आज नेपालमा जनै पूर्णिमा, रक्षाबन्धन, राखी, क्वाटीपुन्ही र संस्कृत दिवस पर्व एकसाथ मनाइयो ।
फरक–फरक भूगोल र समुदायमा मनाइने यी सबै पर्वप्रति कन्टिर–बाबूको यथोचित् सदाशय र सद्भाव छ । सांस्कृतिक बिम्बका रूपमा रहेका यी पर्वले नेपालको सांस्कृतिक परिचयलाई सम्पन्न बनाएको कन्टिर–बाबूको स्पष्ट धारणा छ । तर यी सबै पर्वको वास्तविक महत्त्व र सन्देशलाई हामीले कति ग्रहण गर्न सकेका छौँ ? कन्टिर–बाबूका दृष्टिमा यो करोडको प्रश्न हो ।
जनै पूर्णिमालाई जनैधारीले पुरानो फुकालेर नयाँ जनै धारण गर्ने पर्वका रूपमा मनाउँछन् । निश्चय पनि यसको केही सन्देश छ । पुरानो मान्यता–विचारमा वर्तमान सन्दर्भअनुसार परिमार्जनको अपेक्षा हुने सन्देश यस पर्वबाट ग्रहण गर्न सकिन्छ ।
यस्तै रक्षाबन्धनको सम्बन्ध रक्षासूत्र धारणा गर्ने कुरासँग छ । काठमाडौँ उपत्यकामा मनाइने क्वाटीपुन्ही पर्वमार्फत गेडागुडी खाएर शरीरलाई आगामी शरदकालका लागि सक्षम बनाउने सन्देश प्रवाह गरिन्छ । अर्को हो राखी । मूलतः दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध बलियो पार्ने पर्वका रूपमा मनाइने यो पर्व नेपाली समाजमा पछिमात्र मनाउन थालिएको हो ।
एकदशक अघिसम्म विशेषगरी तराई–मधेस क्षेत्रमा सीमित राखी बाँध्ने परम्परा हिजोआज हिमाली जिल्लाका बजार क्षेत्रमा पनि विस्तारित भएको कुरालाई कन्टिर–बाबूले उत्साहजनक रूपमा लिएका छन् ।
राम्रो सन्देशयुक्त सांस्कृतिक गतिविधि, परम्परा अँगाल्नु लाई नराम्रो मान्न सकिँदैन । पारम्परिक मौलिक असल संस्कृतिलाई कुनै पनि हालतमा अस्वीकार गर्न सकिँदैन भन्नेमा कन्टिर–बाबू स्पष्ट छन् ।
यसै पृष्ठभूमिमा संस्कृत भाषाको सन्दर्भलाई पनि जोड्न सकिन्छ । आज संस्कृत दिवस पनि हो । संस्कृतको चर्चा कन्टिर–बाबूले यहाँ यस कारणले पनि गर्न चाहेका हुन् कि पूर्वीय संस्कृति प्रसारको मूल आधार नै संस्कृत हो भन्ने कन्टिर–बाबूको बुझाइ छ ।
तर पछिल्लो दिनमा नेपालमा संस्कृतिमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको कुरा कसैबाट लुकेको छैन । आयातित संस्कृतिका कारण हाम्रा मौलिक संस्कृति सङ्कटग्रस्त बनिरहेको कन्टिर–बाबूको ठम्याइ छ । घरका लाई पन्छाएर बाहिरका लाई अपनाउन खोज्दाको परिणाम राम्रो हुँदैन । कन्टिर–बाबू यसप्रति सचेत हुन सबैलाई आग्रह गर्छन् ।




















