धर्मेन्द्र झा
२०७८ जेठको १३ गते । बिहान करिब साढे १० बजे बेनीबाट प्रस्थान गरेका हामी म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दाना आइपुग्दा दिउँसोको करिब १२ बजेको थियो । बेनीका पत्रकार भाइ निर्मल खत्रीले समन्वय गरिदिएका थिए, हामीले त्यहाँको एउटा होटेल (टिपिएन, नाम बिर्सिएछ) मा बिहानको भोजन ग्रहण गर्यौँ ।
अब हाम्रो गाडी रुप्से झरनालाई बायाँ पार्दै जति–जति अगाडि बढिरहेको थियो, हाम्रो भ्रमण दलका सदस्य (म, अमृत, मुन्नी र शिवार्ती)को, विशेष गरी मेरो रोमाञ्चको पारो पनि बढिरहेको थियो ।
हाम्रो गाडीको नियन्त्रण गरिरहेका रविन भाइ भन्दै थिए, अब हामी केहीबेरमा मुस्ताङ टेक्छौँ । उत्सुकता तीव्र हुँदै थियो । मैले यसअघि ७३ जिल्ला टेकेको छु र नटेकेका चार जिल्लामध्ये हुम्ला, डोल्पा, मनाङसँगै मुस्ताङ अर्थात् भगवान मुक्तिनाथ अवस्थित जिल्ला पनि सूचिबद्ध थियो ।
टेकेका जिल्लाको सूचिमा आज एउटा थपिने भयो । मेरा लागि ठूलो उपलब्धिको विषय । मानिसले साना साना उपलब्धिमा चित्त बुझाउँछ र सन्तोष मान्ने विषयलाई आफ्नो अनुकूलतामा व्याख्या गर्छ । मुस्ताङको आसन्न भ्रमण मेरा लागि पनि यस्तै नै थियो भन्दा अस्वाभाविक हुँदैन । गाडीमा रहेका भ्रमण दलका सदस्य र रविनसँगको कुराकानी एवं गाडीको झ्यालबाट दायाँ–बायाँको दृश्यावलोकनका कारण समय कटेको पत्तै भइरहेको थिएन ।
काब्रेको भीरमा हामी
रविन जानकारी दिइरहेका थिए – बायाँपट्टिको विकट ढुंंगे पाखो काब्रे भीर हो । एकातिर विकट भीर अर्कातिर निकै गहिरोमा कालीगण्डकी र नदीको सुसेली । बीचमा ढुंगा बिच्छ्याइएको कच्ची बाटो । सम्झँदै आङै सिरिङ्ग हुने ।
यात्रा अगाडि बढ्दै गर्दा एउठा कुरो महत्वपूर्ण रुपमा अनुभूत गरियो – जति उत्तर गयो, हरियाली कम हुँदै गएको छ र विशालकाय नांगा पहाडको उपस्थिति घनिभूतरुपमा देख्न सकिन्छ । काब्रेको भीरकै बीचमा एउटा सानो पुल छ । त्यही पुलकै वारिपारि म्याग्दी र मुस्ताङ । यही भीरमा म्याग्दी समाप्त हुन्छ भने मुस्ताङको सीमा प्रारम्भ ।

सडक अझ पनि उस्तै छ, कच्ची । बडेमानका ढुंंगा बिच्छ्याइएका । अब हामी मुस्ताङ प्रवेश गरिसकेका थियौँ । बेनीको सीमादेखि नै छेउछाउ देखिने घरका शैली परिवर्तित देखिन्थे । ढुंगाको गारो भएका घर । माथि माटोको छानो । छानोमाथि दाउराका भारी । हिमाली क्षेत्रमा कोठा न्यानो बनाइराख्न यस्ता घर बनाइन्छन् । जति जति अगाडि बढ्दै गयो– यस्ता घरका संख्या पनि बढ्न थालेको भान भयो ।
म्याग्दीमा कच्ची र मुस्ताङमा पक्की सडक
अगाडि बढ्दै जाँदा सडकको अवस्थामा केही सुधार भएको अनुभूत भयो । आश्चर्य पनि लाग्यो, विकट हिमाली जिल्ला मुस्ताङमा म्याग्दीको उत्तरी क्षेत्रको तुलनामा सडक राम्रो छ । अझै आश्चर्य त्यसबेला बढी लाग्यो, जब घाँसाको प्रहरी चौकीभन्दा थोरै अगाडि लाग्दा गज्जबको पक्की सडक देखियो ।
