हरेक वर्ष १२ अगस्त अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसका दिन कन्टिर–बाबू अरू दिनभन्दा बढी नै भावुक हुने गर्छन् । कारण नेपालमा युवाहरूको जे अवस्था, सोच र क्रियाकलाप छ अनि विदेशमा जति युवाहरू छन्, दैनिक जति युवाहरू बाकसमा आउँछन् ती सबै सम्झेर कन्टिर–बाबू बढी नै भावुक र गम्भीर हुने गर्छन् ।
तथापि युवामा निहित सिर्जना–शक्तिप्रति दुनियाँ कायल छ । युवा नै परिवर्तनका मुख्य संवाहक मानिन्छन् । नेपालमा युवाशक्तिको सम्मानमा अन्तर्राष्ट्रिय युवा दिवसका दिन विभिन्न स्तरका कार्यक्रम हुने गर्छन् । यस अवसरमा कन्टिर–बाबू सबै युवालाई शुभकामना व्यक्त गर्छन् ।
तर कन्टिर–बाबू नेपालका युवाको वर्तमान अवस्थाप्रति सन्तुष्ट छैनन् । युवाको उमेरगत अवधारणाका बारेमा विश्वका विभिन्न देशमा अनेक मान्यता प्रचलित छन् । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ । यस आधारमा नेपालको ४० प्रतिशत जनसङ्ख्या युवाको छ ।
कन्टिर–बाबूले सुनेका छन्– जुन देशमा युवाको सङ्ख्या बढी हुन्छ, त्यो देशको विकास त्यति नै छिटो र प्रभावकारी हुन्छ । तर नेपालको सन्दर्भमा यो मान्यता गलत रहेको कन्टिर–बाबूको निष्कर्ष छ ।
होस् पनि कसरी ? नीति निर्माण र कार्यान्वयन तहमा वास्तविक युवाको सहभागिता शून्यकै अवस्थामा छ । यहाँ त राजनीतिक दलका बूढापाका पनि आफूलाई युवा भनेर दाबी गर्छन् र सधैँ सत्तामा टाँसिन खोज्छन् ।
कन्टिर–बाबू भन्छन्– बूढाले सत्ता छोडे पो युवाको पालो आउने हो त । यहाँ त थारो गोरूले जस्तो नेताले ठाउँ ओगटेर बसेपछि विचरा बाच्छा–बाच्छी जस्ता युवाले कहाँकोपालो पाउनु ? उल्टै युवा हुनुको मापन शरीर र उमेर होइन विचार हुनुपर्छ भन्ने तर्क पो गर्छन् !
नेपालको विकास हुन नसक्नुमा धेरै कारण कारक होलान् । त्यसै मध्येको एउटा टड्कारो कारण हो– कुनै पनि संस्था, पार्टी वा राज्यको निर्णायक तहमा युवाको सहभागिता कम हुनु ।
कन्टिर–बाबूलाई अर्को अचम्म त के लाग्छ भने नेपालका युवा सधैँ आफूलाई दूधे–बालकसरह ठान्छन् । बूढा नेताले जे सिकायो उही गर्छन्, जे पढायो आज्ञाकारी केटाकेटीले जस्तो त्यही मान्छन् । कहिले पालो पाइएला भनेर युवाहरू बूढाको मुख ताकेर बसेपछि केको पालो पाउनु ?
खयर, कन्टिर–बाबू यसबारे धेरै टिप्पणी गर्न चाहन्नन् । जब युवालाई ठीकै लागेको छ भने ५० कटेका कन्टिर–बाबूलाई केको खसखस !




















