हिन्दीका प्रसिद्ध गायक मुकेशले गाएको एउटा गीत छ– सब कुछ सिखी हमने, ना सिखी होसियारी । सच है दुनियाँ बालों की हम है अनाडी ।
गीतको उपयुक्र्त पङ्क्तिको भावार्थ हो– मैले सबै कुरो त सिकेँ तर होसियार हुन सिकिनँ । त्यसकारण यस दुनियाका मानिस साँच्चै म अनाडी हुँ ।
कहिलेकाहीँ कन्टिर–बाबूलाई लाग्छ उनको हालत पनि मुकेशले गाएको यही गीतमा भनिएको जस्तो छ । थाहा छैन, उनले आफू केही नजानेका हुन् कि जगतलाई केही बुझाउन नसकेका हुन् ?
कन्टिर–बाबूलाई लाग्छ, अपराध त प्रत्येक समाजमा हुन्छ । त्यहाँ अपराधीलाई सजाय पनि दिइन्छ । तर अपराधी निर्धक्क भएर इज्जतदार ढङ्गले हिँड्ने चाहिँ हाम्रै समाज हो ।
नेपाल यस्तो देश हो जहाँ जो जति ठूलो भ्रष्टाचारी हुन्छ, समाजमा उसको प्रभाव त्यति नै बढी हुन्छ । ताल परे तिनैले चुनाव जित्छन् । शिक्षा, स्वास्थ्य, उद्योग क्षेत्रका माफिया नै यहाँ नीति–निर्माण र कार्यान्वयन तहमा पुग्छन् । अनि सक्किएन कुरो ।
कन्टिर–बाबूका अनुसार उल्लिखित सन्दर्भहरू पक्कै पनि राम्रा होइनन् । उनको प्रश्न– नराम्रो हो भने समाजमा किन यस्ता कुरा हुन्छन् ? किन रोकिँदैनन् यी ?
हालैका दिनका केही मन दुखाउने उदाहरण हेरौँ । कर्णाली प्रदेशका एक जना मन्त्रीमाथि बलात्कारको आरोप लागेको छ । सरकार चुप । दाङमा डाक्टरलाई मोसो धसियो । प्रशासन चुप । बच्चाको उपचारका लागि खर्च जुटाउन आमा चोकमा बसेर माग्न बाध्य । समाज चुप ।
आखिर किन सम्बन्धित निकाय चुप लाग्छ ? यसको समुचित उत्तर कन्टिर–बाबूसँग छैन । उनलाई लाग्छ, सायद उनी कुरा बुझ्दैनन्, किनभने उनी अनाडि हुन् । बाँकी तपाईहरू आफैँ मिलाएर बुझ्नुहोला !




















