रवाफ गरे पनि म ति चुहिने पालमा बस्ने र रछ्यान खोतलेर बाँच्ने बालबालाहरु जति खुसी थिइँन ।
• व्यवस्थापन पढेर भन्दा परेर र त्यसभन्दा पनि बढी गरेर सिकेको हो -मैले ।
• अनेकौं दलका नेताहरु विकासका गफ चपाँउथे, उग्राउँथे, डाकार्थे, तर विकासको नाँउमा सिन्को पनि भाँच्दैनथे ।
• दशोटा प्रश्न छन् जसमा मतैक्य चाहिन्छ कार्यमा,
के ? किन ? कसले गर्ने ? कहिले ? कसरी ? कहाँ ?
क-कसको हितका लागि ? क-कसको कतिको लागतमा ?
कसले गर्दा दिगो हुन्छ ? सधैं धानिन्छ स्वागतमा ?
• जीवन र जगतका पाठशालाहरुबाट सिकेको सबै बिर्सीसकेपछि, जे सार बाँकी बस्छ, शिक्षा भनेको त्यही मनज्ञान हो ।
• योजकले वा संयोजकले आफ्ना सहयोगीहरुको क्षमता कि विकास गर्छ कि विनाश गर्छ ।
• अगुवाको लक्ष्य आफूलाई निरर्थक र मातहतवालालाई सार्थक बनाउनु हो ।
• सरकारले असफलताको लागि गर्ने भन्दा धेरै कम खर्चमा गैरसरकारी संस्थाले सफलता प्राप्त गर्दछन् । जसका सञ्चालकहरु संस्थाको मिसन प्राप्त गर्नका लागि कटिबद्ध हुन्छन् ।
• सबैको सिम्बायोसिस वा सहसिञ्चन, सहप्रबर्धनको परिणाम हो, जहाँ एकमा एक थप्दा एघार हुन्छ, दुई होइन ।
• उत्तमो ब्रह्मसद्भावो, ध्यानभावस्तु मध्यमः ।
स्तुतिजपोधमो भावो, बाह्यपूजाधमाधमः ।।
(ब्रह्मसदभाव उत्तम हो । ध्यानभाव मध्यम हो । स्तुतिजपभाव अधम हो । बाह्यपूजाभाव अधममा पनि अधम हो ।)
-स्वामी विवेकानन्द
• जस्तो मानी-धनीका नगिच हरघडी टप्प जोडेर हात ।
छाती खोलेर गर्छौ हृदय बुझिसदा नम्रता-साथ वात ।।
दुःखीका साथ उस्तै विनयसित सदा मर्म बुझेर बोल ।
गर्नै पर्दैन फेरी ब्रत, जप, तपले स्वर्गको मोलतोल ।।
– कविशिरोमणिलेखनाथ
• पेटमा पीठो सबै रोगको मूल औषधि हो ।
• अति विपन्नसँग अति सरोकार राख्नु पर्ने सरकारले नै हो ।
• फुल्दो गुलाबबिच ज्ञान अनेक फुल्छन् ।
उद्यानमा बस गई सब तत्व खुल्छन् ।
-महाकवि लक्ष्मी प्रसाद देवकोटा
• प्रकृति ज्ञानको असीमित भण्डार हो । त्यसपछिका तत्व खुलाउने ज्ञानी गुरु बालक छन् ।
• जसको जस्तो मन हुन्छ त्यसले त्यस्तै बुझ्छ ।
• कृष्णलाई ६४ दिनमा ६४ कलामा पारङ्गत गराउने गुरु सान्दी (कश्यप गोत्री-घिमिरे) हुन् । जसको कुनैपनि गोत्र हुँदैन, त्यसको कश्यप गोत्र हुन्छ ।
• दयाको पात्र हुनुभन्दा ईर्ष्याको पात्र हुनु बेस हो । (It is better to be Envied than Pitied)
• घृणा नै युद्धको बीउ हो । प्रेम नै युद्धको मारक हो । प्रेमको शक्तिले शक्तिको प्रेमलाई जितेपछि मात्रै संसार शान्तिमय हुन्छ ।
• मित्रलाई पनि शत्रुलाई जस्तै निगरानी गर्नुपर्छ । -लियन ट्रट्स्की
• सबै कुटनीति अरु उपायले गरेको युद्धको विस्तार हो । -चाउ एन्लाई
• वार्ताको टेबुल युद्धभूमिकै विस्तार हो । -डा. बारा भट्टराई
• प्रमुख दलहरु यो जुनीमा प्रो-एक्टिभ हुँदैनन् किनभने ती माओवादीका मिर्ग हुन् ।
• नेतालाई पछुवाहरुको समूह चाहिन्छ, भोट चाहिन्छ, नोट चाहिन्छ, लठैत चाहिन्छ ।
• नेताहरुसँग गाउँलाई दिने कोसेली जाली आश्वासनहरु मात्र हुन्छन् ।
• नकश्चित् कस्यचिन् मित्रं, न कश्चित् कस्यचिद् रिपुः ।
व्यवहारेण जायन्ते, मित्राणी रिपवस्तथा ।।
(कोही कसैको मित्र वा शत्रु हुँदैन । व्यवहारले गर्दा नै कोही कसैको मित्र वा शत्रु हुन्छन् ।)
• नेपाली काङ्ग्रेस देशमा प्रजातन्त्रका लागि लडेको पार्टी हो । पार्टीमा प्रजातन्त्रका लागि लडेको होइन ।
• सुरुमा नेपाली काग्रेंस अनलिमिटेड थियो । पछि लिमिटेड भयो । अब त प्राईभेट लिमिटेट भएको छ ।
• जारशाही विरुद्ध गोडाले भोट हाल्न आएका जनता ! -लेनिन
• Don’t take life too seriously, you will never get out of it alive।(जीवनलाई अत्यधिक गम्भीरतापूर्वक नलेऊ, लियोभने बाचुञ्जेल त्यसबाट केही पाउने छैनौ) -एलबर्ट हव्बार्ड
• उपचार मानव शरीरको मर्मत हो ।
• मान्छे तहैसँग बिखमा बानी पर्छ (Man became accustomed to poison by degree)-भिक्टर ह्यूगो
• माइलोमा लागेपछि आफ्नै जीवनको फूटपाथमा उभिएर आफ्नै जीवनको रमिता हेर्न लागें । छिन दिनजति लामा भए, दिन बर्षजति ।
• विषस्य विषमौषधम् (बिखको ओखती बिखै हुन्छ ।) -आयुर्वेद
• किमो उपचार गर्दा नसामा सुई रोपेर त्यसमा गाँसेको नलीबाट रगत झिक्ने र हाल्ने प्रक्रियालाई सूली-नली भनिएको ।
• दिसा खलास नभए आफैँ खलास हुईंदो रहेछ ।
• गान्धीजीको प्रिय उपचार -डुस !
