×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह, बदलिंंदो मुलुक : समयको माग

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रामशरण आचार्य

    द्रव्यशाहले वि.सं. १६१६ मा लिग्लिग विजय गर्दै गोरखा राज्यको स्थापना गरेको ऐतिहासिक अभिलेख छ । उनले अधिकार जमाएपछि मात्र स्वतन्त्र राज्यको रुपमा गोरखा राज्य खडा भएको देखिन्छ । रागिनासमा बसिरहेका लमजुङे राजकुमार द्रव्यशाहलाई गोरखासम्म ल्याएर राजा बनाउन गोरखाकै शासकीय भाई भारदारहरुको हात र भूमिका रहेको थियो ।

    गोरखा राज्यको स्थापना भएदेखि नै गोरखालीहरुले आफ्नो राज्यको क्षेत्रफल बढाउँदै जाने नीति लिएको देखिन्छ । पूर्णशाह र रामशाहले बढाएको गोरखा राज्यलाई थाम्न छत्र शाह, डम्बर शाह, रुद्र शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले बिशेष परिश्रम गर्नुपरेको थियो ।

    यस्तैमा, तीनसय बर्षअघि टुक्रिएर, छरिएर रहेका बाइसी, चौबीसी राज्यलाई गोरखाको नेतृत्व तथा पृथ्वीनारायण शाहको नायकतत्वमा एउटै विशाल राष्ट्र नेपाल निर्माण भएको यथार्थ इतिहास साक्षि छ । अलग अलग राज्यहरुमा विभक्त नेपालीलाई एकतामा बाँधेर एकल राज्य निर्माण गर्ने अभियानमा तत्कालिन गोरखा राज्यका वीर–वीरङ्गनाहरुले खेलेको ऐतिहासिक भूमिका तथा बगाएको रगत पसिनाले तत्कालिन समयमा देशलाई विश्वकै साम्राज्यबादको अधीन हुनबाट रोकेर पुर्खालाई सुम्पिएको हाम्रो मातृभूमि नेपाल आज विश्व मानचित्रमा एक सिङ्गो स्वतन्त्र राष्ट्रको रुपमा सुपरिचित रहेको कुरा विश्वको इतिहासमा समेत स्वर्णिम अक्षरले कोरिएको छ ।

    विविध भाषा, जाति, संस्कृतिको कारण विभाजित एवं विभक्त नेपाल र नेपालीलाई एकताको सुत्रमा बाँध्ने कार्य गरेर एक नेपाल राष्ट्र र एक मात्र जाति नेपालीको पहिचान दिलाउने नेपाल एकिकरण अभियानका नायक अर्थात् राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाह नेपाल आमाका होनहार सपूतहरुको सूचीमा अग्रपंक्तिमा एक युगपुरुषको रुपमा सूचिकृत भई अमरत्व प्राप्त गर्न मात्र नभई आधुनिक विश्वमा गोरखा नामलाई नेपाल भन्दा धेरै परिचित गराउन सफल भएको कुरा हाम्रो माझ छर्लङ्ग छ भन्दा कुनै अतिशयोक्ति नहोला ।

    गोरखा राज्यका संस्थापक राजा द्रव्य शाहका सन्तान नरभूपाल शाहका माहिली रानी कौशल्यावतीका गर्भबाट १७७९ साल पुस २७ गते जेष्ठ सुपुत्रका रुपमा पृथ्वीनारायण शाहको जन्म गोरखा जस्तो सानो राजकुलमा भएको थियो । पिता नरभूपाल शाहको निधनपछि वि.सं. १७९९ मा पृथ्वीनारायण शाह गोरखाको राजा भए ।

    उनी राजा भए लगत्तै आफ्ना बाबु बाजेले थालेको पूर्वतिर राज्यसिमा बढाउने अभियानलाई निरन्तरता दिए । पृथ्वीनारायणले दूरदृष्टि लिएर योजनाबद्ध रुपमा गोरखा राज्यको सिमा बढाउने क्रममा नुवाकोट, मकवानपुर, किर्तिपुर, काठमाण्डौ, पाटन, भक्तपुरमा अधिकार जमाउन सफल भए ।

