लिलाराज लामिछाने
आत्महत्या लाई अंग्रेजीमा SUICIDE भन्ने गरिन्छ । जुन शव्द ल्याटिन भाषाको SUICIDIUM बाट आएको हो । जसको शाब्दिक अर्थ ”TO KILL ONSELF” हुन्छ ।
WHO को अनुसार “आत्म हत्या भन्नाले मानसाय पूर्वक वा स्वेच्छिक रुपमा आफ्नो जीवनलाई अन्त्य गर्ने कार्य भन्ने बुझिन्छ जुन प्राकृतिक मृत्यु भन्दा फरक हुन्छ ।”
सामान्य अर्थमा आफ्नो जीवनलाई आफैले हत्या गर्ने कार्य लाई आत्महत्या भनिन्छ । प्राय मानसिक तनाव तथा पीडा सहन नसकेर बाच्नु भन्दा मर्नु सजिलो ठानी मानिसहरुले आत्महत्या गर्ने गर्दछन यदाकदा रिसको आवेगमा वा शारीरिक वा यौनिक दुर्वलताको कारण मानिसहरुले आत्महत्या गर्ने गरेको पाईएतापनी मुख्य कारण मानसिक समस्यानै रहेको पाईन्छ ।
विभिन्न मुलुकहरुमा आत्महत्या वा आत्महत्याको प्रयासलाई सामाजीक दृष्टिमा पाप र कानूनी दृष्टिमा अपराध मान्ने गरिन्छ भने यस्तो कार्य गर्ने ब्यक्तिहरु नरकमा जाने अन्धविश्वास समेत लिने गरेको पाईन्छ । हाल आएर विश्वका कतिपय मुलुकहरुमा स्वेच्छिक मरणको अधिकारलाई समेत महत्व दिएको पाईन्छ । स्वीजरल्याण्डमा आत्महत्या गर्न पाउनु पर्ने (RIGHT TO DIE) भनि वकालत गर्ने संस्थाहरु समेत कृर्यासिल रहेको पाईन्छ । हाम्रो देश नेपालमा आत्महत्या लाई प्रचलित कानूनले अपराधको रुपमा स्वीकार गर्नुका साथै आत्महत्या गर्न दुरुत्साहन गर्ने ब्यक्तिलाई समेत अपराध पुष्टिहुन आएमा ५ बर्ष सम्म कैद र रु।५०,०००।– सम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जना र प्रत्येक बर्ष ८ लाख भन्दा बढीले आत्महत्या गर्ने गर्दछन । जुन संख्या द्धन्द र बिपत्ती बाट मृत्यु हुनेको संख्या भन्दा बढी रहेको छ । तुलनात्मक रुपमा आत्महत्या गर्नेमा महिला भन्दा पूरुषको संख्या बढी हुने गरेको तथ्याङ्क बाट देखिन्छ ।
भनिन्छ मानिस सबै भन्दा बढी डराउने भनेको “मृत्यु” संग हो । मृत्यु बाट बच्न मानिसले जे पनी गर्न तयार हुन्छ । यति हुँदा हुदै पनि मानिस किन आफ्नो मृत्यु आफै रोज्छ त भन्ने बिषयमा गहन अध्ययन र विश्लेषण हुने आजको अपरिहार्य आवश्यकता बनेको छ ।
समाज शास्त्री “हेन्डिन”का अनुसार आत्महत्या सामाजिक कारणको अलवा मनोबैज्ञानिक एंव शारीरिक कारणले समेत हुने गर्दछ । चिकित्सकहरुको भनाई अनुसार आत्महत्याको मुख्य कारण डिप्रेसन नै हो । यसका अतिरिक्त ब्यक्तित्व बिकार तथा सिजोफ्रेनिया जस्ता मानसिक रोगले पनी मानिसलाई आत्महत्या तर्फ अग्रसर बनाउदछ । उनिहरुका अनुसार आत्महत्या गर्ने मानिसको मस्तिस्कमा सेरेटोनिन नामक रसायनको मात्रा कमी हुने हुदा त्यस्ता ब्यक्तिहरुले सामान्य किसिमका संबेदनाहरु समेत नियन्त्रण गर्न नसकी आक्रामक र बिध्वंसात्मक बिचार बढ्न गई यस्ता कृर्याकलापहरु गर्ने गर्दछन । बंशाणुगत गुणको कारणले समेत मानिसहरुले आत्महत्या गर्ने गरेको थुपै उदाहरणहरु पाईन्छ ।
