कन्टिर–बाबूलाई नेपाली राजनीतिको केही–केही सन्दर्भमा बहुत ताज्जुब लाग्छ । त्यही मेसोमा पछिल्लो समयमा कन्टिर–बाबूलाई ताज्जुब लागेको विषय हो, प्रदेश एकको राजनीति ।
ले घाँस, कन्टिर–बाबूले त राजनीतिमा त्याग, समर्पण, वैचारिक दृढता, आस्था आदि महत्त्वपूर्ण हुने कुरा ठानेका थिए । तर यहाँ त उल्टो छ । अरे यार पदसँग विचार, समर्पण र सम्बन्ध साट्ने कुरा कस्तो खाले राजनीति हो ? यो त राजनीतिक विचलन होइन र ?
साइनो न सपना, प्रदेश १ मा रातारात मुख्यमन्त्री फेरिए । किन फेरिए ? विगतमा प्रदेश संसदीय दलको नेतामा शेरधन राईसँग पराजित भएका भीम आचार्य नै अहिले बिनानिर्वाचन राईलाई ‘पराजित’ (विस्थापित) गरेर मुख्यमन्त्री बने । यस्तो नसोचिएको कुरा कसरी सम्भव भयो ?
कन्टिर–बाबू भन्छन्– कुरो सिम्पल छ आचार्यजीले विचार र आस्थासँग पद साटेका हुन् । कम्तीमा एक महिनाकै लागि भए पनि मुख्यमन्त्रीका रूपमा भित्तामा फोटो झुन्ड्याउने रहर पूरा गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनैपर्ने हुन्छ । तर आचार्यजीका पक्षमा अहिलेसम्म स्पष्ट बहुमत खुलेर देखापरिसकेको छैन ।
कन्टिर–बाबू सोच्छन्– हिजोसम्म जतिखेर पनि माधव नेपालसँगै हुने र सधैँ नेपालले नै संरक्षण गर्नुपर्ने आचार्यजी आज अचानक ओल्बाको पोल्टामा कसरी र किन झरे ? यसको उत्तर शायद कन्टिर–बाबूले दिइरहनु जरूरी छैन, कुरो क्लियर छ, जगजाहेर छ ।
यो अनपेक्षित प्रकरणमा कन्टिर–बाबू सञ्चारकर्मी बबिता बस्नेतले ट्विटएको विचारसँग सहमत छन् । बबिताजीको मत छ– मुख्यमन्त्री र मन्त्री पद पाएपछि पार्टी एकता जोगिने मान्यता राख्ने, विगतमा आफूले बोलेका ‘हेट स्पिच’का लागि ग्लानि नहुने र उठाएका समस्याहरु पद प्राप्तिसंगै समाधान हुने मार्काका नेता भएको देशमा सर्वसाधारणले के अपेक्षा गर्नु ?




