    पृथ्वीनारायण शाहले विजयी अभियानकै क्रममा गोरखाको राजधानी काठमाण्डौ लगे भने राज्यको नाम गोरखा नराखी नेपाल नै राखे । नेपाललाई सबै जात र वर्णको साझा फुलबारीका रुपमा अघि बढाउन पृथ्वीनारायणले बेग्लै प्रदेशको राजाहुने आफ्ना भाइहरुको आकांक्षालाई पनि शक्तिद्धारा दमन गरे । राज्य, जनताप्रति पृथ्वीनारायण शाहको आदरभाव तथा देशभक्तिपूर्ण एवं प्रगतिशिल कदम, दुर–दृष्ट्रिकोण, सोंच, विचार र व्यवहार समेतबाट उनको विजय अभियान गोरखाको विस्तार वा साम्राज्यवादी चिन्तन नभई नेपाल राष्ट्रको एकीकरण नै थियो । र, उक्त अभियान तत्कालिन समयमा विश्व विजय गर्दै हिंडेको ब्रिटीश साम्राज्यको चपेटाबाट मूलुकलाई बचाउने ध्येयबाट प्रेरित थियो ।

    किनकी, त्यसबेला बाइसी – चौबिसी र काठमाण्डौं उपत्यकाका राजाहरुको दिनहुँको कलह र लडाईंको कारण देशवासीको जिउधनको रक्षा एवं चौपट भएको व्यापार तथा अर्थतन्त्रको रक्षार्थ बहुमत जनता र उद्योग व्यवसायीहरुले पनि पृथ्वीनारायण शाहको एकता अभियान मा तन, मन, धन र वचनले सहयोग गरेका थिए । जसको ज्वलन्त उदाहरण १२ हजार गोरखाली घरधुरी मध्येका एक घरधुरीको दर्जी व्यवसायी बिशे नगर्जीले हतियार खरिद गर्न उनलाई दिएको एक रुपैयाँ ।

    तीक्ष्ण सोंचाई र विशाल हृदयका धनी पृथ्वीनारायण शाह एक कुशल राजनीतिज्ञ, सेनानायक, दूरदर्शी, बहादुर, कुटनीतिज्ञ मात्रै नभएर प्रत्येक नेपालीको भावना एवं विचारको कदर गर्न सक्ने उच्चकोटीका प्रजातान्त्रिक राजनेता समेत थिए भन्दा सायद हामि नेपाली कसैलाई अपाच्य नहोला । उनले समाजका तत्कालिन समयमा राजकूलका दृष्टि–निम्न जात र स्तरका व्यक्ति बिसे नगर्जीको भावना एवं विचारसँग कुशलताका साथ आफूलाई परिमार्जित गरेर एक सिङ्गो नेपाल निर्माणको कल्पनालाई सार्थकता दिलाएका थिए । यद्यपि नेपाल एकीकरण जस्तो कठिन यात्रा र महान् यज्ञमा सरिक पृथ्वीनारायण शाहलाई आफ्नो लक्ष्य प्राप्तिमा एकमात्र सरल मार्ग निर्देशक बिसे नगर्जीको विचार र भावनाले पु¥याएको अतुलनीय सहयोगबाट पनि प्रष्ट हुन्छ कि पृथ्वीनारायण शाहभित्र सम्पूर्ण नेपालीको साझा भावना एवं ढुकढुकी गाँसिएको थियो ।

    ‘दुनिया जसदेखि राजी रहन्छन्, उसैलाई कजाइँ दिनू’ आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहका महान् वाणीहरु र दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक भएकोले यस अनुरुप चलेमा नेपालको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्नमा थप बल पुग्नेछ । महान् विचार र विराट व्यक्तित्वको सजिलै आंकलन गर्नका लागि उनका महान् वाणीहरु ‘यो राज्य दुई ढुङ्गा बीचको तरुल जस्तो छ ।’, ‘शासकको ठूलो निया निसाफ अन्याय मुलुकमा हुन नदिनू’, ‘घुस लिन्या र दिन्या देशका ठूला शत्रु हुन् ।’ आदि महान् दिव्योपदेश मर्मस्पर्शी र जनभावनाको कदर तथा नेपालको वास्तविक भौगोलिक स्थिति एवं प्राकृतिक भू—बनौट र छिमेकी राष्ट्रहरुसँगको भूपरिवेशको सचित्र वर्णन गर्न सफल बनेको छ ।

