“हिजो कुनियो लाउनी भन्ते थर्पुकाले, लाम्पाटातिर फुकाहार भ’कोछ । आज गाईगोरु तेतै लए हुन्च !” आमाले गाईगोरु फोएर डहरमा निकाल्दै अर्थ्याउनु भयो । शनिबारका दिन स्कूल छुट्टी हुने,हाम्रो काम त्यो दिन गाईबाख्रा चराउने हुन्थ्यो । गाउँका सबैजसोले गाईगोरु लिएर सेरा, लाम्पाटातिर लग्दथ्यौँ ।
मास छिन्ने,भट्ट काट्ने काम गर्दै गरेका हुन्थे । गाईगोरुको हुल आएको देखेपछि छिटो-छिटो त्यो काम गर्न थाल्दथे । हामीले पनि सघाउँथ्यौँ । हरिया मासका कोसा भेट्दा छोडाएर मुखतिर हाल्थ्यौँ । साँच्चै मीठो हुन्थ्यो – ती काँचा मास,भट्टका गेडा खाँदा । गाईगोरु पनि फुक्काफाल भएर उफ्रँदै रमाएका हुन्थे ।
चाउके गह्रामा एकखुट्टे खेल्ने कोट बनाइन्थ्यो । एकजना साथीले कालीखोलाको बाटुलो ढुङ्गोलाई ढ्याक बनाएर ल्याउँथे । ढुङ्गालाई घोटी-घोटी राम्रो बाटुलो ढ्याक बनाइन्थ्यो । २/३ जना एकखुट्टे खेल्थ्यौँ । कसैले लारी बनाएर लगेका हुन्थे । आ-आफ्नो सीप र रहरका आधारमा ढ्याक,लारी-लौरी बनाएर सहभागिता जनाउने स्वच्छ प्रतिस्पर्धा अचेलका लागि पनि अनुकरणीय लाग्नु पर्दछ । २/४ जना लारी-लौरी खेल्न थाल्दथ्यौँ । एकातिर तीखो बनाएका सिमलीका दह्रा लौरी भएका साथीले ठेट्ने खेल्ने प्रस्ताव गर्दथे । २/३ जना त्यतै अल्मलिन्थ्यौँ । गाईगोरुले खलाको कुनियो खाइदिन्छन् कि?भन्ने बाहेक कसैको खेती खान्छन् कि भन्ने चिन्ता हुँदैनथ्यो । भुजुङ्गेतिर निहिन बेर्ने,बिटा लगाउने काम गरिरहेका हुन्थे । बिटा उठाएपछि त्यो गह्रो पनि फुकाहार बन्दथ्यो । गाईबस्तुलाई पनि साँच्चै रमाइलो भए झैँ लाग्दथ्यो ।
मलाई धानका सिला खोज्न मन लाग्थ्यो । धानका गेडाको टुप्पोलाई अगाडिका दाँतले खोल्स्याएर चामल कुटुक-कुटुक पार्दा स्वादिलो लाग्दथ्यो । यो बानीले गर्दा साथीहरूले मलाई’धानचरी’भन्ने गर्दथे । एक मुठी धान बनाएर कुनियामा मिसाइदिन्थेँ ।
बाख्राहरू कता-कता छिरलिन्थे ।’मकै ला-ला’भन्दै बाख्राहरू जम्मा पारिन्थ्यो । घाम ढल्कन थालेपछि बस्तुभाउ घर लाने बेला हुन्थ्यो ।’पान-पान’भन्दै गाईगोरुलाई कालीखोलामा पानी ख्वाएर घरतिर लान्थ्यौँ । फुकाहार चर्न पाएर गाईबस्तु सबै टन्न अघाएका हुन्थे ।
गाईगोरु,बाख्रापाठा घर ल्याएपछि स्याँर्कोटदेखि सीमचौरसम्मका खेतहरूमा कपर्दी,राजा,ओरोडोरो खेल्ने गरिन्थ्यो । घर आमाहरूले दिएका मकै जाँघेका खोल्तीमा राखेर सबैजना जम्मा हुन्थ्यौँ । नुन र खुर्सानीका घोगा टोकेर दगुर्दा न्यानो हुन्थ्यो । एकदिन खुर्सानी लाने पालो मेरो थियो । बिर्सेकाले माइली आमैको सुर्काबाट ५/६ घोगा चोरेर लगेथेँ । साँच्चै भन्दा मैले सम्झने चोरी त्यही हो । हुनपनि नुन-खुर्सानी टोकेर,मकै खाँदै ओरोडोरो,कपर्दी,राजा खेल्दा जाडो भएको महसुसै हुँदैन्थ्यो ।’हेर यो चिसाँ (चिसोमा) कति उफ्रन सकेका हुन्–यी केटाकेटीहरू ! हुन त केटाकेटीको जाडो बोकाले खान्छ भन्छन् …’हामीले जाडो नमानी खेलेको देखेर चौताराबाले भन्ने गर्नुहुन्थ्यो ।
