हिन्दी भाषाको एक प्रचलित भनाइलाई सापट लिँदै आजको सन्दर्भमा कन्टिर–बाबू भन्छन्– तुम तो डुबे सनम, हम को भी ले डुबे । अर्थात् तिमी त सिद्धियौ मित्र, मलाई पनि बर्बाद पारेर सिद्धियौ ।
वर्तमानमा नेपाली राजनीति खास गरी एमाले र कम्युनिस्ट राजनीतिको आज यही सनम डुब्ने–डुबाउनेवाला हाल भएको देख्छन् कन्टिर–बाबू । अरे यार एकताका कहाँ करिब दुई–तिहाइ बहुमतको सङ्घीय सरकार । सातमध्ये छवटा प्रदेशमा आफ्नै नेतृत्वको सरकार । तर आज हबिगत के भयो ? कम्तीमा २५ वर्षसम्म एकछत्र नाच्ने चाहना त पालियो तर नाच्न जानिएन ।
अहिले कोही–कोही भन्दै छन्– ठाडै नाच्न नजानेको भन्न मिल्दैन, आँगनै टेढो भइदिएपछि कसको के लाग्छ ? त्यस्तालाई कन्टिर–बाबूको जवाफ छ– आफू नाच्न नजान्ने अनि आँगन टेढो भन्ने त पुरानो चलनै हो । यसमा नयाँ आश्चर्य के भयो र ?
त्यो बेला मौखिक राष्ट्रवाद र समृद्धिको नारामा जनता एकोहोरिएकै हुन् । जनताले पत्याएकै हुन् । तर आफूहरूले नै जनताको मतको महत्त्व नबुझेपछि कसको के लाग्छ ? के जातिलाई के नपचेको अथवा केको मुखमा के नअटाएको भने जस्तो । तैट्, तोरीहरू !
कहाँको एकीकृत विशाल, महान् तथा गौरवशाली कम्युनिस्ट पार्टी बनाउने सपना अनि कहाँ अहिले धुजाधुजा च्यातिएको धुस्साजस्तो कम्युनिस्ट पार्टी, नेता तथा कार्यकर्ताको विपना । हरे !
कन्टिर–बाबूको निष्कर्ष छ– केवल दुई–तीन जनाको जुँगाको लडाइँ, जिद्दी र शक्ति उन्मादको परिणाम हो आजको अनपेक्षित अवस्था । उनी प्रश्न गर्छन्– जनताको भताभुङ्ग सपनाको जिम्मेवारी अब कसले लिने ?
koshionline




















