×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

त्यसरी मनाइन्थ्यो – दसैँ र पो दसैँ माने झैँ हुन्थ्यो !

  •  गोरखा समाचार
  • बुधबार, असोज २६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शरद ऋतु जब आयो, वृष्टिले छुट्टि पायो; गगन झलमलायो, मेघ माला बिलायो ।।
    जल बिमल गरायो, गैर हिलो हरायो; रवि किरण बढायो, पद्ममा श्री चढायो ।।
    – पं. सोमनाथ सिग्देल

    तिलक पाैडेल

    वास्तवमा बर्खाको धान, कोदो रोपाइँ; गोडाइ सकाएर पहाडी कृषि जीवनलाई राहत दिन प्रकृतिले शरद ऋतु झुल्क्याइदिएको आभाष मिल्छ । झरी बादल हटी नजानिंदो चिसोको छनक दिने, दिनमा पहार तापौँ-तापौँ लाग्ने यो मौसममा सूर्यले पनि आफ्ना किरणहरू स्वच्छन्द फिँजाएको हुन्छ । भेल बाढीको बन्दसँगै खोलानालाको पानी पनि निर्मल बहिरहेको पाइन्छ । यिनैताकादेखि नेपालीहरूका महान् चाड दसैँ, तिहार, नेपालसम्बत्, छठ लगायतका चाडहरूको लहर सुरु हुन्छ । समयको प्रवाहसँगै संस्कृतिले पनि कोल्टे फेर्दै जाँदो रहेछ । यसपटक डेङ्गू रोगबाट पीडित भई फोन समेत ‘रेस्पोन्स’ गर्न असजिलो भयो र त यसरी विगतको गर्तमा विस्मृतप्राय: हुन पुगेका क्षणहरूको कल्पनामा मन बिसाउन विवश भएँ र यो जीवित इतिहास शेयर गर्दैछु ।

    धानखेतमा सुनौला धानबाला झुलेका, बारीमा डल्ले कोदोका कपनी डल्लिएका, खेतका आलीमा मास र भट्ट पाकेका, बारीका डिलमा सिल्टुङ् पटपटी फुटिरहेका भएपनि तिनलाई स्याहार्न छाडेरदसैँको रौनक आएपछि घरहरू सिंगार्ने चटारो हुन्थ्यो । आमाले प्यारीकटेरीबाट रातो माटो, खरीखन्नेबाट कमेरो जम्मा पार्नु हुन्थ्यो । हुनपनि सेतो कमेजमा रातो फ्रक लगाएकी किशोरीका हुलको झल्को दिन्थे – गाउँका घरहरूले । झ्याल, ढोका, खामाहरूलाई कालो पोतेर कल्याइएको दृश्य वास्तवमै ‘अर्ग्यानिक’ प्रतीत हुन्थे । कुनै रङ्-रोगनको उपलब्धता नहुने तिनताका चुन र गेरूको काम कमेरो र रातोमाटोले गरेको हुन्थ्यो भने कालो इनामेलको रूपमा मट्टितेलको दियो बालेमाथिको ध्वाँसो; रेडियो, टर्च लाइटमा प्रयोग भै सकिएका बेट्रीका भित्रको कालो धुलो प्रयोग गरिन्थ्यो । पिंडीमा बसेर खामोमा अडेसिएछ भने सबै कालो कपडामा सर्दथ्यो ।