• जो अर्काको दुःखको सहानुभूति गर्छ त्यो संवेदनशील पनि हुन्छ ।
• मार्ने क्यान्सरले होइन, किमोले रहेछ ।
• मान्छेले किन बाँच्ने भन्ने कारण स्वीकार गरिसकेपछि कसरी बाँच्ने भन्ने उपाय निस्कँदो रहेछ, अनि “जसरी”पनि बाँच्दो रहेछ ।
• रोएर बाँच्नुभन्दा रुवाएर जानु निको हो ! तर मान्छे पीडा र यातनासहित पनि बाँच्न चाहन्छ । कति प्रिय छ जीवन ! म जसरी पनि बाँचेकोमा मेरो परिवार खुसी छ । म खुसी छु । मेरा स्वजनहरु खुसी छन् । धन्य तिर्सना !
• एकदिन मर्नु नै छ भने आफू यतिसारो पीडित भएर र अरुलाई यतिसारो पीडा दिएर बाँच्नुभन्दा मरिजानु ननिको होइन ।
• सुखको खोजी दुःखको प्राप्ति हो ।
• तीव्र जीवनशैली वाहियात र घातक हो । यसको धरापमा नपरुञ्जेल म पनि मन्द जीवनशैलीको हाँसो गर्थें ।
• सुत्दा-सुत्दा दुखेको मांशपेसीलाई मिचेको अति आनन्ददायी हुँदो रहेछ ।
• तिमी जीवनमा अरुलाई हानि नगरीकन रमाइलो गरेर बाँच । जीवनमा बाँचुञ्जेल हाँस्नु पर्छ ।
• धेरैथरी क्यान्सरलाई मौन प्राणघातक रोग भनिदों रहेछ -जुन लागेको अन्तिम अवस्थासम्म थाहा हुँदैन ।
• स्वास्थ्यको लागि फुर्सद ननिकाल्नु सबभन्दा ठूलो मूर्खता हो ।
• भविष्यको चिन्ता व्यर्थ हो -जुन आफ्नो नियन्त्रणमा छैन ।
• सबैको जन्मदै दुईतर्फी टिकट बनेको हुन्छ । फर्कने मिति मात्रै गोप्य हुने हो ।
• म कुनैपनि विदेशी महानगरमा बसेर दीर्घायु हुनुभन्दा यिनै (नेपाली ) दृष्यावलीका माझआफ्नै घर-स्वर्गमा बसेर अल्पायु हुन सुखी छु । खुसी छु ।
• हामी काठमाडौं खाल्डोका बासिन्दाले काठमाडौं उपत्यकाकी आदिमाता मूल नदीलाई दिनदिनै मलमूत्र र विषादिको धूप, दीप, नैवेध, अर्घले पूजाअर्चना गरेको छौं । हामी सबैलाई धिक्कार छ ।
• जान्नेहरु सिक्न सक्दैनन् किनभने उनीहरुको गिदी भन्ने भाँडोमा सिक्ने कुराको लागि खाली ठाउँ बाँकी हुँदैन । ज्ञानैज्ञानले भरिइसकेको हुन्छ । त्यो भाँडोलाई थोरै भए पनि खाली नगरी नयाँ सिको हाल्ने ठाउँ नै हुँदैन ।
• मलेसियाका बैकल्पिक उपचारकले पत्ता लगाएको सर्वरोगको रामबाण -गानो थेरापी (च्याउ उपचार)ले शरीरलाई विषादि-मुक्त पारेर असाध्य रोगहरु निको गराउँछ ।
• बद्ध भन्दा मुक्त जीवननै रमाइलो हुन्छ ।
• निष्कामकर्मीको तीर्थस्थल हुँदैन । ब्रह्मसाधकलाई तीर्थस्थल चाहिँदैन ।
• दुईतीन वर्ष अघि सम्म संसार भरी माइलोमाको फ्रन्टलाइन ट्रिटमेन्ट भ्याडनै थियो । अहिले पनि यसलाई गलत उपचार मानिँदैन । तर आज त्यसका लागि घरै बसेर खाने थ्यालिडोमाइड-डेक्सामेथासन प्रयोग गरिन्छ ।
-डा. विष्णुदत्त पौडेल
• सय सरद बाँच -आशिष
• सुगौली सन्धिपछि नेपालका पहाडे तन्नेरीहरुलाई आफ्ना सिपाही बनाउन थालेदेखि नै फिरङ्गीहरुले नेपालीहरुको सबभन्दा ठूलो शोषण गरेकाछन् ।
• पहिलो विश्वयुद्धमा २०,००० र दोस्रो विश्वयुद्धमा २४,००० नेपालीहरु बलिका बोका भएका थिए ।
• जाने देशका नागरिकलाई जुन-जुन देशमा भिसाको जेजे नियम लागू हुन्छ, सम्बन्धित देशबाट आउनेहरुलाई पनि भिसाको त्यही नियम लागू गरिनुपर्छ ।
• जीवनको सबभन्दा ठूलो सुख मलाई कसैले माया गर्छ भन्ने विश्वास हो ।
• सुख दैहिक र आनन्द आत्मिक हुन्छ ।
• जसको तनमनमा सुख छ त्यसले सुख खोज्न कहीं जानु पर्दैन । तनमनमा सुख नहुनेले जहाँ जे गरे पनि अरु सबै थोक पाउला, सुख पाउँदैन ।
• मान्छेले जीवनमा गर्ने सम्पूर्ण कार्यहरु तन र मनलाई सुख दिने प्रयत्न हुन् ।
• मान्छे तनमन हो, दुवैलाई सुख नभै मान्छेलाई सुख हुँदैन ।
• सुखको खोजमा मान्छेले गर्ने संघर्षहरुको समग्रता नै जीवन हो ।
• मान्छेको सुखको प्रमुख आधार र मायाको पहिलो वृत्त परिवार हो । परिवारको माया नपाउने टुहुरो हुन्छ ।