अर्को शनिबार बस्तुभाउ चराउन खाल्टिकापाखातिर लगिन्थ्यो । त्यहाँ लगेपछि गाईबस्तुलाई चोर्न जाने ठावै थिएन । हामीहरू जैमेका बारीमा पिँडालुका सिला खोज्थ्यौँ । खन्न बिर्सिएको गानु भेटिँदा ठूलै चिज पाएझैँ लाग्दथ्यो । विष्णुले दियासलाई लगेका हुन्थे । नल-परालको घाई-घुरान सोहोरेर आगो बालेर ताप्दा सारै आनन्द आउँथ्यो । त्यही आगोमा सिला भेटिएका पिंडालुलाई पोल्न हालिन्थ्यो । पिर्सलिएकै/पिल्सिएकै अवस्थामा छोडाएर कोक्याउँदै भएपनि आफ्नो भागमा परेको तात्तातो पिंडालु खाँदाको स्वादै अर्को हुन्थ्यो ।
कसैले घरबाट निउवा लग्थ्यौँ । थोरै हुँदा टारीघरका थपेर नुन-खुर्सानीसँग खाई ह्वाई-द्वाई गर्दा जाडो भागेको महसुस हुन्थ्यो । दाँत कुँडिएमा निउवाको बोक्रा चवाएपछि ठीक हुन्थ्यो । कसैले’मेरा त कुँडिएनन्’भनेमा’तैँले सानोमा गुहु खाएको रचस्’भनिन्थ्यो–श्रुतिगत परम्परा र संस्कारको धरोहर ! गुहु खाएको दोषभागी हुने डरले दाँत नकुँडिएका भएपनि कुँडिएजस्तो गरिन्थ्यो ।
आइतबार स्कूल जाने दिन ! बिहानै सबै मिलेर भर्कुन्ना (भरिकुण्ड) को धारामा नुहाउन जान्थ्यौँ । विष्णुले अक्सिजन नामको दन्तमञ्जन ल्याएका थिए, ‘रिमरिम मीठाइँ’खाएको स्वाद आउँदा मुखको थुक निलौँ जस्तो हुन्थ्यो । जानकार साथीले’निल्न हुँदैन’भनेपछि थुक्नुपर्दा मनखत लाउतो (लाग्दथ्यो) । मैले एकपटक स्कूलमा पुरस्कार पाउँदा’लक्स’सावुन पनि पाएथेँ । एस्सो हातमा घोट्दा फिँजैफिँज हुने,मुख धुँदा आँखामा परो (पर्यो) भने पीरो हुने,पानीले पखाल्दा सबै अङ्गहरू सफा भएको झैँ लाग्दथ्यो ।
‘जनैको एउटा डोरो चुँडियो भने नबोली नयाँ फेर्नुपर्छ नत्र जनै छिनेका बेलामा बोलो (बोल्यो) भनेपनि बौलाहिन्छ,नुहाएर जप नगर्ने हो भनेपनि बौलाहिन्छ’ भन्ने मान्यता थियो । परिणामस्वरूप छेउको हरियो दुबो,सिरुका पातलाई दुई पैतालाका बुढीऔँलामुनि राखेर जनै राखेका हातले पानी अचाई पालैपालो जप गरिन्थ्यो । जप गर्दा कसैले छुन,कसैसँग बोल्न हुँदैनथ्यो । वास्तवमा कुशको आसनमा १/२ घण्टा बस्ने हो भने रक्तचाप सन्तुलनमा आउने वैज्ञानिक तथ्य अचेल प्रमाणित भैसकेकोछ । त्यही कुशको प्रतीक स्वरूप हरियो तिरिनलाई आसन बनाउन लगाइएको जस्तो लाग्छ । जप गर्दा बोल्न नहुने,छुन नहुने व्यहोरा – एकाग्रताको लागि रचिएको विद्वत सोचाइ जस्तो लाग्दछ ।
अचेल’मेडिटेशन’गर्नु राम्रो भन्ने भनाइको मूर्तरूप रहेछ जस्तो लाग्छ – जप गराइ । जेहोस् स्नानादि कर्म सकेर सबैजना घर फर्कन्थ्यौँ ।
घर आमाले खाना पकाइसकेकी हुनुहुन्थ्यो । पिँढीमा परेको घामको छायाँका आधारमा स्कूल जाने बेलाको निर्क्यौल हुन्थ्यो । धोती फेरेर भान्सामा गई बल हालेर नबोली खाना खाने चलन थियो–जुन अहिले पनि विज्ञानसम्मत देखिन्छ । किनभने,बाहिरफेर नलागाइने सफा धोती फेरेर खाँदा आफू गएको फोहोर स्थानबाट कपडामा टाँसिई आएका किटाणुको खानामा सम्पर्क नहुने भयो । बर्तुन(व्रतबन्ध) गरेकाले बासी खाना खान हुन्न भनिन्थ्यो । भनिन्छ – खाना पाकेको ४८ मिनेटभित्र खाँदा खानामा भएको पौष्टिक तत्त्व कायम रहन्छ, त्यसपछि क्रमश: घट्दै जान्छ । आमाले पकाएको ताजा,तात्तातो खाना चरेसका थालमा पस्किएर दिनुहुन्थ्यो । हातपाउ धोएर,चोखो धोती फेरेर भान्सामा पिर्कामा टुक्रुक्क बसेर खाने गरिन्थ्यो । अङ्खराको पानीले थाललाई घेरा हालेर,दूध वा घ्यूमा मुछिएको भात थाल अगाडिको फिलिङ्गोमा चढाउनु पर्थ्यो । स-साना ५ गास खाएर पानी अचाई’अक्ष,दक्ष,नक्ष, शिखा’भन्दै घाँटीलाई सबैतिर नचाउनु पर्दथ्यो ।
