×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पृथ्वीनारायण शाहको शंकास्पद मृत्यु ?

  •  गोरखा समाचार
  • शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भगिराज इङ्नाम

    योगी नरहरिनाथ, बाबुराम आचार्यसमेतले राजाद्वय पृथ्वीनारायण र प्रतापसिंह शाहको जन्मकुण्डलीदेखि जीवनकालमा पे्रषित यावत् दस्तावेजहरू प्रकाशन गरेका छन्। तर मृत्युसम्बन्धी दस्तावेज प्रकाशित गरेको पाइएको छैन। यस लेखमा राजा पृथ्वीनारायण शाहको एकीकरण (राज्यविस्तार) को संक्षिप्त कथन गर्दै राजाद्वयको मृत्युसम्वन्धी लिखित दस्तावेजको चर्चा गरिएको छ।

    पिता नरभूपाल शाहको मृत्युपछि १७९९ सालमा २० वर्षका उमेरमा पृथ्वीनारायण शाह गोरखाका राजा भए। राजकुमार हुँदै १७९८ सालमा भक्तपुरका राजा रणजित मल्ललाई मीतबुबा, सोही साल कान्तिपुरका राजा जयप्रकाश मल्लसँग मीत लगाई गाढा सम्बन्ध स्थापित गरे (आचार्य २०६१ : ९९–१००)। उनले कालु पाँडेको सहयोगमा लमजुङ राज्यसँग सन्धि गरी युवराज हुँदै आफ्ना विलक्षण प्रतिभा देखाए।

    नुवाकोट पराजय/विजय

    १७९६ सालमा गोरखाका राजा नरभूपाल शाहले सेनापति जयन्त रानाको नेतृत्वमा कान्तिपुर राज्यको नुवाकोट आक्रमण गर्न पठाए, तर हार भयो (डा. सुवेदी, २०६१ पृ. १५३)। जयन्त राना पदच्युत भए, तुरुन्तै उनलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले उमराव नियुक्ति गरी नुवाकोट रक्षार्थ जिम्मा दिए। पृथ्वीनारायण शाहले १८०० सालमा नुवाकोटमा आक्रमण गर्न महेश्वर पन्तलाई नेतृत्व दिए, पुन : हार भयो।

    पृथ्वीनारायण शाहले काशी यात्रा गरी विभिन्न मठमन्दिरको दर्शन गर्दै भारद्वाज गोत्रबाट कश्यव गोत्र लिई फिर्दा केही हातहतियार र तीनजना कालिगढ लखनउबाट ल्याए (दिव्योपदेश :)। पृथ्वीनारायण शाहले गोरखाका भएकाले जयन्त रानालाई गोरखासँग मिल्न अनुरोध गर्दा कान्तिपुरको नुन खाएकाले आउन इन्कार गरे। नुवाकोटको सुरक्षा जिम्मा छोरा शंखमणि रानालाई दिए। उनी भने थप सैनिक सहयोग माग्न कान्तिपुर गए।

    पृथ्वीनारायण शाह, काजी कालु पाँडे र चौतारा महोद्दाम कीर्ति शाहले नुवाकोटमाथि आक्रमण गर्दा शंखमणि राना मारिए (नेपालको सैनिक इतिहास : २०४९, पृ. ३३२)। १८०१ असोज १५ नुवाकोट गोरखालीको अधीनमा आयो (आचार्य : २०६१, पृ. १८३)। युद्धमा छोराका मृत्यु भई भावविह्वल भएका जयन्त राना बेलकोट आई बसे। उनलाई गोरखाली सेनाले पक्राउ गरी नुवाकोटमा छाला काढेर मारियो। युद्धबन्दीलाई छाला काढेर मार्नु प्रशंसनीय कार्य नभै निन्दनीय थियो।

    कीर्तिपुरमाथि आक्रमण र विजय

    गोरखाली सेनाका नेतृत्व गर्दै काजी कालु पाण्डेले २८ मई १७५७ कीर्तिपुरमा हमला गरे। मल्ल सेनाका काँडले गोरखाली सेनानायक काजी कालु पाण्डेको मृत्यु भयो, गोरखालीको हार भयो। दोस्रोपल्ट कीर्तिपुरमाथि १८२१ सालमा गोरखाली सेनाले आक्रमण गर्दा सेनानायक शूरप्रताप शाहको बायाँ आँखा फुट्यो र गोरखाली सेनाको हार भयो। तेस्रोपटक कीर्तिपुरमाथि ६ महिनासम्म कडा नाकाबन्दी गरियो। अन्त्यमा रक्षक धनवन्त काजीले आत्मसमर्पण गर्दा १८२२ चैत्र ३ मा कीर्तिपुर दखल भयो। दुई–दुई पटकसम्म पराजय भएको रिसमा कीर्तिपुरे जनताको नाक, ओठ काटियो। काटिएको नाक, ओठ १७ धार्नी थियो (शर्मा : २०४०, पृ. १८०)।