    एकपटक सिद्धार्थ राजमार्ग निर्माण हुँदै गर्दाको समयमा मामाले ‘बैनीलाई राम्रो होस्’ भनेर अलकत्रा प्रयोग गरी सकेका ड्रमको रहल-पहल कोतरेर कर्कलाको पातमा पोको पारी एउटा निउवाको गेडा जति ‘बिटुमीन’ ल्याइदिनु भएछ । आमालाई दिंदै ‘यो ततायो भने पग्लिहाल्छ, तर तातो भएर लगाउन गाह्रो होला; मट्टितेलमा पनि पग्लन्छ, ठिक्क बाक्लो बनाएर झ्याल, ढोका, खामाहरूमा लगाउनु २/४ वर्षलाई ढुक्क हुन्छ – बैनी, कपडामा पनि लाग्दैन …’ भन्नुभएछ । आमाले पनि उनताका बुबाले १०/१५ दिन लगाएर बटौलीबाट ल्याएको मट्टितेल जतनसँग वर्षदिन पुर्याउने गरेकीले सिलोटको बटुकामा थोरै हालेर पगाली झुम्रोको सहायताले कालो लगाउन पर्ने सबै ठाउँमा लगाउनु भएछ, तर लगाइसकेपछि हातको कालो नपखालिंदा ३/४ दिनसम्म कालै हात भएको व्यहोरा पल्तिर आमालाई देखाएको सम्झना अझैसम्म ताजै छ । ‘धन्न देब्रेहातले लगाइचु र भात खान हर्जना भएन’ भन्दा पल्तिर आमाले ‘मट्टितेलले धुनी हो भने जान्चअरे, तर त्यतिका हातधुनी मट्टितेल कहाँ पाउनी हो’ भनेको पनि अहिल्यै हो झैं लाग्दछ । आमाले सबै घर सिँगारी भित्री भाग पनि लिपपोत गर्नुहुन्थ्यो । नयाँ माटोले लिपेको नसुक्दै हातका तीन्टा औँलाले समानान्तर र बाङ्गाटिङ्गा रेखाहरू कोर्दा देखिने बुट्टेदार भित्ता मलाई मनमोहक लाग्दथ्यो ।

    भोलिपल्ट सिरक, डसनाका छेउला (खोल), तन्ना, रग, सबै जहानका कपडाहरू ठूलो तामाको ताउलोमा खरानी पानीमा पकाएर धुनु हुन्थ्यो । कपडा पकाउँदा ताउलाको पिँधमा पिँडालुका छाउरा (सेला) हरू हालिदिनु हुन्थ्यो । आमाहरूले आफूले कपडा धोएपछि हामीलाई सुकाउन लगाउने हुँदा हामी साथीहरू पनि वहाँहरूसँग जान पाउथ्यौँ । उसिनेका पिँडालु छोडाएर खाँदा सारै मीठो लाग्दथ्यो । त्यही मेलोमा हामीले कपडा सुकाउँदा त्यति ध्यान नपुर्याएको परिणाम कतिपटक वल्ला-पल्ला घरका खासगरी छेउला साटिएका घटना पनि स्मरणीय छन् ।

    नवरात्रिको पहिलो दिन घटास्थापना झुल्कँदा घर चिरिच्याँट परिसकेको हुन्थ्यो । त्यसदिन जमरा राख्न बिहानैदेखि मकै, जौ भिजाएर राखेका हुन्थे । दिनमा बुबाले मुङ्ग्रे केराको घरीबाट दसैँका दिन पाक्ने गरी केरा काटेर पकाउन हाल्नु हुन्थ्यो । सिरानको काँगियोको पहेँलो-पहेँलो भएका कोसा काटेर खान दिंदा टर्रो गुलियोपन मीठो लाग्दथ्यो । राम्रो पातलाई साँझ जमरा राख्न भनेर जतनसँग छुट्याउनु हुन्थ्यो । आँसीका चुचाले कोप्दै केराका काँगिया घरीबाट अलग्याउनु हुन्थ्यो र नुन, खरानी दलेर घाममा राख्नु हुन्थ्यो । घाम ढल्केपछि धुर्सेलीका पातहरू ल्याएर केराका काँगियाहरूलाई ढक्नु हुन्थ्यो र थोत्रो थाङ्नाले बेरेर कोदो काट्ने ठूलो थुन्सेमा पकाउन हाल्नु हुन्थ्यो । अष्टमी, नवमी तिर पाक्दा रहेछन् क्यारे ! घरै मगमगी बसाउँथ्यो ।