• आन्तरिक र बृहत्तर परिवार -दम्पत्ति, सन्तति, स्वजन र मित्रहरु विवेकशील भएका मान्छेको जीवन नै स्वर्ग हो ।
• परिवार मान्छेको आश्रयस्थल हो -सुख, शान्ति, सन्तोष र प्राप्तिको आनन्द बाँड्ने र दुःख, पीडा र अप्राप्तिमा सान्त्वना खोज्ने ।
• मान्छे आफ्ना औजारको औजार भएको छ । -थोरो
• मैले अह्राएका सानाठूला, सजिला असजिला काम जसले अँध्यारो मुख नलगाईकन गरिदिन्छ, त्यही नै मेरो स्वजन हो । जसले मलाई जस्तो छु तेस्तै स्वीकार गर्छ, भनेको मान्छ, मद्दत गर्छ र माया दिन्छ त्यही नै मेरो परिवार हो, स्वजन हो, बान्धव हो, आफन्त हो, मित्र हो, मायालु हो ।
• आफ्नो सुख आफैंमा खोज, अरुमा खोजे दुःख पाउँछौ ।
• शरीर गलिसकेको मेरो सुख ममा छैन । मेरो स्वजनले जति दिन्छन् त्यही र त्यति मात्रै मेरो सुख हो ।
• जसरी माया गर्न पनि आफ्नै रगत चाहिन्न, त्यसरी नै हेला गर्न पनि पराई चाहिन्न ।
• मान्छेको स्वरकम्पन र शब्द-स्पन्दनबाट आत्मीयताको नापतौल गर्नेगर्छु । मायाको कसी लगाउँछु ।
• फकिरको पुकार अरु के हुन्छ ?
भलो गर तिम्रो भलो हुन्छ । -गालिब (भाव रुपान्तरण)
• मृत्यको न्यानु छाँयाबाट मैले सिकेको यौटा यथार्थ “मान्छे तिरस्कृत नहुन्जेल तिरस्कृत हुनु कस्तो हुन्छ, बुझ्न चाहँदैनन् । ”
• सुख भन्ने कुरा बिपनाभन्दा बढी सपना र यथार्थभन्दा बढी कल्पना हो ।
• सबै सुखी परिवार उस्तै हुन्छन्, प्रत्येक दुःखी परिवार आफ्नै हिसाबले दुःखी हुन्छ ।
• ठूलो विपत्ति नसोचेको बेलामा आउँछ ।
• जुन हावा थियो मित्र, पोल्दा जङ्गल अग्निको ।
त्यै गर्छ दीपको नाश, निर्धाको मित्र हुन्छ को ? -कविशिरोमणि लेखनाथ
• सामर्थ्यले सहित मालिक सच्चरित्र,
आत्मीय भृत्य, अनुरक्त कलत्र, मित्र ।
ई चार मूर्तिसँग दुःख सबै कहेर,
दुःखी मनुष्य सुख पाउँछ एक फेर ।। -पञ्चतन्त्र अनुवाद, लेखनाथ
• पारिवारिक मान्छेको दाम्पत्य सम्बन्ध नै सबभन्दा आन्तरिक वृत्त हुन्छ ।
• प्रेमको अपार ऊर्जाको केही अंश नवदम्पतिमा पनि सर्छ ।
• प्रारम्भिक ऊर्जाको दशमांश मात्रै आजीवन कायम रहयो भने पनि त्यो दाम्पत्य सधैं सुखमय हुन्छ ।
• दाम्पत्य वा पारिवारिक सम्बन्धको आधार त प्रेम हुदैं होइन दायित्व र मर्यादा हो । जुन समय र परिस्थितिले गर्दा घोटिँदै, खिइँदै जाने हुँदा स्वभाविक ह्रासकट्टी स्वीकार गर्नुपर्छ ।
• सब सम्बन्ध दोधारे तरबार हुन् । यौटा धार सुखको हुन्छ, अर्को दुःखको ।
• वेदना दुख्नेलाई थाहा हुन्छ, देख्नेलाई होइन । मर्का पर्नेलाई थाहा हुन्छ, पार्नेलाई होइन ।
• सन्तति जति छिप्पिँदै जान्छन् -सन्ततिसुख उति खुइलिँदै जान्छ र जब उनीहरु आफू मात्र शिक्षित वा जान्ने र संसारलाई अशिक्षित, नजान्ने वा मुर्ख देख्न थाल्छन्, त्यतिबेला पूरा खुइलिएर पाताल पुग्छ ।
• बाललीलाको छेकको सन्ततिसुखको सयकडा एक पनि परिवारमा सधैं कायम रह्यो भने, त्यो परिवार, त्यो सम्बन्ध स्वर्ग हुन्छ ।
• सम्बन्ध नर्क हुनुको समस्या घमण्ड हो, स्वार्थ वा आलस्य वा केवल मूर्खता हो ।
• आमाबाबु हुँदाहुँदै पनि कति सन्तान टुहुरा हुन्छन् भने कति टुहुराहरुले पनि पितृसुख पाउँछन् ।
• कति दम्पत्ति सन्तान भएर पनि निस्सन्तान हुन्छन् कति सन्तान नभएर पनि सन्तानवान हुन्छन् ।
• सन्तान नहुनु एक पीडा हो भने सन्तान हुनु सयपीडा हो ।
• सन्तान नहुनुको पीडा सन्तान हुनेलाई थाहा हुँदैन । सन्तान हुनुको पीडा सन्तान नहुनेलाई थाहा हुँदैन ।
• हुर्केका सन्तानले लागूको अम्मली भएर आमाबाबुलाई कुटेनन् भने ती सन्तान् महान हुन् ।
• “ड्रग”भन्दा ठूला लागू क्रोध, घमण्ड, स्वार्थ र वासना हुन् । जसको पुनःस्थापना केन्द्र हुँदैन । स्वविवेकबाहेक कुनै उपचार पनि छैन ।