    मकवानपुर विजय र गुरकिन खाँको हार

    मकवानपुरका राजा हेमकर्ण सेनको १८१६ सालमा मृत्यु हुँदा राजकुमार दिग्बन्धन सेन राजा भए (डा. सुवेदी : २०६१, पृ. १७३)। २१ अगस्ट १७६२ गोरखाली सेनाले मकवानपुर माथि आक्रमण गरे, बहुमूल्य सम्पत्ति लिएर राजा दिग्बन्धन सेन र सेनापति कनकसिंह बानिया हरिहरपुर गढीतिर लागे।

    कालगतिले मृत्यु भएमा शंका गर्नुपर्ने हुन्न। तसर्थ पृथ्वीनारायण शाहको अकाल मृत्यु भएको हो कि ? भन्न सकिन्छ। घटनाक्रमको दृष्टिले मृत्युका कारण शंकास्पद पनि देखिन्छ। उनलाई व्यथा लागी देवीघाट लगिएको र देवीघाट लगेको आठौं दिनमा मृत्यु भएको टिपोटमा छ। उनको मृत्युमा गाउँले जनताले शंका व्यक्त गरे।

    दिग्बन्धन सेनलाई सहयोग गर्न गुरकिन खाँ तीन हजार सेनाका साथ मकवानपुर पुगे। दुवै पक्षबीच युद्ध हुँदा गोरखाली सेनाको विजय भयो। गोरखाली सेनाले ४००–५०० थान बन्दुक र दुई थान तोप जफत गरे (सैनिक इतिहास : २०४९, पृ. ३५९)। मकवानपुर १८१९ माघ ९ गते गोरखाको अधीनमा आयो।

    किनलकको पराजय

    जयप्रकाश मल्लको अनुरोधमा कान्तिपुरलाई सहयोग १८२४ सालमा अंग्रेज सैन्य दलको नेतृत्व गर्दै किनलक २४०० सेनाका साथ उपत्यका हिँडे। गोरखाली सेनाले किनलकका सेनामाथि सिन्धुलीको ढुङ्ग्रेबासतिरबाट आक्रमण गरे। अंग्रेज फौजको हार भयो, यस युद्धमा गोरखाली सेनाले ५÷७ सय बन्दुक, तोप प्राप्त गरे।

    उपत्यका विजय

    गोरखाली सेनाले १८२५ असोज १३ मा कान्तिपुर, असोज २४ मा पाटन र संवत् १८२६ मा भक्तपुर विजय गर्‍यो। कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भादगाउँ भागे। भक्तपुर आक्रमण गर्दा मल्ल राजाहरूलाई सहयोग गर्न पूर्व चौदण्डीका राजा कर्ण सेनले खम्बूलिम्बू सेना पठाएको कुरा ऐतिहासिक पुस्तकमा पढ्न पाइन्छ।

    पूर्वी सेन राज्य विजय

    किराँत प्रदेशको सेन राज्य हमला गर्न अभिमानसिं बस्नेतको नेतृत्वमा सरदार पारथ भण्डारी, कीर्तिमान सिंह खवास, वली बानियाँ तराई हुँदै चौदण्डीतर्पm लागे। सरदारद्वय रामकृष्ण कुँवर र अमरसिंह थापा पहाडैपहाड पूर्व लागे (आचार्य : २०६३, १८ं७–१ं८८ं)। माझ किराँतको हलेसी, रावा, दिङमा क्षेत्रमा खम्बू, गोरखा सेनाबीच युद्ध भयो। गोरखाली सेनाको विजय भै चौदण्डी राज्य १८२९ सालमा गोरखाली राज्यको अधीनमा आयो।

    राजा पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको मृत्युसम्बन्धी दस्तावेज । स्रोत : राष्ट्रिय अभिलेखालय