धवलागिरी (८१६७ मिटर) र निलगिरि (७०६० मिटर) हिमालको कापमा अवस्थित मुस्ताङलाई हिमालपारिको जिल्लाका रुपमा चिनिन्छ । यसको अर्थ हो, नेपालका अन्यत्र स्थानबाट हिमाल उत्तरतर्फ देखिन्छ तर मुस्ताङबाट भने हिमाल दक्षिणमा देखिन्छ । गाडीबाट मुस्ताङ जाँदा हिमालै उक्लिएर त यात्रा गर्नुपर्दैन तर सायद यी हिमालका आधार शिविरको उचाइको मुनिमुनिबाट यात्रा तय गर्दै गाडी हिमाल छिचोल्छ र टुकुचेको बेँसी हुँदै ‘पठार’ (हिमालमाथिको मैदानी भाग) मा रफ्तारका साथ दगुर्छ ।
लेतेबाट राम्रो पक्की सडक प्रारम्भ भएको छ । यो सडक अगाडिका सबै ठाउँमा त पक्की छैन तर कालीगण्डकीलाई दायाँ पार्दै टुकुचेपछि सुरु भएको मैदानी भागमा सडक पक्की नभए पनि गाडीको गतिलाई खासै फरक पर्ने रहेनछ । विश्वको सबैभन्दा ठूलो तिब्बतको पठार हो । मुस्ताङको यो पठार पनि उपल्लो मुस्ताङको लोमान्थाङ हुँदै तिब्बतसँगै जोडिन्छ ।
३ हजार वर्ष पुरानो सभ्यता – मुस्ताङ
गण्डकी प्रदेशको उत्तरपट्टि अवस्थित मुस्ताङ हिन्दु र बौद्ध तीर्थयात्रीहरूको पावन भूमि, पवित्र कृष्णगण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृश्य भएको, पर्यटकका लागि मनमोहक एवं सुन्दर छ । मुख्यगरी गुरुङ र थकाली समुदायको बसोबास रहेको यस जिल्लाका अधिकांश मानिस बौद्ध धर्मप्रति आस्थावान् छन् ।
परापूर्व कालमा नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका रहेको यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत ३ हजार वर्षभन्दा अगाडिको रहेको पुष्टि हुन आएको छ । तिब्बतियन संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटकका लागि, अनुसन्धानकर्ताहरूका लागि अति नै महत्वपूर्ण तथा आकर्षणको केन्द्र रहेको छ ।
विश्व मानचित्रमा मुस्ताङ जिल्लाको अवस्थिति २८ डिग्री ३३ मिनेट ५१ सेकेन्डदेखि २९ डिग्री १९ मिनेट ५२ सेकेन्ड उत्तरी अक्षांश र ८३ डिग्री २८ मिनेट ५४ सेकेन्डदेखि ८४ डिग्री १४ मिनेट ५८ सेकेन्ड पुर्वी देशान्तरको बीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा म्याग्दी जिल्ला पर्ने यस जिल्लाको कुल क्षेत्रफल ३५६.२१ वर्ग किमी छ । जुन नेपालको कुल क्षेत्रफलको २।४२ प्रतिशत हो ।

जिल्लाको सदरमुकाम जोमसोम समुद्र सतहदेखि २,७१० मिटर उचाइमा अवस्थित छ । समुद्र सतहदेखि २०१० मिटर (घाँसा) देखि ८१६७ मिटर (धौलागिरि) उचाइमा रहेको मुस्ताङ जिल्लाको हावापानी सुख्खा ठन्डा छ ।
जिल्लाको तल्लो भागमा तुलनात्मक रूपमा बढी वर्षा भए पनि माथिल्लो भागमा अत्यन्त कम वर्षा हुन्छ । औसत वार्षिक वर्षा तल्लो भागमा २०० मिलिमिटर र माथिल्लो भागमा हिमपात हुन्छ । गर्मी महिनाको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस र हिउँद महिनामा न्यूनतम माइनस ९ डिग्रीसम्म झर्छ । हावापानी अनुसार हिमालको नजिक कोणधारी वनस्पति र माथिल्लो भागमा होचा काँडेदार वनस्पति पाइन्छ ।
अजंगका नांगा पहाडबीच कालीगण्डकी सलल