    आफूले विजयी प्राप्ति गरेको काठमाण्डौ उपत्यकालाई राजधानी बनाए भने राज्यको नाम नेपाल राखे । तात्कालिक बिभिन्न टुक्रे राज्यमा विखण्डित नेपाललाई एकिकरण गरेर आधुनिक नेपाल अधिराज्यको स्थापना गर्न सफल भए गोरखा राज्यका अन्तिम राजा पृथ्वीनारायण शाह । र, पछि पूर्व तिरको चौदण्डी र विजयपुर राज्य पनि गोरखा राज्यमा विलय गराई गोरखाको मात्र नभई नेपालकै नाम विश्व मानचित्रमा प्रतिष्ठित हुनपुग्यो ।

    गोरखाको गोरखनाथ गुफामा रहेको लिच्छवि राजा शिवदेव(द्धिनीय) को वि.सं.७५५÷७५६ को शिलालेख र गोरखा हनुमान भन्ञ्याङ्मा रहेको शिवदेव (द्धितीय) का छोरा राजा जयदेव (द्धितीय) को शिलालेख पनि यो प्रमाणमा पर्द छन् । तात्कालिक गोरखा प्रदेश सामाजिक, धार्मिक एवं साँस्कृतिक आदि दृष्टिबाट समुन्नत रहेछ भन्ने कुराको ज्ञान नेपालको पहिलो प्रमाणिक कालमै गोरखाको महत्वपूर्ण उपस्थिति देखिन आएबाट पुष्टि मिल्दछ ।

    नेपाल एकीकरण भनेको भौगोलिक एकीकरण मात्र थिएन अपितु भावनात्मक, धार्मिक, साँस्कृतिक एकता पनि अपेक्षित थियो । भने तत्कालिन समयको माग पनि थियो । “यो देश चार जात छत्तिस वर्णको साझा फूलबारी हो” – पृथ्वीनारायण शाह ।

    पृथ्वीनारायण र उनका योगदान र विचारलाई कतै हामीले इतिहासको पानामा मात्र सीमित पार्ने दुस्साहस गरेका त छैनौं, वर्तमानका स्वघोषित राजनेताहरु जो जनताको नाउँमा जनतालाई रैति भन्दा पनि तल राखेर मुलुकको सर्वेसर्वा आफै ठान्छन् के तिनीहरुलाई भविष्यको इतिहासमा कुनै स्थान मिल्न सक्ला त ? यी यस्ता प्रश्नले नै –ती युगपुरुष जसको इतिहास मेटिदैन भन्ने कुरा वर्तमानले ज्वलन्त गर्दैछ । उनले राष्ट्र निर्माणमा गरेको योगदान, लगानी, कुर्वानी, तथा एकताको भावनालाई कदर गर्न थालिएको छ पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेर महत्वपूर्ण कार्य गरे, नेपाललाई विश्व सामु परिचित गराए, उनको योगदानलाई भुल्न हुन्न, उनको नेतृत्व प्रदान गर्ने शैली र पथको अनुसरण गर्नुपर्छ, अन्य राजा महाराजाको स्थान भन्दा पृथ्वीको स्थान अलग छ, उनलाई बिर्सन हुन्न आदि–आदि नव आगन्तुक जननेता भन्न रुचाउनेहरुको मुखराबिन्दु बाट समय समयमा हिजो आज सुन्न पाइन्छ ।

    करिब डेढ दशक अघि परिवर्तित नेपालको राजनीतिक परिवेशले उत्पादन गरेको सीमित ठेकदारी नेताहरुबाट उनलाई सामन्तीको नाइकेको संज्ञा पनि दिइयो । यदि पृथ्वीनारायण शाह सामन्ती थिए भने के उनले टुक्रे–टाक्रे विविध गणराज्यहरुलाई एकत्रित गरेको कार्य के गलत थियो ? के उनले एकल नेपाल बनाउन खेलेको भूमिका गलत थियो ? अर्थात् करिब तीन सयबर्ष अघि गरिएको नेपाल एकिकरण कार्य गलत थियो ?