आत्महत्या गर्ने ब्यक्तिहरुमा उत्पन्न हुने स्वभावहरु :
सामान्यतया आत्महत्या गर्ने मानिसमा जीवन, संसार केही होईन, दुःख पीडा मात्रै हो, म मरे पछी मात्र मेरो समस्या सकिन्छ, मेरो भाग्य नै छैन, मेरो कारण सबैलाई दुःख, हैरानी मात्र भैरहेको छ, मलाई सबैले तिरस्कार मात्र गर्ने गर्दछन, मेरो रोग अव कहिलै निको हुदैन भन्ने जस्ता गलत विचारहरु उत्पन्न हुने गर्दछन । यस्ता गलत विचारहरुको निरन्तरताले मानिसहरुलाई आत्महत्या गर्ने तर्फ अग्रसर गराउँदछ ।
आत्महत्याको कारणहरु :
हुन त आत्महत्याका बिविध कारणहरु हुनसक्छन, ति मध्ये मुख्य कारणहरु निम्नानुसार रहेका छन ।
क) ब्यक्तिगत कारण : मानिस परिवार र समाजमा रहेता पनी एकाँकी प्राणीको रुपमा लिने गरिन्छ । मानिसका ईच्छा आकांक्षाहरु समाज र परिवेश अनुसार फरक(फरक हुने गर्दछन । आफुसंग नभएको चिज वा बस्तु प्राप्त गर्न खोज्ने मानविय गुण नै हो । एउटै चिजको प्राप्तीमा कोही ब्यक्ति खुसी हुन सक्दछ भने कोही नहुन सक्दछन । एउटा वस्तु प्राप्ती पश्चात हुने खुसीले उसको सारा जीवन ब्यतित नहुन सक्छ । ब्यक्तिले आफ्नो जीवनको खुसी परिवार र समाजबाट आशा गरेको हुन्छ तर जब उसले त्यो चिज बस्तु प्राप्त गर्न सक्दैन त्यसबेला उसले आत्महत्या रोज्न सक्छ ।
त्यस्तै किशोर अवस्थामा हुने प्रेमले पनी मानिसलाई आत्महत्या तर्फ उत्प्रेरित गर्न सक्दछ । आफ्नो प्रेम टुट्दा वा अस्वीकृत हुँदा मानिसमा एकोहोरो सोचको विकाश हुने र जीवन नै बर्बाद भयो मैले चाहेको पुरा भएन भन्ने कुराको चोट सहन नसकी आत्महत्या रोज्ने गर्दछन । कतिपय अवस्थामा प्रेममा असफलता पश्चात उसलाई देखाईदिन्छु भन्ने मुर्खताले समेत ब्यक्तिहरुले आत्महत्या गर्ने गरेको पाईन्छ ।
ख) आर्थिक कारण : वाल्यावस्था, युवावस्थामा ब्यक्तिलाई ब्यवस्थित जीवन जिउने ९मिठो खाने, राम्रो लगाउने, घुमफिर, मोजमस्ती गर्ने आदी० सपना सबैमा हुन्छ । त्यस्तै विवाहित भई सकेपछी पारिवारीक उत्तर दायित्व बहन गर्नु पर्ने कारणले समेत आर्थिक भारको महसुस मानिसले गर्दछ । आर्थिक उपार्जन गर्ने चाहना हुदाँहदु पनि कहिले योग्यता नपुगेर त कहिले योग्यता अनुसारको रोजगारी नपाउँदा समेत मानिसमा खिन्नता, बेचैनी पैदा हुने गर्दछ । त्यस्तो बेलामा दिन प्रतिदिन थपिने ब्यक्तिगत एंव पारिवारीक समस्या समाधान गर्ने मानिस