    दसैँमा पिङको एक धुरी काटिएन भने, तिहारमा जिमका हाड छोइएन भने पाप लाग्छ भनिन्थ्यो । त्यसैले बुबाहरूले पनि हामी ८/१० कक्षामा पढ्नेहरूका लागि चम्राले/चर्खे पिङ हाल्न सहयोग गर्नु हुन्थ्यो भने साना केटाकेटीहरूलाई लठ्ठेपिङ हालिदिनु हुन्थ्यो । सानो छँदा त पिँडीकै टँगालामा हिउँदमा धानका बीटा बोकेका परालका लट्ठराहरूले नै घर-घरमा पिङको काम गरेको हुन्थ्यो । दसैँ बिदा सुरु भएपछि आफू ठूलो भएको आभाष दिन चर्खेपिङ हाल्ने समूहसँग पछि लागिन्थ्यो । पिङका लागि खाँबा, कात्री, बाहाँ, डाँडी, लर्कन, बियो, करङ् आदिको जोहो मिलाउनु पर्थ्यो । खाँबाका लागि स्याँर्कोट, फप्रेटाका खरबारीमा काट्ने अरू सामानहरूका लागि काठ वनबाट ल्याउने गरिन्थ्यो । सबै काठहरू जम्मा पारेपछि कर्मीदाइहरूसँग सहयोग माग्दा बुबाहरूले पनि ‘केटाहरूले पिँङ् हाल्छन् रे, कस्सिएका छन्, एसो बिहान-बिहानमा आएर मिलाइदेओ न’ भनेर समर्थन जनाउनु हुन्थ्यो । ‘कर्मीलाई एसो बीस-तीस रुपियाँ दिनुपर्च नि ! बरू घर-घरबाट उठाओ’ भन्ने बुबाहरूको भनाइले घर-घरमा पिङ हाल्न केही पैसा सहयोग माग्न सजिलो हुन्थ्यो । साना केटाकेटीहरूले घर-घरबाट लट्ठरो/डोरो बाट्ने बाबियो र सनपाट उठाउँदै गरेका हुन्थे । कर्मीदाइले सबै सिकर्मीकाम सकाएर पिङ कस्ने काम सुरु हुन्थ्यो । चारपाटे ताछिएको बियोमा चारपाटे प्वाल पारेका चारवटा बाहाँ छिराएपछि लर्कन झुण्ड्याएका डाँडीहरू बाहाँका टुप्पामा पारिएका गोला प्वालमा छिराएर दुवैतिर ठेडी ठोकिन्थ्यो । लर्कनको तल पिर्का छिराएर लट्ठी वा ठेडी ठोकेर अड्याइएको हुन्थ्यो भने बाहाँ नसर्कुन् भनेर भए काठकै नत्र बुबाहरूले बाँसका कप्टेरालाई बाहाँ-बाहाँका टुप्पा जोडिने गरी चुइयाले कसिदिनुहुन्थ्यो । पिङ् ठडिएपछि पहिलो पालो खेल्नेले खुट्टा फट्याएर चचहुई गरेको सारै लोभ लाग्दो हुन्थ्यो ।

    अर्कोतिर घर-घरबाट उठाएको बाबियो, सनपाटबाट बुबाहरूले नै मुर्रा नपर्ने गरी डोरो/लट्ठरो बाटेर समीको रुखको तेर्सो हाँगामा बाँधिदिएर लठ्ठेपिङ बनादिनु हुन्थ्यो । केटाकेटीहरू त्यो पिङ खेल्ने रहर पुगेपछि चर्खेपिङ खेलेको हेर्न जान्थे । बैंसालु उमेरमा प्रवेशिएपछि यही पिङहाल्ने ठाउँमा विपरीत लिङ्गीहरूसँग पिङ खेल्दा पिर्का फर्कने गरी मच्चाउन कस्सिइन्थ्यो भने कहिलेकाहीँ बेलुका दोहोरी गीतहरू पनि गाएर रमाइलो गरेको सम्झना अहिले पनि ताजै छ ।

