केदार खनाल
हरेक दिन सुनिने पढिने र देखिने आत्महत्याका खबरहरुले मानवजाती सबैलाई एकदमै निराश बनाएको छ । आत्महत्या एक सामाजीक रोग हो । मनोदशा, मनोद्वन्द र मनोआवेगका बीच यस्ता घटनाहरु घट्ने गरेको पाईन्छ । व्यक्तिका दुस्ख पिडा, महत्वाकांक्षा, सामाजीक परिबन्ध लगायत विविध प्रकृतिका विसंगतिहरुले आत्महत्याका घटनाहरु हुने गरेको तथ्यहरुले देखाउँछ । यसमा व्यक्ति स्वंय प्रयोग हुने र आफैलाई तड्पाएर मृत्यु वरण गर्ने यो विधा निश्चय पनि सहज भने छैन । उत्तर खोज्दा पनि पाउन नसिएको र कारण के हो भन्ने कुराको गहन अनुसन्धान गर्न नसकिएको विषय आत्महत्या भएको छ । यसले सामाजीक, भौतिक रुपमा क्षति त गरेकै छ, यसका अलावा नकारात्मक भावना र सामाजीक चरित्र माथि समेत प्रश्न खडा गरेको छ । यस भित्र चेतना र अवचेतना बीचको द्वन्द त छ होला तर पनि चेतनालाई अवचेतनाले विजय गर्दाको अवस्था नै आत्महत्या हो जस्तो लाग्दछ । मानिसमा आन्तरिक रुपमा उब्जने एकांगी पन, महत्वाकांक्षा, रिस, आवेग, इशर्या देखि पख म मरे पछि तलाई देखाई दिन्छु भन्ने कुत्सीत मनोभावनाले आत्महत्यालाई प्रोत्साहन गरेको पाईन्छ । यसका अलावा सामाजीक परिवेश, भूगोल, रितिरिवाजहरु पनि यसका महत्वपूर्ण अंगका रुपमा देखिन्छन् । तसर्थ पनि यो सामाजीक अपराध हो ।
हुनपनि, वर्तमान अवस्थामा आत्महत्याको संख्यामा यसरी वृद्धि हुदै छ कि जस्ले राज्य र समाज दुबैलाई चुनौति दिई रहेको छ । आत्महत्याको गहन अनुसन्धान गरि त्यसको सहि निष्कर्ष निकाल्न सकिएको खण्डमा राज्यले निर्वाह गर्ने भूमिकामा परिवर्तन आउन सक्दछ । तर आत्महत्या गर्ने व्यक्तिको मृत्यु पश्चात अनुसन्धान त भयो, अपराधको सबुदको रुपमा आत्महत्या गर्ने व्यक्तिले Suiside Note लेखी छोडेको पाईन्छ, जस्ले मृत्युको कारण केहि हद सम्म थाहा हुन्छ । त्यसैका आधारमा अनुसन्धान गर्ने र कहिले काँही दुरुत्साहनको अपराध सम्बन्धी मुद्दा पनि चलेको पाईन्छ । तर कुनै व्यक्तिले आत्महत्या गर्ने कोशिश गर्छ तर असफल हुन्छ, यसमा उसले अपराध गर्ने प्रयत्न त गरेकै छ । तथापी यसलाई अपराधकै रुपमा राज्यले स्वीकार गरे तापनि विविध कारण र परिस्थितिहरुको मुल्याङ्कन गर्दै निज व्यक्तिमा पुनस् यस्ता भावनाहरु नआओस् भनि जीवनको मुल्य र जीवन पद्दतीका बारेमा सिकाउँदै भावी जीवन सुखमय बनाउने तर्फ राज्यको सोच देखिन्छ ।
राज्य कहिल्यै पनि निर्दयी हुनु हुँदैन भन्ने मान्यतासंगै समाजको भूमिका पनि सकारात्मक देखिन पर्दछ । कहिले काँही व्यक्तिका वहुलठ्ठी पनले म आत्महत्या गर्छु भन्दै कहिले डोरी, कहिले औषधीका बोत्तल जस्ता वस्तुहरु देखाई परिवार तथा समाजलाई तर्साउने गरेका उदाहरण पनि भेटिन्छन् । त्यस्ता व्यक्तिहरुलाई सम्झाउनका अलावा धम्की, हाँसो, ठट्टाका रुपमा लिंदा घटना घट्ने सम्भावना बढ्न जान्छ । यस्तो अवस्थामा मानसिकरुपमा कमजोर भएको उसको मनलाई प्रेम सदभाव र मायाले मन परिवर्तन गर्नु पर्दछ । निराश मानसिकता बोकेको व्यक्तिले कुनै पनि बेला यस्ता अप्रिय निर्णय नलेला भन्न सकिन्न । तसर्थ यस्ता कुराहरुको मध्यनजर गरि व्यक्तिको शारिरीक, मानसिक अवस्थालाई परिवार जनले दैनिक रुपमा ख्याल गर्नु जरुरी रहन्छ ।