असमर्थ हुन्छ । यस्तो बेलामा ब्यक्तिमा मैले त सकेको गरिरहेकै छु तर मेरो वाध्यता कसैले बुझ्दैन भन्ने भावनाले प्रश्रय पाउदा बरु मरी दिए आनन्द हुने महसुस गरेर पनी मानिसले मृत्युलाई रोज्ने गर्दछन । जब सम्म मानिसमा आफू भन्दा माथिकालाई हेरेर प्रगति गर्ने, आफूभन्दा तलकालाई हेरेर मन बुझाउने सन्तुलित बिचार कायम हुन सक्दैन त्यती वेला आर्थिक कारण पनी आत्महत्याको प्रमुख कारण हुने गर्दछ ।
ग) सामाजिक कारण : हाम्रो समाजमा धन कमाउन सक्ने ब्यक्तिको गुणगान र समर्थन गर्ने तथा धन कमाउन नसक्नेलाई साथ नदिने परिपाटी कायम छ । जानि(नजानी एक पटक भएको गल्ती, अपराधलाई जीवन भरी जोडिदिने, परिवारका अन्य सदस्यलाई समेत अभिभावकले गरेको कार्यसंग जोडेर उपमा दिने जस्ता खराब प्रवृतीले गर्दा समेत मानिसले आफू समाजमा अपहेलित भएको महसुस गरी आत्महत्या गर्ने गरेको पाईन्छ । विवाहेत्तर र अनैतिक सम्बन्ध, सामाजिक तिरस्कार र अपमान, छुवाछुत, कुरुती, छोरा र छोरी विचको भेदभाव, दाइजो प्रथा, आदिको कारणले समेत ब्यक्तिले समाजमा इज्जत साथ बाच्न नसकी आत्महत्या गर्ने गर्दछन ।
समग्रमा माथिका कारणहरुलाई आत्महत्याको मुख्य कारणको रुपमा मान्ने गरेको पाईन्छ, संक्षेपमा आत्महत्याका कारणलाई निम्नानुसार सुचिकृत गर्न सकिन्छ ।
अशिक्षा
गरिबी
सामाजिक संजालको दुरुपयोग
सिनेमा तथा स्टन्ट आदिको देखासिकी र प्रयोग
दृर्घरोग
सामाजिक कुरुती र कु(संस्कार
लागूपदार्थ तथा मदिरा सेवनको बढ्दो प्रयोग
असफलता
घमण्डी एंव संन्की ब्यवहार
बेरोजगारी
आत्महत्याको रोकथामका उपायहरु :
आत्महत्या आफैमा स्वोच्छिक हुनुको साथै यो एक गम्भिर सामाजिक, मनोवैज्ञानिक कारणहरु द्धारा सिर्जित हुने भएकोले यसको पुर्णरुपमा रोकथाम गर्न सम्भव नभएता पनी, ब्यक्ति समाज, संघसंस्था, सरकारको सामुहिक प्रयासबाट न्यूनिकरण गर्न सकिन्छ, जसको लागी निम्न उपायहरु अपनाउन आवश्यक देखीन्छ ।
क) पारिवारीक दायित्व : आत्महत्याको मुख्य कारण मानसिक समस्या एंव रोग विवध कारणले उत्पन्न हुन सक्दछन । जसको लागी पारिवारका अभिभावक वर्गले वालवालिकाहरुलाई उचित खानपान, नियमित देखभाल तथा उचित संस्कार दिन सकेमा वालबालिका को शारीरिक तथा मानसिक अवस्था मझबुत बनाउन सकिन्छ । शारीरिक र मानसिक अवस्था राम्रो रहेका वालवालिकाहरुमा तनाव र दवाव सहन सक्ने सामर्थ्यको विकाश वढि हुने हुदाँ आत्महत्यामा कमी ल्याउन सकिन्छ ।