• परिवारसँग र स्वजनहरुसँग राम्रो मुखले बोल्ने र सोमतिलो व्यवहार पनि गर्ने सन्तान पाई नसक्नु सज्जन हुन् ।
• राम्रो बाटो समाएका र पर्दा आमाबाबुलाई, परिवारलाई र स्वजनलाई आत्मीय सहयोग पनि गर्छन् भने ती सन्तान देवदूत हुन् ।
• ट्रान्जिसन, समयान्तरण वा सन्ध्याको यथार्थ ढिलो चाँडो सबै पुस्ताले खेप्नु पर्छ ।
• संसारमा कसैले कसैलाई केही पनि सिकाउन सक्तैन । सिक्नेले आफैं सिक्छ, स्वप्रेरणाले सिक्छ ।
• कुनैपनि राम्रो बानी थेग्न मरिमेट्नु पर्छ । जसका लागि ऊ स्वयं प्रेरित हुनुपर्छ । सिकेको बिर्सन्छ, थेगेको रहन्छ ।
• पितृले सन्तानलाई शिक्षा, स्वास्थ, भोजन, मायालु वातावरण, संस्कार दिनसक्छ, बाँकी सन्तान आफैंले जे मनलाग्छ गर्छ । महान पनि आफ्नै बुताले र पतन पनि आफ्नै मतिले हुन्छ ।
• वातावरण भनेको हुर्किंदै जाँदा सन्तानले यस लोकमा चिन्नुपर्ने अनन्त अन्तरसम्बन्धका डोराहरुको सञ्जाल हो । परिवार बाहिरका सञ्जालका डोराहरु पाठशाला, सञ्चार र सङ्गत हुन् ।
• पितृका फतफत, गनगन, बकबास सन्तानका लागि सबभन्दा रसहीन् र उराठराग्दा “डल”र “बोरिङ्”हुन्छन् ।
• कुनैपनि “पुल्पुलिएको”बेसोमतीले आफ्नो बेसोमतलाई बेसोमत मान्दैन । अनि आफ्नो दुर्व्यवहारको औचित्य सिद्ध गर्न खोज्छ र कमजोरी र मूर्खताहरु बढाउँदै जान्छ ।
• एक सम्भ्रान्त पिताले तीन वर्षको छोरालाई आफ्नो नाङ्गो हत्केलामा हगाएर समेत आनन्द लिएको देखेको छु ।
• राति जाग्नु र दिउँसो सुत्नु नवसभ्यता हो ।
• सप्रेका, चाहिएको बेलामा सबै किसिमको सहयोग गर्न चाहने, सक्ने र गर्नेपनि सन्तान पाउनु दुर्लभ हो ।
• सन्तानले तिमीलाई मेरो अभाव हुन दिने छैनन् -तिमी जस्ती असल आमाको कोखबाट अविवेकी र दुच्छर सन्तान जन्मन सक्तैनन् । कदाचित् अविवेकी र दुच्छर व्यवहार गरे भने त्यो उनीहरुले तिमीबाट होइन मबाट पाएको कुरा भन्ने सम्झेर बिर्सनु र मलाई क्षमा गर्नु ।
– जगदीशले दुर्गालाई भनेको
• तिमीहरुमा जेजे गुण छ, त्यो तिमीहरुले अरुबाट पाएका हौ र जे बैगुन छ म र दुर्गाबाट । दुर्गाभन्दा पनि बढी मबाट किनभने ममा बढी दुर्गुण छन् ।
– जगदीशले छोराछोरीलाई भनेको
• मान्छेले सुखको खोजीमा सुखभन्दा बढी दुःख पाउँछ ।
• भ्रम सबभन्दा सर्वश्रेष्ठ सुख हो । भ्रमनिवारण सबभन्दा ठूलो दुःख हो । भ्रमनिवारण भैसकेपछि कोही दुःखी हुँदैन भने त्यो ज्ञानी हुन्छ । सन्त हुन्छ ।
• जसले जे गर्छ, त्यही नै सर्वश्रेष्ठ मान्छ, भन्छ, दावा गर्छ । ऊ त्यस अभियानको स्वनियुक्त अवैतानिक प्रवक्त समेत बन्छ ।
• उमेरको गरिमाको चाउरीले पुरिएका थोते बूढाबूढीको मुस्कान अति मीठो हुन्छ ।
• बृद्धावस्था किन कष्टकर हुन्छ ? पाको उमेर र रोगले होइन, सन्तानको हेलाँ र तिरस्कारले ।
• “बुढेसकालमा सन्तानले हेर्ला”भन्ने सोच हाम्रो संस्कृतिको सबभन्दा ठूलो विश्वास हो, आस हो र निराश पनि हो ।
• मान्छे भनिने पशुले मात्रै सहवासलाई मोजको माध्यम बनाउन यौन र सन्तानलाई नियोजनका साधनहरु मार्फत् छुट्याएको हो ।
• “सानु छँदा मर्लान भन्ने डर, ठूला भएपछि मार्लान भन्ने डर”यो आहान सन्तानले तबसम्म सुन्दैनन्, जबसम्म उनीहरु आफैं सन्तानपीडित हुँदैनन् ।
• कुनैपनि व्यक्तिको मूल कुरा उसको उद्देश्य, लक्ष्य, जीवनोद्देश्य वा मिसन हो । मिसन यन्त्र हो । मान्छेले आफ्नो मिसनमा सास फेर्नुपर्छ ।
• अहिंसा भनेको मन, वचन, कर्मले कसैलाई पीडा नदिनु हो ।
• रुखो, टर्रो, ठर्रो, म्याटर अफ फ्याक्ट, स्टायल अफ बिहेवियर अर्थात यथार्थवादी व्यवहारको शैली आजको यथार्थ हो ।