    (सन्दर्भ : ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस २७, पुष २०७९)

    गलत मात्र यो थियो, तत्कालिन १२ हजार गोरखालीको साथ लिएर नेपाल एकिकरण अभियान सफल बनाउने कार्यदलका नेता एवं नायक पृथ्वीले आम गोरखालीहरुकै भविष्यप्रति अनुदार हुने गरी गोरखा राज्यले एकिकरण अभियान सफल पार्ने तर राज्यको नाम नेपाल राख्ने र गोरखामा रहेको नेपालको राजधानीलाई काठमाण्डौंमा स्थानान्तरण गरेको घटना । जुन घटनाको कारण तीनसय बर्षअघि देखि आजसम्म निरन्तर आधुनिक विश्व मानचित्रमा नेपाल भन्दा धेरै परिचित गोरखा नेपालको अन्य स्थानभन्दा विकासको चरण र गतिमा हिजो पनि निकै पछाडि पर्न गयो र आज पनि पछाडि परिरहेछ, भनेर गोरखाली जनताले गोरखा राज्यबाट नाम परिर्वतन गरेर नेपाल राज्य नाम दिई गोरखामा रहेको राजधानी समेतलाई काठमाण्डौंमा सार्ने राजा पृथ्वीलाई आरोप लगाउन मिल्छ ।

    किनकी, उनको जन्मभूमि र कर्मभूमि तथा उनको नेपाल एकिकरण गर्ने सपनालाई सार्थक बनाउन साथ दिने गोरखालीहरुको मातृभूमि गोरखा जिल्लामा विकासका न्यूनतम गतिविधिहरुले समेत उपयुक्त स्थान पाउन सकेको छैन । नेपाल जन्माउने जिल्ला ‘गोरखा’ जसले विश्वका कुना काप्चामा नेपाललाई वीर र स्वाभिमानीहरुको राज्यको रुपमा परिचित गराएर आफ्नो छुट्टै अस्तित्व र पहिचान कायम गर्न सफलता प्राप्त ग¥यो । तर आज त्यही भूमि एवं स्थल विकास र न्यूनतम राज्यको सेवा एवं सुविधाबाट उपेक्षित छ ।

    यदि आधुनिक नेपाल राज्यको नाम गोरखा र राजधानी पनि गोरखा दरवारमा नै रहेको भए वा गण्डकी प्रदेश-गोरखा प्रदेश नामाकरण गरिएको भए के अहिले गोरखा र आम गोरखालीहरुले आफ्नो विकास र उन्नतिकोे लागि सिंहदरवार र वालुवाटार वा गण्डकी प्रदेश पोखरा तथा विगतमा नारायणहिटीको अनुग्रहको अपेक्षा गर्नु पथ्र्यो र ? त्यो त पृथ्वीको उदारता र दुरदरर्शिता तथा तत्कालिन र वर्तमान आम गोरखालीहरुको सद्भाव र सहानुभूतिको परिणाम नै हो, राष्ट्रको नाम नेपाल र राजधानी काठमाण्डौं रहन गएको ।

    फलस्वरुप, आम नेपालीको सामु मात्र नभएर आम विश्व जनमानसको सामु गोरखा नेपाल नाम भन्दा धेरै परिचित बन्न पुगेको छ, एकातर्फ । भने अर्कोतर्फ, पृथ्वीनारायण शाह एक उदार तथा जनभावनाको कदर गर्न सक्ने एक असल जननेता, एक अमर र युगपुरुष मात्र नभई नेपाल द्रष्टा बन्न सफल भए यसमा कुनै नेपाली बीच फरक मत नहोला ! आफ्नो वीरत्वको मायाँँलाई विश्वको सामू नमूनाको रुपमा सदियौं युगदेखि आजको वैज्ञानिक युगसम्म चमत्कारको रुपमा प्रस्तुत गर्न सफल भएको ‘गोरखा जिल्ला’ काठमाण्डौं उपत्यका भित्रका तीन जिल्ला बाहेक नेपालको राजधानीबाट सुगम एकातिर छ, ‘गोरखा सदरमुकाम’ भने अर्कोतिर अति दुर्गम पनि छ, हिमालपारीको गाउँ ‘ल्हो, प्रोक र विही’ ।
    राष्ट्रिय एकीकरणको द्रष्टा (स्थल) भूमि गोरखाको मुटुमा उनै ऐतिहासिक युगपुरुष पृथ्वीनारायण शाहको नामबाट निर्माण सम्पन्न पार्क तथा संग्राहलय र ऐतिहासिक नगरपालिकाको नाम समेत परिवर्तन गरेर वर्तमान राजनीतिक परिवेशले नेपाल द्रष्टा पृथ्वीको अनादार गरेको कुरा हामि माझ छिपेको छैन । गोरखा जिल्लाको मुटुमा १० बर्ष सम्म अनावरणको प्रतिक्षामा रहेको पृथ्वीको शालिकले खुल्ला आकाश देख्न नपाई टुट्नु र फुट्नु प¥यो । राष्ट्रिय एकताको प्रतिकलाई अनादार र उपेक्षा गरेको परिणाम आज राष्ट्रिय एकता र राष्ट्रिय भावना ओझेलमा परेको छ । त्यति मात्र नभई पछिल्लो समय, राष्ट्रिय एकता र राष्ट्रिय भावना नै तहस नहस बन्न पुगेको छ ।

