धर्मेन्द्र झा
धेरै दिन होइन, बर्सौँदेखिको इच्छा थियो– मुक्तिनाथको यात्रा ।
कम्तीमा १० वर्षदेखिको पर्खाइ । तर जोहो मिलिरहेको थिएन । भनिन्छ– भगवान मुक्तिनाथको आदेश र आह्वानबिना कोही पनि उनको चरणमा पुग्न सक्दैनन् । जसमाथि कृपा हुन्छ, उनैमात्र भगवत् शरणमा पुग्न सक्ने कुरा श्रद्धालुहरू विश्वास गर्छन् ।
सायद हामीमाथि पनि भगवान् मुक्तिनाथको कृपा भयो । हिमालपारिको जिल्लामा बासस्थान रोजेका मुक्तिनाथको दर्शनको साइत हाम्रा लागि पनि जुर्यो ।
काठमाडौँ–बेनी रातिको यात्रा
२०७८ जेठ १२ गते बिहीबार । साँझ ३–४ बजेदेखि पानी पर्न सुरु भएको थियो र वर्षा अबेर साँझसम्म जारी थियो ।
मुक्तिनाथ जानेबारे मेरा एकजना साला– अमृत मिश्र ९राजु० सँग निकै अघिदेखि कुरा भइरहेको थियो । सल्लाहअनुसार आज राति काठमाडौँबाट प्रस्थान गर्ने निधो थियो । तर वर्षा रु तर राति करिब ८ बजेतिर पानी रोकियो ।
राजु बिहीबार राति करिब साढे ८ बजेतिर गाडी लिएर मेरो बासस्थान बालकोट आइपुगे । शुक्रबार बिदा लिने र यात्राबाट आइतबार फर्कन सक्दा सोमबारदेखि राजु कार्यालयमा उपस्थित हुन सहज हुन्छ भनेर पनि हामी बिहीबार राति यात्रा प्रारम्भ गर्ने निष्कर्षमा पुगेका थियौँ ।
राजुको गाडीबाट बेनीसम्मको यात्रा गर्ने र बेनीबाट अर्को गाडी लिएर मुक्तिनाथसम्म जाने सोच थियो । हाम्रो पाँच सदस्यीय भ्रमण दल (म, राजु, मेरी पत्नी मुन्नी, छोरी शिवार्ती र गाडी चालक देव गुरुङ) का सबैजना गाडीमा सवार भयौँ र लाग्यौँ मुक्तिनाथको बासस्थान अर्थात् बादलमाथिको मन्दिरतर्फ ।
राति अबेर प्रस्थान गरेका कारण हामीले नियमित सडक ‘जाम’को समस्या बेहोर्नुपरेन । घरिघरि निदाउँदै—जाग्दै गफगाफ गर्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो । गाडी नियन्त्रणको जिम्मेवारीमा रहेका देवजीको थकानको अवस्थालाई दृष्टिगत गर्दै हामीले मुग्लिन र कास्कीको लुम्लेभन्दा थोरै अगाडि नयाँपुलमा चिया ‘ब्रेक’ गरेका थियौं भने तनहुँको दमौलीमा तेल ब्रेक ।

देवजी पोखरासम्मका लागि अभ्यस्त रहेछन् । तर पोखरापछिको बाटो भने उनका लागि नयाँ थियो । यसकारण पनि होला– पोखरापछि गाडीको गतिमा थोरै कमी आएको थियो । हाम्रो गाडीमा रहेका मबाहेक सबैका लागि पोखरापछिको यात्रा पहिलो थियो । तर मेरा पाइलाले यसअघि नै कुस्मा, बाग्लुङ र बेनीको धर्ती टेकिसकेको थियो ।
देवजीका लागि पोखरापछि अगाडिको पथप्रदर्शकका रूपमा मैले भूमिका निर्वाह गर्नृुपर्ने स्थिति थियो । खुसी लाग्यो । देश घुम्दाको एक फाइदा, गाडी चालक, जसको नियन्त्रणमा गाडी छ, लाई पनि नियन्त्रणमा राख्न सकिने । जे होस्, मेरो निर्देशनमा गाडी गुडिरहेको थियो र यात्रा अगाडि बढिरहेको थियो ।
त्यसो त हामी मुग्लिनमा छँदै क्यालेन्डरको पाना पल्टिइसकेको थियो– २०७८ जेठ १३ गते शुक्रबार । तर हामीले खासै ध्यान दिएका थिएनौँ । देवजीलाई एकछिन आराम दिनका लागि हामी चिया पसलको खोजीमा निकै अघिदेखि थियौँ ।

नेपाल रात्रिकालीन पसलका लागि खासै अभ्यस्त छैन । नत्र, यो बाटो त पर्यटकीय महत्वको हो, राति पनि सवारीसाधनको आवागमन निकै नै हुन्छ, चिया पसलहरू राति पनि खुल्नुपर्ने हो ।