• सबै परिवारमा कलह र आपसी शक्तिक्षयको तत्व हुन्छ, जसको चरमावस्था कुलको समूल विनाशको कारण हुन्छ ।
• विवेक अति दुर्लभ छ । अविवेक मात्रै सर्वसुलभ छ ।
• जीवनमा स्वास्थ्य नै सबै थोक होइन, तर स्वास्थ्य छैन भने अरु सबै थोक केही होइन ।
• स्वस्थ मन र स्वस्थ शरीर नै जीवनको कसी हो ।
• सुख, शान्ति, समृद्धि सन्तोषका मूल आधार हुन् ।
• सूर्य नमस्कार यौगिक र गतिशील एरोबिक व्यायामका सबै उत्कृष्ट तत्वहरुले परिपूर्ण समग्र व्यायाम हो ।
• जैविक भोजन सर्वश्रेष्ठ हो । पूर्ण अन्न र पूर्ण फलफूलमाथि, वनस्पतिमा लसुन सर्वश्रेष्ठ हो, मसलामा बेसार सर्वश्रेष्ठ हो, सब्जीमा ब्रोकाउली सर्वश्रेष्ठ हो, पेयमा ग्रीन टी सर्वश्रेष्ठ हो, पशुमा/जीवमा चिसो पानीको माछा सर्वश्रेष्ठ हो, तेलहनमा काँचो आलस सर्वश्रेष्ठ हो । ओखर र हाडे बदामभन्दा आलस काँचै खाँदा (आलसको तेल होइन) दसौं गुणा बढी स्वस्थकर हुन्छ । सबै प्रचलित मसलाहरुमा राम्रा तत्वहरु छन्, तर जाइफलमा विष हुन्छ ।
• व्यायाममा योग श्रेष्ठ नै हो ।
• स्वास्थ्य जीवनको मूलधार हो, स्वास्थ्य सबै थोक हो भन्ने विवेक कदाचित बेला नबित्दै उदाइहाल्यो भने पनि अल्छी र लोभ नगरीकन स्वास्थ्यका सर्वमान्य सिद्धान्तहरुको सामान्य पालनालाई चाहिने भोजन र व्यायाम सम्बन्धी न्यूनतम अभ्यास निष्ठापूर्वक गर्ने मान्छे अपवाद हुन्छन् ।
• बलियाहरुको भनाइ “भोजन-संयम”पनि व्यर्थ हो -पचाउन सक्नेले मुख बार्नु पर्दैन, पचाउन नसक्नेले मुखमा लाउनै हुँदैन ।
• कारणै थाहा नभएका रोगको रोकथामका लागि पूर्वाभ्यास गर्ने पनि कुरा भएन ।
• सकेसम्म सन्तुलित जीवनशैली -स्वस्थ भोजन, उचित व्यायाम गर्नु ठीक हो ।
• संसारमा यति सारो भोका मान्छेहरु छन्, जो रोटी बाहेक अरु कुनै पनि रुपमा ईश्वर देख्तैनन् । बालख अँध्यारोसँग डराउँछ । प्रौढ उज्यालोसँग -उज्यालोले सत्य कुरा प्रकाशमा ल्याइदेला भनेर । -महात्मा गान्धी
• आदर्श महान हुन्छ, तर जब मान्छेको पेटमा चारो हुँदैन तब सबै आदर्शहरु व्यर्थ हुन्छन् ।
• लज्जा, स्नेह, स्वरमधुरिमा, बुद्धी ढाँचा जवानी,
कान्तासँग स्वजन ममता शास्त्र आपत्तिहानि
धर्म श्रद्धा सुरगुरुविषे, शौच, आचार, सारा,
त्यै बेला हो, जब उदरले पाउला पूर्ण चारा । -पञ्चतन्त्र, भावानुवाद – लेखनाथ
• सनातन धर्मले जीवनको लक्ष्य, धर्म, अर्थ, काम र मोक्ष तोकेको छ ।
• धर्मको सारका दुई सुत्र –
आत्मनः प्रतिकूलानि, परेषां न समाचरेत् ।
परोपकारायः पुण्याय पापाय परपीडनम्
(आफूलाई प्रतिकूल हुने कुरा अरुलाई नगर्नु,परोपकार पुन्य हो, परपीडन पाप हो ।)
• धर्म हुँदैन । केवल सत्कर्म हुन्छ ।
• गीताको निष्काम कर्म धर्म हो भने सबै सकाम कार्यहरु पाप नभएपनि धर्म होइनन् ।
• धर्मको प्रमुख लक्ष्य समाजको व्यवस्थापन हो, तर आज धर्म छल भएको छ ।
• संसार छिट्टै इस्लाममय वा क्रिष्चियनमय हुनेछ । मदरसाहरुको जिहादी तालीम बढी प्रभावकारी भएकाले इस्लाममय हुने सम्भावना बढी छ ।
• शान्तिका लागि प्रख्यात बुद्धमार्गीहरुले पनि आपसमा युद्ध गरेको इतिहास छ ।
• बिक्री भनेको पैसाको लोभले गरेको दान हो । दान भनेको पुण्यको लोभले गरेको बिक्री हो । दुइटै एकै हो ।
• लोकमा अर्थको अर्थ छ, खोक्रो आदर्श व्यर्थ छ ।
• ईशावास्यमिदं सर्वं, यत्किञ्च जगत्यां जगत् ।
तेनत्यक्तेन भुञ्जिथा, मा गृधः कस्यस्विद् धनम् ।।
(यो ब्रह्माण्डमा जे जति चराचर जगत छ सबैमा ईश्वर व्याप्त छ । त्यस (जगत)लाई ईश्वर सम्झेर निरासक्त भावले त्यागपूर्वक भोगगर । धन कसको हुन्छ र ?)-ईशावास्य उपनिषद्
• हे मनुवा, धनमा आसक्त नहो । यो सबै परमात्मको हो । तँ जाँदा क्यै लिएर जाँदैनस् । निरासक्तभावले सबै ईश्वरमा समर्पित गरेर आफ्नो भागमा परेको धनको भोग गर ।