    सप्तमीका दिन सबै घरबाट एकुन्जना जम्मा भएर फुत्केका छपनी मिलाउने, दायाँ-वायाँका झाडीहरू फाँड्ने, खोलामा फड्के हाल्ने जस्ता काम गरी बाटो मरमत गर्ने कार्य सम्पादन गरिन्थ्यो । एकपटक छपनी मिलाउँदा मेरो दायाँहातका औँला थिचिएर १०/१२ वटा टाँका लगाउन परेथ्यो भने त्यही थिचिएको औँलाका कारण लेखनी गति सीमितिंदा कतिपय प्रतिस्पर्धामा कमसल प्रमाणित भएको प्रसङ्ग आजीवन खोटी सावित गराएको अविस्मरणीय छ ।

    अष्टमीका दिन छिमेकी घरहरू मिलेर खसी काट्ने काम हुन्थ्यो । मलाई खसी छ्याक्क पारेको दृश्य हेर्न डर लाग्दथ्यो भने पछि आन्द्रा भुँडी धुने, टाउको पोल्ने जस्ता काममा हातसारो गर्न मन लाग्दथ्यो । खसी ढालेपछि खरानी मिसाएर उमालेको पानीले रुझाई जुटका बोराले घ्याप्प एकछिन ढाकेर धारिलो स्टिलका थालले खुर्कन्थे, ल्वात-ल्वात रौं उप्केको देख्दा ताजुप लाग्दथ्यो । रौं खुर्किसकेपछि तेल बेसार पकाएर घसिन्थ्यो । यसपछिको खसीको रङ देख्दा यसैपनि खाम-खाम जस्तो लाग्दथ्यो । खसी काटेका घरमा रगतमा कलेजो, फोक्सो, कान, पुच्छर, बोसे आन्द्रा आदि मिलाएर भुटन तयार पारेका हुन्थे । खसीको बिलो लगाउने काम सकिएपछि सबैलाई फर्सी, घिरौँला, काँक्राका पातमा बाँडिन्थ्यो, जुन अति स्वादिष्ट लाग्दथ्यो ।

    मासु घरमा ल्याएपछि बुबाले एकेक गरेर सफा गर्दै,बाँकी रहेका रौंहरू डढाउँदै आफूलाई मनपर्ने आकारका टुक्रा पारी भित्रीहाँस, बाहिरी हाड-छाला र फलमासु गरी तीनतिर भाग लगाउनु हुन्थ्यो । साँझ भैंसी दुहुने काम सकेपछि आमा र बुबाले मासुका परिकार तयार पर्ने काम गर्नुहुन्थ्यो । भित्रीहासको झोल बनाएर त्यो छाक खाइन्थ्यो भने खाना खाएपछि एउटा भड्डुमा बुबाले पक्कु (कबाफ)तयार पार्नु हुन्थ्यो । राम्रोसँग भुटेर ढाक्न मिल्ने कचौरामा पानी भरेर छोपी-छोपी पकाउनु हुन्थ्यो भने अर्को भड्डुमा हाड-मासुवाला भुटेर भोलिपल्टलाई पानी हालेर झोल पनि बनाउन मिल्ने गरी तयार पार्नुहुन्थ्यो । ‘मासु मीठो मसलाले, चाना मीठो घिउले; हिजो मैले नजान्नाले, दु:ख पायो जीउले’ भन्छन् भन्दै आमालाई जीरा, मरिच, दालचिनी, धनिया, खुर्सानी आदि मिलाएर पानी थपी-थपी मजासँग पिन्न भन्नुहुन्थ्यो । त्यो मसला पिनाइको वासना पनि सारै मीठो लाग्दथ्यो – मलाई । पक्कु बनाएको मासु र जेउरे रोटी (सेल रोटी) अति मीठो लाग्ने हुँदा आमाले मदुसमा थन्क्याएको भएपनि वहाँका आँखा छलेर खुस्स निकालेर खाइन्थ्यो । पहेँलो बनेको घिउका बीचमा मासुका टुक्रा हेर्दै खाम-खाम लाग्ने हुन्थे । दु:खको कुरा एउटा टुक्रा निकालेपछिको खाल्टो मिलाउन सारै गाह्रो पर्थ्यो। आमाले सबैलाई ख्वाउन निकाल्ने बेलामा ‘कसले चोरेछ नि यो मासु ?’ भन्नुहुँदा मौनता साँध्न विवश भइन्थ्यो ।