पोखरा कट्दा बिहानको ३ जति बजेको थियो । यहाँ पनि चिया खान पाइएन । हेम्जाको ‘भाइरल’ सडक छिचोल्दै अगाडि बढ्दै जाँदा लुम्लेको नयाँपुल नजिक एक पसल खुल्दै गरेको देखियो । देवजीले चियाबारे जिज्ञासा राखे । सकारात्मक जवाफ प्राप्त भएपछि उनले गाडी त्यतै मोडे ।
चिया खाइयो । निकै स्वादिलो थियो । त्यहाँबाट प्रस्थान गर्दा हामीले घडी हेरेका थियौँ– बिहानको करिब साढे ४ बजेको थियो । पर्वतको सदरमुकाम कुश्मा पुग्दा बिहानको करिब साढे ५ बजेको थियो । मेरा अनन्य भाइ पत्रकार ओम शर्मा घायललाई फोनमार्फत् हाम्रो आगमनबारे जानकारी गराउँदै अहिले नभेटेर पर्सि फर्कँदा भेट्ने सहमति कायम गरेर अगाडि बढ्यौँ ।
बागलुङ कालिकाको दर्शन
बेनी पुग्न अहिले पर्वतभन्दा बागलुङतर्फको बाटो बढी प्रयोग हुने गर्दछ । मैले बागलुङका पत्रकार भाइ प्रकाश बराललाई फोन गरेँ । उनी ब्युँझिसकेका रहेछन् । एकछिन बात मारियो । बागलुङ कालिकाको दर्शन गर्ने र त्यतैबाट बेनी जाने विकल्प रोज्दै हामी कुश्माबाट अगाडि बढ्यौँ ।
मन्दिरमा भेट्ने कुरा गरेका प्रकाश हाम्रो गाडी मन्दिर प्रांगणमा आइपुग्दा आइपुगेका थिएनन् । यो मन्दिर बागलुङ नगरपालिका–२ मा अवस्थित छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् ।
एकैछिनपछि प्रकाश आइपुगे र हामी उनकै नेतृत्वमा मन्दिरतर्फ लाग्यौँ । म र प्रकाशभन्दा बाहेक हाम्रो दलका सबैका लागि बागलुङ कालिकाको दर्शन पहिलो थियो । कालिका हाम्री कुलदेवी पनि हुन् ।
मन्दिर पुग्दा मुन्नी आह्लादित र भावविह्ल देखिन्थिन् । एक त आस्तिक त्यसमाथि गाउँघरबाट निकै टाढा बागलुङमा कालिकाको दर्शन । उनका लागि यो दर्शन महत्वपूर्ण थियो ।
प्रकाशले हामीलाई मन्दिरबारे बेलिविस्तार लगाइरहेका थिए, धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वास छ । प्रकाश हामीलाई मन्दिरबारे जानकारी दिइरहेका थिए, कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिँदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकाले बन्द गर्ने गरिएको जनविश्वास छ ।

म्याग्दी र पर्वतको इतिहासमा राजा प्रतापीनारायण मल्लको नाम धेरै ठाउँमा जोडिन्छ । यस मन्दिरका सन्दर्भमा पनि उनको चर्चा गर्ने गरिन्छ । वि।सं। १५९० मा राज्यरोहण गरेका राजा प्रतापीनारायणकोे विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भएको थियो । विवाह हुँदा नववधूले देवीलाई पनि दाइजोको रूपमा बुबासँग मागेर ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी विधिपूर्वक पूजापाठ गर्ने व्यवस्था मिलाएको विश्वास गरिन्छ ।
कस्तुरीमा बेनीको औपचारिकता
प्रकाशलाई बागलुङ बजारमा छोड्दै हाम्रो गाडी अगाडि हुइँकियो । रत्नेचौर कट्दै हामी करिब साढे ७ बजेतिर बेनी पुग्यौँ । यसपटकको यो यात्राका लागि म र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम निकै अघिदेखि सम्पर्कमा थियौँ । यो यात्राको संयोजन र सहजीकरणमा हरिकृष्णको सर्वाधिक महत्वपूर्ण भूमिका थियो ।
यसैगरी हाम्रो यात्रालाई सरल र सहज बनाउन नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्मा र अर्का पत्रकार भाइ निर्मल खत्रीको भूमिका पनि अविष्मरणीय छ । निर्मलको सम्बन्ध सञ्जालको सहयोग हामीलाई बेनीमा मात्र नभई मुस्ताङको मार्फा र मुक्तिनाथ स्थानमा पनि प्राप्त भएको थियो ।
