खै, कन्टिर–बाबूको जीवन पनि त्यत्तिकै बित्ने भो जस्तो छ । जनकपुर–जयनगर एक्सप्रेस चढेर सरररर यात्रा गर्ने कन्टिर–बाबूको कत्रो ठूलो रहर थियो । तर खै यो रहर कहिले पूरा हुने हो ? थाहा छैन ।
त्यसो त कन्टिर–बाबूले यो रूटमा रेल नचढेका भने होइनन् तर नयाँ भनिएको नेपालको झन्डा फहराउँदै नयाँ रेल चढ्ने चाहनाको कुरा त फरक हो नि !
भारतबाट तामझामका साथ ल्याएर रेलको इन्जिन र डब्बा जयनगरनजिक, इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखेको महिनौँ भइसक्यो । तर रेल चल्ने अझै कुनै छेक–छन्द छैन । बरू त्रिपाल च्यातिएर धुजाधुजा भइसकेको खबर कन्टिर–बाबूले सुनेका छन् । कन्टिर–बाबूले रेल प्रकरणमा मुसाहरूको काम पनि सकिएजस्तै मानेका छन् ।
बाँकी रेलका लिक, नट–बल्टु तथा स्लिपर आदि एउटा–दुइटा गर्दै चोरी भइरहेको सूचना कन्टिर–बाबूले पाएका छन् । जताबाट आएको सामान हो चोरहरूको अनुकम्पाले उतै जाने क्रम सुरु हुनुलाई भने कन्टिर–बाबूले कुनै अचम्मको कुरा मानेका छैनन् । आखिर ढिलोचाँडो ती सामान एक दिन उतै जाने हुन् भन्ने कन्टिर बाबूलाई राम्रोसँग थाहा छ ।
हेर बिजोग, त्यत्रो ढोल ठटाएर ल्याएको रेल त सुरु नहुँदै कबाडी पो बन्ने भो । ४० महिने शासनकालको एउटा महत्त्पूर्ण उपलब्धि भनी त्यत्रो प्रचार गरिएको जिनिसको आज यस्तो दुर्गति होला भन्ने कन्टिर–बाबूको दस मनमा एक मन पनि थिएन ।
यता, २०७७ जेठ २७ गते नियुक्त रेलका गुरूजीले ‘बिनाकाम’ समय बिताएर ठिक १४ महिनापछि अर्थात् २०७८ साउन २७ गते हात उठाए अर्थात् राजीनामा दिए । सर्वसाधारणलाई ‘तँ जस्तालाई त्यही रेलको पाङ्ग्रामा बाँधेर घिसार्छु, कोरोना सकिन दे,’ भन्दै ट्विट गर्ने गुरूजीले राजीनामा–पत्रमा वर्तमान सरकारलाई ‘गँगटे र जनविरोधी सरकार’ संज्ञा दिएका छन् ।
खिसियानी बिल्ली खम्बा नोचे भने जस्तो आफूलाई ओल्बाको सक्कली पुत्र भनी दाबी गर्ने गुरूजी जथाभावी बोलुन् कि भाँडमा जाउन्, त्यो कन्टिर–बाबूको चासोको कुरा भएन ।
कन्टिर–बाबूलाई केवल जान्न मन लागेको कुराचाहिँ के हो भने यत्रो दिन रेल किन चलेन ? उनले कुन खेलाँचीमा दिन बिताए ? केका लागि त्यत्रो दिनको तलब–भत्ता खाए, सरकारी सेवा–सुविधा लिए ?
तर रात गई बात गई भने जस्तो कन्टिर–बाबू अति–आवश्यक नभई गडेको मुर्दा उधिन्ने पक्षमा छैनन् । कन्टिर–बाबूलाई लाग्छ अबचाहिँ रेलका नाममा कसैले पनि रेला गर्नुहुँदैन । अब नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक भएर जो आए पनि उनले फटाफट काम गरुन् र सररर नयाँ रेल चढ्ने कन्टिर–बाबूको सपना यो दसैँसम्ममा पूरा गरुन् ।




