    नवमीका बिहानै आमाले धेरै चामल निकालेर निफन-नाफन गरी सानो ताउलोमा भिजाउनु हुन्थ्यो । हिजै भुटभाट गरेर राखेको मासुमा पानी हालेर राम्रोसँग पकाएर भात खाइन्थ्यो । हाड-मासु छुट्टिने गरी पाकेको मासु र मीठो मसलाको रागसितको झोलसँग भात खाँदा सधैँभन्दा धेरै खाइन्थ्यो । खाएपछि हामी पिङ खेल्न/खेलाउन गएर दिन बिताइन्थ्यो । यता घरमा वल्तिर-पल्तिरका आमाहरू मिलेर पीठो कुट्ने, रोटी पकाउने काम गर्नुहुन्थ्यो । एउटाकोमा रोटी पकाइसकेपछि अर्कोकहाँ गएर पकाउने गर्दा त्यो बेलाको सहकार्य – अहिलेका नेतागणले अवल्बन गरे कति राम्रो हुँदोहो जस्तो लाग्दछ । पिङ खेलेर घरतिर आउँदा सबै घरहरूबाट रोटी पकाएको सुगन्ध फैलिइरहेको हुन्थ्यो । बुबाले दसैँका लागि अगहे (गाईबस्तु) लाई कुट्मिरो, आँखेपक्कुवा (बेडुलो), खनियो, बडहर जस्ता डाले घाँसको बन्दोबस्त मिलाउनु हुन्थ्यो । यसरी अव्यक्त हिसाबले गरिएको कार्य विभाजनले घरमा काम जुध्ने वा छुट्ने सम्भावना नै रहन्नथ्यो । यस्तै तरिकाले अहिलेका सबै क्षेत्रका संस्थाका जिम्मेवार व्यक्तिहरूले व्यक्तरूपमै कार्यविभाजन गरी काम गरेमा प्रतिफल सहज, सरल र प्रभावकारी ढङ्गले हस्तगत हुन्थ्यो होला जस्तो लाग्दछ ।

    साँझ सबैजना घरमा जम्मा भएपछि आमाले बुबालाई रुजु गराउँदै ‘यी ठिकसा (पुरी) रोटी केटाकेटीलाई, यी साना जेउरे अलि ठूला केटाकेटीलाई र यी ठूला/राम्रा रोटी जान्नामान्ना मान्छेहरूलाई दिन पर्ला अनि केरा पनि पाकेचन् दिनपर्नीलाई सौलै (सग्लै) कोसो नत्र साना केटाकेटीलाई काटेर नैवेत (नैवेद्य) बाँड्नु पर्ला हुन्न ?’ भनी समर्थन खोज्नु हुन्थ्यो । हामी केटाकेटी नबोलीकन ध्यान दिएर सबै काम नियालेका हुन्थ्यौँ, शायद यसैगरी हाम्रा संस्कारहरू सन्तान-दरसन्तानसम्म हस्तान्तरण हुँदै आएका होलान् !