• यथार्थमा यो धनदेखि अन्त, कहाँ छ माया ममता तुरुन्त ।
धनै छ सर्वोतम सार जे छ, सबै धनैमा लटकी रहेछ ।
धनै भए लभ्य छ गाँस, बास, धनैभए मात्र रहन्छ सास ।
– कविशिरोमणि लेखनाथ पौड्याल
• यावत् वित्तोपार्जनशक्तः तावन्निजपरिवारो रक्तः ।
पश्चाञ्जीवीत जर्जरदेहे वार्तां कोपि न पृच्छति गेहे ।।
(धन कमाउन सकुन्जेल आफ्ना परिवारले माया गर्छन् । बुढेसकालमा देह जर्जर भएपछि घरमा दोहोरो बोल्ने पनि कोही हुँदैन ।)
– आठौं शदीका वेदान्तशिरोमणि आदि शङ्कराचार्य
• उमेरमा बाघजस्ता घरमूलीहरु बुढ्यौलीमा स्यालजस्ता लुम्रे र एक्ला हुने जगतको यथार्थ हो ।
• धनको केवल तीन गति हुन्छन् -दान, भोग र नाश । जुन दान र भोग हुँदैन, त्यो नाश हुन्छ । मान्छे भोग र नाश त मनग्गे गर्छन्, तर दान गर्ने बेलामा भने धनकै पोकोको डुङ्गा चढेर वैतरणी तर्छु भनेर साँच्दछन् । त्यो पनि अधिकांश नाश नै हुन्छ ।
• धन हुनेको मन हुँदैन । मन हुनेको धन हुँदैन ।
• जन्म कामकेलीको परिणाम हो ।
• पशुजगतले आफ्ना बच्चालाई गरेको माया जैविक विस्तारको प्राकृतिक कार्य हो ।
• प्रकृतिले पशुजगतमा सन्तानप्रति अन्धमोह हालिदिएको छ भने सन्तानमा पितृप्रति सर्तक र शङ्कालु आँखा हालिदिएकोछ ।
• प्राणीजगतमा खासगरी आमाले सन्तानको प्राण जोगाउन आफ्नो प्राणको बाजी लगाउँछन् । संसारको कुनै पनि प्राणीले पितृको प्राण जोगाउन आफ्नो प्राणको बाजी लगाउँदैनन् । सुल्टो त्यही हो ।
• सन्तानको काम आफ्ना सन्तानलाई माया गर्ने हो । अर्काको लाई हैन । बाबुआमा भनेका त बाजेबज्यैका सन्तान पो त !
• सबै गुरुहरु, ग्रन्थहरु कामवासना पाप हो भन्छन् । भोग होइन त्यागको लागि मान्छेले जुनी पाएको हो भन्छन् ।
• मान्छेले कुनै कुराको जुनी पाएको भए त्यो हो दायित्व र कर्तब्य । त्यसको परिधिभित्रका भोग र त्याग जीवनका वास्तविकता हुन् ।
• मोक्ष छैन । मान्छे धर्ती नामक नर्कमा छन्, कोही मोक्षको सपना/बिपना देखाउँछन्, कोही देख्दछन् । युधिष्ठिर जत्तिका धर्मात्माले र अर्जुन जत्तिका निष्कामकर्मीले त मोक्ष पाउँदैन भने अरु कसले पाउन सक्छ ?
• इन्डोनोसियाको बाली भन्ने ठाउँका हिन्दूसामन्तको लाससँगै परलोकमा पनि सबै चाहिन्छ भनेर उसको सबभन्दा प्रिय नोकरलाई पनि गाड्ने चलन लुकिछिपी भएपनि अझै छ ।
• स्वर्ग जानेले फेरी जन्मिनुपर्छ । मोक्ष पाउनेले पर्दैन । -गीता
• उपनिषदको सार गीता हो भने गीताको सार निष्काम कर्मयोग हो । -महात्मा गान्धी
• कृष्णले अर्जुनलाई बताएका निष्काम कर्मयोगीका लक्षणहरु –
o भोग-ऐश्वर्यमा निरासक्त,
o हर्ष-शोक-द्वोष, लाभ-हानि, जाडो-गर्मी, सुख-दुःख, सिद्धि-असिद्धि, हार-जीत, अभिमान, दम्भ, ममत्व, ममता, सन्ताप, पाप रहित,
o मित्र-शत्रु, निन्दा-स्तुति, जीवन-मृत्यु, शुभ-अशुभमा समभावी,
o मन-वाणी-शरीरले कसैलाई दुःख नदिने,
o मृदुभाषी, क्षमाशील, धैर्यवान्, सलज्ज, कोमल, सात्विक, अहिंसक, दानी, तपी,
o आसक्ति-निवृत्त,
o भय-राग-क्रोध मुक्त,
o इन्द्रियजित्, परमात्मा स्थित,
o कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने,
o सबैकर्म गर्दागर्दै केही पनि नगर्ने,
o सांसारिक आश्रय-रहित,
o परमात्मामा नित्य तृप्त,
o इन्द्रियसहित शरीर जितेको,
o कर्ताभाव त्यागी,
o इन्द्रिय, मन, बुद्धि र शरीरबाट आसक्ति त्यागेको,
o अन्तरात्मामा सुखी,
o युक्तकर्मचेष्टावान्,
o सबै प्राणीमा परमात्मा देख्ने,
o आत्म-रमणशील, आत्मज्ञानी,
o जिउँदै शरीर जितेको, ब्रह्मचर्यव्रती तृप्त, युक्तआहारविहारी, देहाभिमान मुक्त