रविनको नियन्त्रणमा रहेको हाम्रो गाडी टुकुचेबाट अगाडि बढ्दै थियो । रविनका अनुसार अबको गन्तव्य मार्फा थियो । भौगोलिक अवस्थिति उस्तै । दायाँतर्फ कालीगण्डकी र कालीगण्डकीपारि नांगा पहाड । बायाँतर्फ पनि बडेमानका अजंगका पहाड । हरियालीविहीन पहाड ।

ढुंगे चट्टान । ती चट्टानमा सुकेका पहेँला घाँस । सायद अहिले नांगा देखिने यिनै पहाड हिउँदमा सेताम्मे हुने होलान् ।
चारैतिर स–साना पोथ्रापोथी । म यी अजंगका पहाडहरू हेर्दै आफूलाई सन्तुष्ट बनाउने प्रयास गरिरहेको थिएँ– नदी र खोला हुँदैमा हरियाली हुँदो रहेनछ । जीवन सहज हुँदो रहेनछ । पठारी भूभागका कारण होला मुस्ताङमा कालीगण्डकी अत्यन्तै फराकिलो छ । यसले आफ्नो छेउछाउ निकै ठूलो बगर बनाएको छ ।
हिमाली मरुभूमि
मुस्ताङको यस्तो दृश्य हेरेर राजु छक्क परिरहेका थिए । त्यसो त आश्चर्यले हामी सबैका आँखा खुलेका थिए । तर मलाई भान भयो राजुका आँखा हामीभन्दा बढी खुलिरहेका छन् । उनको मुखबाट अनायास निस्कियो– ओहो, यो त हिमाली मरुभूमि पो रहेछ । हो, राजुले भनेको कुरा मलाई पनि चित्त बुझ्यो । हामीले यात्राभरि मुस्ताङको नामकरण यही गर्यौँ– हिमाली मरुभूमि । हो पनि, विश्वको मध्यपूर्वी देशहरूको भूगोलमा अवस्थित मरुभूमि र यहाँ हिमालको मरुभूमि– निकै कुरामा समानता छ । एउटा फरक छ, यहाँ कालीगण्डकी सलल बगेकी छिन्, त्यहाँ कालीगण्डकी छैनन् ।
मार्फाको बागवानी, स्याउ, ब्रान्डी र सुशीलको आतिथ्य
रविनले अब मार्फा आउन थालेको जानकारी दिए । नेपाल पत्रकार महासंघका सचिव तथा नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बाबु थकाली अनुरागीलाई मार्फामा भेट्नुपर्ने थियो । म्याग्दीका पत्रकार हरिकृष्ण र राकेशले पनि सुशीलसँग फोन सम्पर्क गरेर मेरो यात्राबारे जानकारी गराएका थिए । यसै यात्राका सन्दर्भमा बेनीमै रहँदा सुशीलसँग निकै पटक मेरो पनि कुराकानी भएको थियो । उनले मार्फामा भेट्न आग्रह गरेका थिए ।
हामी मार्फामै थियौँ । मार्फा अर्थात नेपालकै सबैभन्दा धेरै र स्वादिलो स्याउ उत्पादन हुने ठाउँ । चारैतिर स्याउका बोट । तर बोटमा पालुवा लाग्ने क्रम सुरुमात्र भएकाले यी बोट पनि अहिले उजाडजस्ता देखिन्छन् । यिनै बोटमा पछि पातका ठाउँमा स्याउमात्र देखिने छन् । मार्फामा उत्पादन भएको सबै स्याउले बजार पाउँदैन । अनि बाँकी रहेको स्याउको ब्रान्डी बनाइन्छ ।

मार्फामा उष्ण प्रदेशीय बागवानी र अनुसन्धान केन्द्र छ । पहिले ब्रान्डी बनाउने कार्यको प्रारम्भ बागवानीले गरेको हो । बागवानीले नै स्थानीयलाई पनि स्याउको ब्रान्डी बनाउन सिकाएको हो । अहिले त बागवानीका अतिरिक्त स्थानीय स्तरमा पनि ब्रान्डीको राम्रो उत्पादन हुन्छ । यहाँको ब्रान्डीको ब्रान्ड नै मार्फा हो ।
देश विदेशमा प्रसिद्ध मार्फा स्थानीयको आयआर्जनको राम्रो स्रोत बनेको छ । यस्तै यहाँ स्याउको सुकुटी र जुस पनि उपलब्ध छ । मुस्ताङको यात्रा गर्दै हुनुहुन्छ भने यी सामग्री तपाईंले यहाँबाट उपहारका रुपमा लिन सक्नुहुन्छ ।