    ऐतिहासिक तथा पर्यटकीय हिसावले विश्व मानचित्रमा सुपरिचित नेपालको अत्यन्त महत्वपूर्ण एवं संवेदनशिल स्थान गोरखा जिल्लाको विकास, हित र उन्नतिको मुख्य पाटो गोरखाको गौरवमयी इतिहास नै हो । गोरखाको इतिहासलाई ज्वलन्त नगरेसम्म गोरखाको विकासको पाटो अन्धकारमय हुने कुरामा कुनै नेपालीको दुईमत नरहला ! ऐतिहासिक युगपुरुष पृथ्वीनारयण शाहको जन्मभूमि गोरखाको प्रत्यक्ष अबलोकन गर्ने उद्येश्य र लक्ष्य लिएर जिल्ला प्रवेश गरे जो सुकै स्वदेशी वा विदेशीले सर्वप्रथम अवलोकन गर्ने स्थान हालको गोरखा पार्क तथा गोरखा संग्राहलय हो । उक्त स्थानको अवलोकन गर्न जाने जो सुकै स्वदेशी एवं विदेशी पाहुनाहरुको पहिलो दृष्टि नै तत्कालिन पृथ्वीस्मारक स्थल हालको गोरखा पार्कको मुटुमा रहेको पृथ्वीको प्रतिमा (शालिक) परिसरमा पर्छ !

    के के न होला नेपालको इतिहास बोकेको गोरखामा भन्नेहरुको प्रारम्भिक आगमनमा नेपाल द्रष्टाको अधुरो पहिचान एवं अपुरो परिचयप्रति खल्लोपन तथा उदेक पैदा हुन समय नै लाग्दैन र सो हुनु स्वभाविक पनि हो । त्यसैले प्रारम्भमा जुन नाम दिइएर पार्क र संग्राहलय निर्माण आरम्भ भएको थियो सोहि नाम (पृथ्वी पार्क र पृथ्वी संग्राहलय) नामाकरण स्थापित हुनु तथा गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका हुन र गरिन नितान्त आबश्यक छ ।

    गौरवमयी इतिहास र प्राकृतिक सौन्दर्यताको अनुपम नमूना गोरखा जिल्ला, नेपाली भाषाले चल्न, खेल्न र हुर्कन पाएको ठाउँ राजा द्रव्य शाहको पौरखी भूमि, ‘न्याय नपाए गोर्खा जानू, शिक्षा नपाए कासी जानू’ भन्ने लोकउक्ति चलाउने श्रेय प्राप्त गर्ने न्यायिक एवं प्रतापी राजा रामशाहको जन्मभूमि नेपालको वीर सपूत भीमसेन थापा, कालु पाण्डे नेपालका प्रथम शहिद लखन थापा, वीर गजे घले जस्ता महान् व्यक्तित्वको जन्मभूमि एवं कर्मभूमि साँच्चै नेपाल र नेपालीका लागि गोरखा एउटा प्रेरणादायी स्थान हो । ऐतिहासिक तीर्थस्थल देवी मनकामना, शक्तिकी देवी गोरखाकालीका र बाबा गुरु गोरखनाथको तपोभूमिको रुपमा सुपरिचित गोरखाको भ्रमण गरी वस्तुगत स्थितिको अध्ययन अवलोकन गर्नु आजका पुस्ताको लागि आवश्यक र प्रेरणादायी पनि छ ।

    राजा पृथ्वीनारायणका उत्तराधिकारी प्रतापसिंह शाह ऐयासी र गुटवाज बने । भने अर्का पुत्र बहादुर शाहले दरवारभित्रै काट्मारको राजनीति शुरु गरे । निजले ई. १७७८ अगष्ट २१ का दिन रानी राजेन्द्र लक्ष्मीसँग अबैध सम्बन्ध राखेको आरोपमा सर्वजित रानाको हत्या गरे । र, उनले सुरु गरेको उक्त हत्यकाण्डको श्रृंखला उनको ई. १७९७ जुन २४ को अवशान पछि पनि रोकिएन ।