    हामी पनि क्याम्पस पढ्ने भएपछि साथीभाइ मिलेर ‘ग्रामसुधार युवा समिति’ भनेर मासिक केही रकम जम्मा गरेर साझा कोष स्थापना गरेथ्यौँ । त्यही संस्थालाई पछि ‘प्रतिभा समूह’ को नाममा दर्ता गर्यौँ र अद्यावधि सामाजिक हितका कार्यहरू सम्पादन गरिआएकाछौँ । नवमीका बेलुका सधैँ वार्षिक भेटघाट गर्ने गर्दैछौँ । यसपालि पनि सबै घरहरूमा पाँ-पाँच किलो चिनीको बन्दोबस्त गरेको जानकारीले प्रसन्नता महसुस भएकोछ ।

    दशमीको बिहान छुट्टै उमङ्ग लिएर झुल्के झैँ लाग्दथ्यो । लक्स साबुनले भर्कुन्ना (भरिकुण्ड) का धारामा गएर सबै साथीहरूले नुहाउँथ्यौँ । घर आउँदा आमाले थालीमा अक्षता तयार पार्दै हुनुहुन्थ्यो । मसी बनाउन बिक्री हुने रातो रङका पत्तिको रङ मिसाएर राता टीका तयार गर्दै गर्दा बुबाले ‘अलिकति चिनी मिसाउँछ्यौ कि ? निधारमा राम्रोसँग अडिन्ते अक्षताहरू !’ भन्नुहुँदै हुनुहुन्थ्यो । आमाले जर्पनीका धान ल्याएर दश-पन्ध्रवटा छोडाएर/खोल्स्याएर सग्ला चामल बनाउन भन्नुहुन्थ्यो र हामीले खुसी हुँदै बनाउथ्यौँ ।

    वास्तवमा अक्षता भनेको क्षत (टुक्रा) नभएका अन्नहरूको समूह हो रहेछ । त्यै भएर होला, वेदको पुस्तकको पूजा गर्दा जौ-तिलका अक्षताले पुज्ने भनिंदो रहेछ । हुन पनि जौलाई टुक्र्याऊँ भन्ने हो भने विशेष प्रयत्न गर्नुपर्छ भने तिल टुक्रा परेको अवस्थामा निफन्दा उडिहाल्ने हुँदा सग्लै रहन्छ । त्यसैले जौ र तिलका अक्षता भनेका वास्तविक अक्षता हुँदा रहेछन् र हिन्दूका मूल ग्रन्थ – वेदलाई जौ-तिलकै अक्षताले पुज्ने भनिएको होला । त्यही भावलाई आत्मसात् गरेर होला, दसैँका टीकामा सग्ला चामल मिसाउने प्रावधान राखिएको हो कि जस्तो लाग्यो – अचेल ! जेहोस्, आमाले पिँडीमा गुन्द्री माथि ताराभोटे काम्लो ओच्छ्याउँदै ‘ऐले लाइदिने र लाम्नी मुन्छे कता-कता फर्कनी र’च, सोध्नु भयो ?’ भनेर बुबासँग जिज्ञासा राख्नुहुन्थ्यो । बुबाले पनि ‘पणितसँ सोध्दा लाम्नीले पूर्व मोहडा अर्नी भन्ते, तेसोभ’सि लाइदिने पछ्छिम फर्कनी भओ, लाम्न आम्नीलाई भित्तातिर बस्न मिल्नी गराऊ’ भन्नुहुन्थ्यो । साइत कति बेला र’च नि ? ‘तो त कोटाँ टीकाजमरा लाँदा बाजा बजाउँछन् के रे ! बन्दुक पड्काएपछि साइत थाहा हुनी भओ, बरू जमरा पुग्दैनन् कि ! केटाकेटीलाई फूल टिप्न भन न !’ आमाले टपरी दिनुहुन्थ्यो, हामीले पुतली फूल, तिहारे फूल, गुर्दौली फूल, थुङ्गे फूल टिपेर ल्याउँथ्यौँ । मलाई भने नयाँ कपडा लगाउने आदेश कतिबेला आउला जस्तो लाग्दथ्यो ।

