पराजयलाई पनि विजयोत्सवका रूपमा मनाउने ओल्बा र उनका कार्यकर्ताको शैली देखेर कन्टिर–बाबूलाई ताज्जुब लाग्छ ।
ओल्बा प्रधानमन्त्रीबाट बाहिरिए भव्य उत्सव ! उनैका कार्यकर्ता प्रदेशका मुख्यमन्त्रीहरूबाट हटाइए, त्यता पनि भव्य उत्सव । पदबाट हट्दा पोखरा, बुटवल, हेटौँडा जताततै उत्सवै–उत्सव ।
कन्टिर–बाबूलाई बडा उदेक लाग्छ । प्रधानमन्त्री, मुख्यमन्त्रीजस्ता पदबाट राजीनामा दिन बाध्य हुने अनि सरकारी आवासबाट फिर्ता हुनुपर्दा दुनियाँ हँसाउने गरी उत्सव मनाउने ।
सायद यो जनवादी प्रोटोकलभित्रकै कुरा होला । कन्टिर–बाबू विचराले महान् तथा विश्वकै गौरवशाली संसदवादी, जनवादी कमनिस्ट कहलिनेहरूको त्यति सङ्गत नगरेकाले थाहा नभएको होला !
त्यसो त कन्टिर–बाबूले नेपालका कमनिस्ट भनिएकाहरूले जतिखेर पनि शोकलाई शक्तिमा बदलौँ भनिरहेको आफ्नै कानले सुनेका छन् । पराजयपछिको तामझाम पनि त्यसैको एउटा विकसित भेरियन्ट हुनुपर्छ !
कन्टिर–बाबूले यति भूमिका बाँधेको वाग्मतीका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँग सम्बन्धित पछिल्लो प्रकरणका कारण हो । दुनियाँलाई थाहा छ, उनलाई पदबाट हटाइएको हो । उनले स्वेच्छाले पद छोडेका होइनन् ।
तर पौडेल बाबैले आफ्नो बहिर्गमनलाई ओल्बाली स्टाइलमा ‘पोलिटिकल सटन्ट’ बनाए । कन्टिर–बाबूको चासोको विषय हो– यो कति उचित हो ? कन्टिर–बाबू यकिनका साथ केही भन्न सक्दैनन् ।
यो प्रकरणमा कन्टिर–बाबू जैनेन्द्र जीवनको शब्द उधारो लिँदै भन्छन्– यो पपुलर प्रोटोकलको अब सबैले अनुशरण गरौँ र नयाँ नेपालको निर्माण गरौँ ! समृद्धि हाम्रै पालामा अनुभव गरौँ !




