    पल्लोकिराँत विजयपुरमा बख्शी अभिमानसिंह बस्नेत र चैनपुरमा सरदार रामकृष्ण कुँवरको नेतृत्वको १८३१ असार ९ मा गोरखाली सेनाले आक्रमण गरे। विजयपुरका राजा कर्णसेन बेतियातिर लागे, दिवान बुद्धिकर्ण राय सिक्किम पलायन भए। विजयपुरमा लिम्बू—गोरखाली सेनाबीच युद्ध हुँदा ८५ जना याक्थुम्बा अर्थात् लिम्बू सेना मारिए (पूर्णिमा, अंक ५० पूर्णांक, पृ. २२)। यो क्षेत्र १८३१ साउन २२ को लालमोहरबाट गोरखा राज्यमा सम्मिलित भयो (संग्रौला, २०६७, पृ. ३२०)।

    उक्त हातहतियार नेपालको सैनिक इतिहास २०४९, पृ. ४३० मा किराँतीहरूबाट जफत गरिएको भनिएको छ। सोही हतियारहरू राष्ट्रिय संग्रहालय छाउनीको प्रदर्शनी कक्षमा १८०१ सालमा नुवाकोटबाट जफत गरिएको भन्ने लेखिएको छ। तर संग्रहालयको सामग्री सूचीमा किराँत प्रदेशबाट जफत गरिएको हातहतियार भनी सूचीकृत गरिएको छ। संग्रहालयले जे–जस्ता ऐतिहासिक सामग्री प्राप्त गर्छन्, जस्ताको तस्तै राख्नुपर्छ। इतिहास तोडमोड गर्ने, बिगार्ने वा बंग्याउने होइन। तसर्थ उक्त गल्ती संग्रहालयले सच्याउनु पर्छ।

    पृथ्वीनारायण शाह बालबाल बचेका घटनाहरू

    बेलकोटमा रहेका जयन्त रानालाई पक्रन राजा पृथ्वीनारायण शाह थोरै सैनिक लिई तादी नदी तरी आए। अग्लो ठाउँबाट जयन्त रानाले आक्रमण गर्दा धेरै गोरखाली सैनिक हताहत भए। काजी कालु पाँडे थप सैनिकका साथ तुरुन्त आई जयन्त रानालाई पक्रेर लगियो। कालु पाँडे नआएको भए पृथ्वीनारायण शाहको ज्यान जान सक्थ्यो। उनी ससुराली जाँदा राजा हेमकर्ण सेनका सिपाहीले जुत्ता नफुकाली सलाम गर्दा मकवानी सिपाहीलाई मार्न लगाए। राजकुमार दिग्बन्धन सेन र मन्त्री कनक बानियाँ क्रुद्ध भई घटनास्थल पुगे। परिस्थिति खतरा थियो तर राजा हेमकर्णले छोरा र मन्त्रीलाई रोके, नत्र जे पनि हुन सक्थ्यो (शर्मा, पृ. २१७)।

    १८१४ सालमा कीर्तिपुरको प्रथम युद्धमा पृथ्वीनारायण शाहलाई एक मल्ल सेनाले काट्न खँुडा उज्याए। तुरुन्तै अर्को मल्ल सैनिकले रोक्दै उनी राजा हुन मार्न हुँदैन भनी रोके। राजालाई दुवान र कसाईले बोकेर
    रातारात नुवाकोट पुर्‍याई ज्यान बचाए। पुरस्कार स्वरूप दुवानहरूको जात उकासियो र उप्रान्त उनीहरू पुतवार भए (राइट : १९५८, पृ. १३७)। यसरी पृथ्वीनारायण शाह बालबाल बचे।

    ललितपुरका पूर्वमन्त्रीहरूले नगरकोटी सैनिकहरूको सहयोगबाट उनको हत्या गरे। त्यसपछि बन्दी तेजनरसिंह मल्ललाई तीनवटै मल्ल राज्यको राजा बनाउने सल्लाह गरे। पृथ्वीनारायण शाह भक्तपुरबाट कान्तिपुर आउँदै गर्दा नगरकोटे सैनिकका पूर्वप्रमुख भवानीसिंहले तरवार निकाली राजामाथि घातक आक्रमण गरे। संयोगवश तरबार राजाले चढेको घोडाको कादीमा लाग्यो। तरबार तीन टुक्रा भयो, उनी बालबाल बचे (आचार्य : २०६३, पृ. १७४)।