    ‘लौ अब सबैले नयाँ-नयाँ कपडाहरू लगाओ, चिल्लेमुख गर, फेरि निधारमा तेल नघस नि, अछेता अडिंदैनन्’ भन्ने आमाको भनाइपछि दसैँलाई भनेर बुबाले ल्याइदिएका जाँघे-कमेज सिलाउने दाइ (दमैदाइ) कहाँ धर्ना कसेर सिलाएर ल्याएका, माडी पनि नपछारेका हुन्थे । सिलाउने मिसिनको मट्टितेलसँग नयाँ कपडाको गन्ध मिसिएका लुगा लगाएर टीकाको प्रतिक्षामा बसिन्थ्यो । बुबा-आमाले पनि सधैँका भन्दा राम्रा ‘राख्नी लुआ’ लगाउनु हुन्थ्यो । कोटमा बाजा घन्केको प्रष्ट सुनिन्थ्यो । बन्दुक पड्केको आवाज आएपछि आमाले दैलामाथि गोबर टाँसी टीका र जमरा लगाएर साइत छोप्नु हुन्थ्यो ।

    ‘दसैँको टीको ठूलाबाट, तिहारको टीको सानाबाट भन्छन्, लौ पहिला बुढी आऊ, अनि पालैपालो जेठाबाट टीका लाम्नी हो है !’ भनेर बुबाले पहिला आमालाई टीका लगाइदिनुहुन्थ्यो । आफूले बिहानै दुर्गा उठाउँदाका अक्षता आफैँले लगाउनु हुन्थ्यो । ‘मैले निधार थाप्नी भनेको उनै सिर्नारे भाउजू एउटी छन्, एसो फुर्सद मिले’सि ग’र लाम्न पर्ला’ भन्दै ‘आयु द्रोण सुते …’ फलाक्दै ‘छपन्नकोटि दुर्गा दाहिना होउन, आँटेताकेको पुगोस्, रोग-व्याधि दूर होस्, पीर कष्ट हरन होस्, विसासय आयु होस्, माटोसमान अन्न, ढुङ्गोसमान धन आर्जन सके, विद्या खुलेर आवोस्, अरूको आश तिमीले पूरा गरे, तिम्रो आश दुर्गा भवानीले पूरा गरिदिउन्, ठूलो मान्छे भए …’ आशिष दिनुहुन्थ्यो । अवर्णनीय रमाइलो हुन्थ्यो – त्यो क्षण !

    वल्तिर-पल्तिरका साथीहरू टीका लगाउन आइसकेको देख्दा आफू पछि परे झैँ लाग्दथ्यो र एउटा झोला भिरेर आमाले भोकाएउ होला भन्दै दिएको जेउरे रोटो टोक्दै गाउँ घुमिन्थ्यो । कसका घरका रोटी मीठा ?भनेर थोरै भाँचेर चाखिन्थ्यो र झोलामा हालिन्थ्यो, मीठो रहेछ भने खाँदै हिंडिन्थ्यो । बैनीहरूलाई भने टीका लगाएपछि दक्षिणा पनि दिन्थे । सुका, मोहोर, पाँच-दश पैसा जम्मा पर्थे । एकताका स्कूलमा ‘साल हान्ने = पैसाको साल भन्दा मिल्यो भने पैसा जित्ने खेल (?)’ चलन ज्यादै चल्तीमा थियो । बैनीले पाएका पैसामा एउटा २०२३ सालको पाँच पैसा रहेछ र मैले त्यसैको साल हान्न दिंदा चालिस पैसा जितेथेँ, जुन अहिले सम्झँदा पनि रमाइलो लाग्दछ । टीका लगाएर सकिएपछि घर आई रोटीका झोला आमालाई बुझाइन्थ्यो । आमाले ‘अब अलिकति भात खाओ र पिङसिङ खेल्न जाओ, पिङबाट लडौला नि फेरि !’ भन्दै मातृस्नेह प्रकट गर्नुहुन्थ्यो ।

