पश्चिम नेपालका सहर र राजमार्गमा छाडा चौपायाको समस्या देखेको कन्टिर–बाबूले निकै भइसक्यो । यही समस्याका कारण त्यस क्षेत्रमा सडक दुर्घटना र अन्य प्रकारका झमेला बढेको कुराको उनी स्वयमसिद्ध साक्षी छन् ।
गाईको सङ्ख्या अधिक रहेका ती छाडा चौपायाले सेरोफेरोका किसानका बली खाएर सखाप पारिरहेका छन् । गोरू चाहिँ खेत जोत्न काम लाग्छ भन्दै त्यसको उमेर छउञ्जेल घरमै राख्ने गरिन्छ । तर गाईलाई भने दूध दिन बन्द गर्नेबित्तिकै सडकमा छोड्ने प्रचलन छ ।
वाह रे मानव ! वाह रे समाज ! मतलब निकल गया तो पहचानते नहीं । हुन्जेल दूध खायो अनि दूध दिन छोड्नेबित्तिकै घरबाट आउट ।
नेपालको पश्चिम तराईमा देखापरेको यो एउटा विचित्र र निकै दुःखदायी समस्याको समाधान नभएको देख्दा कन्टिर–बाबूलाई भने बहुत उदेक लागेको छ । तर उनलाई उदेक लागेर के गर्नु, लाग्नुपर्ने बुज्रुकहरूलाई नलागेपछि ?
त्यसो त यो समस्या समाधानका दिशामा केही काम हुँदै नभएको भने होइन । तर ती प्रयास प्रभावकारी हुन सकेका छैनन् । कन्टिर–बाबू भन्छन्– साँच्चै इमानदारीपूर्वक काम गरे पो प्रभावकारी पनि हुन्छ ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका नाममा करोडौँ रकम स्वाहा पारिसकेको स्थानीयको गुनासो कन्टिर–बाबूले सुनेका छन् । समस्या भने ज्युँका त्युँ छ ।
यी चौपायाकै व्यवस्थापनका लागि भनेर प्रतिवर्ष ठूलो रकम तिर्ने गरि बागफाटामा जग्गा लिजमा समेत लिइएको छ । तर ले घाँस, त्यो जग्गा त निःशुल्क रूपमा तरकारी खेती गर्न भित्रभित्रै अरूलाई दिइएछ । यो सूचना विशेष स्थानीय स्रोतले कन्टिर–बाबूलाई सुटुक्क सुनाएका हुन् ।
यता छाडा चौपायाको गति, नियति र समस्या उस्ताको उस्तै छ । सो क्षेत्रमा गणतान्त्रिक जनप्रतिनिधिहरू आउनुअघि पनि यो समस्या उस्तै थियो, त्यसको चार वर्षपछि आज पनि उस्तै छ । सायद भोलि पनि उस्तै हुनेछ ।
तर छाडा चौपाया नियन्त्रणको मुख्य जिम्मेबार भीमदत्त नगरपालिकालाई बाल मतलब छैन । सम्बन्धित निकाय र व्यक्तिहरू मस्त निद्रामा छन् ।
कन्टिर–बाबूको प्रश्न छ– यी चौपायाको व्यवस्थापन कहिले हुन्छ ? यी छाडा चौपायालाई बागफाटाको गौशालामा कहिले पठाउने ? कसैलाई थाहा भए, कन्टिर–बाबूलाई आवश्यक जानकारी इन–बक्स गरिदिनु होला !




