    राज्य विस्तार/एकीकरण/राष्ट्रनिर्माता

    पृथ्वीनारायण शाहलाई केही इतिहासकारले राज्यविस्तार गरेको, कसैले एकीकरणकर्ता भनी राष्ट्र निर्माताको उपाधि दिएका छन्। उनी राजा भएका बखत वर्तमान नेपालमा चौबिसे, बाइसे, उपत्यकामा तीन र पूर्वी सेन राज्य तीन गरी ५२ वटा स–साना राज्य थिए। तीमध्ये उनले उपत्यका तीन मल्ल राज्य र पूर्वका तीन सेन राज्य गरी ६ वटा राज्य मात्र विजय गरेका हुन्। चौबिसे, बाइसेका ४६ राज्य उनका उत्तराधिकारीले विस्तार गरेका हुन्। तसर्थ राजा पृथ्वीनारायण शाहलाई राज्य विस्तार, एकीकरण वा राष्ट्र निर्माता जे भने पनि सुरुआतकर्तामात्र भन्न सकिन्छ।

    मृत्यु टिपोट

    उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले राष्ट्रिय अभिलेखालयमा बुझाएको अभिलेखबाट लिएको हुँ। यस दस्तवेजमा राजा पृथ्वीनारायण शाह र प्रतापसिह शाहको मृत्यु उल्लेख छ। पृथ्वीनारायण शाह बिरामी भएर देवीघाटमा ९ दिनसम्म रहे। १८३१ माघ १ गते उनको मृत्यु भयो (आचार्य उही : २०६१, ४३५, शर्मा, उही २३४)। तर प्रमाण छैन। यो टिपोटमा मिति छैन। राजा प्रतापसिंह शाहको मृत्यु सम्प्रेषण भएको छ। उनको मृत्यु १८३४ मार्ग ३ मा भएको हुँदा सो समयपछि लेखिएको हो।

    टिपोटअनुसार ‘श्री ५ महाराजा पृथ्वीनारायण शाह नुवाकोट पाव लाग्नु भएको थियो। श्री ५ साहेबज्यू सिंहप्रताप साह ञाहा हुनु हुन्थ्यो। तस्तै बीचमा बलभद्र अचारले भडारषालमा सिवावलि दियो। तेसै दिन श्री ५ महाराजालाई बेथाले समात्यो। तेस्को आठौं दिनमा श्री ५ महाराजा पृथ्वीनारायण शाह श्री देवीघाटमा परलोक हुनु भयो। तेस्कुरामा मानिसहरूलाई शंका भयाको थियो।’ उसबेला युवराज प्रतापसिंह शाह काठमाडौंमै रहेको बाबुराम आचार्यले संकेत गरेका छन्।

    यस टिपोटअनुसार पृथ्वीनारायण शाहको मृत्यु हुँदा प्रतापसिंह शाह नुवाकोटमै थिए। पृथ्वीनारायण शाह बिरामी भएकाले दीर्घायु तथा स्वस्तिशान्तिका लागि बलभद्रले भण्डारखालमा दिउँसै सिवावली दिएका होलान्। उनलाई व्यथा लागी देवीघाट लगिएको र देवीघाट लगेको आठौं दिनमा मृत्यु भएको टिपोटमा छ। उनको मृत्युमा गाउँले जनताहरूले शंका व्यक्त गरे।

    कालगतिले मृत्यु भएमा शंका गर्नु पर्ने हुन्न। तसर्थ अकाल मृत्यु भएको हो कि ? भन्न सकिन्छ। घटनाक्रमको दृष्टिले मृत्युका कारण शंकास्पद पनि देखिन्छ। बाबुराम आचार्यका अनुसार पृथ्वीनारायण शाहको अन्तिमकालतिर भरोसायोग्य विश्वासी पाँडे र बस्न्यात भारदारहरू उनका साथ थिएनन्।

    रिसिङ राज्यमा मूलघर भएका राजगुरु बज्रनाथ पण्डित, पूर्व चौदण्डीका सरदार स्वरूपसिंह कार्की तथा प्रतापसिंह शाहका भित्र्यानी मैजु युुवराज्ञीको गैरगोर्खाली गुट बलियो हुँदै थियो (आचार्य : २०६३, पृ. २०१)।
    राजा पृथ्वीनारायण शाहको मृत्युमा किन र कसलाई शंका गरे, टिपोटमा खुल्दैन। तर युवराज प्रतापसिंह शाह निकटमाथि उल्लेखित गैरगोरखाली समूहले कैफियत गरे भन्ने गाउँलेहरूको शंका रहेको बुझ्न सकिन्छ। पृथ्वीनारायण शाहको मृत्युपछि प्रतापसिंह शाह पनि २ वर्ष १० महिना राजा भई मृत्यु भयो।