    आधुनिक नेपाल निर्माणको पछिल्लो दुई शताब्दीको अवधिमा उनका सन्तती शासकहरुको सद्भावले देश र जनताप्रति व्यावहारिक रुप लिन सकेन । लक्ष्य र नीति हीन उत्तराधिकारित्व तथा अव्यवहारिक दरवारिया भाई भारदारहरुको कारण एकीकरणको उद्देश्य अनुरुप नेपालको शासनव्यवस्था र राज्य प्रणाली चलाए मान हुन सकेन ।

    फलतः अठारौं र उन्नाइसौं शताब्दीका कुनै पनि नेपालका प्रधानमन्त्री कालगतिले मर्न नपाउने, सबैको हत्या हुने परम्परा नै बस्न पुग्यो । रण बहादुर शाह हत्याकाण्ड, भण्डारखाल हत्याकाण्ड र कोत हत्याकाण्ड जस्ता घटनाहरुले नेपालको शासक तथा शासन व्यबस्था सञ्चालनमा अस्थिरता उत्पन्न हुने क्रम बढ्यो ।

    यस्तैमा श्री ३ जंगबहादुरको उदय भयो । र, नेपाली जनताले १०४ वर्षिय जहाँनिया राणा शासनको व्यवस्था भोगे । २००७ सालको परिवर्तन, २०१७ सालको काण्ड ३० बर्षिय पञ्चायती व्यबस्था तथा २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्थापना, २०५८ सालको ‘दरवार हत्याकाण्ड’ र २०६२-०६३ सालको जन–आन्दोलन एवं राजतन्त्रको अन्तपछि प्राप्त ‘नेपालको संविधान २०७२’ द्धारा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था एवं राज्य पुनसंरचना संघ, प्रदेश र स्थानीय तह । के यो पनि समयको नै माग होइन र !

    दुर्भाग्यवश, पृथ्वीनारायण शाहका उत्तराधिकारीहरु मात्र होइन प्रजातान्त्रिक र हाल गणतान्त्रिक नेतृत्व समेत यस मुलुकको राज्य संयन्त्रलाई समावेशी एवं सहभागिता मूलक र देशको भविष्यको सुनिश्चयका आधारहरु निर्माण एवं जनउत्तरदायी बन्न नसक्दा विश्व मानचित्रमा स्वर्णिम अक्षरले अंकित नेपाल राष्ट्रले आधुनिक विश्वमा अविकसित राष्ट्र तथा पछौटेपन र गरिबीको सामना गरि रहन बाध्य छ ।

    पछिल्लो समय नेपाल राष्ट्र केन्द्रिकृत शासन व्यवस्थाबाट प्रादेशिक शासन प्रणालीमा अघि बढ्दै गर्दा “एकीकरण अभियान”लाई नजर अन्दाज गरी निरपेक्ष रुपमा बुझ्नु हुन्न । सो अभियान त मुलुकको स्वतन्त्रता र अखण्डता बचाउनका लागि खेलिएको ऐतिहासिक कालखण्डिय भूमिका मात्र हो ।
    बस्तुतः “एकीकरण अभियान” नेपालको तत्कालिन विभाजित अबस्थाले अस्थिर व्यापार, बिग्रंदो शान्ति सुरक्षा, खस्केको अर्थतन्त्र सुधार तथा विदेशी हस्तक्षेपबाट बच्ने र एक सिङ्गो राष्ट्र बन्ने प्रक्रियाको एउटा ऐतिहासिक कार्य मात्र थियो ।

    नेपाल एकीकरण अभियानको नायक पृथ्वीनारायण शाहले शाम, दाम, दण्ड, भेदको प्रयोग गरी स्वतन्त्र, अविभाज्य, अखण्डीय राष्ट्र निर्माणमा गरेको अतुलनीय योगदान र भूमिकालाई सामन्ती एवं साम्राज्यवादीको चिन्तनबाट हेरियो भने पक्कै पनि यो मुलुकको पुर्खा हामीहरुले उनीप्रति पक्कै न्याय गरेको ठहरिदैंन ।