यस्तै बेनीमा भाइ राकेशको सक्रियता मेरा लागि निकै महत्वपूर्ण थियो । भाइहरू हरिकृष्ण, निर्मल र राकेशलाई हृदयदेखि धन्यवाद ।
बेनी अर्थात् कालिगण्डकी र म्याग्दी नदीको संगमस्थल । पुल तरेर बेनी बजार पुगेपछि जिल्ला प्रशासन चोकनजिक आएर राकेशसँग भेट भयो । उनले हामीलाई होटेल कस्तुरी पार्क लिएर गए । यहाँ एकछिन आराम गर्नु हामीले श्रेयस्कार ठान्यौँ । मेरा भ्रमण दलका सदस्यहरू कोठामा आराम गर्न गए । म भने भेटघाटमा व्यस्त भएँ ।
आज नेपाल प्रेस युनियनको स्थापना दिवस । पहिलेको छलफलअनुसार यहाँ एक संक्षिप्त कार्यक्रमको आयोजना गर्ने भनिए पनि समय चापका कारण सम्भव भएन । कार्यक्रम स्थगन गरियो ।
युनियनले यहाँ एक कोष स्थापना गर्ने सोचअनुसार रकम संकलन अभियान सञ्चालन गरेको रहेछ । यसैअनुसार नेपाली कांगे्रेस म्याग्दीका सभापति गमबहादुर गर्बुजा गम्भीरले प्रदान गर्ने ५० हजारको चेक ममार्फत् हस्तान्तरण गर्ने कार्यक्रम राखियो । धन्यवाद भाइ राकेश । धन्यवाद सभापतिजी ।

बेनीको उत्कृष्टमध्येको मानिने कस्तुरी पार्क होटलका सञ्चालक कांग्रेस उपसभापति केबी भण्डारी हुन् । उनकै होटेलमा भण्डारी स्वयं, पत्रकारहरू हरिकृष्ण, राकेश, निर्मल, धनीलाल गर्बुजा, पवित्र खत्री, साधन राम्जाली, अनिल पौडेललगायत र कांग्रेसका पार्टी सभापतिका साथै रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीसँँग भेट भयो । चिया खाजा त्यहीँ खाइयो ।
बिहानको करिब १० बजिसकेको थियो । हाम्रो गाडी र चालक देवजीलाई यहीँ छोडेर अर्को गाडीबाट हामीले मुस्ताङतर्फ प्रस्थान गर्नु थियो । निर्मलले गाडी बोलाए । अबको गाडीको नियन्त्रणकर्ता थिए– चालक रवीन्द्र अर्थात् रविन ।
चक्रशिलाका गलेश्वर
बेनीबाट हामी प्रस्थान गर्दा करिब साढे १० बजिसकेको थियो । रविन हाम्रो गाडीको चालकमात्र थिएनन्, मुक्तिनाथसम्मका पथप्रदर्शक पनि थिए । बेनीपछिको यात्रा मेरा लागि पनि नयाँ थियो । हिमालपारिको जिल्ला मुस्ताङको यात्रा । सोच्दै म रोमाञ्चित भइरहेको थिएँ ।
बेनीबाट केही अगाडि बढेपछि रविनले भुरुङस्थित तातोपानी देखाए । यस्तै केही अगाडि गएपछि उनले गाडी रोक्दै प्रसिद्ध गलेश्वरनाथबारे जानकारी गराए । बेनीबाट ३ किलोमिटरको दुरीमा अवस्थित गलेश्वर मन्दिरबारे हामीले धेरै चर्चा सुनेका थियौँ ।
हामी मन्दिर गयौँ र दर्शन गर्यौँ । हाम्रो यात्रा एकैपटक धार्मिक, सांस्कृतिक र भौगोलिक महत्वको भइरहेको थियो ।
बेनी नगरपालिका–९ मा पर्ने गलेश्वरधाम रहु नदी र कालीगण्डकीको पवित्र संगममा अवस्थित छ । ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ ।
जनश्रुतिअनुसार भगवान् महादेवले सतीदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा गला पतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहेकाले यसको नाम गलेश्वरधाम रहन गएको हो ।
चक्रशिलाको परिधिमा शालिग्राम, शिवलिंग र भगवानको चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छन् ।
एक अर्को मान्यताअनुसार गालव ऋषिले यसै धाममा शिवजीको तपस्या गरेकाले पनि यो स्थान गलेश्वर नामले प्रसिद्ध हुन गएको हो । श्रीमद्भगवत् पुराणअनुसार कपिलमुनि र भगवान् श्रीकृष्णका दाजु बलरामसमेतले गलेश्वर ज्योतिर्लिंगेश्वरको दर्शन गरेको विश्वास गरिन्छ ।
