मैथिली भाषामा एक भनाइ छ– जुडब, रूचब आ पचब भाग्येसँ होई छै । अर्थात् जुर्नु, रूच्नु र पच्नु भाग्यमा भर पर्छ । मूलतः यो भनाइ भोजनको सन्दर्भसँग सम्बन्धित छ ।
यद्यपि कन्टिर–बाबूलाई थाहा छ– यो तीनवटै कुरो सबै जनामा सजिलै लागू हुँदैन । खान जुरेकोलाई नरूच्न सक्छ र जुर्ने–रूच्नेलाई खाएको नपच्न सक्छ । कन्टिर–बाबू यो दुईवटै भनाइ केहीबेर विचार गर्छन्, अहिलेको परिस्थितिमा त्यसको औचित्य बढिरहेकै देख्छन् र सहमति जनाउँछन् ।
खासमा भोज–भतेरसँग सम्बन्धित भए पनि यो भनाइ अरू क्षेत्रमा पनि लागू हुने कन्टिर–बाबूको राय छ । अब एकछिनलाई नेपाली राजनीतिकै कुरा गरौँ ।
विगतको चुनावमा ओल्बाको पार्टीलाई जनताले करिब दुईतिहाइ मत जुराइदिएकै हुन् । सङ्घीय सरकार र ६ वटा प्रदेश सरकारको ‘ककपिट’मा बसाएकै हुन् । तर क्यार्नु ओल्बालाई त्यो अभूतपूर्व जनमत पचेन र पखाला लाग्यो । यसमा कसको दोष ?
सायद समयमै उपचार गरेको भए पखालाले थलै पर्ने अवस्था आउँदैन थियो होला । ओल्बाले उपचार नगराएकै चाहिँ होइनन् । तर आफ्नो उपचार आफैँले गर्न खोजे, आफ्नै मात्राले औषधि खान खोजे । रियाक्सन भएछ । सब बर्बाद । के गर्नु उपचारको वैकल्पिक उपाय माग्नुको साटो वैद्य, डाक्टर र झाँक्रीको खिसी गर्दै ठिक्क भो !
कच्चा वैद्यको मात्रा यमपुरीको जात्रा भन्छन् । ओल्बा आफू त निवर्तमान भए नै विचरा पिएस र एसपीलाई पनि एक झटकामा निवर्तमान बनाइदिए । यो त खाएको नपचेकै त हो नि । जुर्न त जुरेकै थियो, सत्ता रूचेकै थियो तर पचेन । पचेनभन्दा पनि पचाउन जानेनन् सत्य कुरो गर्ने हो भने ।
koshionline




