    किनकी, तत्कालिन समयको गोरखा कुनै औद्योगिक, पूँजीवादी अर्थतन्त्रले भरिपूर्ण राष्ट्र थिएन । नत कुनै अत्याधुनिक शस्त्र अस्त्रबाट भरिपूर्ण राष्ट्र ! “साम्राज्यवाद भनेको मरणासन्न पूजीवाद हो” – लेनिन । गोरखा राज्यको विस्तारलाई रोक्न अँग्रेजले सैनिक हस्तक्षेप ग¥यो तर सफल भएन ! यदि पृथ्वीनारायण शाहको गोरखा राज्यको विस्तार युद्ध र विजय अभियानको थालनी नहुँदो हो त सायदः यो देशमा ब्रिटिश प्रभुत्वलाई कसैले रोक्न सक्ने थिएन । फलतः यो देश भारतकै एउटा प्रान्त हुने थियो–इतिहास साक्षि छ ।

    “एकीकरण अभियान” प्रारम्भमा गोरखालीहरुले थालनी गरेको भएता पनि सिन्धुली गढी आएका कम्पनी सरकारका किनलक लगायतलाई कान्तिपुर प्रवेश गर्नबाट रोक्न नेपालीहरुले नै रगत बगाएका थिए । त्यस्तै टिस्टा र अल्मोडामा अँग्रेजसँग युद्ध लड्ने नेपाली जनताले नै यो देशको अखण्डता, स्वतन्त्रता तथा स्वाधिनताको छविलाई विश्व मानचित्रमा उदिएमान गराएका हुन् ।

    अहिले यो राष्ट्र स्थानीय तह, प्रदेश, र संघको शासकीय स्वरुप तथा कार्यपालीका एवं व्यवस्थापिका निर्माण भई संङघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको माध्यमबाट नेपाली जनताको समग्र हित, उनन्ती र राज्यको विकास तथा समृद्धिको मार्गमा अघि बढेको छ । फलतः आम नेपाली जनताको भावना, चाहना, आकांक्षा र आधाभूत् आवश्यकतालाई समेत नेपालको परिवर्तित लोकतन्त्रका शासकहरुले व्यबस्थापन एवं संबोधन गर्न सकेका छैनन् ।

    पृथ्वीनारायण शाहको नेपाल विजययात्रा अभियान गोरखाको साम्राज्यवादी विस्तार नभई साम्राज्य बिरुद्धको सङ्घर्ष थियो । उनी त यो राष्ट्र निर्माण सहयात्राका एक पात्र मात्र हुन् । नेपाल एकीकरण अभियान पुरा गर्ने त नेपाल आमाकी छोराछोरी(वीर वीरंगना)हरु हुन् ।
    त्यसैले हाम्रा पुर्खाले निर्माण गरिदिएको नेपाल राष्ट्रको सुरक्षा गर्ने दायित्व, विभाजन र विखण्डन हुनबाट जोगाउने दायित्व, समुन्नत र उन्नत देश बनाउने दायित्व एवं भूमिका त अब हामी नेपाली जनतामा नै निहित छ !

    “गुरुङ्ग, मगर, खानज्यादा, भैयाद, भारदार, मिर–उमराव थरघरहरु पुराना–पुरानाजाची घुँडा, गौडामा राख्ने गर्नु । ….. पाण्डे, बस्नेत, पन्त, भैयाद, मगर आदिभाइ–भारदारहरुलाई ‘माराताप’ दिंदा पालैपालो गरी खानदिने गर्नु ।”— पृथ्वीनारायण शाह

    अतः इतिहासको कमजोरीलाई हटाएर मात्र राष्ट्रको एकतालाई कायम राख्न सकिन्छ । त्यसो भए मात्र पूर्खाको धरोहर भविष्यको पिढींलाई हस्तान्तरण गर्न पनि संभव हुन्छ, त्यो नै हाम्रो परम कर्तव्य पनि हो । अहिलेको परिस्थितिमा नेपाल देशको भविष्य सुनिश्चयका लागि लोकतान्त्रिक नेतृत्वले बहुभाषिक, बहुधर्मी, बहुजाति, बहुलिङ्गय र बहुक्षेत्रीय यस मुलुकको राज्य संयन्त्रलाई समावेशी र सहभागीता मुलक बनाउनुको अलावा नेपाल र नेपालीको एकता र अखण्डतालाई थप बलियो बनाउन केन्द्रिकृत शासन व्यवस्थालाई प्रादेशिक तथा स्थानीय तहमा निश्चित एवं निर्देशित अधिकार सहितको शासन व्यबस्थाको सुनिश्चितता गर्नुको विकल्प छैन, यो पनि समयको माग हो ।