अहिलेको अवस्थामा गोरखा जिल्लामा भएका आत्महत्याको विश्लेषण गर्दा विगतका वर्षहरु भन्दा फरक पाईन्छ । पहिला महिलाले आत्महत्या गर्ने संख्या बढि थियो भने अहिले आएर पुरुषको संख्यामा बढोत्तरी भएको छ । विगत तिन आर्थिक वर्षमा पुरुष ११७ जना र महिला ८१ जनले आत्महत्या गरेको पाईन्छ । यसका साथ साथै बालबालिकाको संख्या समेत बढ्नुले झन चिन्ता थपेको छ । विगत ३ आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने २२ जना बालबालिकाले आत्महत्या गरेको पाईन्छ भने यस वर्षको आजको मिति सम्म ६ बालिका सहित ४३ जनाले आत्महत्या गरेको देखिन्छ । बालबालिकाद्धारा गरिएको आत्महत्याले त झन सशंकित हुनुपर्ने अवस्था देखिन्छ । बाल मानसिकतामा कस्तो असरका कारण यस्ता घटना घट्न प्रेरित गरेको छ भन्ने कुराको खोजी निति हुनु जरुरी छ । हुन त आत्महत्यालाई विश्लेषण गर्नेहरुले सहज व्यक्तिले गर्ने निराश र असहज प्रतिक्रिया जुन स्वंय व्यक्ति आफै कारक बन्छ भन्दछन् । तसर्थ पनि होला मनोचिकित्सकहरु यसलाई कायरताको संज्ञा दिन्छन् । तर कुनैपनि व्यक्ति जन्मे देखि नमरुन्जेल सम्म उस्ले बाच्ने प्रयत्न हरेक हिसाबले गरेकै हुन्छ । तथापी उसले बाच्ने क्रममा भोगेको समाज, सामाजीक व्यवहार, परिवेश आदिका कारण पनि यस्ता अप्रिय निर्णय लिन बाध्य पो गरायो कि रु यी र यस्ता विषयहरुको खोजी निति गरि गहन अनुसन्धान गर्न आवश्यक छ ।
अन्त्यमा, आत्महत्यालाई निरुत्साहन गर्ने भनेको विभिन्न किसिमका तनावहरुबाट उन्मुक्ति हुनु पनि हो । अति परिश्रम, अनिन्द्रा, अपच्च भोजन, अमर्यादित परिवार, अव्यवस्थित जीवन शैलि, अस्वस्थ वातावरण, महत्वाकांक्षा, आशक्ति, अकल्पनीय घटना, अवस्वस्थ अवस्था जस्ता विषयहरुले तनाव श्रृजना गराउँदछन् । जस्ले कहि न कहि वा कुनै न कुनै कोणबाट आत्महत्यालाई प्रोत्साहन गरि रहेको हुन्छ । यसबाट मुक्तिका लागि विभिन्न उपायहरु अवलम्बन गर्न सकियो भने त्यसले केहि हद सम्म निरुत्साहन गर्न मद्दत गर्दछ भन्ने लाग्दछ । पानी बढि पिउने, प्रनायम गर्ने, परिश्रम गर्ने, माया प्रेम, प्रार्थना सत्संग गर्ने, सहजीवन बिताउने, आहार, विहार व्यवहार, विचारमा ख्याल राख्ने जस्ता विषयहरु अवलम्बन गर्न सकियो भने केहि हद सम्म न्यूनीकरण हुन सक्छ । तसर्थ पनि जीवन शैलीलाई ख्याल राख्नु जरुरी छ ।
प्रहरी उपरीक्षक केदार खनाल जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख हुन्