ख) विशेष रेखदेख : आफ्नो प्रिय ब्यक्तिको निधनमा विक्षिप्त भएका, परीक्षामा असफल भएका, आफ्नो नियमित काम बाट हटाईएका ब्यक्तिहरुलाई उनिहरुको त्यो अवस्था बुझेर त्यसलाई बिस्तारै भुल्न सक्ने गरी परामर्श एंव अन्य सहायता उपलब्ध गराई रेखदेख गर्नु पर्दछ । लागूपदार्थ, मदिराजन्य पदार्थको नियन्त्रण, आत्महत्या गर्न प्रयोग हुने सामाग्रीहरु त्यस्ता ब्यक्तीहरुको पहुँच पुग्न नदिने गरी राख्नु पर्दछ ।
जस्तो परीक्षामा असफल भई विक्षिप्त भएका वालवालिकालाई अभिभावकले गाली गर्नुको साटो केही भएको छैन, उमेर गएको छैन यो पटक बिग्रेर के भयो त अर्को पटक राम्रो भई हाल्छ, गर्न सकिन्छ भन्ने जस्ता कुरा द्धारा सम्झाउन सकेमा आत्महत्या न्यूनिकरण गर्न सकिन्छ ।
ग) आकस्मिक उपचार : आत्महत्या गर्ने सोच बनाएका ब्यक्तिहरुले शारीरिक हाउभाउ, बोलेर वा लेखेर (सामाजिक संजालमा समेत) कुनै न कुनै पूर्व संकेत पनि गर्ने गर्दछन । त्यस्ता संकेतलाई छिटो भन्दा छिटो बुझेर समयमै उचित परामर्श एंव सहयोग गर्न सकेमा आत्महत्या न्यूनिकरण गर्न सकिन्छ ।
घ) उचित तथा शर्वसुलभ उपचार : मानसिक रोग नै आत्महत्याको मुख्य कारण भएको हुदाँ यस्ता रोगीहरुको उचित स्याहारसुसार रेखदेख तथा औषधी उपचारको ब्यवस्था राज्य वा अन्य सरोकारवाला निकायबाट गर्न सकिएमा धेरै हदसम्म आत्महत्यामा कमि ल्याउन सकिन्छ ।
ङ) सरकारी नितीरराज्य ब्यवस्था ; राज्यमा उचित शान्ति शुरक्षाको ब्यवस्था,सामाजिक न्याय, न्यायप्रणालीमा निष्पक्षता,विभेदकारी शासन,उचित रोजगारीको ब्यवस्था राम्रो हुन नसक्दा पनि यसबाट पीडित ब्यक्तिले आत्महत्या रोजेको पाईन्छ ।
नियमित मजदुरी,मिहेनत गर्नेको जीवनस्तर जहाँको त्यही रहनु, राजनीति गर्नेको छोटो समयमा कायापलट हुनु,किसानले समयमै विउ बिजन,मल प्राप्त गर्न नसक्नु आदि कारणले पनी आत्महत्या गरेको प्रशस्त उदाहरण रहेको पाईन्छ । त्यस तर्फ राज्य समयमै सचेत भएर उचित सम्बोधन गर्न सकेमा पनि आत्महत्या न्यूनिकरण गर्न सकिन्छ ।
च) जागरण कार्यक्रम : बिशेषगरी बढि आत्महत्या हुने गरेका समुदाय र स्थानहरुमा आर्थिक एंव सीपमूलक तथा जनचेतनामूलक कार्यक्रम सहित शैक्षिक एंव जागरण कार्यक्रम द्धारा पनि आत्महत्या न्यूनिकरण गर्न सकिन्छ । यसका लागि बिभिन्न ठाउँहरुमा परामर्शदाता सहितको आत्महत्या न्यूनिकरण रोकथाम केन्द्रहरुको स्थापना गरि कृयाशिल भएको खण्डमा समेत केही हद सम्म आत्महत्या न्यूनिकरण गर्न सकिन्छ ।
यस्ता कार्यक्रमका अलवा मनोसामाजिक समस्याहरुलाई कम गर्ने योगा अभ्यास,ध्यानकेन्द्र, फिटनेस क्लवहरु द्धारा विविध कार्यक्रम संचालन गरेर पनि आत्महत्यालाई केहि हद सम्म न्यूनिकरण गर्न सकिन्छ ।
लामिछाने जिल्ला प्रहरी कार्यालय गाेरखामा कार्यरत प्रहरी नायव उपरिक्षक हुन



