धर्मका बारेमा व्यक्ति र देशैपिच्छेका फरक बुझाइ र परिभाषा देखेर–सुनेर कन्टिर–बाबू फेरि एक पटक नराम्ररी झस्किएका छन् । अरे यार एउटै हुनुपर्ने कुरामा यो कस्तो खालको बुझाइ र परिभाषा हो, जो देशैपिच्छे फरक–फरक हुन्छ ?
बुद्धको मूर्तिअगाडि बन्दुक राखेर धर्मका नाममा हतियार उठाएका लडाकुले सिरगेट सल्काउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा देखिएपछि कन्टिर–बाबूमा गम्भीरताको मात्रा थप बढेको छ । ले घाँस, कस्तो नसुहाउँदो कम्बिनेसन, कहाँ शान्तिका प्रतीक बुद्ध, कहाँ अशान्तिको प्रतीक बन्दुक ?
कन्टिर–बाबू मान्छन्– भूगोल फरक हुन सक्छ, भाषा फरक हुन सक्छ, विचार वा बस्तुको उत्पत्ति परिवेश र सिर्जना–सन्दर्भ फरक हुन सक्छ । तर पनि कुनै वस्तुगत अवधारणा त संसारभरी एउटै हुनुपर्छ । खबुज भने पनि, रोटी भने पनि, ब्रेड भने पनि कुरो उही बुझिनुपर्छ ।
पौराणिक कथामा वर्णित स्यालले पोखरीको डिलमा रहेको रुखमा फलेको अङ्गुर भेट्न नसकेपछि अमिलो छ भनेर चित्त बुझाएको प्रसङ्ग त तपाईलाई थाहै होला । त्यो स्यालले भेट्न नसकेको फललाई अङ्गुर, ग्रेप, दाख, द्रक्षाफलम् जे भने पनि आखिर कुरो उही होइन र ?
धर्मका सच्चा अनुयायीले त आफ्नो धर्मका अरू अनुयायीको मात्र होइन, अरू धर्म मान्नेहरूप्रति पनि विश्वास जगाउँछ । उनीहरूको संरक्षण गर्छ ।
सन्दर्भ काबुलको हो । कोही धर्मको नाममा, इस्लाम धार्मिक कानुन (सरिया) लागू गराउन बन्दुक बोकेर सत्ता कब्जा गरिरहेका छन् । तर कोही उही धर्मका मानिस धर्म बचाउन अग्रसर भएकाहरूलाई देखेर ज्यान बचाउन थातथलो छोडेर भागिरहेका छन् ।
यसैमा कन्टिर–बाबू चकित छन् । अरे यो कुन धर्मको काम हो, जो आफूजस्तै धार्मिक अनुयायी देखेर भागाभाग गरिरहेका छन् ? उनीहरूका लागि ज्यान बलाइ भएको छ ।
धर्मका सच्चा अनुयायीले त आफ्नो धर्मका अरू अनुयायीको मात्र होइन, अरू धर्म मान्नेहरूप्रति पनि विश्वास जगाउँछ । उनीहरूको संरक्षण गर्छ । सच्चा धार्मिक मान्छेहरूले त पैतालाले किरा पनि नमरोस् भन्ने मान्यता राख्छन् ।
कन्टिर–बााबू सोध्छन् । उही धर्म मान्ने, उही प्रार्थना गर्ने, उही तीर्थयात्रा गर्ने अनुयायीहरू बीच किन यत्रो फरक ? कोही खेद्ने कोही भाग्ने, कोही मार्ने कोही मर्ने । जमिनमा नपुगेर आकाशबाट झरेर पनि मर्ने ?
यसमा कन्टिर–बाबूको चिन्ताको कुरो अर्को पनि छ । नेपालका कमनिस्ट भनिएकाहरू धेरैजसो यो गतिविधिबाट खुसी देखिएका छन् । उनीहरू अमेरिका पछि हटेकोमा खुसी भएका होलान् । तर यो त उही कसको रिसले कसको काख फोहोर पार्ने खालको कुरो भएन र ?
धर्मलाई अफिम भन्नेहरू अफगानिस्तानलाई धार्मिक राज्य बनाउने अभियानमा लागेकाहरूको विजय भयो भनिएको घटनामा खुसी हुनुचाहिँ पटक्कै नसुहाउँदो र अनौठो मानेका छन् कन्टिर–बाबूले ।
कन्टिर–बाबू न जातीय उग्रताका पक्षमा छन्, न धार्मिक अतिवादीहरूका पक्षमा रहनेछन् । अहिले काबुलमा जे भइरहेको छ, त्यो गलत भइरहेको छ, धर्मका नाममा मानवताविरोधी, अतिवादी हर्कत भइरहेको छ भन्ने उनको ठहर छ ।




















