मूलतः महाकाली देवीको नाम हो । त्रिदेवीमध्ये एक शक्तिस्वरूपा देवी । हिन्दू सनातन संस्कृतिमा यिनै देवीका नामबाट अनेकन् वस्तु र ठाउँको नामकरण गरिएको पाइन्छ ।
पश्चिम नेपालको एक प्रसिद्ध नदीको नाम पनि यिनै देवीका नाम जोडेर राखिएको छ– महाकाली । नेपाल–भारत सीमा नदीका रूपमा रहेको महाकाली पूर्णतः भारतमा पुगेपछि शारदा नामले चिनिन्छ ।
कन्टिर–बाबूले यहाँ महाकाली नदीको इतिहास र बेलिविस्तार केलाउन थालेका होइनन् । उनी यतिमात्र भन्न चाहन्छन्– नामले मात्र केही हुँदैन । महाकाली नदीमा साँच्चै दैवीय गुण भएको भए दुःख बेसाएर यात्रामा रहेका दार्चुलाका जयसिंह धामी बेपत्ता हुने थिएनन् । महाकालीले उनको दुःख बुझ्नुपथ्र्यो । तर त्यसो हुन सकेन ।
कन्टिर–बाबू प्रशासनको रवैया देखेर आजित छन् । अरे यार महाकाली नदी तुइनबाट तर्न खोज्दा नदीमा झरेका धामी बेपत्ता भएको ३० दिन नाघिसक्यो । तर आसम्म उनको न सास न लास भएको छ ।
के अचम्म ? आखिर धामी नदीमा डुबेर मरेकै हुन् भने उनको लास कहाँ गयो ? उनी जीवित छन् भने कहाँ छन् ? भारतीय सीमा सुरक्षा बलमाथि तुइन काटेको आरोप छ । आरोपको त परीक्षण र खोजबिन हुनुपर्यो नि !
नेपाल सरकारले धामी बेपत्ता भएलगत्तै एक छानबिन समिति गठन गरेको थियो । तर ले घाँस, समितिले अहिलेसम्म कुनै प्रतिवेदन प्रस्तुत गर्न सकेको छैन । न त नेपाल सरकारले भारत सरकारसँग यस सम्बन्धमा कुनै कूटनीतिक पहल नै गर्न सकेको छ ।
कन्टिर–बाबू चस्माको डाँडी मिलाउँदै सोच्छन्– यस्तोमा प्रश्न त उठ्छ नै । आखिर यस्तो किन भइरहेको छ ?
यसैबीच, तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको समाचार कन्टिर–बाबूले सुनेका छन् ।
ऋण तिर्न नसकेर कामको खोजीमा भारततिर हिँडेका भनिएका धामीको परिवारलाई सरकारी पैसाले केही राहत त देला । तर पैसा वा कुनै सन्दर्भ महाकाली प्रकरणजस्ता गम्भीर घटना ओझेलमा पार्ने कारक नबनुन् भन्ने कन्टिर–बाबूको आग्रह छ ।




