मैले सुशीललाई फोन गरेँ । उनले मार्फाको बागवानी केन्द्रको गेटमा रोकिएर फोन गर्न जानकारी दिए । हामीले त्यसै गर्यौँ । दिउँसोको करिब ३ बजेको थियो । हामीले मार्फामा सुशीललाई भेट्यौँ । बागवानीको गेटैअगाडि सडकपारि उनको होटल रहेछ– फेसबुक होटल एन्ड रेस्टुरेन्ट । सुशीलले पत्रकारिताका साथै होटलको व्यवसाय पनि गरिरहेका छन् । सुशीलको सक्रियता देखेर खुसी लाग्यो । भनिन्छ, आजको नेपाली पत्रकारितामा सक्रिय रहेकाहरूमा विस्तारै स्वाभिमान ओरालो लागिरहेको छ । नलागोस् पनि कसरी, पत्रकारिताबाट सम्पूर्ण ढंगमा जीवन निर्वाह गर्न सकिने अवस्था जो छैन ।

यस्तोमा पत्रकार अनेकथरि सम्झौता गरेर पत्रकारिता गर्न बाध्य छन् । तर सुशीलजस्ता जाँगरिला पत्रकार पनि छन्– जो हिमालपारिको जिल्ला मुस्ताङको मार्फामा बसेर नेपाल र विश्वमाझ यहाँको पहिलो सूचना पस्किने काम गरिरहेका छन् र जीवन निर्वाहका लागि होटल सञ्चालन गरेका छन् । सुशील जीवन निर्वाह गर्ने नाममा पत्रकारिताविरुद्ध कसैसँग सम्झौता गर्न बाध्य छैनन् । उनी समाजका लागि पत्रकारिता र आफू र परिवारका लागि होटल व्यवसाय गरिरहेका छन् ।
सुशीलसँग भेटियो । निकैबेर भइसकेको थियो, चिया खान मन लागेको । सुशीलले चियाका लागि आग्रह गरे । के खोज्छस्… भन्ने जस्तो भयो । मैलै उनको आग्रहलाई अस्वीकार गर्ने कुरै थिएन । हामीले त्यहाँ चिया खायौँ । सुशीलले एकपटक बागवानी हेर्नरघुम्न आग्रह गरे । हामी गयौँ । यहाँ टिस्यु कल्चर गरेर स्याउको नयाँ प्रजातिको विकास गर्ने प्रयास भइरहेको रहेछ । यसैका लागि यहाँ अहिले नयाँ प्रयोगशाला पनि स्थापना गरिएको छ ।
बागवानीका कर्मचारीहरूलाई सहयोगका लागि धन्यवाद । भाइ सुशील न्यानो आतिथ्यका लागि आभार । खाजा खाएर जान कर गरिरहेका सुशीललाई हामीले भोलि फर्कँदा त्यहीँ खाना खाने भन्यौँ– थाक खोला (कालीगण्डकीको स्थानीय नाम) किनारमा थकालीले नै पकाएको असली थकाली खाना ।
हामी त्यहाँबाट प्रस्थान गर्दा करिब ४ बजिसकेको थियो । सुशीलले ढुम्बा ताल हेर्दै जान आग्रह गरे । तर रविनले आज मुक्तिनाथ पुग्न ढिलो हुने भन्दै तालको अवलोकन भोलि गर्ने भने र गाडी हुइँक्याए जोमसोमतिर ।
जोमसोमको हावा
करिब १ घन्टाको यात्रापछि जोमसोम पुगियो । जोमसोम– जिल्लाको राजधानी । कालीकण्डकीको बगरमा अवस्थित जोमसोम सानो बजार हो । छेउमै विमानस्थल छ । स्थानीयका अनुसार अहिले त बजार निकै विस्तार भएको छ । पहिले यस्तो थिएन । अहिले हावा चले पनि बजारमा सामान्य चहलपहल रोकिँदैन ।

अन्य हिमाली जिल्लाजस्तै यहाँ पनि १०/११ बजेपछि जोडसँग हावा चल्छ । यो हावाले स्थानीय जनजीवनलाई थोरै प्रभावित बनाउने गरेको स्थानीयको अनुभव छ । यही हावाका कारण यहाँ पोखरा र जोमसोमबीचको हवाइ सेवा प्रभावित भइरहन्छ ।
जोमसोम देख्नेबित्तिकै अनायास मेरा ओठ नेपाली गीतको एक पंक्ति गुनगुनाउन थाले– जोमसोमै बजारमा हावा चल्यो सरर…
हाम्रो गाडी जोमसोममा रोकिएन र सोझै लाग्यो मुक्तिनाथतर्फ ।
क्रमशः
काेशी अनलाइन