    साँझ पिङ खेलेर घर आउँदा दिदी, भिनाजू, फुपु, पुसाजूहरू आउनु भएको हुन्थ्यो । वहाँहरूसँग हाम्रो नयाँ लुगाको भन्दा अर्कै मीठो गन्ध आइरहेको हुन्थ्यो । दिदी, फुपुहरू भित्र आमासँग कुराकानी गरेका हुन्थे भने भिनाजू, पुसाजूहरू र बुबाहरू बाहिरै पटाहामा गफ गरिरहेका हुन्थे । हामीलाई देखेपछि ‘यो त कति ठूलो भैसकेछ ?’भन्दै ‘सुन्तला मिठाइँ, डालिमा बिस्कुट, पिपलगेडी, नेबिको चक्लेट’ दिनुहुन्थ्यो । रोटी, फलफूल, मिठाइँ खाँदा अघाइसकिएको हुँदा आमाले खान डाके पनि नखाई सुतिन्थ्यो ।

    भोलिपल्ट ठूलो चाडको बिदाइ हुँदाको क्षणमा कता-कता खल्लो महसुस लाग्दथ्यो । रपनि रहेका रोटी खान पाइञ्जेल दसैँ छँदैछ जस्तो लाग्दथ्यो भने कसै-कसैले पूर्णिमाको दिनसम्म नै टीका लगाउने हुँदा दसैँको रौनक कायमै हुन्थ्यो । त्यो दिन एकादशी भएपनि बुबाले ‘यो एकादशीलाई त गिद्दे एकादशी भन्चन् के रे ! मासु खान मन लागेकाले खाए हुन्च’ भन्नु हुँदा मैले पक्कु मासु र रोटी मात्रै खाने इच्छा जनाउँथेँ ।आमाले ‘तेस्तो खाएर सन्च हुन्न, अलिकति भात खानुपर्च’ भन्नु हुन्थ्यो । खाना खाएपछि आएका पाहुनाहरू पनि बिदाबादी भएर फर्कनु हुन्थ्यो । हामीलाई भने पिङ नफुकालेसम्म चर्खेपिङ मै वास बसौँ जस्तो लाग्दथ्यो ।

    कठैबरा ! अचेल त्यो त जिउँदो इतिहास बन्न पुग्यो नै । उसमाथि यसपटक त झन् डेङ्गूबाट जोडी नै पीडित हुँदा र साविकको ऊर्जा प्राप्त भैनसक्दा घरमा एक्लै रहनु भएकी आमालाई समेत पीर नमान्नु होला, यसपटकको दसैँ दुईवर्षमा आयो भन्ठानेर अर्को वर्ष मनाऔँला है आमा ! भनेर फोनका कुराकानीबाट चित्त बुझायौँ । यसैको प्रतिफल हो – यो विगतको सम्झना ! हो त नि उल्लिखित हिसाबले मनाइन्थ्यो र पो दसैँ मनाए झै हुन्थ्यो, अहिले त यस्तै व्यहोरालाई जलप लगाई ‘एनिमेशन’ गरेर तयार पारिएको ‘भिडियो क्लिप’ लाई शेयर गरी मनको अस्याहट मेटाएको महसुस हुन्छ । जेहोस् विजया दशमी लगायत समस्त चाडपर्वहरूको सबैमा मनचिन्ते प्राप्तिको हार्दिक शुभकामना आदान-प्रदान गरौँ !!!

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#
    कीर्तिपुर-२, अमृतनगर, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, असोज २६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.