यो प्रक्रियाले स्थलमार्गबाट आउने किटाणुलाई जलघेराले,पवनमार्गबाट मिसिन सक्ने किटाणुलाई आगोमा चढाउँदा आएको वायुप्रदूषण हटाउने धुवाँले नि:षेध गरेको हुन्थ्यो भने शुष्क भोजननलीलाई रसिलो पार्न स-साना ५ गास–त्यो पनि दूध-घ्यूमा मुछिएको भात सहयोगी हुन्थ्यो । फेरि भोजननलीलाई खुलाउन’अक्ष,दक्ष …’को कर्मले यथेष्ठ सहयोग गरेको हुन्थ्यो । यो व्यहोरालाई मैले “नीरूलाई पत्र” मा’हाम्रा धार्मिक नियम र भौतिकता’शीर्षक दिएर अलि विस्तृतीकरण गरेकोछु । जेहोस् यसरी खाना खाएर स्कूले ड्रेस लगाएर झोला भिरेर को चाँडो घरबाट निस्कन्छ?साँच्चैको स्वच्छ प्रतिस्पर्धा हुन्थ्यो । स्कूल निर्माणको काममा छात्र-छात्राको सहभागिता स्वरूप जरेखोलाबाट सबैले एकुन्टा ढुङ्गा लिएर स्कूल गइन्थ्यो ।
गर्मीका सिजनमा हाफछुट्टीमा आँधीखोलाको ‘स्याम्कीरह’मा पौडन गइन्थ्यो भने ठण्डी सिजनमा चिन्तेचौरका खरबारीतिर जुर्केली (सुकेको घाँसमा आगो लगाउने) लगाउँदै न्यानो पारिन्थ्यो । कुनै पिरियड खाली हुँदा’साल हान्ने’चलन थियो । त्यो भनेको कुनै पैसा बनेको साललाई तल पारेर माथि हेरेर साल अड्कल गर्नु हो,साल मिल्यो भने जित्यो नत्र हार्यो । मैले एउटा २०२३ सालमा बनेको सिलटे पाँचपैसाले झण्डै एक रुपैयाँ जितेको क्षण सम्झँदा अहिले पनि रमाइलो लाग्दछ ।
गुच्चा खेल्ने चलन पनि तेसबेला बहुप्रचलित थियो । गुच्चा फोर्ने खेलदेखि ५ पैसा ठिनीको खेल खेलिन्थ्यो । अर्काको गुच्चालाई टोलेर विपरीत दिशातिर हुत्याई आफ्नो गुच्चा आफूतिर सरर आएको क्षण सारै रमाइलो लाग्दथ्यो । गुच्चा पिलाउने/छिराउने खोपीको आडैमा आफ्नो गुच्चा लुकाई अरूलाई फँसाउन सफल हुँदा ठूलै विजय हासिल भएझैँ लाग्दथ्यो ।
सिजनमा खोलापारी पारिबनमा’खल्लुका रुख’तिर खल्लु/तिजु खान गइन्थ्यो । आफू रुख चढ्न नसक्दा वा पाकेका तिजु भएको हाँगोमा टिप्न जान नसक्दा ती हाँगामा गएका साथीले गलक्क पाकेका आफूले खाई गिला-गिला भएका टिपेर हामीलाई फालिदिँदा ती साथीको उपकारी भावनाको कदर गर्न मन लाग्दथ्यो भने टर्रो-टर्रो गुलियो भएको तिजु खाँदाको स्वादै अनुपम लाग्दथ्यो ।
प्राइमरी तहमा पढ्नेताका स्कूल बन्दै थियो । हामीले घुम्तिस्कूलका रूपमा विभिन्न चौतारीहरूलाई उपयोग गरेथ्यौँ । झरी पर्दाका दिन वा झरी परेपछि पढाइ छुट्टी हुँदा पढ्न नपाएकोमा दु:खी हुनुभन्दा घर जान पाइने भएकोमा सबैजना खुसी मान्दथ्यौँ । पढाइ हुँदाका दिन सानागुरुले गाली गर्नुपर्दा’अरे बढर’भनेको र ठूला गुरुले’सिस्नाको आँठो’मगाएर हत्केलैमा भएपनि सिस्नु लगाएका क्षणहरू अहिलेसम्म स्मरणीय लाग्दछन् ।
वास्तवमा कति रमाइला थिए है–ती दिनहरू, बिर्सनै नसकिने …!!!
…सके सपारौं, नसके नबिगारौं…
#हामीसबैकोकल्याणहवोस्#
झारखोला, स्याँर्कोट, स्याङ्जा