o ब्राह्मण, गाई, हात्ती, कुकुर र चाण्डाललाई सम देख्ने,
o शुद्ध अन्तस्करणवान्,
o समस्त कर्मलाई परमात्मा अर्पण गरेको,
o विवेकी, श्रद्धालु, संशयमुक्त,
o इच्छा नगरी स्वतः प्राप्त पदार्थमा सदा सन्तुष्ट,
o सम्पूर्ण कर्म परमात्मामा अर्पण गरेर आशारहित,
o स्थित-प्रज्ञ, प्रज्ञा प्रतिष्ठित, योग-कर्म-कुशल,
o निष्काम कर्मयोगी, वीतरागी
• निष्काम कर्मयोगको अभ्यास मान्छेले गर्नै सक्तैन । देउताले गर्नै पदैन ।
• वनस्पतिमा पनि सकेसम्म र जसरी भएपनि बाँच्ने र वंशविस्तार गर्ने कामना देखिन्छ ।
• पतञ्जलीले योगलाई अष्टाङ्ग योग (सनातनधर्मको सार र निष्काम कर्मयोग अभ्यासको हाते किताब) भनेर यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र सभाधिलाई सूत्रबद्ध गरे ।
• यमका ५ उपअंग – अहिंसा, सत्य, अस्तेय (नचोर्नु), ब्रम्हचार्य (ब्रह्ममा समर्पित जीवन, सन्तुलित यौनचार) र अपरिग्रह (असङग्रह) हुन् ।
• सामान्य मान्छेका त के कुरा ऋषिमुनिहरु, गुरुहरु, देउताहरु पनि भोग चाहन्छन् ।
• मान्छेले भोगकै लोभले तीर्थ, व्रत, तप, अनुष्ठान आदि सकाम कार्य गर्छ ।
• केही नहुँदा पनि दैव थिए । केही नभएपनि दैव हुन्छन् ।
हुनुलेनै म डुबें (बरबाद भएं) म नै नभएको भए के हुन्थ्यो ? -गालिब
• सबै समस्याको जरो म नामकजन्तु हुनु हो । नहुनु होइन ।
• परमात्माको सार वेद, वेदको सार वेदान्त, वेदान्तको सार शङकराचार्यका स्तोत्र, तिनको पनि सार उनको कौपीन स्तोत्र हो । सनातन धर्मको सार लगौंटी हो ।
• मोक्ष पाउने सर्वश्रेष्ठ बाटो लगौंटीको पहिरन, भीखको गाँस र रुखमुनिको बास हो ।
• कहिल्यै पनि कुनै पनि अपराध नगर्ने, गीताले भनेका जस्ता निष्कामकर्मी, सितरागी त वनस्पति मात्र हुन्छन् ।
• मोक्ष छ भने केवल प्रकृतिको नियममा जन्मिने, बाँच्ने र मर्ने निरपराध वनस्पतिले सबभन्दा पहिले मोक्ष पाउनु पर्छ ।
• पापैपापले पुरिएका अपराधी मान्छे र मान्छेमध्ये पनि नरलाई मोक्षको अधिकार छैन ।
• जसले मार्दैन, त्यसले मलाई झन् बलियो पार्छ । -नित्से
• गाउँमा सिचाँइ कूलो खन्न ल्याएको पैसाले नेता-ठेकेदार मिलेर कागतमा कूलो खन्थे र बाँडीचुँडी खान्थे ।
• अनुहार बदलिए, चरित्र बदलिएन, ठगी खाने मेलो झन मौलाउँदै गयो -ओइलाएन ।
• LFPI = Laminar Flow Patient Insulatorमा रहँदा पिसाब फेरेपछि मुत्रद्वार धुने, जे खाएपनि कमलो ब्रुसले हल्कासँग दाँत माझ्नै पर्ने, त्यस पछि नूनपानीमा भिजाएको रुवाको डल्लोले दाँत, गिजा, जिब्रो र तालु सफा गर्ने, ब्यूँझै रहेको समयमा हरेक घण्टा नूनपानीले कुल्ला गर्ने, सिन्का वा डेन्टल फ्लस गर्न नहुने नियम पालना गर्नुपर्ने । बिहान-बेलुका नुहाई कपडा फेर्नै पर्ने, नुहाएपछि शरीरभरी लोशन लाउनु पर्ने, चिलाउँदा कन्याउन नहुने, औंला नपड्काउने, कुनैपनि अंग भित्तामा नठोक्याउने, फलफूल र काँचो हरियोपरियो नखाने, आँखा चिलाउँदा नमिच्ने, नूनपानीको रुवाले पुछ्ने । ६ महिना सम्म नट (काजु, माम्फली, ओखर पेस्ता) नखाने गर्नुपर्दोरहेछ ।
• दश लाख स्टेमसेल हालेपछि टाउको रन्किएर तातो रातो भयो, जाडो लाग्यो । भोलिपल्ट पुनः दश लाख थपेपछि खाना रुच्न बन्द हुने, वाकवाक लाग्ने, दिनमा ४/५ पटक दिसा लाग्ने, पेट ढुस्स हुने, छातीमा उलुतुलु हुने, निद्रा नपर्ने लक्षणहरु देखा परे । Bone Marrow Transplantविभागमा ५/६ हफ्ता रहनुपर्ने रहेछ ।
• मान्छे जन्मिने बित्तिकै देखी आयुको “काउण्टडाउन”शुरु हुन्छ ।
• भर्दाभर्दै हजारौं विषय-सुख घडा देह लम्तन्न पर्दा,
झर्दा सम्पूर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा ।
सर्दा आपस्त डर्दै परपर धमिलो नाचको अन्त्य पर्दा,