    अन्तमा, मानवमा हुने यावत् गुणहरु मध्ये निर्दिष्ट लक्ष्यको पहिचान गरी समय एवं देश, काल र परिस्थिति अनुकुल गाउँ, समाज र राष्ट्र तथा अन्तराष्ट्रिय परिवेश अनुसार उचित विचार सहित उचित मार्ग निर्देश गर्न सक्ने एवं आफैमा सहभागिता, लगनशिलता, सरलता, सहनशिलता, सबलता, सक्षमता, समझदारिता, महान्ता, सहिष्णुता, कर्तव्यनिष्ठता, कर्तव्यपरायणता, समानता, क्रुरता, राष्ट्रियता, मानवता जस्ता आदि गुणहरुले भरिपूर्ण व्यक्ति नै एक सफल, सक्षम र सबल एवं सम्मानित शासक मात्र नभई गाउँ, समाज र मुलुकलाई नै नयाँ परिवर्तन दिलाउन सक्ने महान् नेता जसले जनभावनाको कदर तथा जनताको भविष्य निर्माणको लागि प्रेरणादायी स्रोत बन्न सक्छ, ऊ नै एक युगको युगपुरुष तथा गाउँ, समाज र मुलुककै एक मात्र उच्च सम्मानित धरोहर बन्न सक्ने कुरा यथार्थ इतिहासले बोलिरहेछ । करिब तीस दशकपछि नेपालमा एक बिशाल राजनीतिक परिवर्तन हुन पुगेको छ, नेपालमा गणतन्त्र स्थापना भएको छ । जुन यो परिवर्तनले नब युगपुरुषको जन्म गराउन सकेन, युगपुरुष बिनाको परिवर्तन सायद दिगो पनि रहन नसक्ला कि ? यो त नेपालको परिवर्तनहरुले पुष्टि गरेको कुरा न हो । राणा शासन १० दशक, पञ्चायत ३ दशक, प्रजातन्त्र मुश्किलले २ दशक, गणतन्त्र ….. ? दशक ! गणतन्त्र त आयो, शासन सत्ता त परिवर्तन भए तर इतिहास कोर्ने एवं रच्ने कार्य हुन सकेन । यस्तो परिबेशमा गणतन्त्रले नेपाल र नेपालीलाई के नै दिन सक्ला र नेपाल र नेपालीको आमुल परिवर्तन गर्न के गणतन्त्रबादीहरु सक्षम र सबल बन्न सक्लान् ? नसकिरहेको यो गणतान्त्रिक नेपालको विषम राजनीतिक परिवेशमा गणतन्त्रलाई नै छिया छिया पार्ने दाउ र होड बढेको छ, जसको कारण बिशाल राजनीतिक परिवर्तनले प्राप्त गरेको उपलब्धीमा नै खिया लाग्न शुरु भएको छ, अर्थात् तन्त्रमा खिया लाग्न सक्छ तर इतिहासमा खिया लाग्दैन र एक युगले कमाएको इतिहासलाई अर्को युगले नामेट गर्न पनि सक्दैन । वर्तमान नेपालको राजनीतिक परिवेशमा त विगत युगले कमाएको इतिहास तथा स्वदेशी धरोहरलाई नै नामेट गराएर नयाँ युगको परिकल्पना स्वरुप आधुनिक नेपालको स्थानमा नयाँ नेपाल निर्माणको नाम दिएर आधुनिक नेपाल निर्माणको क्रममा स्वदेशमै उत्पादित ऐतिहासिक धरोहरलाई विस्थापन गरेर विदेशी धरोहरहरुलाई स्थापित गर्न खोजेर नेपालको गौरवमयी इतिहासलाई नै ध्वस्त एवं विध्वंस गर्न खोजिंदैछ छ । यहाँ स्मरणिय यो छ की, वर्तमान राजनीतिक हावाहुरीले ऐतिहासिक युगपुरुष र धरोहरहरुलाई नस्वीकार्न सक्छ तर इतिहास मेटिदैन । चेतना भया !

    email :[email protected]

    [email protected]

    सम्पर्क नंं. ९८५६०३९३८५

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.