मन्दिर व्यवस्थापन समितिले उपलब्ध गराएको विवरणअनुसार, भगवानको अवतार मानिने ऋषदेवका जेष्ठ पुत्र राजा भरत समुद्र किनारदेखि हिमालयसम्मको समग्र भू–भागमा विश्वकै पवित्र तीर्थस्थलको खोजी गर्दै गर्दा यो धाम नै उत्तमोत्तम भएकाले राजा भरतले यसै धाममा तपस्या गरेको र ब्रह्माजीका मानसपुत्र महर्षी, पुलस्त्य पुलह, राजारहुगण, गालव, वशिष्ठ, कपिलमुनि, ब्रहानिष्ठ योगीराज स्वामी ईश्वरानन्द ब्रम्हाचारी ‘गलेश्वरबाबा’ जस्ता कैयौँ सिद्ध महात्माले यसै तीर्थस्थलमा तपस्या गरी सिद्धि प्राप्त गरेकाले गलेश्वरधाम ऋषिमहर्षिहरूको तपस्थली साधकहरूको साधनाभूमि मानिन्छ । यो तीर्थस्थललाई भगवानको कण्ठ भनिएको छ ।

दामोदरकुण्ड शिर, मुक्तिनाथ मुख, गलेश्वर गलो, देवघाट नाभी र त्रिवेणीलाई पाउ मानिएकाले पनि गलेश्वरधाम पौराणिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अति महत्वपूर्ण छ । यस स्थानलाई मुक्तिनाथ प्रवेशद्वारका रूपमा समेत चिनिन्छ । विशेष गरी गलेश्वर धाममा बालाचतुर्दशीमा देश विदेशबाट सद्बिज छर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।
भक्तहरूले जुन चाहनाले भाकल गरी यस तीर्थस्थलमा दर्शन, पूजन, यज्ञ, यज्ञादि गर्छन्, उनीहरूको मनोकामना पूरा हुने गरेको जनविश्वास छ ।
रुप्सेको सुन्दरता र क्षतिग्रस्त अनध
नेपालमा अनेकन झरना छन् । तर जब–जब रुप्सेको चर्चा हुन्छ, अन्य झरनाको प्रभाव ‘फिका’ हुने कुरा स्वीकार गरिन्छ । यो झरना वा छहरा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना नामक स्थानमा अवस्थित छ ।
बेनी बजारदेखि ३० किलोमिटर उत्तर–पूर्वमा पर्ने यो झरना ७५ मिटर अग्लो छ । बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरना अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् । यो झरनाको तस्बिर अंकित गरेर हुलाक टिकट पनि प्रकाशित छ ।
हामीले यसका बारेमा निकै सुनेका थियौँ । तस्बिरमा देखेका थियौँ । तर आज प्रत्यक्ष देख्दाको अनुभूतिको बयान नै गर्न सकिँदैन । छोरी शिवार्ती त झरना देखेर निकै भावुक बनिन् ।
यिनै प्राकृतिक सम्पदाले नेपाललाई विश्वमै सुन्दर देशको सम्मान दिलाएको छ । तर दुःखद्, संरक्षण गर्न सकिएको छैन । बजारीकरण गर्न सकिएको छैन । पर्यटकलाई यो झरनाको सेरोफेरोमा रोक्न सकिने संयन्त्रको निर्माण गर्न सकिएको छैन । कतिसम्म भने झरनाको प्राकृतिक स्वरूपको रक्षा गर्न पनि कठिन भइरहेको छ ।

विगतमा आएको पहिरोका कारण हाल यस झरनाको स्वरूप थोरै बिग्रिएको मानिन्छ । स्वरूप बिग्रिँदा त यति सुन्दर छ यो झरना, कल्पना गरौँ पहिरोभन्दा पहिले कति सुन्दर थियो होला रु छोरीका कारण हामी त्यहाँ निकैबर अडियौँ । छोरीको नेतृत्वमा निकै फोटाहरू खिचिए ।
रुप्सेनजिकै अनध गल्छी पनि हेरियो । यो विश्वकै सर्वाधिक गहिरो गल्छीका रूपमा चर्चित छ । तर हाल यो पनि पहिरोका कारण आफ्नो मौलिक स्वरूपमा छैन । क्षतिग्रस्त हुन पुगेको छ ।
हामी रुप्से र अनधलाई बिस्तारै पछि पार्दै अघि बढिरहेका थियौँ । रविनका अनुसार अब हामी छिटै नै मुक्तिनाथको जिल्ला अर्थात् हिमालपारिको जिल्ला मुस्ताङमा प्रवेश गर्दै छौँ । यात्रा जतिजति अघि बढिरहेको थियो रोमाञ्चको डिग्री पनि उत्तिकै बढिरहेको थियो ।
साभार काेशीअनलाईन