गिर्दामा साथ जाने कुनुकुन चिज हुन् ? सम्झ ती कामगर्दा -कविशिरोमणि लेखनाथ पौड्याल
• जन्म, बालापन, यौवन, प्रौढावस्था, मृत्यु -सबै उही समयका फरक नाम र पर्याय हुन् ।
• जीवनको बाँच्नुको लक्ष्य मर्नु हो ।
• समय कुनै राम्रो र कुनै नराम्रो हुँदैन । समय आदिहीन, अन्त्यहीन लगातार हो, कन्टिन्यअम हो, जसमा न सुख छ, न दुःख छ, न उत्सव छ, न शोक छ, न सुयोग छ, नदुर्योग छ । समय यथार्थ हो । यो सत्य हो । यो केवल छ ।
• समस्त चेतन र जडको जन्म, जीवन र अवसान समयको खल हो ।
• मान्छे केवल कारण हो । कर्ता होइन ।
• जीवनमा पुग्नुको भन्दा यात्राको महत्व हुन्छ ।
• बाँच्नु अल्पकालीन समाधान हो, मर्नु दीर्घकालीन ।
• सत्य समाधान हुन्छ, समस्या होइन । छैन भने समस्या नै भएन ।
• सोचले सत्य बदलिँदैन । सत्यले सोच बदलिन्छ । कसैले विश्वास गर्नु र नगर्नुले सत्यलाई फरक पर्दैन ।
• जीवन सुखमा सार्थक र दुःखमा निरर्थक हुने होइन । जीवनको सार्थकता आफ्नो सुखमा होइन, अरुलाई सुख दिन सक्नुमा छ ।
• जीवन जसले जे भनेर देख्यो, चिन्यो, जान्यो, बुझ्यो, मान्यो, ठान्यो त्यही हो ।
• जीवन बारे सार्वकालिक, सार्वभौमिक, सर्वसम्मत, आब्सोल्युट सत्य छैन । जीवन जिउने कुरा हो ।
• अन्तिम विश्लेषणमा जीवन दृष्टिकोण हो । त्यसपछिको पनि विश्लेषणमा जीवन मृत्यु हो । जीवन क्वालिटी हो, क्वान्टिटी होइन ।
• बाँचुञ्चेल जीवनलाई माया गर्नेले बेला भएपछि मृत्युलाई पनि माया गर्नुपर्छ ।
• जो सुखसँग मर्छ त्यही सुखी हो ।
• मलाई एकपटक मात्र मर्न देऊ, खुसीसँग मर्नेछु पटक पटक नमार ।
• मुक्ति मृत्युबाट पाइन्छ । यसको अर्थ हो जीवन भनेको मृत्यु हो, आधुनिक अस्तित्ववादीहरुले बुझुन् ।
• हड्डीको पिजँरा शरीर उसमा मैना म भन्ने चरो,
त्यो क्वाँ क्वाँ गर्दो छ शान्तिरसको पानी विना भै खरो ।
चारा इन्द्रिय-लभ्य यो विषयको लाखौं खन्याए पनि,
भित्री व्याकुलता र डाह उसको छुट्दैन कत्ति पनि ।-कविशिरोमणि लेखनाथ पौड्याल
• कुबेलामा तिल नघोट्नु, बखतमा हीरा फोड्नु । काममा हिरा फोर्नु, बिकाममा किरा नमार्नु ।
• मेरो छातीमा सत्य र न्यायको बीउ रोप, म तिम्रो परिश्रमको सय गुना बढी फल फलाइदिनेछु । -आमा
• यूवा हृदयको लागि सच्चाई सधैं बढी नजिक हुन्छ ।
ब्लड क्यान्सको उपचार सम्बन्धी जानकारी –
• थ्यालिडोमाइड (रु.५,०००/महिना) बढ्ने र लिनोलिडामाइड (रु.७०लाख/महिना) घट्ने कुप्रभाव (४-६महिनासम्म)
• थ्रम्बोसिस = रगत जम्ने रोग = डीप
• पेरिफेरल न्यूरोप्याथी = हात कमाउने र हिँड्दा खुट्टा लट्पट्याउने
• भेल्केड = भ्याड किमो = डेक्साको किमो उपचार
• साइक्लोफोस्फामाइड = किमोको उच्च मात्रा
• म्यूकोसाइटिस = मुख र घाँटीमा बिमिरा, खटिरा आउने
• ढाडका T-12र T-10 ठुन्कामा चीरा परेको अवस्था
• रगतमा सेता कोष (४-१०) हजार हुनुपर्ने, जुनबेला कडा सङ्क्रमण हुनसक्छ
• किमोका कुप्रभावहरु : निन्द्रा नलाग्ने, बेचैनी हुने, कमजोरी हुने, भोक नलाग्ने, कब्जियत हुने, औछानी लाग्ने, झुसिलो डकार आउने
• स्टेमसेल पनि नौनी जस्तै हुँदोरहेछ, ठीक समयमा ननिकाले रगतमै बिलाउने
• नसा फाइब्रोसिस = काँठिएर गाँठा पर्नु
• बीसहजारदेखि साठीहजार डलर खर्च गरी २०-२५ लाख स्टेमसेल ट्रान्स्प्लान्टका लागि बोनम्यारो ट्रान्स्प्लान्ट विभागकोLaminar Flow Patient Insulator = हावाका किटाणु छान्ने उपकरण जडित ७ फिटवाइ १२ फिटको कोठा = Isolation Room प्रयोग हुँदोरहेछ
• मेल्फालान नामक किमोको उच्च मात्रा छातीको नलीबाट दिएपछि म्यूकोसाइटिस नहोस् भनेस जतिसको छिटो-छिटो बरफका टुक्रा खान लगाए । डेड किलो बरफ खाएँ ।