    पृथ्वीनारायणको मृत्युबारे टिपोटमा यस्तो छ– ‘…श्री ५ महाराज सिंहप्रताप साहबाट रजायाका वर्ष २ मैन्हा १० भयाको थियो। श्री ५ महाराजालाई बेथा लागि… मुष्तियार काजी भई दान पुण्य तीर्थमा नचलाई मुष्तियार स्वरूप काजी रातारात भागी गयो।

    यसै दिन श्री ५ महाराजा स्वर्गे हुनुभयो र सबैको पेटमा बहुतै शंका बढ्न गयो…। बहादुर शाह पनि बेतियाबाट आइपुग्या र बलभद्र अचार ठाकु मनी अचार प्रभृति अचारहरूलाई पक्री मूल्चोकमा १०÷१२ दिन कचहरी हुँदा काजी स्वरूपले अह्राई मैले प्रयोग गर्‍याको हो भनी बलभद्र अचार प्रभृति अचारहरू कायल हुँदा काटियाका हुन्।’

    प्रतापसिंहको मृत्युमा जनताले शंका गरे। बलभद्र प्रवृत्तिका मानिसहरूलाई पक्रिएर मूल चोकमा १०÷१२ दिन कचहरी गर्दा बलभद्रले स्वरूप काजीले अराएकाले मैले प्रयोग गरेको भनी बयान दिएका छन्। यहाँ बलभद्रले के प्रयोग गरे ? टिपोटमा खुल्दैन। परिस्थिति हेर्दा हातहतियारद्वारा भौतिक आक्रमण गरेको देखिन्न। तर राजा प्रतापसिह शाहको मृत्युमा जनताको पेटमा शंका हुनु, बलभद्र प्रवृत्तिका मानिस कायल भई काटिनुले विष प्रयोग गरी मारिएको हुनुपर्दछ। यहाँ उल्लेख गरिएको स्वरूप काजी, काजी स्वरूपसिं कार्की होइनन्, किनकि उनी त राजा प्रतापसिंह शाह गुटका थिए।

    राजा पृथ्वीनारायण शाह युवराज हुँदै राज्यविस्तार गर्ने मनसाय राखी कार्य गरेको देखिन्छ। उनका उत्तराधिकारीले वर्तमान बृहत् नेपालको स्वरूप दिएका हुन्। उनी राष्ट्र निर्माता होइनन्, योजनाकार हुन्। उनले युद्ध नियमविपरीत नुवाकोटका उमराव जयन्त रानालाई छाला काढेर तड्पाई तड्पाई मारे। युद्ध समाप्तिपछि कीर्तिपुरे बासिन्दाको नाक, ओठ काट्न लगाए। लमजुङको युद्धमा लमजुङका सेनाले बन्दुक खोसे। ज–जसले बन्दुक खोस्न लगाए, उही सिपाहीबाट ६० रुपैयाँ दण्ड असुले। यस्ता घटनाहरूको हवाला दिँदै इतिहासकारहरूले राजा पृथ्वीनारायण शाहको आलोचना गर्ने गरेका छन्।

    सन्दर्भ स्रोत
    १. श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी– बाबुराम आचार्य (२०६१)
    २. नेपालको संक्षिप्त वृत्तान्त– बाबुराम आचार्य (२०६३)
    ३. नेपालको तथ्य इतिहास– डा. राजाराम सुवेदी (२०६१)
    ४. नेपालको सैनिक इतिहास (२०४९)
    ५. नेपालको ऐतिहासिक इतिहास– बालचन्द्र शर्मा (२०४०)
    ६. इतिहास प्रकाशनमा सन्धिपत्र संग्रह– योगी नरहरिनाथ (२०२२)
    ७. नेपालको प्राचीन र मध्यकालीन इतिहास– प्रा.डा. श्रीरामप्रसाद उपाध्याय (२०६५)
    ८. हिस्ट्री अफ नेपाल व्रिसल (सन् १९५०)
    ९. पूर्णिमा पूर्णांक–५० (२०३८)

    साभार अन्नपूर्ण

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष २३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.